रसुवागढी नाकाबाट १९ हजार पर्यटक भित्रिए

रसुवा– रसुवागढी नाका हुँदै सन् २०१८ जनवरीदेखि सेप्टेम्बरसम्म १९ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । चीनसहित विभिन्न ५२ देशका १९ हजार ३ सय ५० पर्यटक नेपाल आएको रसुवागढी अध्यागमन कार्यालय रसुवाले जानकारी दिएको छ । 

यो २०१८ जनवरीदेखि सेप्टेम्बर अन्तिमसम्मको तथ्यांक हो । कार्यालयका अनुसार रसुवागढी नाका हुँदै सबैभन्दा बढी चिनियाँ पर्यटक आएका छन् ।

यो नाका हुँदै नेपाल भित्रिएका पर्यटकमध्ये ५६ दशमलव ३८ प्रतिशत चिनियाँ पर्यटक रहेका कार्यालयका सुब्बा लक्ष्मीप्रसाद शर्माले बताए । आएकामध्ये १० हजार ९ सय १० चिनियाँ नागरिक छन् । चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका पर्यटकले यो नाकाबाट आवतजावत गरिरहेका छन् । 

जनवरीमा ५ सय ८५, फेब्रुअरीमा ८ सय १६, मार्चमा ३ सय ६८, अप्रिलमा १ हजार ३ सय ५६, मेमा २ हजार ६ सय ५०, जुनमा ४ हजार ७ सय ९४, जुलाईमा ४ हजार २ सय ४४, अगस्टमा ४ हजार १ सय २६ र सेप्टेम्बर महिनामा ४ हजार ११ चिनियाँ तथा विदेशी पर्यटक भित्रिएको कार्यालयको तथ्यांक छ ।

सन् २०१६ मा ४ हजार ९ सय ६१ चिनियाँ पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका थिए भने सन् २०१७ मा १७ हजार ६ सय २० चिनियाँ र ८२ जना अन्य देशका नागरिक नेपाल भित्रिएका कार्यालयले जनाएको छ । नाकाबाट सबैभन्दा धेरै चिनियाँ भित्रिने गरेका छन् भने दोस्रोमा स्विडेन, तेस्रोमा अमेरिकाका नागरिक भित्रिएका छन् ।

चिनियाँ पर्यटकले ग्रेटिस (शुल्क नलाग्ने) भिसा पाउँदै आएका छन् । रसुवागढीस्थित अध्यागमन कार्यालयले चिनियाँ पर्यटकलाई सुरुमा एक महिनाको आगमन (अराइभल) भिसा दिँदै आएको रसुवागढी अध्यागमन  कार्यालयका सूचना अधिकारी मानबहादुर बरालले बताए । 



‘चिनियाँ पर्यटकका लागि कार्यालयले १५० दिनसम्मको भिसा उपलब्ध गराउन मिल्छ, उनले भने, तर नेपाल आएका पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन् ।’ ९० प्रतिशत चिनियाँ पर्यटकले उतैबाट भिसा लगाएर आउने र १० प्रतिशत पर्यटकले अध्यागमनबाट भिसा लिने गरेका सूचना अधिकारी बरालले बताए । 

‘अधिकांश चिनियाँ पर्यटकले ह्लासा, गोन्जाउबाटै भिसा लगाएर आउने गरेका छन्,’ उनले भने, करिब १० प्रतिशत पर्यटकले रसुवागढी अध्यागमनबाट भिसा लिने गरेको छन् ।’



नेपाल आउने चिनियाँ पर्यटक काठमाडाैं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । चिनियाँ पर्यटक नेपालमा सरदर १४ दिनसम्म बस्ने गरेका छन् । ग्रेटिङ भिसामा आएर एक सय ५० दिनसम्म बस्दा बिजनेस गरेर बस्ने सम्भावना रहेको बताइन्छ । 
 

  • प्रकाशित मिति : असोज २६, २०७५ शुक्रबार १४:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया