कहिल्यै नसुस्ताउने राजमार्गको व्यापार

लहानस्थित सोभा कोल्ड स्टोर्स जतिखेर पुग्दा पनि खुलै देखिन्छ । यो मात्र होइन, वरपरका अन्य पसल पनि रातदिन खुला नै रहन्छन् ।

सोभा कोल्ड स्टोर्सका दिलीप सिंह भन्छन्, ‘कुनै पनि समय दुकान बन्द गर्ने गरेको छैन । जहान र म पालैपालो पसलमा बस्छौँ ।’ 

रातभर आफूले र दिनभर पत्नीले पसल धान्दै आएको दिलीप बताउँछन् । 

पूर्व–पश्चिम राजमार्ग छेउछाउका अधिकांश पसल चौबिसै घन्टा खुलै रहन्छन् । सडकमा हरपल गाडी कुदिरहने भएकाले पनि सडकछेउका पसलहरू कहिल्यै बन्द हुँदैनन् ।

बरमाझियाँस्थित महेश्वर यादवको ‘बुढो बाजेको पेडा पसल’ पनि रातोदिन खुल्ने गरेको छ । रातको समयमा उनलाई पसलमा पत्नी र एक कामदारले सघाउँदै आएका छन् । दिनमा भने उनका बाबुले पसल धान्छन् । उनी भन्छन्, ‘गाडीहरू आउजाउ भइरहन्छ । व्यापार हुने गाडीकै यात्रुबाट हो ।’

लामो दुरीको यात्रामा गाडीले पनि खाजा–खानाका लागि तीन–चार ठाउँमा रोक्ने गर्छन् । गाडी कहाँ र कुन पसलअघि रोक्ने भन्नेमा भने पहिले नै सहमति हुन्छ । 



पूर्व–पश्चिम राजमार्गमा गुड्ने अधिकांश गाडी खानाका लागि लालगढमा रोकिन्छन् । त्यसैले, यहाँका होटल तथा पसल कुनै पनि समय बन्द हुँदैनन् । आलोपालो काम गरेर होटल धान्ने गरेको सञ्चालकहरू बताउँछन् । 

‘दिन र रात गरी दुवै समयमा काम गर्नका लागि कामदार राखिएको छ,’ लालगढस्थित चौहान होटलका सञ्चालक गणेश चौहान भन्छन्, ‘घरपरिवारका सदस्य मिलेर होटल हेर्छौं ।’ उनीसँगै होटलमा राती ६ जना कामदारसँगै उनका भाञ्जा बस्ने गरेका छन् ।



‘दसैँको समयमा कामदारलाई बिदा दिएका कारण दुई दिनबाट सुत्न पाइएको छैन,’ एक्लै होटलमा बस्नुपर्दा धेरैजसो समयमा सुत्न नपाइने गुनासो गर्दै उनी भन्छन् ।

लालगढमा नै सानो चिया पसल चलाएर बसेकी मनमाया भन्छिन्, ‘गाडी रोक्ने ठाउँ यही हो । व्यापार राम्रो हुन्छ । पसल कहाँ बन्द गर्नु ?’ उनले दिउँसो केही समय आराम गरेर रातको समयमा भने पसल खोल्ने गरेकी छिन् ।

‘घर चलाउने नै यसैले हो । एक्लै भए पनि सधैँ खोल्छु पसल ।’ चिया बेचेरै दैनिक चार हजारसम्म आम्दानी गर्छिन् उनी । 

अहिले काठमाडौंबाट पूर्व जान बाटोका रूपमा बिपी राजमार्ग पनि चल्तिमा छ । बनेपा, सिन्धुली हुँदै बर्दिवास भएर पूर्व–पश्चिम राजमार्गसँग जोडिने यो बाटाका पनि अधिकांश पसल रातदिन खुल्ने गरेका छन् । 

खुर्कोटमा सामान्य खाजा पसल सञ्चालन गरेर बसेका रामकृष्ण आचार्य भन्छन्, ‘खाजापानी किन्नेले यहीँ किन्छन् । राती १२ बजेसम्म पसल खुला नै हुन्छ ।’ उनी दैनिक बिहान चार बजेबाट राती १२ बजेसम्म पसलमा बस्ने गरेका छन् । पत्नी र उनले पालैपालो पसल हेर्ने गरेको उनी बताउँछन् ।

राजमार्गमा पर्ने अधिकांश पसल कुनै समस्या नपरी बन्द हुँदैनन् । धेरैजसो समय आलोपालो गरेर पसल हेर्ने उनीहरू बताउँछन् । 

  • प्रकाशित मिति : कात्तिक ५, २०७५ साेमबार १६:५९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया