श्रीलंकामा श्रृङ्खलावद्ध विस्फाेट

एजेन्सी– श्रीलङ्काका चर्च र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा १ सय ८७ जनाभन्दा बढीको मृत्यु भएको छ ।

आइतवार श्रीलङ्काकाे राजधानी काेलम्बाे र विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए। त्यसपछि पनि थप दुईवटा विस्फोटन भए ।

यही विषयका समाचारहरु हामीले यहाँ अपडेट गरिरहेका छाैँ । 

१० वर्षअघि ‘आतंकवादलाई परास्त गरेको’ श्रीलंकाले किन भोग्नुपर्यो यति विभत्स आक्रमण ?
एजेन्सी  |  ९:४१:४१

कोलम्बो– श्रीलंकामा इसाईहरुको इस्टर पर्वका दिन आइतबार शृंखलाबद्ध विस्फोट भए । होटल तथा चर्चकेन्द्रित आक्रमणहरुमा दुई सयभन्दा बढीले ज्यान गुमाए, सयौँ घाइते भए । 

२६ वर्षको संघर्षपछि आतंकवादविरुद्ध विजय पाएको श्रीलंका १० वर्षपछि फेरि एकपटक हार्यो । १० दिनअघि नै प्रहरीलाई सुराक मिल्नाका बाबजुद यस्तो भयानक आक्रमण हुनुले आक्रमणको पीडाबोधसँगै श्रीलंकाले ‘सेक्युरिटी फेलियर’को चरम् हीनताबोध पनि सहनुपर्यो । 

आइतबारका ८ विस्फोटले द्वीपीय मुलुक श्रीलंकालाई स्तब्ध बनाएको छ । हमलासँगै, १० वर्षपछि श्रीलंकाको शान्ति भंग भएको छ । 

पूर्वको मोती भनेर चिनिने यो दक्षिण एसियाली मुलुक लामो समय गृहयुद्धको रापमा पिल्सियो, सिंहाली बुद्धिस्ट र अल्पसंख्यक हिन्दु, मुस्लिम तथा इसाईबीच अन्तरसंघर्षको साक्षी बनिरह्यो । 

भारतीय मूलका अल्पसंख्यक तामिल विद्रोहीहरुले सन् १९८३ मा सुरु गरेको विद्रोह २००९ सम्म चल्यो । विद्रोही समूह लिबरेसन तामिल टाइगर्स इलम (लिट्टे) को अवसानसँगै श्रीलंकाले आफूलाई आतंकवादमुक्त घोषणा गर्यो । दशकभर शान्तिको अनुभूति पनि पाए श्रीलंकाली जनताले । तर, आइतबारका यी विभत्स घटनाले फेरि एकपटक श्रीलंकाली सुरक्षामाथि सवाल खडा गरिदिएका छन् । 

यी विस्फोटका घटना यस्तो समयमा भए, जतिखेर श्रीलंकामा बुद्धिस्ट र अन्य अल्पसंख्यक समुदायहरुबीच हिंसात्मक झडपका खबर आइरहेका थिए । 

भलै, तामिल विद्रोहीहरुलाई श्रीलंकाली सैन्यबलले कुल्चिएर मोटाइदिएको थियो, तथापि देशमा जातीय, धार्मिक अन्तरसंघर्षको बिउ भने जागै थियो । सिंहाली बुद्धिस्टहरुको दबदबाबीच अल्पसंख्यक समुदायहरुले आफूलाई हमेसा दमित–पीडित नै महसुस गरिरहेका थिए । अर्कातर्फ, अल्पसंख्यकहरुबीचकै जातीय–धार्मिक विभाजनले भित्रभित्रै लाभा तताइरहेको थियो । फलस्वरुप, संगालिँदै गएको विद्रोही भावनाले १० वर्षपछि फेरि विस्फोटक रुप लियो । 

डेली मेलको रिपोर्टअनुसार, एक इसाई समूहको दाबी छ कि उनीहरुविरुद्ध बितेको वर्ष भेदभाव, हिंसा र धम्कीका ८६ वटा घटना दर्ज भएका थिए, र यस वर्ष पनि अहिलेसम्म २६ उजुरी आइसकेका छन् । 

श्रीलंकामा चर्च बन्द गर्ने दबाबका रिपोर्टहरुमाथि ध्यान दिँदै अमेरिकी विदेश मन्त्रालयले गतवर्ष चेतावनी जारी गरेको थियो । रिपोर्टहरुले केही बौद्ध समूहले इसाई र मुस्लिम समुदायका धार्मिक स्थलहरुमाथि रोक लगाउने प्रयास गरिरहेका बताएका थिए । 

यति मात्र होइन, मस्लिमहरुविरुद्ध भएका दंगालाई लिएर केही महिनाअघि सरकारले आपत्काल नै घोषणा गर्नुपरेको थियो । श्रीलंकामा कट्टरपन्थी बुद्धिस्ट समूहले मुस्लिमहरुमाथि जबर्जस्ती धर्मान्तरणको आरोप लगाउँदै आएका छन् । 

कुल २ करोड २० लाख जनसंख्या रहेको श्रीलंकामा ७० प्रतिशत बुद्धिस्ट छन् । १३ प्रतिशत जनसंख्या हिन्दुको छ । २०१२ को जनगणनाअनुसार यहाँ १० प्रतिशत मुस्लिम र लगभग ७ प्रतिशत इसाई छन् । इसाई धर्म मान्नेमा सिंहाली र तामिल दुवै समुदायका मानिस छन् । यसैले पनि सिंहाली र तामिल दुवै समूदायले आफ्ना समुदायका मानिसलाई धर्मान्तरण गराएको भन्दै इसाईहरुमाथि द्वेष राख्छन् । दुवै समुदायका कट्टरपन्थीहरु इसाईका सबै चर्च बन्द गर्नुपर्ने ठान्छन् । 

श्रीलंका विस्फोटः क्राइस्टको यो तस्वीर जुन निकै चर्चामा छ
एजेन्सी  |  २३:१५:१५

एजेन्सी– आइतबार श्रीलंकामा कम्तिमा पनि २०७ जनाको ज्यान लिने गरि आतंकवादी विस्फोटहरु गराइए । त्यहाँका रक्षामन्त्रीले यी विस्फोेटमा एउटा समूहको हात रहेको दाबी गरेका छन् । तर, कसैले पनि शृङ्खलाबद्ध विस्फोटको जिम्मेवारी लिएको छैन ।

त्यहाँको सरकारले सामाजिक सन्जालहरु प्रतिबन्ध लगाएको छ भने अर्को सूचना जारी नहुँदासम्मका लागि श्रीलंकामा कफ्र्यू लगाइएको छ । यहीबीच त्यहाँको क्राइस्टको यो तस्वीर सामाजिक सन्जालमा निकै चर्चामा रहेको छ । 

जिसस क्राइस्टकाे याे तस्वीर विस्फाेट गराइएका श्रीलंकाली चर्चहरुमध्ये एउटामा लिइएकाे हाे । 

 

श्रीलंका विस्फोटः तमिल अभिनेत्री ‘भाग्य’ले बाँचिन्
एजेन्सी  |  २२:५२:४३

एजेन्सी– आफ्नो अभिनयका कारण स्थापित तमिल अभिनेत्री राधिका सरथकुमार श्रीलंका विस्फोटमा भाग्यले बाँचेकी छिन् । उनले सिन्नामोन ग्रान्ड होटलबाट केही बाहिर निस्किए लगत्तै त्यहाँ विस्फोट भएको आफ्नो ट्वीटरमा लेखेकी छिन् । 

१० लाखभन्दा धेरै ट्विटर फलोअर्सलाई राधिकाले भनेकी छिन्, ‘मैले भर्खरै कोलम्बो सिन्नामोन ग्रान्ड होटल छोडेँ र अहिले त्यहाँ विस्फोट भएको छ । यो कुरा पत्याउनै सकेकी छैन ।’ उनका श्रीमानले पनि यही विषयमा ट्विट गरेका छन् । राधिकाका श्रीमान् आर सरथकुमार तमिल राजनीतिक पार्टीका संस्थापक तथा अभिनेता हुन् । 

 

श्रीलङ्का विस्फाेट: ३ डेनिस, ५ बेलायती र कयाैँ अमेरिकीकाे मृत्यु
एजेन्सी  |  २२:३६:५३

एजेन्सी– श्रीलङ्कामा आइतबार भएकाे शृङ्खलाबद्ध विस्फाेटमा कम्तिमा पनि २७ जना विदेशी नागरिककाे मृत्यु भएकाे त्यहाँकाे रक्षामन्त्रालयले जनाएकाे छ । 

उता डेनमार्कले आफ्ना तीन नागरिक विस्फाेटमा मारिएकाे जनाएकाे छ । त्यस्तै बेलायतले कम्तिमा पनि ५ बेलायती नागरिक विस्फाेटमा परेकाे जनाएकाे छ । अमेरिकाले भने आफ्ना कयाैँ नागरिक विस्फाेटमा मारिएकाे बताएकाे छ । यसअघि चीनकाे सन्चारमाध्यममा एक चिनियाँ नागरिककाे मृत्यु भएकाे समाचार आएकाे थियाे । 

यी विस्फाेटपछि श्रीलङ्कामा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि कर्फ्यू लगाइएकाे छ ।

श्रीलंकन समकक्षीलाई फोन गरेर प्रधानमन्त्री ओलीले व्यक्त गरे समवेदना
फरकधार  |  १९:१:२५

काठमाडौं– श्रीलंकामा २ सयभन्दा बढीको ज्यान लिनेगरी भएका शृंखलाबद्ध विस्फोटका घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । केहीबेरअघि श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई फोन गरेर प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् । 

प्रधानमन्त्री सचिवालयका अनुसार ओलीले प्रधानमन्त्री विक्रमासिंघे र श्रीलंकाली जनताप्रति समवेदना प्रकट गरे । विस्फोटमा परी ज्यान गुमाउनेप्रति श्रद्धासुमन अर्पण गर्दै प्रधानमन्त्री ओलीले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

टेलिफोनमा प्रधानमन्त्रीले नेपाल जुनसुकै रंग र रुपको आतंकवादको विरुद्धमा उभिने भन्दै मानवताविरोधी घटनाको भर्त्सना गरे ।

श्रीलंका विस्फोटमा मृत्यु हुनेको संख्या २०७ पुग्यो
एजेन्सी  |  १८:२४:४५

एजेन्सी– श्रीलंकामा आइतबार भएको शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ । आइतबार विभिन्न चर्च र रेष्टुरेन्टमा भएका आठ विस्फोटमा बेलायती नगारिकको पनि मृत्यु भएको समाचार बिबिसीले प्रकाशन गरेको छ । 

बेलायतका श्रीलंकाका लागि दूतले भनेका छन्, ‘केही बेलायती नागरिकको पनि मृत्यु भएको हामीले अनुमान गरेका छौँ । तर, कतिजना भन्ने अहिले नै थाहा भइसकेको छैन ।

श्रीलंकाका अधिकारीहरुले बेलायत, अमेरिका, नेदरल्यान्ड्स र पोर्चुगलका केही व्यक्तिहरुको निधन हुनसक्ने बताएका छन् । चिनियाँ सन्चारमाध्यमहरुले विस्फोटमा परि एक चिनियाँ नागरिकको मृत्यु भएको बताएका छन् । 

श्रीलंका आक्रमण: एक चिनियाँ नागरिककाे मृत्यु, सात संदिग्ध समातिए
एजेन्सी  |  १७:५६:०

एजेन्सी– आइतबार श्रीलंकाका विभिन्न ठाउँमा भएकाे आक्रमणमा एक चिनियाँ नागरिककाे मृत्यु भएकाे चीनका मिडियाले लेखेका छन् । आक्रमणमा कम्तिमा पनि ९ विदेशी नागरिककाे मृत्यु भएकाे श्रीलंकाली समाचार संस्थाहरुले जनाएका छन् । 

त्यस्तै ती विस्फाेटहरु गराएकाे आशङ्कामा प्रहरीले सात जनालाई पक्राउ गरेकाे छ । आइतबार भएका अधिकांश विस्फाेट आत्मघाती आक्रमण भएकाे प्रहरीले बताएकाे छ । 

श्रीलंका विस्फोट : के प्रहरीलाई हमलाबारे पहिल्यै जानकारी थियो ?
एजेन्सी  |  १७:४१:४

कोलम्बो– श्रीलंकाको राजधानी कोलम्बोलगायत विभिन्न सहरका ८ ठाउँमा आज विस्फोट भए । इसाईहरुको इस्टर पर्वका दिन विभिन्न चर्चलाई निसाना बनाई गराइएका विस्फोटहरुमा परी कम्तीमा १६२ जनाले ज्यान गुमाए भने ४०० भन्दा बढी घाइते छन् । 

श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयसुन्दराले १० दिनअघि नै आत्मघाती हमलाको चेतावनी दिएका थिए । ११ अप्रिलमा जयसुन्दराले भनेका थिए, ‘एक विदेशी जासुसी संस्थाले भनेको छ, नेसनल थोहिथ जमात (एनटिजे) देशको प्रमुख चर्च र कोलम्बोको भारतीय उच्चायोगमाथि आत्मघाती हमलाको षड्यन्त्र रचिरहेको छ ।’

एनटिजे श्रीलंकाको कट्टरपन्थी मुस्लिम संगठन हो । गतवर्ष बुद्धमूर्तिहरु तोडेर यो संगठन चर्चामा आएको थियो । 

आजका विस्फोटहरु मूलतः चर्चकेन्द्रित नै थिए । यद्यपि, केही विस्फोट होटल परिसरमा भए । पहिलो विस्फोट कोलंबोको सेन्ट एन्थोनी चर्चमा भयो ।

लगत्तै, नेगोम्बोको सेन्ट सेबेस्टियन चर्च र बट्टिकलोआस्थित अर्को चर्चमा विस्फोट भए । यसका अतिरिक्त कोलम्बोका सांग्रिला होटल, किंग्सबरी होटल र सिनमन ग्र्यान्ड होटलमा पनि विस्फोट भए । 

घटनाक्रम हेर्दा यो लामो समयदेखिको व्यवस्थित योजना देखिन्छ । त्यसको सुराक श्रीलंकन प्रहरीलाई पहिल्यै मिलिसकेको प्रहरी प्रमुखको १० दिनअघिको बयानले देखाउँछ । तर, सुराकका बाबजुद प्रहरीले यति भयानक आक्रमणलाई किन रोक्न सकेन ? श्रीलंकन सरकारमाथि नै प्रश्न तेर्सिएको छ । 
 

के श्रीलंका शृङ्खलावद्ध विस्फोटमा कोही नेपाली परेका छन् ?
फरकधार  |  १७:०:१६

काठमाडौं– आइतबार विहान श्रीलंकाका विभिन्न गिर्जाघर र रेष्टुरेन्टहरुमा शृङ्खलाबद्ध रुपमा विस्फोट भएको छ । यो विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । विस्फोटमा परी १ सय ९० भन्दा बढीको मृत्यु भइसकेको त्यहाँका सन्चारमाध्यम र अस्पताल स्रोतहरुले बताएका छन् । 

विस्फोटको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा विभिन्न राजनीतिक दलका नेता तथा राजनीतिक दलले भत्र्सना गर्दै विज्ञप्ति जारी गरेका छन् । 

श्रीलंकामा व्यवसाय, अध्ययन तथा घुमफिरका लागि पनि वर्षेनी नेपालीहरु पुगिरहेका हुन्छन् । आइतबार विस्फोटमा २० विदेशी नागरिकको मृत्यु भएको श्रीलंकाको रक्षा मन्त्रालयले जनाएको छ । के यी विस्फोटबाट नेपाली पनि प्रभावित भएका छन् ? 

‘अहिलेसम्म हामीलाई थाहा हुन सकेको छैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘हामी बुझ्ने प्रयास गरिरहेका छौँ । तर, अहिलेसम्म कोही पनि नेपाली विस्फोटमा परेको हामीले थाहा पाएका छैनौँ ।’

श्रीलंकामा बस्ने नेपाली समुदायका सदस्यबारे अहिलेसम्म कुनै अप्रिय समाचार नआएको श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेलले जानकारी दिएका छन् । 

त्यहाँ रहेका केही नेपालीहरुले सामाजिक सन्जालमा आफूहरु सुरक्षित भएको पनि लेखेका छन् । 

कोलम्बोमा मात्र चार सयभन्दा धेरै नेपाली भएको विश्वास गरिन्छ । श्रीलंकाभर चाहिँ एक हजारभन्दा धेरै नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

श्रीलंकाका विभिन्न अस्पतालहरुले विदेशीहरुको मृत्यु भएको बताए पनि कुन देशका नागरिक हुन् भन्नेबारे अहिलेसम्म बताएको छैन ।

 

 

श्रीलंका विस्फोटको राप्रपाले गर्यो निन्दा
फरकधार  |  १६:५९:१३

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले श्रीलंकामा भएको शृंखलापूर्ण विस्फोटको भर्त्सना गरेको छ । केहीबेरअघि प्रेस विज्ञप्तिमार्फत राप्रपाले विस्फोटमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली दिँदै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ । 

‘राजधानी कोलम्बोलगायत विभिन्न स्थानमा भएको श्रृंखलाबद्ध बम विस्फोटको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भत्र्सना र निन्दा गर्दछ,’ राप्रपाको विज्ञप्तिमा उल्लेख छ, ‘विस्फोटनमा परी दिवंगत भएका निर्दोष जनहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’

श्रीलंकाली जनता र सरकारप्रति गहिरो सहानुभूति प्रकट गर्दै राप्रपाले आतंककारी घटनाको सामना गर्ने विषयमा श्रीलंकाली जनता र सरकारसँग ऐक्यबद्धता जनाएको छ । 
 

आठाैं विस्फाेटमा ३ प्रहरीकाे मृत्यु, श्रीलंकामा सामाजिक सन्जाल बन्द
एजेन्सी  |  १६:३४:०

एजेन्सी– प्रहरीका अनुसार आज श्रीलंकामा भएकाे आठाैं विस्फाेटमा तीन प्रहरीकाे मृत्यु भएकाे छ । याे आत्माघाती आक्रमण भएकाे प्रहरीले जनाएकाे छ । 

श्रीलंकाकाे सरकारले देशभर तत्कालका लागि सबै सामाजिक सन्जाल बन्द गर्ने घाेषणा पनि गरेकाे छ ।

श्रीलंकाका स्कुलहरुमा बिदा
एजेन्सी  |  १६:२९:३७

एजेन्सी– श्रीलंकाका सबै विद्यालयहरु दुई दिनका लागि बन्द गरिएकाे छ । सुरक्षाकाे कारण देखाउँदै सरकारले याे निर्णय गरेकाे हाे । बुधबारसम्म कुनै पनि विद्यालय नखाेल्न सरकारले निर्देशन दिएकाे छ । 

श्रीलंका विस्फाेट दुखद: पाेप
एजेन्सी  |  १६:२२:३५

एजेन्सी– भ्याटिकनकाे एक कार्यक्रममा बाेल्दै पाेप फ्रान्सिसले श्रीलंकाली घटना अत्यन्त दुखद भएकाे बताएका छन् । उनले घटनालाई क्रुर आक्रमणकाे पनि संज्ञा दिएका छन् । 

श्रीलंकाभर १२ घन्टे कर्फ्यू
एजेन्सी  |  १६:१९:१५

एजेन्सी– श्रीलंकाली प्रहरीले देशमा १२ घन्टे कर्फ्यू लगाएकाे छ । आइतबार स्थानीय समयअनुसार साँझ ६ बजेबाट सुरु भएकाे कर्फ्यू साेमबार विहान ६ बजे सकिँदै छ ।

चरमपन्थीहरुकाे पहिचान भइसकेकाे छ: श्रीलंकाली रक्षामन्त्री
एजेन्सी  |  १६:१०:३७

श्रीलंकाका रक्षामन्त्री रुवान विजेवार्दनेले याे विस्फाेटमा संलग्न जाेसुकैलाई पनि कडा कारवाही गर्ने बताएका छन् ।

श्रीलंका चरमपन्थी समूहका लागि कुनै स्थान नभएको बताउँदै उनले भनेका छन्, ‘यी चरमपन्थीहरुलाई हामी अब श्रीलंकामा समस्यामा पार्ने छौँ, र केही दिन यता उनीहरुले गरेका कायरतापूर्ण हमलाको विरोध गर्नेछौँ ।’

‘हामी आवश्यक कारवाहीहरु गर्नेछौँ,’ उनले भनेका छन्, ‘उनीहरु जुनसुकै समूह वा धर्मका भए पनि चरमपन्थीहरु ह्ुन्, उनीहरुविरुद्ध कडा कारवाही चालिने छ ।’

अहिले त्यहाँको अनुसन्धान विभाग, प्रहरी र सेनाले यसबारे अनुसन्धान सुरु गरिसकेको पनि उनले जनाएका छन् ।

‘यो गर्ने चरमपन्थीहरुको पहिचान भइसकेको छ,’ उनले भनेका छन्, ‘उनीहरुलाई अब छिट्टै कडाभन्दा कडा कारवाही हुनेछ ।’