काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेवले काठमाडौं ७ बाट चुनाव लड्ने कुरामा सत्यता नभएको बताएका छन् ।
सांसद् रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर वामदेवलाई चुनाव लडाउने हल्ला चलेको थियो । तर चौतर्फी विवाद भएपछि प्रचण्डको यो भनाइ आएको हो ।
शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले सो कुरा बताएका हुन् । ‘विकास निर्माण छाडेर यो दफडामा लाग्ने कुनै योजना छैन,’ उनले भने, ‘वामदेवले स्वयं म चुनाव लड्दिनँ भन्नुभयो ।’
शुभकामना आदान–प्रदान कार्यक्रममा प्रचण्डले सरकारको खुलेर प्रशंसा गरे । सरकार गठन भएको ६ महिनामै विकासको आधार बनिसकेको बताउँदै प्रचण्डले अब सरकार नतिजामुखी काममा लाग्ने बताए ।
विकास र सुशासनमा छिट्टै जनताले देख्ने गरी काम गर्ने प्रचण्डले जनाए । ‘एक वर्षभित्रै जनताले महसुस गर्ने दिन आउँछ,’ उनले भने ।
प्रधानमन्त्री ओलीको भ्रमणपछि चीनसँग ट्रेड एन्ड ट्रान्जिटसम्बन्धी समझदारी भएको र यसले चारवटा बन्दरगाह प्रयोग गर्न पाउने भएको प्रचण्डले जानकारी गराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।