अमेरिकामा नेपाली कलाकारको लर्को : कहिले राेकिन्छ प्रतिभा पलायन ?

काठमाडौं – देशमा काम गर्ने वातावरण नभएको भन्दै विदेश पस्ने युवाको संख्या प्रतिदिन बढ्दो छ । मुलुकमा बढ्दो बेरोजगारी समस्यालाई देखाएर विदेश पस्नेको हुलबीच स्वदेशमै प्रतिष्ठित पेसा–व्यवसायमा स्थापित भइसकेकाहरुको संख्या पनि उल्लेख्य छ । 

यसैबीच, देशको राजनीतिक अस्थिरता र पेसागत नैराश्यका कारण अमेरिका पुगी ग्रिनकार्ड लिने कलाकारको संख्या ५ सय नाघेको छ । उचित वातावरण भए आफूहरू स्वदेश फर्कन तयार रहेको बताउँदै आए पनि खासमा उनीहरू उतै रमाउन थालेका छन् । 

हालसम्म ५ सय २ नेपाली कलाकारले अमेरिकाको ग्रिनकार्ड लिइसकेका ‘नेपाली अमेरिकन कलाकार संघ’का अध्यक्ष सुमन बुढामगर बताउँछन्  । उनका अनुसार संघले यसबारे विवरण संकलन गरी पुस्तक प्रकाशनको तयारीसमेत गरेको छ । 

ग्रिनकार्ड लिने कलाकारमध्ये केहीले अन्य कामसँगै कलाकारितालाई पनि निरन्तरता दिएका छन् भने कतिपय पेसाबाटै पलायन भएका छन् । 

‘सेलिब्रेटी’ कलाकारलाई त्यहाँको सरकारले ‘एक्स्ट्रा अर्डिनरी आर्टिस्ट’को मान्यतासमेत दिने भएकाले उनीहरू उतै सम्मानित भएको अनुभव गर्छन् । केही कलाकार नेपाल आउने–जाने गर्छन् भने केहीले नेपाली नागरिकता त्यागिसकेका छन् ।

ग्रिनकार्ड हुनेले अमेरिकामा स्थायी बसोवास र काम गर्न पाउँछन् । ग्रिनकार्ड पाएको तीन वर्षपछि नागरिकता लिने प्रक्रियामा समेत जान सक्ने व्यवस्था छ । 



कलाकार मात्र नभई निजामती कर्मचारी, राजनीतिकर्मी, खेलाडी, उद्योगी–व्यवसायी तथा अन्य विभिन्न क्षेत्रका थुप्रै नेपाली अमेरिका पलायन भएका छन् ।

पछिल्लो समय सरकारले डिभी/पिआरधारी राष्ट्रसेवकलाई कारबाही गर्ने नीति लिएपछि भने कर्मचारीमा अमेरिका जाने आकर्षण घटेको देखिन्छ । 



संघका अनुसार अमेरिकामा रहने कतिपय कलाकार कोल्डस्टोर, पार्लर, पेट्रोल पम्प, होटल, रेस्टुरेन्ट आदिमा काम गर्छन् भने कतिपयले आफ्नै व्यवसाय सञ्चालन गरेका छन् । केही अध्ययनमा पनि लागेका छन् । 

धेरैजसो कलाकार सशस्त्र द्वन्द्वका वेला पलायन भएका हुन् । तर, द्वन्द्व व्यवस्थापनपछि पनि पलायनको क्रम नरोकिनु र तत्कालीन परिस्थितिगत बाध्यताले बिदेसिएकाहरूको पनि स्वदेश फिर्तीमा रुचि नदेखिनु भने चिन्ताको विषय हो । राज्यले अझै जनतामा आशाको किरण छर्न नसकेको यसले देखाउँछ । 

दसैँका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका संगीतकार टीका भन्डारी स्वदेशमा समृद्धि र स्थायित्वको लहर चलेका वेला अमेरिकामा बस्ने नेपाली कलाकारको संख्या बढ्नु शुभसंकेत नभएको बताउँछन् । ती कलाकारमा नेपालका लागि अझै केही गरौँ भन्ने भावना आफूले पाएको बताउँदै भन्डारी भन्छन्, ‘राज्यले उनीहरूलाई फर्काउने वातावरण सिर्जना गर्नुपर्छ ।’

प्रेमराजा महत, सरोज खनाल, जीवन लुइँटेल, रमित ढुंगाना, रामप्रसाद खनाल, महेन्द्र बुढाथोकी, नारायण पुरी, कृष्ण चापागाईं, अरुणिमा लम्साल, रञ्जना शर्मा, साहित्यकार ज्ञानेन्द्र गदाललगायत अमेरिकामै बस्दै आएका छन् ।

यसअघि केही समय अमेरिका बसेर नायिका करिष्मा मानन्धर स्वदेश फर्किएकी थिइन् भने नायक भुवन केसीले ग्रिनकार्ड लिन अस्वीकार गरेका थिए ।
 

– प्रकाश सिलवाल (रासस)

  • प्रकाशित मिति : कात्तिक ५, २०७५ साेमबार १८:४८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया