काठमाडौं– म्याग्दीको गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता छन् । धौलागिरि गाउँपालिका १ मा पर्ने सो हिमाल आरोहणका लागि काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चारजना नेपाली भरिया गुर्जा हिमाल चढ्न गएका थिए । लगातार परेको हिम पहिरो र आँधीमा परेर उनीहरूको मृत्यु भएको हो ।
घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको प्रहरीले जनाएको छ । उद्धारका लागि शनिबार बिहान पोखराबाट घटनास्थलतर्फ हेलिकोप्टर गएको भए पनि अवतरण गर्न नसकेर सो हेलिकोप्टर फर्किएको छ । मौसममा सुधार भएपछि मध्याह्न पुनः खोजीमा जाने प्रहरीको भनाइ छ ।
बिहान पोखराबाट गएको टोलीले ८ जनाको शव देखेको रिपोर्ट दिएको हो । गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर, उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।
स्थानीयले शवहरू फेला परेको देखेपछि शुक्रबार साँझ प्रहरीलाई खबर गरेका थिए । गाउँलेले खबर गरेपछि शनिबार बिहानैबाट खोजी र उद्धार टोली परिचालन भएको प्रहरीले बताएको छ ।
लामो समयसम्म पर्यटकको खडेरी लागेको सो हिमाल चढ्न एक दशकपछि पर्यटक पुगेका थिए । पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ६ हजार ४६५ मिटर अग्लो छ । गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली आएपछि स्थानीयवासी उत्साहित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।