काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू परिसरमा आज वृक्षरोपण गरेकी छिन् । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा उनले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतको प्राकृतिक विज्ञान संग्रहालयमा बहुमूल्य बोधिचित्तको विरुवा रोपेकी हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले संग्रहालयको अवलोकनसमेत गरिन् । संग्रहालयका प्रमुख प्रा.डा. धर्मराज डंगोल, डा. इशान गौतम र निर्मला प्रधानले संग्रहालयको वस्तुस्थितिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत प्रकृति संरक्षणका क्षेत्रमा क्रियाशील विभिन्न निकायका प्रमुख÷प्रतिनिधिले वृक्षरोपण गरेका थिए ।
विसं २०३२ साउन २ गते स्थापना भएको उक्त संग्रहालयमा दुई टाउके सर्प, एक टाउको र दुई जिउ भएको सुंगुर, बाख्राको आठखुट्टे पाठी, कुखराको चारखुट्टे चल्ला, सेता काग, नेपालबाटै लोप भइसकेको रामगाई र आदिमानव रामानिपिथेकसको बंगरालगायत दुर्लभ नमुना संगृहीत छन् ।
संग्रहालयका प्रमुख प्रा.डा. डंगोलले घुम्ती प्रदर्शनी, सेमिनार, गोष्ठी, तालिम सञ्चालन गरी जैविक विविधताको संरक्षणमा संग्रहालयको महत्व र संरक्षण शिक्षाबारे जनचेतना अभिवृद्धि गर्ने गरिएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।