ताइवान रेल दुर्घटनामा १८ जनाको मृत्यु, छानबिनको आदेश

ताइवान– ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको ताइवानी अधिकारीले जनाएका छन् । 

ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिकलाई छोड्दा भएको उक्त घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका ताइवान रेल प्रशासनले पुष्टि गरेको छ । 

दुर्घटनापछि घटनास्थलमा पुगेका एएफपी सम्वाददाताले जनाएअनुसार रेलका पाँचवटा डब्बा रेलमार्गबाट उछिट्टिएका र जमिनमा लडेका अवस्थामा रहेका छन् ।उच्च गतिको पुयुमा एक्सप्रेस रेलका सार्वजनिक तस्बिरमा रेल लिकबाट उछिट्टिएर टेढो अवस्थामा रहेको र केही डब्बा जमिनमा लडेको देखाइएको छ । 

स्थानीय समय अनुसार करिब ४ः५० मा दुर्घटना भएका ताइवानी अधिकारीले जनाएका छन् । तर, दुर्घटनाको कारणबारे भने केही बताएका छैनन् । 

राष्ट्रिय अग्नि नियन्त्रण निकायले रेलमा तीन सय १० जना यात्रारत रहेको र दक्षिणी सहर ताइतुङतर्फ जाने क्रममा उत्तरपूर्वी यिलान काउन्टीमा दुर्घटना हुनपुगेको थियो । घटनाबारे छानविन सुरू भइकेको अधिकारीहरूले बताएका छन् । 

ताइवानका राष्ट्रपति चाइ इङ–वेनले आइतबार भएको रेल दुर्घटनाको बारेमा तत्काल छानबिन गर्न आदेश दिएका छन् । ताइवानमा विगत २७ वर्षकै सबैभन्दा भयानक मानिएको छ । 



अधिकारीहरुले रेलमा यात्रारत केहीको सनाखत अझै हुन नसकेको बताएका छन् । दुर्घटनास्थलबाट यात्रीको विस्तृत विवरण खोजतलास गर्ने कार्य अझै भइरहेको बताइएको छ । 

दुर्घटनाग्रस्त पुयुमा एक्सप्रेसका डब्बालाई हटाउन ठुल्ठूला क्रेनको प्रयोग गरिएको छ । रेलका सबै आठवटा डब्बा रेलको लिकबाट बाहिर उछिट्टिएका थिए । वर्षाका कारण उद्धार कार्यमा समस्या रहेको रेल अधिकारीहरुले जनाएका छन् । 



ताइवानका राष्ट्रपतिले सोमबार बिहानै दुर्घटनास्थलको स्थलगत अवलोकन गरेका छन् । उनले दुर्घटनाको कारण तत्काल पत्ता लगाउन आदेश दिइएको संवाददाताहरुलाई बताए । 

स्थानीय टेलिभिजनले प्रसारण गरेको भिडियो फुटेजमा रेल दुर्घटना भएलगत्तै यात्रु झ्याल फुटाएर बाहिर निस्किएको देखिएको थियो । यात्रुहरूले रेल दुर्घटना हुनुअघि जोडले हल्लिएको र तीव्र गतिमा रहेको बताएका छन् । ‘रेल दुईपटक रोकिएको थियो र त्यसैवेला हामीले रेलमा केही समस्या भएकाले मर्मत आवश्यक छ भनेर जानकारी दिएका थियौं,’ एकजना यात्रु चिउले बताए । 

‘हामीले रेलको गति अति बढी रहेको अनुभव गरेका थियौं, त्यसपछि ठूलो आवाज आयो र हामी आफ्ना सिटबाट उडेका थियौं,’ उनले भने । उनले त्यसबखत धेरै यात्रु सुतिरहेका थिए । 

यो रेल दुर्घटना सन् १९९१ यताकै सबैभन्दा डरलाग्दो हो । त्यसबखत पश्चिमी ताइवानको मियाओलीमा दुईवटा रेल जुधेर भएको दुर्घटनामा ३० जना यात्रुको मृत्यु हुनुका साथै एकसय १२ जना घाइते भएका थिए । 

  • प्रकाशित मिति : कात्तिक ५, २०७५ साेमबार १४:३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया