नवरात्रको सातौँ दिन, आज फूलपाती

काठमाडौं - नवरात्रको सातौँ दिन, आज फूलपाती ।

हरेक साल दुर्गापक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ ।

फूलपातीका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष गरी नौ थरीका वनस्पति दसैँघरमा भित्र्याउने गरिन्छ । 

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको घर वा पूजाकोठा नै दसैँघर हो ।

नौ थरी वनस्पतिका पात सामेल हुनाले ‘फूलपाती’लाई ‘नवपत्रिका’ भनेर समेत चिनिन्छ । नौ देवीको प्रतीकका रूपमा फूलपाती भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका गर्दै पूजा गर्ने चलन छ ।

फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता पर्दैन ।



आज हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र त्यहाँदेखि काठमाडौंको जमलसम्म यताबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने चलन छ ।



जमलबाट हनुमानढोकासम्म भने निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित लावालस्करका साथ फूलपाती लगेर दसैँघरमा भित्र्याइन्छ । 

सदर टुंडिखेलमा आज नेपाली सेनाले हर्कबढाइँ गर्ने चलन छ । 

यस वर्षको फूलपाती मंगलबार अपराह्न साढे चार बजे भित्र्याउने कार्यक्रम छ । 

गाउँघरमा भने आजैका दिनदेखि ठाउँठाउँमा हालिने लिंगेपिङ र रोटे पिङले दसैँको रौनकलाई अझ बढाउँछ ।

धार्मिक मान्यताअनुसार इन्द्र, शिव, विष्णु र श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावणको वध गर्न क्रमैसँग नवरात्रमा देवी दुर्गाको व्रत गरेका थिए । त्यसैले नवरात्रलाई मात्रृशक्तिको उपासनाको पर्वका रूपमा लिन सकिन्छ । 

  • प्रकाशित मिति : असोज ३०, २०७५ मंगलबार ११:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया