बाघको क्षमताबारे अध्ययन हुँदै

काठमाडौँ– दुर्लभ वन्यजन्तु पाटेबाघको संख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता (क्यारिङ क्यापासिटी)बारे अध्ययन थालिएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन थालिएको नेपालमै पहिलो हो । विभिन्न देशमा गरिएको तरिका अपनाएर सुरु भएको अध्ययनका लागि अन्तर्राष्ट्रिय विज्ञका रूपमा जुलोजिकल सोसाइटी अफ लन्डनका विज्ञ राज अमिन र भारतका वन्यजन्तुविज्ञ अभिषेक सहभागी छन् । 

अध्ययनमा विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराई र इकोलोजिस्ट पौडेल, विश्व वन्यजन्तु कोषका डा. कञ्चन थापा, राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. नरेश सुवेदी, अर्का विज्ञ डा. भगवानराज दाहाल तथा वन तथा भूसंरक्षण मन्त्रालय र वन विभागका उपसचिवसहितको टोली सहभागी छन् । 

‘यो फिल्डको काम कम छ, बढी डाटामा खेलेर अध्ययन गर्ने हो, बाघका आहारा प्रजाति के के हो, बाघ कहाँ पाइन्छन् भन्ने सबै थाहा छ, त्यही तथ्यांकका आधारमा विज्ञले विश्लेषण गरिरहनुभएको छ,’ पौडेलले भने, ‘उहाँहरूको प्रतिवेदनपछि उपमहानिर्देशक भट्टराई नेतृत्वको प्राविधिक समितिले छलफल गरेर एउटा निचोड निकाल्छ ।’ 

अघिल्लो महिना सार्वजनिक प्रतिवेदनानुसार चितवन निकुञ्जमा पाँच वर्षमा २७ बाघ घटेको पाइएको थियो । पहिलो चरणमा बाघको अध्ययन थालिएकाले गैँडाको पछि अध्ययन हुने पौडेलको भनाइ छ । यो आर्थिक वर्षमा अध्ययन सक्ने योजना रहेको उनले बताए । 

राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्न सक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन । चितवन निकुञ्ज करीब ९ सय ५३ वर्ग किलोमिटरमा फैलिएको छ । यहाँको मध्यवर्ती क्षेत्र भने करिब ७ सय २९ वर्ग किमि फैलिएको छ । सन् २०१३ (विसं २०७०)को अनुगमनमा चितवन निकुञ्जमा १ सय २० बाघ थिए । 



यसपटक ९३ मात्रै बाघ पाइएको छ । सन् २०२२ (विसं २०७९) सम्ममा बाघको संख्या दोब्बर बनाइने सरकारी लक्ष्य रहेकाले पनि क्षमताको अध्ययन जरुरी रहेको निकुञ्ज विभागको भनाइ छ । निकुञ्ज बाघ, गैँंडा, हात्ती, भालु, गौरीगाई, चितुवा, जरायो, चित्तललगायत ठूला जनावरको समेत महत्वपूर्ण वासस्थान हो । 

इकोलोजिस्ट पौडेलले बहन गर्न सक्ने क्षमताको अध्ययनपछि संरक्षणका रणनीति बनाएर अघि बढ्न सजिलो हुने उल्लेख गरे । नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज बाघ र गैंँडाको सबैभन्दा ठूलो वासस्थान हो । गणनापछि बर्दिया र शुक्लाफाँटामा केही गैंँडा स्थानान्तरण गरिएको छ भने चीन सरकारलाई दुई जोडी गैंँडा उपहार दिइएको छ । 



चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बाघ र गैंँडाको संख्या बहन गर्न सक्ने क्षमताको अध्ययन विशिष्ट प्रकृतिको अध्ययन भएको बताउँछन् । अध्ययनका क्रममा बाघ, गैँंडाका आहारा, प्रजाति, वासस्थान, पानी, सुरक्षा, चोरी सिकारका चुनौती, चरीचरण भौगोलिक अवस्थालगायत सबै कुराको विश्लेषण हुनेछ । 

चितवनका संरक्षणकर्मीले भने वासस्थान नाश हुँदै गएकाले वन्यजन्तु बस्तीमा आउने, सामुदायिक वनमा वासस्थान बनाउने र अर्को क्षेत्रमा सर्ने गरेको जिकिर गर्दै आएका छन् । बाघ संरक्षण उपसमिति रत्ननगरका संयोजक जितु तामाङ मुख्य गरी वासस्थान संरक्षणमा योजना बन्न नसकेको जिकिर गर्छन् । 

बाघ परिस्थितिकीय प्रणालीको उच्चस्थानमा रहने जनावर हो । लजालु प्रजातिमा पर्ने बाघ मिश्रित खालको जंगलमा बस्छ । चुरे क्षेत्रमा आराम गर्न पुग्छ । आहारा प्रजाति र पानीको स्रोत भएको आसपासमा बढी सक्रिय हुन्छ । 

बाघ दिउँसो आराम गर्ने र साँझ बिहान सक्रिय हुने जनावर हो । बाघको वासस्थानका लागि चुरे, नदी तटीय क्षेत्र र सालको जंगल चाहिन्छ । घाँसे मैदानमा चित्तल, जरायो, बँदेललगायत वन्यजन्तु हुने भएकाले सिकार खेल्न जान्छ । 
 

  • प्रकाशित मिति : कात्तिक ५, २०७५ साेमबार १६:२१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया