logo-img

पुस्तकमा ‘घलेगाउँको कथा’

सार्क राष्ट्रको नमुना गाउँ, नेपालको पहिलो स्मार्ट र सुखी गाउँका रूपमा परिचित लमजुङको घलेगाउँ ग्रामीण पर्यटनको प्रमुख गन्तव्य हो । यही गाउँ बनाउन अभियान थालेका प्रेमबहादुर घलेले पुस्तकमार्फत आफ्नो मात्र होइन,घलेगाउँको कथा पनि बोलेका  छन् । प्रेम घले राजनीतिक व्यक्तित्व त हुन् नै,ग्रामीण पर्यटन सफल अभियन्ता पनि हुन् ।

पत्रकार तथा डकुमेन्ट्री फिल्ममेकर प्रदीप पोखरेलद्वारा सम्पादित पुस्तक प्रेम घलेको राजनीति र घलेगाउँको समृद्धि यात्रामा केन्द्रित डकुमेन्ट्री ‘रातो सूर्य’ निर्माणका क्रममा तयार भएको हो । पुस्तकमा प्रेम घलेले ज्यान जोखिममा राखेर गरेका संघर्षको सूक्ष्म ढंगले चिरफार गरिएको छ । ३० वटा उपशीर्षकमा विभाजित प्रस्तुत पुस्तक २९६ पृष्ठको छ । ‘घलेगाउँको कथा’ भित्र प्रेम घलेको सामाजिक, राजनीति जीवनलाई मात्रै समेटेको छैन, नेपालको राजनीतिक अवस्था पनि छर्लङ्ग पारिएको छ।

माओवादी ‘जनयुद्ध’ नभोगेका, रोधी घर, घाँटु, कृष्ण चरित्र, पच्युँ, घ्याप्रे, झाँक्री, सोरठीलाई नजिकबाट अनुभव नगरेका पाठकका लागि पुस्तक एउटा जीवन्त दस्ताबेज हो । प्रेमले जीवनमा भोगेको कठिनाइ तथा संघर्षका घटना पढ्दा जो कोही पनि द्रवीभूत हुन्छ ।

घटनाक्रमको मिति, स्थान र परिवेशसमेत किटान गरी सविस्तार प्रस्तुत गरिएको प्रस्तुत पुस्तक विगत बुझ्ने, वर्तमानमा धारणा बनाउने र भविष्यको मार्गचित्र कोर्नसक्ने सामग्री हो । घटनाक्रम, पात्र र प्रवृत्तिलाई सरल शब्दमा चित्रण गरेर लेखकले पाठकलाई बुझ्न सजिलो बनाइदिएका छन् । 

पुस्तकको सुरुआत प्रेमले ‘घरभित्रका कुरा’ बाट गरेका छन् । प्रेम जिम्बुवाल परिवारका माइला छोरा हुन्। उनले जिम्बुवाल प्रथा आफ्नै घरमा अनुभूति गरे। समाजमा ठूलाबडा भनिनेहरूले अझै पनि निम्नवर्गीय मानिसमाथि हैकम जमाउँछन्। पुस्तकले जिम्बुवाल कस्ता हुन्छन् भन्ने जानकारी दिन्छ। त्यसपछि उनले क्रमश ः घलेहरूको इतिहास, आफ्नो बाल्यकाल, रोधीघर, संग्रहालयको चर्चा गर्दै कथा अगाडि बढाएका छन्।

पुस्तकमा प्रेमलाई अक्षर चिनाउने गुरु शक्तिप्रसाद घिमिरेको सन्दर्भ उल्लेख छ। गुरु प्रेमकै घरमा बस्थे। शिक्षकमा हुनुपर्ने सबै गुण घिमिरेमा थियो। शक्ति गुरुको तुलना अहिलेका शिक्षकसँग हुँदैन। शिक्षक कस्तो हुनुपर्छ भन्ने उदाहरण शक्ति गुरु हुन्। यसकारण शिक्षक र विद्यार्थीका लागि पुस्तक उपयोगी बन्न सक्छ।

पुस्तकमा अर्को चर्चा छ लाहुरेको। हाम्रो समाजमा लाहुरेलाई विशेष नजरले हेरिन्छ। इज्जत, पैसा, बहादुरीसँग तुलना गरिन्छ। बुढेसकालमा पेन्सन आउँछ। परिवार पाल्न सजिलो हुन्छ। नातिनातिना पढाउन सजिलो हुन्छ भन्छन् अवकाश प्राप्त लाहुरेहरू।​​

 

Image 1अहिले पनि कतिपय युवाको सपना लाहुरे हो। पहिलो रोजाइ ब्रिटिस आर्मी, त्यसपछि भारतीय अनि बल्ल नेपाली। प्रेम पनि आमाबुबाको दबाबमा लाहुरे बन्न भारत गए। लाहुरे हुन सकेनन्। लाहुरे छोराको चिठी पर्खेर बसेका परिवारको आशा कसरी निराशामा परिणत भयो रोचक किस्सा पुस्तकमा छ। समाजमा लाहुरेप्रतिको मोह कस्तो थियो भन्ने प्रेमको जीवनीले प्रस्ट्याएको छ।

नेपालका प्राय गाउँ बसाइँ सराइले रित्तिएका छन्। विकास गाउँ पुग्यो तर गाउँ छाड्नेहरू बढे। प्रकृति र संस्कृतिमा धनी घलेगाउँमा मानिस रित्तिन थाले। दोस्रोपटक गाविस अध्यक्ष बनेका प्रेमले मानव जीवनसँग जोडिएको बसाइँ सराइजस्ता समस्या समाधान गर्न होमस्टेको अवधारणा ल्याए। पुस्तकको आवरणमा लेखिएको ‘घलेगाउँको कथा’ यहीँबाट सुरु हुन्छ।

हमस्टे सञ्चालनका लागि डाकिएको पहिलो गाउँ भेलाका कुरा रमाइला छन् । चर्पीविहीन गाउँमा चर्पी बनाउने कुरा गरेपछि ठट्टेउलो पाराका कुराले पेट मिचिमिची हँसाउँछ । होमस्टे सञ्चालन गर्नुअगाडि गाउँका गल्ली, गोरेटो, घरआँगन सफा गर्नुपर्छ भन्दा गाउँले रिसाएका छन्। प्रेमको विरोध गरेका छन्। उनले पुस्तमार्फत समाजमा राम्रो कामको थिति बसाल्न गर्नुपर्ने संघर्ष बयान गरेका छन्।

प्रेमले २०५४ सालमा होमस्टे सञ्चालनको सोच बनाए। होमस्टेको विधिवत् सञ्चालन २०५७ वैशाखमा मात्रै भयो। चर्पीमै दिसापिसाब गर्नुपर्छ भन्ने सामान्य ज्ञानसमेत नभएका घलेगाउँवासीलाई गाउँका गल्ली, गोरेटो बाटो, घरआँगन सफा गर्नुपर्छ भन्ने चेतना जगाउन प्रेमले खेलेको भूमिका रोचक छ।

घलेगाउँमा होमस्टे सञ्चालन गर्नुअघि स्याङ्जाको सिरुबारीको होमस्टेलाई पछ्याइएको थियो। स्याङ्जाको होमस्टेको नियम केकस्ता थिए पुस्तकमा विस्तृत उल्लेख छ। नेपालका गाउँमा होमस्टे बनाएर आयआर्जन गर्न सकिन्छ। गाउँमा होमस्टे स्थापना गरेर धेरै पर्यटक भित्र्याउन सकिन्छ। यसलाई आम्दानीको स्थायी स्रोत बनाउन सकिन्छ। गाउँमा बसाइँसराइ रोक्ने र घलेगाउँलाई कुनै दिन ग्रामीण पर्यटनको हब बनाउने प्रेमको लक्ष्य, मेहनत जोकोहीका लागि पनि उदाहरण बन्नसक्छ।

देश, समाज, कार्यालय जहाँ पनि राम्रो काम गर्नेलाई खुट्टा तानेर लडाइन्छ। अवरोध पु¥याइन्छ। प्रेमले पनि यस्तो अवस्थाबाट छुटकारा पाएनन्। घलेगाउँलाई आज हामी पर्यटकीय, सुन्दर, सफा र सांस्कृतिक पहिचानको गाउँका रूपमा चिन्छौँ। त्यही गाउँ बनाउन कस्सिएका प्रेम घलेका खुट्टा तान्नेहरू धेरै थिए। लरतरो भएका भए चुँडिन्थे पनि होला तर उनी नथाकीकन गन्तव्यमा पुगेरै छाडे। समाज परिवर्तन, रूपान्तरण गर्न एउटा मान्छेले खाएको ठक्कर र उकालीओरालीको विवरण पुस्तकमा रोचक छ। समाजले छिनमै कुनै व्यक्तिलाई खराब र असल कसरी बनाउँछ भन्ने उदाहरण पनि पुस्तकमा पाइन्छ।

गुरुङ जातिको संस्कार र संस्कृति पुस्तकको अर्को रोचक विषय हो। पुस्तकमा रक्सीलाई संस्कार र संस्कृतिसँग जोडिएको छ। गुरुङ समुदायमा हरेक संस्कारमा रक्सी चाहिन्छ। प्राय मानिस चियाकै सट्टा रक्सी पिउँछन्। प्रेम रक्सी पिउँदैनथे। उनले समाज सुधारक बनेर रक्सीमुक्त गाउँको अभियान चलाए। पछि आमाहरूको करले, मायाले भन्दै रक्सी पिएको उनले लेखेका छन्। ‘पहिलो पेग’ शीर्षकमा उनले समाजको रीतिसँग हार्न नसकिने यथार्थ प्रस्तुत गरेका छन्।

प्रेम घलेले समाज रूपान्तरण र राजनीतिक गतिविधि सँगसँगै अगाडि बढाए जतिबेला देशमा हिंसात्मक गतिविधि चर्केको थियो। परिणामस्वरूप उनी पनि विद्रोही र सरकारबीचको द्वन्द्वमा परे। समाजमा थिति बसाल्नै लाग्दा उनलाई माओवादी कार्यकर्ताले दिएको चोट बिर्सन सकिने खालको छैन। जुन कुरा पुस्तकमा उल्लेख छ।

माओवादीले प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउँछ। कतिपयले यो दिनलाई कालो दिनका रूपमा मनाउँछन्। अहिले सामाजिक सञ्जाल बढी नकारात्मक टिप्पणी आउँछन्। माओवादीले युद्धकालमा जनसरकारको निर्णय भन्दै गरेको अत्याचार, क्रूरता, यातना, दुस्ख, पीडा पुस्तकमा बाक्लो गरी उल्लेख गरिएको छ। युद्ध र संघर्षका दिनहरूको एउटा संगालो बनेको छ पुस्तक।

माओवादीले तिलकराज पाण्डेलाई मारेको घटना पुस्तकमा उल्लेख छ। पाण्डेका भतिजोको बिहेकै दिन माओवादीले अपहरण गरी मारेको घटना सम्झिँदा आज पनि माओवादी जनयुद्धप्रति घृणाभाव उत्पन्न हुन्छ। प्रेम आफैँ पनि पटकपटक माओवादीको जनकारबाहीमा परेका व्यक्तित्व हुन्।

लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई २०५८ माघ ३ गते दुबै हात पछाडि बाधेर कन्चटमा गोली हानेर मारेको घटना प्रमुख रूपमा उठाइन्छ। माघ ३ गते माओवादी छापामार कसरी विद्यालय पसे मुक्तिनाथ अधिकारीलाई मारे भन्ने विस्तृत घटना पुस्तकमा छ। यस्तै घटनाका पीडितहरू न्यायको पर्खाइमा छन्। सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत द्वन्द्वपीडितका समस्या समाधान गर्ने प्रयास गरेको लामो समय बिते पनि पीडितले न्याय पाएका छैनन्।

राजनीतिमा लाग्नेहरूमध्ये त्याग र निष्ठा कमैमा देखिन्छ। त्यागको राजनीति प्रेम घलेले देखाएको पुस्तकमा उल्लेख छ। २०४९ र २०५४ सालमा दुई कार्यकाल गाविस अध्यक्ष र २०७४ मा क्व्होलासोथर गाउँपालिकाको अध्यक्ष भएर पाँच वर्ष कार्यकाल पूरा गरे प्रेमले।

गाउँको सत्तामा पटकपटक पुगेर उदाहरणीय काम गरेका प्रेमलाई २०७९ वैशाख ३० को स्थानीय निर्वाचनमा सोही गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न जनताको आग्रहलाई धन्यवाद दिँदै नयाँ नेतालाई मौका दिए। नयाँ पुस्तालाई राजनीति हस्तान्तरण गर्दा पनि कसैले धन्यवाद नभन्दा प्रेमलाई खिन्नता बोध भएको छ। ‘क्लिन स्विप’ शीर्षकमा प्रेमले भनेका छन्, ‘नयाँ पुस्तालाई राजनीति हस्तान्तरण गरेकोमा कसैले धन्यवाद दिएनन्। म त्यो शब्दको खोजीमा थिएँ।’

चुनाव जितेपछि जनताका घरदैलोमा पुग्ने नेता कमै छन्। प्रेम घले यस्ता नेता हुन् जो गाउँमै हुर्केर गाउँका दुखसुखका साथी बने। जनप्रतिनिधि गाउँगाउँमा पुग्नुपर्छ जनताका समस्या पहिचान गरेर काम गर्न सजिलो हुन्छ भन्ने सन्देश पुस्तकमा पाइन्छ। समाज रूपान्तरणमा प्रेमको योगदान कम आँक्न पटक्कै मिल्दैन। पुस्तक पढ्दै जाँदा ठाउँठाउँमा प्रेमका जिन्दगीका अनेक भोगाइ, सफलता असफलता भेटिन्छन्।

प्रेमले ‘विगतका निर्वाचन’ शीर्षकमा आमानिर्वाचन २०१५, राष्ट्रिय पञ्चायतका सदस्य ९रापंस० को निर्वाचन २०३८, रापंसको निर्वाचन २०४३, जनमत संग्रह २०३७ र पञ्चायती व्यवस्थामा लमजुङ २०१७(२०४६ का राजनीतिक घटना उल्लेख गरेका छन्। पुस्तकले उम्मेदवार, चुनाव चिह्न, मत संख्यासमेत उल्लेख गरिदिएर पाठकलाई विगतबारे जानकारी पाउन सजिलो बनाइदिएको छ। राजनीतिमा चासो राख्ने जोकोहीका लागि सन्दर्भसामग्री बन्नसक्छ।

हाम्रो देशमामा विकास आयोजना समयमै किन सम्पन्न हुँदैनन् भन्ने गतिलो उदाहरण पनि पुस्तकमा छ। स्थानीय, राजनीति दल, कर्मचारी, प्रशासनले अवरोधले कसरी बाधा पु¥याउँछन् भन्ने स्पष्ट पारिएको छ। सडक खन्ने कामदारलाई दसैँको मुखमा दिने पैसा नभएर प्रेम आफैँले आठ तोला सुन नेपाल बैंकमा धितो राखेर एक लाख ऋण निकालेको र ३२ किलोमिटर सडकको ट्याक खोल्न १० वर्ष लागेको तितो यथार्थ पुस्तकमा उल्लेख छ।

प्रेम घलेलाई गाउँसमाजको विकासको चिन्ताले राम्रोसँग निद्रा लाग्दैन। विकास गर्ने हुटहुटीले उनलाई तानिरहन्छ। काममा सघाउनेभन्दा भाँजो हाल्नेहरूका कारण उनी गन्तव्यमा ढिलो पुगे। जहाँ इच्छा गरे जहाँ चाहे त्यहाँ सफल भएरै छाडे। पुस्तकको अन्तिम पातामा बिजुली बाल्दाको कठिनाइ र सफलताको व्याख्या छ। बिजुली बाल्न खोज्दा कांग्रेस, माओवादी, कर्मचारी, प्रशासनबाट भएको अवरोधलाई प्रेमले सिलसिला मिलाएर उल्लेख गरेका छन्।

कमिसनबिना सेवाग्राहीको काम गर्ने कर्मचारी कमै पाउन सकिन्छ। उनीहरूले अनेक दुस्ख दिन्छन्। देश विकास हुन नसक्नुमा एउटा तत्त्व कर्मचारी पनि हो। प्रेम घलेले पृष्ठ २८४ मा उपभोक्ता समितिका कर्मचारीले कमिसन नपाई ट्रान्सर्फमर उपलब्ध नगराउने भनेको उल्लेख गरेका छन्। गाउँमा बिजुली बाल्न झमेलामाथि झमेला झेलेका प्रेमले बिग्रेको ट्रान्सर्फमर खोजेर ल्याई बनाउन बगुम र घलेगाउँमा चन्दा उठाए। हेटौँडा गएर बनाए र लेकाली बस्तीमा बिजुली बाले। यो उनको अर्को सफलताको कथा हो।

अन्त्यमा, लमजुङको परिचय घलेगाउँमा मात्रै सीमित छैन। सामाजिक, सांस्कृतिक, पर्यटन, विकास र समृद्धि यात्राको यात्रा बुझ्नका लागि पुस्तक निकै उपयोगी छ। पुस्तक अध्ययन गरिहँदा रत्तिभर झन्झट लाग्दैन। प्रत्येक पानाले उत्सुक बनाउँछन् । 

 

पुस्तक : घलेगाउँको कथा

लेखक : प्रेम घले

पृष्ठ संख्या : २९६

मूल्य : ५५० रुपैयाँ

प्रकाशक : पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँ, लमजुङ

 

Image 2

 

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्