दशैँअघि कर्णालीमा चामल ढुवानी गरिने

सुर्खेत– नेपाल खाद्य संस्थान सुर्खेतले दशैँअघि नै कर्णालीका सबै खाद्य डिपोमा चामल ढुवानी गरिसक्ने भएको छ । 

हुम्ला र डोल्पामा हवाई तथा बाँकी जिल्लामा स्थलमार्गबाट संस्थानले सहुलियत दरको चामल ढुवानी गरिरहेको छ । कर्णालीका उच्च पहाडी र हिमाली जिल्लामा दशैँतिहारका बेला खाद्यान्न अभाव हुन नदिन प्रभावकारी ढुवानी व्यवस्थापन मिलाइएको छ । 

संस्थानका सुर्खेत कार्यालय प्रमुख भीम थापाले असोज मसान्तसम्म कर्णालीका २३ वटै डिपोमा चामल ढुवानी गरिसक्ने बताए । पछिल्लो पटक संस्थानको सुर्खेत गोदामबाट मुगुका लागि ६ सय क्विन्टल चामल पठाइएको छ ।

हुम्लाका लागि एक हजारमध्ये ५० क्विन्टल चामल हवाई मार्गबाट सदरमुकाम सिमकोट पुर्याइएको छ । प्रमुख थापाले डोल्पामा यस पटक एक हजार ७०० क्विन्टल चामल मौज्दात रहेको बताउनुभयो । 

कालीकोट र दैलेखमा सुर्खेतबाट तथा जाजरकोटमा संस्थानको क्षेत्रीय कार्यालय नेपालगञ्जबाट खाद्यान्न ढुवानी भइरहेको छ । संस्थानले आफ्ना डिपोमार्फत जिरा मसिनो, सोना मनसुली र जापानी चामल सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ ।

कर्णाली प्रदेशका १० जिल्लाभित्र सल्यान र सुर्खेत मात्र खाद्यान्नमा आत्मनिर्भर मानिन्छन् । यी दुईबाहेक बाँकी जिल्लाका सर्वसाधारणलाई वर्षेनी खाद्य संस्थानको भर पर्नुपर्ने बाध्यता छ । सुर्खेतमा सर्वसाधारणका लागि खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेशनले चाडपर्वलाई लक्ष्य गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।





  • प्रकाशित मिति : असोज २६, २०७५ शुक्रबार ८:२०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया