काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तबाट संकलन गरिएको सबुत (भजाइनल स्वाब) नष्ट नगर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
बिहीबार आयोगले डिएनए परीक्षण प्रतिवेदन र शव परिक्षण प्रतिवेदनबारे कानुनी चिकित्सा विज्ञ र डिएनए विज्ञहरूसँग गरेको छलफलका क्रममा केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डिएनए टेस्ट शंकास्पद ठहरिएको थियो ।
आयोगका सदस्य सुदीप पाठकका अनुसार भजाइनल स्वाब संकलन सही भए पनि परीक्षणमा केही विधि नपुगेको पाइएको छ । डिएनए परीक्षणमा केही आशंका लागेकाले थप अध्ययन गर्नुपर्ने निष्कर्षमा आयोग पुगेको छ ।
मानवअधिकार आयोगले निर्मलाको शवबाट संकलित भजाइनल स्वाबको नमुना र त्यसबाट पृथकीकरण डिएनएलगायत सबुतहरू जे–जस्तो अवस्थामा छन्, त्यही रूपमा सुरक्षित राख्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
त्यसैगरी, आयोगले निर्मलाको शवबाट भजाइनल स्वाबको नमुना संकलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाबारे जानकारी गराउन महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पत्राचार गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।