भरतमोहन अधिकारीको दसैँ : कोइराला निवासदेखि बनारससम्म

काठमाडौं– पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी नेपालको कम्युनिस्ट आन्दोलनका एक अभियन्ता हुन् । ‘कम्युनिस्ट आन्दोलन ठूलो बलिदानी र संघर्षले भित्र्याएका हौँ’ भनेर बारम्बार भनिरहने अधिकारी अहिलेको सरकारले देखाएको पर्फमेन्सका कारण ‘बदनामी त हुने हैन ?’ भनेर चिन्तित छन् । 

कम्युनिस्ट आन्दोलनको अगुवादेखि लोकप्रिय सरकारको अर्थमन्त्रीसम्म भएर काम गरेका छन् अधिकारीले । उमेरले नेटो काटे पनि अझै केही गर्छु भन्ने बलियो सोच उनमा छ । 

नेपालीहरूको महान चाड वडादसैँको उपलक्ष्यमा सम्पूर्ण देशवासीमा सुखी र समृद्धिको कामना उनले गरेका छन् । नेपाली समाजमा दसैँ भित्रिसकेको छ । दसैँको मुखमा हामीले पूर्वमन्त्री अधिकारीसँग उनको सम्झनामा रहेको दसैँबारे कुराकानी गरेका छौँ । 

उनीसँग बिपी कोइरालाको निवासदेखि भारतको बनारसमा बसेर मनाएका तितामीठा दसैँका अनुभव छन् । फरकधारकर्मी रूपक चौलागाईंसँगको कुराकानीमा उनले आफ्ना दुई फरक पृष्टभूमिका दसैँका अनुभव यसरी सुनाए : 

‘बिपीकी आमाले सबैलाई एक रुपैयाँ दक्षिणा दिनुहुन्थ्यो’

बिपी कोइराला, मातृका कोइराला, गिरिजाप्रसाद कोइरालाहरू हाम्रा नातेदार हुन् । बिपीका बुबा कृष्णप्रसाद कोइराला, हाम्रो बुबा रामेश्वर अधिकारी । उहाँहरू मामाभाञ्जा हुनुहुन्थ्यो । 



उहाँहरूको वेलामा उहाँहरू एउटै विचारको पनि हुनुहुन्थ्यो । गान्धीजीको विचारमा उहाँहरू लाग्नुभएको थियो । 

मलाई अहिले पनि सम्झना आउँछ, जुन वेला कोइराला परिवार र हाम्रो परिवार पनि विराटनगरमा नै थियो, जुन २००४/०५ सालतिरको कुरा हो । हामीले विराटनगरमा जम्मा दुई सालजति दसैँ मनायौँ । त्यसवेला बुबाले दसैँको टीका लगाइसकेपछि हामीलाई घरमा खाना खान दिनुहुन्नथ्यो । 



बुबा टीका लगाइसकेपछि सपरिवार मामाघर जानुहुन्थ्यो । मनमोहन दाइ, म, बुबालगायत परिवारका सबै सदस्य दसैँको टीकाको दिन खाना खान कोइराला निवास पुग्थ्यौँ । 

हामी पनि आठ दाजुभाइ थियौँ, भाउजूहरू हुनुहुन्थ्यो, आमाबुबालगायत परिवारका सबै सदस्यसहित कोइराला परिवारकोमा पुग्दा निकै रमाइलो लाग्थ्यो । हाम्रो घरबाट कोइराला निवास एक/डेढ किलोमिटरजति पर थियो । कोइराला परिवारमा मलाई सबैले साह्रै माया गर्नुहुन्थ्यो । बिपीका बुबा कृष्णप्रसाद कोइरालालाई त्यतिवेला विराटनगरबाट काठमाडौं ल्याएर थुनेर राखेको थियो । 

जलेश्वरमा मैले उहाँलाई देखेको थिएँ । नत्र, मैले उहाँलाई देख्न, भेट्न, कुराकानी गर्न भने पाइनँ । उहाँ बितेपछिचाहिँ हामी विराटनगर आएर केही समय कोइराला निवासमा नै बस्यौँ । उहाँले कोइराला निवासमा अतिथिलाई सत्कार गर्ने, सबैलाई समान व्यवहार गर्नेजस्ता संस्कृतिको विकास गर्नुभएको थियो । 

हामी टीका लगाउन जान्थ्यौँ । त्यो वेलामा बिपीकी आमाले सबैलाई १/१ रुपैयाँ दिनुहुन्थ्यो । बबाले पनि १ रुपैयाँ पाउनुहुन्थ्यो, हामीले पनि १ रुपैयाँ नै पाउँथ्यौँ । उहाँ भन्नुहुन्थ्यो, ‘यो पैसा दिएको हैन, माया दिएको हो ।’ 

हामी टीका लगाएर एकदुई घन्टापछि घर  फर्किन्थ्यौँ । त्यतिवेला म विद्यार्थी नै थिएँ । केही कम्युनिस्ट इच्छाशक्ति मात्र बढेको थियो । राजनीति गर्न थालेको थिइनँ । 
बिपी, मातृका र गिरिजासँगको मेरो सम्बन्ध निकै रमाइलो थियो । त्यसमध्ये मातृका बाबुले मलाई निकै माया गर्नुहुन्थ्यो ।

बिपीचाहिँ कहिलेकाहीँ मात्र घर आउनुहुन्थ्यो । त्यतिवेला बिपीको बसाइँ नै पटना हुन्थ्यो । हामीले जम्मा दुईतीन वर्ष मात्र कोइराला परिवारसँग दसैँ मनायौँ । 

म विराटनगर स्कुलमा पढ्थेँ । त्यहाँ माता काली दुर्गा भवानीको मन्दिर थियो । दसैँको प्रायजसो दिनमा उक्त मन्दिरमा पूजा हुन्थ्यो । हामी पूजामा स्वयंसेवक बन्थ्यौँ । म पनि स्वयंसेवक बनेको थिएँ । 

कोइराला परिवारसँगको हाम्रो परिवारको अत्यन्तै घनिष्ट सम्बन्ध थियो । जब उहाँहरू सत्तामा जानुभयो, अनि हाम्रो आवतजावत नै बन्द भयो । उहाँहरू सत्ताधारी र हामी प्रतिपक्षी भयौँ । 

अनि फेरि बिपीहरू सत्ताबाट फालिनुभयो, अनि दुवै पञ्चायतविरोधी बनेर पुनः मिलियो । कोइराला परिवारसँगको दसैँको कुरा गर्दै गर्दा मलाई याद आउने भनेको हामी प्रायजसो मिल्ने र झगडा गर्ने अवस्था भइरह्यो । 

हाम्रो परिवारमा अहिले पनि दसैँको टीका थाप्न मान्यजनकहाँ जाने चलन छ । हामी त्यतिवेला पनि कोइराला परिवारसँग टीका लगाइसकेपछि युवराज अधिकारीको घरमा जान्थ्यौँ । अहिले पनि घरमा टीका लगाइसकेपछि म आफैँ पनि मान्यजनको घर जाने गरेको छु ।

‘नेपालमा दसैँकाे उत्सव हुँदा हामी किरा खाइरहेका थियौँ’

जब हामीले निरंकुश पञ्चहरूको विरोधमा आवाज उठाउन सुरु गर्यौँ, २०२०/०२१ सालतिर, संघर्षका लागि हामीले बनारसमा कम्युनिस्ट पार्टीको महाधिवेशन गर्यौं । नेपालमा त हाम्रो नाममा वारेन्ट नै जारी भइसकेको थियो । पार्टी नै खारेज गर्न पञ्चहरू लागेका थिए । 

महाधिवेशनको नेतृत्व पुष्पलालजी र हामीले गरेका थियौँ । त्यस महाधिवेशनका वेला हामी कैयौँ दिनसम्म भोकै बसेका थियौँ । हामी भारतको बनारसमा भाडामा कोठा लिएर बसेको थियौँ । म, पुष्पलालजी, तुलसीलालजीलगायत ३०/३५ जना साथी थियौँ । केही साथीहरू पार्टी कार्यालयमा र केही कोठामा बस्थ्यौँ । 

हामी सबैले हातमा लगाएको घडीलगायत सामानहरू बेच्यौँ । तर, धेरै दिन हामी त्यहाँ त्यसरी बाँच्न सकेनौँ । 

०२१ सालको दसैँको मुखमा थियौँ हामी । दुईतीन दिनदेखि सबै भोकै थियौँ । एक दिन पुष्पलालजी र म कोही मान्छे भेटिन्छ कि, केही पाइन्छ कि भनेर हिँड्यौँ । संयोग नै मान्नुपर्छ, एकजना नेपालीलाई हामीले भेट्यौँ, बनारसमा । 

हामी बनारसमा पार्टी चलाएर बसेका थियौँ । दुईतीन दिनदेखि खान पाएका थिएनौँ । ती मान्छेलाई भेट्नेबित्तिकै मलाई एक प्रकारको खुसी मिल्यो । हामी संघर्ष र आन्दोलनका लागि नेपालबाट भागेर भारतमा छिपेर बसेका थियौँ । नेपाली दाजुभाइ भेट्नु नै हाम्रा लागि सौभाग्य थियो, बनारसमा । 

हामी पञ्चायती व्यवस्था फाल्ने आन्दोलनमा थियौँ । तर विडम्बना ! हामीसँग केही पैसा र खानेकुरासमेत थिएन । बनारसमा भेटिएका ती नेपालीले हामीलाई १० रुपैयाँ दिए । तिनले दिएको १० रुपैयाँले धेरै सामान किन्न त पुग्दैनथ्यो, र हामीले निर्णय गर्यौं – सातु किन्ने । 

हामीले १० रुपैयाँको सातु किन्यौँ । सातुसँगै ती पसलका साहुजीसँग नुन–खुर्सानी पनि माग्यौँ । सातु बोकेर हामी दुईजना कोठातिर लाग्यौँ ।

पुष्पलालजीले नुन–खुर्सानी र मैले कागजको झोलामा सातु बोकेर पसलबाट कोठामा पुग्ने वेलासम्म हामीले सातुु पाएपछिको खुसी एकअर्कामा साट्न पनि भ्यायौँ । 

कोठामा पुगेपछि धेरै साथीहरू खुसी भए । मनमा भने नेपालमा पञ्चायतीहरूले गरेको दमन र अत्याचारको झझल्को आइरहेको थियो । निरंकुश पञ्चायती शासनको अन्त्यका लागि मनमा आगो बलिरहेको थियो । 

कोठामा आएपछि हामीले सातु भाग लगायौँ । हामीसँग खानका लागि पर्याप्त भाँडाकुँडा थिएनन् । सबैलाई बराबर हुने गरी अखबारका पानामा सातु भाग लगायौँ, त्यसैको छेउमा नुन–खुर्सानी पनि । दसैँको दिन हामी सातु र नुन–खुर्सानी खाँदै दसैँ मनाइरहेका थियौँ । मनमा त्यसअघि परिवारसँग मनाइएका दसैँभन्दा पनि निरंकुश पञ्चायती शासनको अन्त्यको सपना मात्र थियो । 

सातु सबैलाई भाग लगाउँदै गर्दा बिजुली पनि फुत्त गयो । सानो मैनबत्ती बालेर हामी सातु खान थाल्यौँ । सातु खाँदै गर्दा केही समयपछि बत्ती आयो । अँध्यारो कोठाका केहीछिनमै चमक भरियो । तर, हामी सबैको मनमा भने भएको चमक पनि हरायो । 

हामीले खाँदैै गरेको सातुमा नसोचिएको कुरा फेला पर्यो । बत्तीको उज्यालोमा हेर्दा हामीले खाइरहेको सातुमा स्याउँस्याउँ किरा परेको रहेछ । त्यतिवेलासम्म त केही किराहरू पनि हामी सबैले निलिसकेका थियौँ । हाम्रा हातमा स्याउँस्याउँ किरा हिँडिरहेका थिए । सातु किन्न पाएको १० रुपैयाँको खुसी केहीबेरमै छिन्नभिन्न भयो । 

त्यस्तो दर्दनाक स्थितिमा हामी दसैँ मनाइरहेका थियौँ । 

हामीले जुन किसिमले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याएका छौँ, त्यो भने साना दुःखले आएको होइन । अहिले मैले हाम्रा दुःख मात्र सुनाएँ, कति धेरै सहिद भए, गोली थापेर मरे, कति कैयौँ वर्ष जेल बसे ।

त्यसकारण आजको पिँढीलाई मेरो अनुरोध के छ भने, जे कुरा हामीले प्राप्त गरेका छौँ, त्यो ठूलो बलिदानीबाट आएको हो । त्यसैले, यो कुराको रक्षा र यसको उद्देश्यप्राप्तिको हेक्का राख्नुपर्छ । 

यतिवेला देशभरि नै कम्युनिस्टकै सरकार छ । जे कम्युनिस्टले चाह्यो, त्यो गर्न सक्ने अवस्था छ । त्यसैले, सत्तामा हुने साथीहरूलाई यसको सदुपयोग गर्न अनुरोध गर्दछु । कम्युनिस्ट पार्टीको नाम राख्ने र जनतालाई समृद्ध बनाउने वेला हो यो ।
 

  • प्रकाशित मिति : असोज ३१, २०७५ बुधबार ७:९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया