अन्तर्राष्ट्रिय क्रिकेटमा विकृति : १५ म्याचमा २६ स्पट फिक्सिङ, को–को छन् सेटिङमा ?

क्रिकेटमा म्याच तथा स्पट फिक्सिङका सम्बन्धमा बेलाबखत चर्चा चली नै रहन्छ । 

यसैबीच, मध्यपूर्वको बहुचर्चित मिडिया नेटवर्क अल जजिराले स्पट फिक्सिङबारे सनसनीपूर्ण रिपोर्ट प्रसारण गरेको छ । 

अल जजिराको इन्भेस्टिगेटिभ युनिटले अन्तर्राष्ट्रिय क्रिकेटमा हुने स्पट फिक्सिङबारे तीन वर्षभन्दा बढी समय गरेको अनुसन्धानका आधारमा सार्वजनिक दुई डकुमेन्ट्रीले विश्व खेलकुदमा तरंग पैदा गरेका छन् । 

१५ अन्तर्राष्ट्रिय म्याचमा दुई दर्जनभन्दा बढी स्पट फिक्सिङ भएको अनुसन्धानले देखाएको छ । 

स्पट फिक्सिङले खेलको कुनै सानो भागलाई प्रभावित गर्छ । यसले पूरै म्याचको नतिजा भने निर्धारण गर्दैन । खेलाडीलाई प्रलोभनमा पारी कुनै बलमा नियतवश छक्का हान्न दिने, नो बल गर्ने, विकेट गिराउने वा यस्तै कुनै विशेष नतिजा दिने सेटिङ मिलाउनु ‘स्पट फिक्सिङ’ हो । ‘म्याच फिक्सिङ’ले भने सिंगो म्याचको नतिजा पूर्वनिर्धारण गर्दछ । 

आफ्नो इन्भेस्टिगेटिभ युनिटले गरेको अनुसन्धानबाट अन्तर्राष्ट्रिय क्रिकेटको उच्चतम स्तरमा हुने भ्रष्टाचार पुष्टि भएको अल जजिराको दाबी छ ।  



अल जजिराका अनुसार २०११ र २०१२ मा संकलित प्रमाणहरूले इंग्ल्यान्डका खेलाडीको एउटा समूहले ७ म्याचमा स्पट फिक्स गरेको देखाएको छ । अस्ट्रेलियाका खेलाडीहरू ५ म्याचमा, पाकिस्तानी खेलाडीहरू ३ म्याचमा र अन्य टिमका खेलाडीहरू १/१ म्याचमा स्पट फिक्सिङमा सहभागी छन् । कतिपय अवस्थामा प्रतिस्पर्धामा रहेका दुवै टिमबाट स्पट फिक्सिङ भएको समेत देखिएको छ । 

अल जजिराले एउटा म्याच फिक्सरले संगठित अपराधमा जोडिएका कुख्यात भारतीय सट्टेबाजलाई फिक्सिङका लागि आह्वान गरिरहेको पुष्ट रेकर्डिङ प्राप्त गरेको छ । 



अनुसन्धानले लर्ड्स क्रिकेट ग्राउन्डमा भएको इंग्ल्यान्ड र इन्डियाबीचको म्याच, केप टाउनमा भएको साउथ अफ्रिका र अस्ट्रेलियाबीचको म्याच र युएईमा भएको इंग्ल्यान्ड र पाकिस्तानबीचको सिरिजका थुप्रै म्याचहरूमा भएका स्पट फिक्सिङको पर्दाफास गरेको छ । 

अधिकांश स्पट फिक्सिङ ब्याट्सम्यानले गरेका अनुसन्धानले देखाएको छ । उनीहरूले आर्थिक प्रलोभनमा परेर जानीजानी कमजोर प्रदर्शन गरिदिएका हुन् ।

विश्वकै अत्यधिक चर्चितमध्ये केही खेलाडी यस्तो कार्यमा संलग्न देखिएका छन् । १५ म्याचमा २६ पटक स्पट फिक्स भएको देखिन्छ, जसमा धरैजसो म्याचमा मल्टिपल फिक्सिङ भएको छ । 

अल जजिराले एक डकुमेन्ट्रीमार्फत अनील मुनावर नामका सन्दिग्ध म्याच फिक्सरलाई सार्वजनिक गर्यो, जसले मे २०१८ मा विश्व खेलकुद जगतमै तहल्का मच्चायो । डकुमेन्ट्रीमा मुनावरले अल जजिराका एक पत्रकारसँग मुम्बईको होटल ताजमा गरेको कुराकानी समेटिएको थियो । 

मुनावर मुम्बईका हुन्, तर उनी अधिकांश समय दुबईमा बस्छन् । डकुमेन्ट्रीका अनुसार मुनावर सन् २०१० देखि लगातार सात वर्षभन्दा बढी अन्तर्राष्टिय क्रिकेटमा म्याच फिक्सिङमा क्रियाशील छन्, जसमा ६ टेस्ट, ६ ओडिआई र ३ टी–२० वल्र्डकपका म्याच सामेल छन् ।

यहाँसम्म कि, विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसी आठ वर्षदेखि उनीबारे जानकार छ । तथापि, सात वर्षपछि डकुमेन्ट्री निर्माणका क्रममा अल जजिराले स्वयं जानकारी गराएपछि मत्रै आइसिसीले मुनावरलाई पक्रन विश्वव्यापी आह्वान गरेको थियो । 

मुनावरले गरेका २६ प्रेडिक्सनमध्ये २५ ओटा मिलेका थिए भने मात्र एउटामा उनी चुकेका थिए । त्यतिखेरै बेलायती विश्लेसकहरूले विनाफिक्सिङ २६ मा २५ प्रेडिक्सन साँचो हुनु असम्भवप्रयः रहेको बताएका थिए ।

सन् २०१६ र ०१७ मा पनि उनले भारतमा जारी दुई टेस्ट म्याचबारे अल जजिराकै अन्डरकभर इन्भेस्टिगेसन टिमलाई बताएका थिए । दुवैमा उनको प्रेडिक्सन साँचो भएको थियो । 

भारतका अधिकांश खेलाडीहरूसँग मुनावरको राम्रो सम्बन्ध छ । क्याप्टेन विराट कोहलीसँग उनको अझ विशेष सम्बन्ध रहेको देखिएको छ । भारतका विराट, रोहित शर्मा, सुरेश रैना, लक्ष्मीपति बालाजी, पाकिस्तानका उमर अकमल, अस्ट्रेलियाका कोच एन्डी बिचेललगायतले मुनावरसँग फोटो खिचाएका छन् । तथापि, यी खेलाडी तथा कोच फिक्सिङमा संलग्न छन् भन्ने दाबी अल जजिराले गरेको छैन । 

आइसिसी भने अन्तर्राष्ट्रिय खेलमा खेलाडीलाई म्याच फिक्सरहरूबाट जोगाउन आफूसँग ‘स्पोटर’हरू रहेको दाबी गर्छ । अल जजिराले प्राप्त गरेको रेकर्डिङमा मुनावरले नाम नखुलेका एक बेलायती खेलाडीसँग स्पट फिक्सिङबारे गरेको कुराकानीसमेत समावेश छ, जसमा मुनावरले ती खेलाडीको खातामा आफूले पैसा पठाउन लागेको बताएका छन् ।

फरेन्सिक स्पिच विशेषज्ञले रेकर्डिङको परीक्षण गरी टेम्परिङ नगरिएको अर्थात् रेकर्डिङ वास्तविक रहेको पुष्टि गरेका छन् ।

हालै अल जजिराले स्पट फिक्सिङबारे अर्को डकुमेन्ट्री सार्वजनिक गरेको छ । नयाँ डकुमेन्ट्रीमा मुनावरको परिचय र म्याच फिक्सिङमा उनको भूमिकाबारे उल्लिखित भारतीय सट्टेबाजसँग काम गरेका एक व्यक्तिले पुष्टि गरेका छन्, जसले मुनावरसँग फिक्सिङका सम्बन्धमा कुराकानी गरेका छन् र कल रेकर्डसमेत गरेका छन् ।

मुनावरको भूमिकालाई भारतीय गुप्तचर विभागका एक उच्च अधिकारीले समेत पुष्टि गरेका छन्, जसले अल जजिराको पहिलो डकुमेन्ट्री निस्किएलगत्तै फिक्सिङमा संलग्न भनिएका सोनु जलनलाई पक्रिएका थिए । 

उनका अनुसार जलनले मुनावरसँगको सम्बन्ध स्विकारेका छन् । दक्षिण एसियाको शक्तिशाली माफिया समूह डी–कम्पनीसँग समेत आफ्नो संलग्नता रहेको जलनले बताएका छन् । 

बेलायत र अस्ट्रेलियाका वकिलहरूले यी प्रमाणहरूलाई स्विकारेका छैनन् । आइसिसीले भने मुनावरबारेका सवालहरूमाथि कुनै दिएको छैन ।

  • प्रकाशित मिति : कात्तिक ४, २०७५ आइतबार २१:३५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया