साउदी अरेबियालाई हतियार बिक्री रोक्ने : मर्केल

बर्लिन– जर्मन चान्सलर एन्जेला मर्केलले साउदी अरब सत्ताका आलोचक पत्रकार जमाल खसोग्गीको निर्मम हत्याको सन्दर्भमा जर्मनीले साउदी अरेबियालाई तत्कालका लागि सैनिक सामग्री बिक्री नगर्ने बताएकी छिन् । 

‘सीमित मात्रामा भइरहेको सैनिक सामग्री बिक्रीका सम्बन्धमा समेत जर्मनीको आलोचना भइरहेकै थियो, अहिलेको विसम अवस्थामा साउदी अरेबियालाई हतियार बिक्री हुँदैन,’ चान्सलर मर्केलले पार्टी मुख्यालयमा पत्रकारहरुलाई बताइन् ।  

जर्मन विदेशमन्त्री हेइको मासले शनिबार नै साउदी अरेबियालाई सैनिक सामग्री बिक्री नगरिने स्पष्ट गरेका थिए । जर्मनीले सन् २०१८ का लागि साउदी अरेबियालाई करिब ४८ करोड अमेरिकी डलरबराबरको सैनिक सामग्री बिक्री गर्न गत महिना मात्र स्वीकृति दिएको थियो । विगतमा बर्लिनले साउदीलाई सैनिक सामग्रीका रूपमा मुख्यतः प्याट्रोल बोट (गस्ती डुंगा) निकासी गर्दै आएको थियो । 

मर्केलले खसोग्गीको हत्याको कडा शब्दमा निन्दा गर्नुका साथै उक्त घटनाको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने बताए । ‘हामीले यस घटनाका सबै कुरा थाहा पाएका छैनौँ र अपराधीलाई कारबाही गरिएकै छैन,’ उनले भने । 

मर्केलले यस घटनाका सम्बन्धमा सामूहिक प्रतिक्रियाका बारेमा अन्तर्राष्ट्रिय साझेदारसँग परामर्श गरिरहेको पनि बताए । 

जर्मनीले लेबनान मामिलामा साउदी अरेबियाले हस्तक्षेप गरेको आरोप लगाएपछि जर्मनी र साउदी अरेबियाबीचको सम्बन्धमा चिसोपन आएको थियो । दुवै मुलुकले आआफ्ना राजदूतहरू फिर्ता बोलाए पनि १० महिनापछि गत सेप्टेम्बरमा मात्र पुनःस्थापित गरिएका थिए । 



खसोग्गीको हत्यापश्चात् युरोपेली साझेदारहरू बेलायत, फ्रान्स र जर्मनीसँग साउदी अरेबियाको नयाँ तर गम्भीर दरार उत्पन्न भएको छ । उनीहरूले इस्तानबुल महावणिज्यदूतावासभित्र खसोग्गीको कसरी मृत्यु भएको हो भन्ने प्रस्ट पार्न दबाब दिइरहेका छन् । 

झन्डै १५ दिनसम्म हत्याको आरोपको खण्डन गरिरहेको साउदीले गत शनिबार मात्र खसोग्गीको अक्टोबर २ मा हत्या भएको स्वीकार गरेको थियो । तर, इस्तानबुल महावाणिज्यदूतावासमा झगडा हुँदा खसोग्गीको मृत्यु भएको साउदी अरेबियाले अविश्वसनीय भनाइ सार्वजनिक गरेको छ । विश्व समुदायले उक्त भनाइलाई अस्वीकार गर्दै खसोग्गीको शव सार्वजनिक गर्न आग्रह गर्दै आएका छन् । 
 



  • प्रकाशित मिति : कात्तिक ५, २०७५ साेमबार १४:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया