काेराेना भाइरस LIVE अपडेट्स

चीनकाे वुहानबाट सुरु भएकाे काेराेना भाइरस अहिलेसम्म विश्वका अधिकांश देशमा देखिइसकेकाे छ । यसका कारण हुने काेभिड १९ राेगका कारण पछिल्लाे समय इटाली, इरान, स्पेन, बेलायत र अमेरिका सबैभन्दा बढी ग्रसित छन् ।

छिमेकी मुलुक भारतमा पनि काेराेना भाइरस संक्रमित बढिरहेका छन् । १० चैत साेमबारसम्म भारतमा काेभिड १९ का कारण ७ जनाकाे मृत्यु भइसकेकाे छ । 

आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले काेराेना संक्रमण नेपाल नभित्रियाेस् भन्नका लागि चीन र भारत दुवैतिरका सीमा नाका एक साता बन्द गर्ने निर्णय गरेकाे छ । तर यसक्रममा खाद्यान्ना ल्याउने काम चाहिँ राेकिने छैन ।

याे लाइभ फिडमा हामी नेपाल र विश्वमा काेराेनाबारेका समाचार दिने छाैँ । 

काेराेनाविरुद्ध बच्न नियमित साबुन पानीले हात धुनुहाेस्, सकेसम्म घरबाट बाहिर ननिस्कनुस् ।

अब दक्षिण कोरियामा छैनन् एक जना पनि कोरोनाभाइरस संक्रमित
एजेन्सी  |  १३:५:५७

कुनै समय निकै द्रुत गतिमा कोरोनाभाइरस फैलिएला भनेर सोचिएको दक्षिण कोरियामा अब एक जना पनि कोरोनाभाइरस (कोभिड १९) संक्रमित छैनन् । 

यो सब हुनुको कारण हो, दक्षिण कोरियाले समयमा नै यसप्रति जिम्मेवार भएर यसको नियन्त्रणका लागि काम गर्नु ।

फ्रेबुअरीमा चीनबाहेक अन्य कुनै मुलुकमा कोरोनाभाइरस संक्रमण देखिएको थियो, त्यो दक्षिण कोरिया थियो जहाँ चीनकै जस्तै महामारी फैलिने अनुमान गरिएको थियो ।

२९ फ्रेबुअरीमा पहिलो पटक दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए । अब अहिले त्यहाँ एकजना पनि कोरोनाभाइरस संक्रमित भेटिएका छैनन् । 

दक्षिण कोरियामा १० हजार ७ सय ६५ जना कोरोनाभाइरस संक्रमित भेटिएका थिए  । त्यहाँ कोभिड १९ का कारण २ सय ४७ जनाको मृत्यु भयो । 
 

 

मलाई दोस्रो पटक राष्ट्रपति बन्न नदिन चीनले कोरोनाभाइरस फैलायोः ट्रम्प
एजेन्सी  |  ११:३३:४४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा बुधबार चीनले उनी दोस्रोपटक अमेरिकी राष्ट्रपति नहोस् भन्ने चाहेको बताएका छन् । ‘चीनले मलाई दोस्रोपटक राष्ट्रपति भएको देख्न चाहँदैन,’ उनले भनेका छन्, ‘उसले कोरोनाभाइरस महामारी जुन तरिकाले ह्यान्डल गरिरहेको छ, त्यो नै यसको प्रमाण हो ।’ 

उनले चीनले चाहेको खण्डमा कोरोनाभाइरस महामारी समयमा नै नियन्त्रणमा आउन सक्ने पनि बताएका छन् । उनले नोभेम्बरमा हुने निर्वाचनमा आफूलाई पराजित गर्न वा रोक्न चीनले जे पनि गर्न तयार रहेको बताएका छन् ।

त्यसो त ट्रम्पले कोरोनाभाइरस विश्वव्यापी रुपमा फैलिनुमा नै चीन जिम्मेवार भएको सधैं आरोप लगाउँदै आएका छन् । 

अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यसका साथसाथै त्यहाँको अर्थतन्त्र पूरै डामाडोल भएको मात्र छैन, बेरोजगारी पनि ऐतिहासिक रुपमा सबैभन्दा बढी भएको छ ।

कोरोनाभाइरसले अमेरिकामा गरेको यो विध्वंसका लागि राष्ट्रपति ट्रम्पमाथि बारम्बार प्रश्न उठिरहेको छ । उनले यसलाई गम्भीर भएर नलिएको बताउँदै आइएको छ । उनी समयमा नै सक्रिय भएको भए अमेरिकामा यो अवस्था नआउने धेरैले बताउन थालेका छन् ।

के अब ट्रम्पले चीनमाथि कोरोनाभाइरसका कारण ट्यारिफ लगाउलान् ?

‘कयौँ कुराहरु छन् जसलाई म गर्न सक्छु,’ उनले जवाफ दिएका छन् । 

ट्रम्पले त कोरोनाभाइरसलाई नै पहिले चिनियाँ भाइरससमेत भनेका थिए ।
 

 

वीरगन्जमा अर्का एक युवामा कोरोनाभाइरस संक्रमण, ५८ जना पुगे नेपालमा संक्रमित
फरकधार  |  १४:११:४६

काठमाडौं– वीरगन्जमा थप एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमित ५८ जना पुगेका छन् । 

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस संक्रमण देखिएको हो । 

बुधबार नै अन्य ३ जनामा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । यी तीन जना पनि वीरगन्जका नै हुन् । उनीहरु दिल्लीबाट लकडाउन पछि नेपाल फर्किएका थिए ।

अब आज भेटिएका चारै जना कोरोनाभाइरस संक्रमितलाई नारायणी अस्पतालमा राख्ने तयारी भएको छ । यसअघि यो अस्पतालमा अरु दुई जना पनि कोरोनाभाइरस संक्रमित उपचार गराइरहेका छन् । 

नेपालमा भेटिएका ५८ जनामध्ये १६ जना निको भएर घर फर्किरहेका छन् ।
 

 

चीनमा छैन कोरोनाभाइरसका कारण नयाँ मृत्यु
एजेन्सी  |  ८:२७:५८

एजेन्सी– अहिले विश्वभर तहल्का मच्चाइरहेको कोरोनाभाइरसको सुरुवात चाहिँ चीनको वुहानबाट भएको थियो । 

तर, विश्वका अरु देशमा अहिले यो भाइरसका कारण मृत्युको संख्या बढिरहँदा चीनले यसमाथि नियन्त्रण लिएको छ । 

किनकि चीनले कोरोनाभाइरसका कारण २८ अप्रिलका लागि कुनै मृत्यु नभएको जनाएको छ । यसका साथै त्यहाँ मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३३ पुगेको छ ।
 

 

पश्चिम बंगालमा पनि कोरोना उपचारका लागि प्लाज्मा थेरापी गरिने
एजेन्सी  |  ६:४६:४६

भारतको पश्चिम बंगाल सरकारले पनि दिल्ली र कर्नाटकमा जस्तै कोरोनाभाइरस संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी गर्ने निर्णय गरेको छ । यसका लागि अब त्यहाँ डोनर खोज्न थालिएको छ ।

त्यहाँका स्वास्थ्य विभागका अधिकारीको भनाई उद्धृत गर्दै बिबिसीमा प्रकाशित समाचारअनुसार यसको क्लिनिकल परीक्षण यही साता सुरु हुँदैछ ।

यसका लागि भारतीय काउन्सिल अफ मेडिकल रिसर्चले अनुमति दिएको बताइएको छ ।

पश्चिम बंगालमा सुरुमा यो ८० संक्रमितमा ट्रायल गर्ने बताइएको छ ।
 

 

९० वर्षीयले कोरोना जितेपछि भने– धैर्य र सहनशील भए पुग्छ
एजेन्सी  |  ५:३८:३६

एजेन्सी– भारतमा कोरोनाभाइरस (कोभिड १९)ले पछिल्लो २४ घन्टामा रेकर्ड कायम गरेको छ । त्यहाँ यो समयमा कम्तिमा पनि १९ सय जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 

सँगसँगै यही समयमा भारतका लागि एउटा खुसीको खबर पनि छ । त्यो हो, भारतमा ९० वर्षका एक वृद्धले कोरोनाभाइरसलाई जितेका छन् । उनको लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज पनि गरिएको छ ।

उनी सवाई मानसिंह अस्पतालमा भर्ना भएका थिए ।

१६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका जयपुरका यी वृद्धमा सबैभन्दा पहिले १४ अप्रिलमा कोरोना देखिएको थियो । उनले आफूलाई निमोनिया भएको गुनासो गर्दै अस्पतालमा पुगेका थिए ।

अब डिस्चार्ज भइसकेपछि उनले भनेका छन्, ‘धैर्य र सहनशील हुने हो भने कोरोना जितिन्छ । आत्तिनु हुँदैन अनि समयमा नै चिकित्सकले भनेका नियमहरु पालना गर्नुपर्छ ।’

आयरल्यान्डका प्रधानमन्त्री कोरोनाभाइरस संक्रमितको उपचार गर्न अस्पतालमा
एजेन्सी  |  ५:१४:०

एजेन्सी– उनी खासमा सधैंजसो सुट र टाइमा देखिन्छन् । 

तर, अब सामाजिक सन्जालमा उनको फरक पहिरनको निकै चर्चा हुन थालेको छ । उनी अर्थात्, आयरल्यान्डका प्रधानमनत्री लियो भारादकर । देशको प्रधानमन्त्री भए पनि लियोले कोरोनाभाइरस महामारीमा आफ्नो कर्तव्य सम्झिए, आफूलाई अझ नजिकबाट कोरोनाभाइरस संक्रमितसँग घुलमिल गराउन चाहे । या भनौँ, आफ्ना नागरिकसँगको पीडामा योगदान गर्न चाहे । 

त्यही भएर अब उनी एक चिकित्सकको पहिरनमा देखिन थालेका छन् । अनि यसलाई आयरल्यान्डमा निकै प्रशंसा पनि गर्न थालिएको छ ।

उनी खासमा मेडिकल चिकित्सक पनि हुन् ।

कोरोनाभाइरस महामारी फैलिएपछि उनले हप्ताको एक दिन अस्पतालका लागि दिन थालेका हुन् । यो महिनाको पहिलो साता देखि नै उनले प्रत्येक साता एक दिन अस्पतालमा कोरोनाभाइरस संक्रमितको उपचारका लागि खर्चिएका छन् । 

मंगलबारसम्मको तथ्यांकअनुसार आयरल्यान्डमा अहिलेसम्म कोभिड १९ का कारण ११५९ जनाको निधन भएको छ ।
 

फ्रान्समा सार्वजनिक यातायातमा मास्क अनिवार्य
एजेन्सी  |  ४:९:१७

एजेन्सी– फ्रान्समा सार्वजनिक यातायातमा अब सबैले मास्क लगाउनु अनिवार्य भएको छ । त्यस्तै, त्यहाँका स्कुलहरुमा पनि सबैले मास्क लगाउनु पर्ने नियम ल्याइएको छ । 

११ मेमा लकडाउन अन्त्य गर्ने तयारी गरेको फ्रान्सले विद्यालयहरु विस्तारै खोल्ने योजना बनाएको छ ।

स्पेनले पछिल्लो समय लकडाउन एक्जिट योजना बनाएसँगै फ्रान्सको पनि यस्तो योजना आएको हो ।

युरोपमा कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित देशमध्ये एक हो, फ्रान्स । त्यहाँ कोभिड १९ का कारण मंगलबारसम्म २३ हजार ६ सय ६० जनाले ज्यान गुमाएका छन् । १ लाख २९ हजार ८ सयभन्दा धेरै फ्रेन्च नागरिकमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
 

 

मास्क नलगाइ अस्पताल पुगेपछि अमेरिकी उपराष्ट्रपतिको चर्को आलोचना
एजेन्सी  |  १:५०:४६

अमेरिकी उपराष्ट्रपति माइक पेन्स मास्क नलगाई अस्पताल पुगेपछि विवादमा तानिएका छन् । उनी मिनिससोटको मायो क्लिनिकमा पुगेका थिए । 

मायो क्लिनिकको वेबसाइटमा चाहिँ त्यहाँ बिरामीहरु भेट्न पुग्ने सबैले मास्क लगाउनु अनिवार्य भएको उल्लेख गरिएको छ । तर, पेन्सले यो नियमको पालना गरेका छैनन् ।

पेन्सको यो तस्वीर बाहिरिएपछि मायो क्लिनिकले ट्विटरमा राखेको यो तस्वीर डिलिट गरिदिएको छ । उसले पेन्सलाई मास्क लगाउनु पर्ने नियमबारे बताएको पनि जानकारी दिएको छ ।

बिबिसीमा छापिएको समाचारअनुसार यसबारे पेन्सले विज्ञप्ति जारी गर्ने तयारी गरेका छन् । 

अमेरिकामा कोरोनाभाइरस संक्रमित १० लाख पुगेकै दिन यो घटना बाहिर आएपछि पेन्सको चर्को आलोचना भएको हो ।
 

 

अमेरिकामा मात्रै १० लाख कोरोनाभाइरस संक्रमित
एजेन्सी  |  १:१७:५५

एजेन्सी– विश्व महामारी बनेको कोरोनाभाइरसका कारण सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ । गत वर्ष चीनको वुहानमा पहिलो पटक देखिएको कोरोनाभाइरसका कारण अब १० लाख अमेरिकी संक्रमित भएका छन् ।

जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार अमेरिकामा अब १० लाखभन्दा बढी संक्रमित छन् ।

मार्चमा अमेरिकामा पहिलो पटक कोरोनाको उद्गम चीनभन्दा धेरै संक्रमित भेटिएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ अमेरिकामा धेरै परीक्षण भएकाले धेरै संक्रमित भेटिएको र चीनले आफ्नो तथ्याङ्क लुकाउँदै आएको बताइरहेका छन् । 

त्यसो त अमेरिकामा कोभिड १९ का निधन हुनेको संख्या पनि अरु देशको भन्दा बढी छ । अमेरिकामा कोरोनाका कारण ५६ हजार ७ सय ४९ जनाको निधन भएको छ ।
 

 

बेलायतमा केयर होम्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या उल्लेख्य
एजेन्सी  |  २२:३९:५१

एजेन्सी– बेलायतका स्वास्थ्यमनत्री म्याट हानककले मंगलबारको दैनिक बिफ्रिङमा बेलायतमा अहिलेसम्म कोरोनाभाइरसका कारण २२ हजार मानिसको मृत्यु भएको बताएका छन् ।

सोमबार साँझ पाँच बजेसम्म संक्रमितमध्ये २१ हजार ६ सय ७८ जनाको मृत्यु भएको बताएका छन् । यो अघिल्लो दिनको भन्दा ५ सय ८६ ले बढी हो । 

तर, बेलायतमा अस्पतालमा भन्दा कोरोनाभाइरसका कारण केयर होम्समा पनि उल्लेख्य मृत्यु भएकोमा चिन्ता गरिएको छ । बेलायतका केयर होम्समा अहिलेसम्म ४ हजार ३ सय ४३ जनाको निधन भइसकेको छ ।
 

 

एक अर्ब मानिसमा हुनसक्छ कोरोनाभाइरस
एजेन्सी  |  २०:३३:११

गत वर्ष डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस (कोभिड १९) अहिले विश्वका लागि टाउको दुखाइ बनेको छ । ३० लाख मानिसभन्दा धेरै यो भाइरसबाट संक्रमित भएका छन् । 

यहीबीच एक संस्थाले जारी गरेको अनुमानअनुसार विश्वभर कोरोनाभाइरसका संक्रमित एक अर्ब मानिस हुनसक्छन् । अहिले तत्काल गरिब देशहरुलाई सहयोग गरिएन भने यो संख्या अझ बढ्ने बताइएको छ ।

इन्टरनेसनल रेस्क्यू कमिटी (आईआरसी)ले कोरोनाभाइरसको संक्रमणको विश्वव्यापी असर रोक्न तत्काल आर्थिक तथा मानवीय सहयोग पनि आवश्यक रहेको बताएको छ ।

अफगानिस्तान तथा सिरियाजस्ता युद्धबाट ग्रसित देशहरुमा तत्काल पैसा दिनु पर्ने आवश्यकता भएको यो समूहले जनाएको छ ।

जोन हप्किङ्स विश्वविद्यालयले चाहिँ अहिले विश्वभर कोरोनाभाइरस संक्रमणका ३० लाख मानिस प्रभावित भइसकेका छन् । 

अर्कोतिर विश्व स्वास्थ्य संगठन र इम्पेरियल कलेज लन्डनले तयार पारेको तथ्यांकअनुसार विश्वभर ३० लाख मानिसको ज्यान जान सक्ने अनुमान पनि गरिएको छ ।

कोरोनभाइरसः स्पेनमा दैनिक मृत्यु हुनेको संख्या घट्दो
एजेन्सी  |  १५:३७:९

एजेन्सी– स्पेनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्यामा लगातार कमी आइरहेका छन् । केही दिनयता त्यहाँ दैनिक मृत्यु हुनेको संख्या घटिरहेको हो । पछिल्लो २४ घन्टामा त्यहाँ ३०१ जनाको कोरोनाभाइरसका कारण निधन भएको छ । यो संख्या सोमबार ३३१ थियो ।

त्यहाँ संक्रमितको सख्यामा भने खासै कमी आउन सकेको छैन । पछिल्लो २४ घन्टामा स्पेनमा १३०८ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै स्पेनमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख १० हजार ७ सय ७३ पुगेको छ ।

युरोपमा सबैभन्दा प्रभावित देश स्पेनमा अब लकडाउन जारी भए पनि १४ वर्षभन्दा मुनिका बालबालिकालाई चाहिँ बाहिर जान दिइएको छ ।
 

 

हङकङमा खुल्न थाले सरकारी कार्यालय
एजेन्सी  |  १०:३७:५

एजेन्सी– हङकङ अब फेरि सामान्य हुने प्रयास गरिरहेको छ । कोरोनाभाइरस संक्रमणका कारण त्यहाँ बन्द भएका सरकारी कार्यालयहरु अब ४ मेबाट सुरु हुने भएका छन् । 

सरकारी अधिकारीहरुको भनाइलाई उद्धृत गर्दै हङकङका मिडियामा आएको समाचारअनुसार हङकङमा लगातार दोस्रो दिन सोमबार कुनै नयाँ कोरोना संक्रमित भेटिएका छैनन् । 

सरकारी कार्यालयहरु खुले पनि अहिले खेलकुद, लाइब्रेरी तथा म्युजियमहरुमा चार जनाभन्दा बढीलाई जम्मा हुन नदिइने हङकङले जनाएको छ ।

हङकङमा एक हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिएका छन् । त्यहाँ अहिलेसम्म चार जनाको कोभिड १९ का कारण ज्यान गएको छ ।
 

 

सिड्नीको बोन्डी बीचमा फेरि भिडभाड
एजेन्सी  |  १०:३७:४

सिड्नी– सिड्नीमा फेरि जनजीवनलाई सामान्य बनाउन अष्ट्रेलियाली सरकारले लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै गएको छ । लकडाउन खुकुलो भएलगत्तै सिड्नीको बोन्डी बीचमा फेरि मानिसहरु जमघट हुन थालिसकेका छन् ।

मार्चमा अत्यधिक भीड भएपछि अष्ट्रेलियाले बोन्डीबीच बन्द गरेको थियो । 

मंगलबार बोन्डी बीच खुलेपछि निकै धेरै मानिस त्यहाँ पुगेका छन् । अर्कोतिर सरकारले त्यहाँ फेरि भीड बढ्न थाले बोन्डी बीच बन्द गरिने चेतावनी पनि दिएको छ ।
 

 

न्युजिल्यान्डमा रेष्टुरेन्ट खुले, आफन्त भेट्न पनि छुट
एजेन्सी  |  १०:३७:२

एजेन्सी– न्युजिल्यान्डले पछिल्लो समय गरिरहेको लकडाउनमा केही छुटहरु दिन थालेको छ । त्यहाँ अब कोरोनाभाइरस निर्मूल भएको पनि सरकारी पक्षले दाबी गर्न थालेको छ । तर, अहिलै नै ढुक्क हुन नमिल्ने अभिव्यक्ति पनि आइरहेका छन् ।

अब न्युजिल्यान्डमा तेस्रो स्तरको लकडाउन सुरु गरिएको छ । अब त्यहाँ मानिसहरुलाई घरमा नै बस्नु पर्ने छ तर उनीहरुले नजिकका आफन्तहरुलाई भेट्न चाहिँ पाउने छन् । उनीहरुले आइसोलेसनमा रहेका व्यक्तिहरुलाई सहयोग गर्न पनि पाउने भएका छन् ।

रेष्टुरेन्ट पनि अब न्युजिल्यान्डमा खुल्न थालेका छन् । तर, अधिकांश रेष्टुरेन्टलाई अनलाइन डेलिभरी मात्र गर्न सरकारले आग्रह गरेको छ । अब चाहिँ मानिसहरुले रेष्टुरेन्टमा गएर खाना प्याक गरेर पनि घर लैजान पाउने भएका छन् । 

न्युजिल्यान्डमा अब स्कुलहरु पनि खोल्न पाइने भएको छ । तर, सामाजिक दूरी चाहिँ कायम गर्नु पर्ने सरकारले नियम ल्याएको छ ।
 

 

भारतमा कोरोनाका कारण मृत्यु हुने एक हजार नजिक
एजेन्सी  |  ९:४५:४८

काठमाडौं– विश्वभर कहर मच्चाइरहेको कोरोनाभाइरस महामारीले भारतमा पनि अब विस्तारै उग्ररुप लिन थालिसकेको छ । पछिल्ला समाचारअनुसार भारतमा २४ घन्टामा नै अब ६० भन्दा धेरैको मृत्यु हुन थालेको छ । अनि संक्रमित संख्या पनि एकै दिनमा २ हजारको आसपासमा बढ्न थालेका छन् । 

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अब भारतमा २९ हजार ४ सय ३५ जना संक्रमित भइसकेका छन् । यीमध्ये ६ हजार ८ सय ६८ जना ठिक भएका छन् । 

पछिल्ला २४ घन्टामा भारतमा ६२ जनाको निधन भएको छ । योसँगै कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या ९ सय ३४ पुगेको छ ।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा ८ हजार ५ सय ९० जना संक्रमित भएका छन् । दिल्ली तेस्रो सबैभन्दा बढी संक्रमित राज्य हो । त्यहाँ ३ हजार १ सय ८ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
 

 

हामी चीनसँग खुसी छैनौँ, गम्भीर जाँच गर्दैछौँः ट्रम्प
फरकधार  |  ५:५६:१९

एजेन्सी– ह्वाइट हाउसमा भएको प्रेस कन्फ्रेन्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरु कोरोनाभाइरस (कोभिड १९) लाई लिएर चीनसँग असन्तुष्ट भएको र चीनविरुद्ध बहुत गम्भीर जाँच सुरु गरेको बताएका छन् । 

‘हामी चीनसँग खुसी छैनौँ, पूरै परिस्थितिसँग खुसी छैनौँ,’ उनले भनेका छन्, ‘किनकि कोरोनाभाइरस त्यही ठाउँमा रोक्न सकिन्थ्यो जुन जहाँबाट सुरु भएको थियो ।’

उनले कोरोनाभाइरलाई तत्काल रोक्न सकिने भए पनि पूरै विश्वमा अहिले फैलिनुमा चीनको हात रहेको आरोप पनि लगाएका छन् । 

त्यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि आरोप लगाएको यो पहिलो पटक होइन । उनले कोरोनाभाइरसलाई लिएर बारम्बार चीनमाथि आरोप लगाउँदै आएका छन् । यो महामारीलाई चीनले गम्भीर भएर नलिएको र आवश्यक समयमा नै यसलाई रोक्न नखोजेको आरोप उनले लगाएका छन् ।

केही स्वास्थ्य विशेषज्ञहरुले अमेरिकासँग तयारीका लागि पर्याप्त समय हुँदा पनि ट्रम्प प्रशासनले समय खेरा फालेको आरोप लगाएका छन् । तर, ट्रम्प यो कुरा मान्न तयार छैनन् । उनले भनेका छन्, ‘यसमा अरु कोही दोषी छैन, चीन नै दोषी छ ।’

‘हामीलाई मात्र होइन, चीनले पूरै विश्वलाई बचाउन सक्थ्यो,’ ट्रम्पले भनेका छन्, ‘तर, उसले यस्तो गरेन । हामी यसलाई भुल्ने छैनौँ ।’

ट्रम्पले कोरोनाभाइरसका कारण अमेरिकी राष्ट्रपति चुनाव सार्न सक्ने भन्ने गरिएका टिप्पणीको पनि खारेज गरिदिएका छन् ।
 

 

बेलायतमा कोभिड १९ का कारण मृत स्वास्थ्यकर्मीको सम्मानमा एक मिनेट मौना धारण गरिने
एजेन्सी  |  २०:५२:४६

एजेन्सी– बेलायतमा कोरोनाभाइरस संक्रमितको उपचारको क्रममा फ्रन्टलाइनमा रहँदा ज्यान गुमाएका चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्झना र सम्मानमा मंगलबार एक मिनेट मौन धारण गरिने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन पनि यसमा सहभागी हुने भएका छन् । 

बेलायती प्रधानमन्त्रीका एक प्रवक्ताले मंगलबार विहान ११ बजे एक मिनेटको मौन धारण राखिएको बताएका छन् । अनि यसमा सरकारले पनि सहभागिता जनाउने उनले बताएका छन् ।

बेलायतमा अन्य नेता तथा मन्त्रीहरुले पनि आफू यसमा सहभागी हुने बताएका छन् । 

 

कोरोनाभाइरसः न्युजिल्यान्डले यो भाइरसविरुद्ध युद्ध जित्यो
एजेन्सी  |  ११:४१:४२

एजेन्सी– कोरोनाभाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सुरुबाट नै प्रशंसा पाएको न्युजिल्यान्डले अब कोरोनाभाइरसविरुद्ध जित निकालेको दाबी गर्न थालेको छ । 

न्युजिल्यान्डमा अब परीक्षणका लागि कोही पनि बाँकी नरहेको र देशले कोरोनाभाइरसविरुद्धको युद्ध जितेको त्यहाँकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले दाबी गरेकी हुन् ।

न्युजिल्यान्डले आजकै मध्यरातिबाट राष्ट्रव्यापी लकडाउनमा केही छुट दिएको छ । त्यहाँको स्वास्थ्य विभागका निर्देशक डा. एश्ले ब्लूमmिल्डले भनेका छन्, ‘हामीले हाम्रो लक्ष्य पाइसकेका छौँ । हामीले यो कोरोनाभाइरस कहाँबाट न्युजिल्यान्डमा आयो भन्ने थाहा पाइसकेका छौँ, यसलाई जितिसकेका छौँ ।’

न्युजिल्यान्डमा सोमबार एक जना मात्र कोरोनाभाइरस संक्रमित भेटिएका थिए । न्युजिल्यान्डमा अहिलेसम्म १५ सयभन्दा कम संक्रमित भएको बताइएको छ । अनि यी मध्ये ८० प्रतिशत ठिक भइसकेको पनि उसको दाबी छ । न्युजिल्यान्डमा अहिलेसम्म कोभिड १९ का कारण १९ जनाको ज्यान गएको छ ।
 

 

फ्रान्समा प्रहरीले जफत गर्यो १ लाख ४० हजार मास्क
एजेन्सी  |  ४:१:२०

एजेन्सी– फ्रेन्च प्रहरीले कालोबजारी गर्न लागिएको १ लाख ४० हजार मास्क जफत गरेको छ । 

कोरोनाभाइरस संकटकाबीच एक व्यापारीले मास्क ट्रकबाट निकाल्दै गर्दा त्यहाँका प्रहरी अधिकारीले यसलाई जफत गरेका हुन् । यो समाचार पेरिसको उत्तरी भागमा पर्ने सेन्ट डेनिसको हो ।

फ्रान्सले पछिल्लो समय फेस मास्कको स्टक तथा यसको उत्पादन स्वास्थ्यकर्मीहरुका लागि हुनु पर्ने नियम बनाएको छ । 

कोरोनाभाइरसको महामारी सुरु भएपछि फ्रेन्च प्रहरीले मास्क गिरफ्तार गरेको यो पहिलो पटक भने होइन ।
 

 

लकडाउनको योजना बनाउन मुख्यमन्त्रीहरुसँग मोदीले सल्लाह गर्ने
एजेन्सी  |  ४:१:१९

एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस महामारीको समयमा तेस्रो पटक मुख्यमन्त्रीहरुसँग सल्लाह गर्ने भएका छन् । भारतीय राज्यका मुख्यमन्त्रीहरुसँग उनले भिडियो संवाद गर्ने भएका हुन् । 

यो संवाद पूर्ण रुपमा भारतमा लकडाउन के गर्ने भन्ने विषयमा हुने जनाइएको छ । 

उनीहरुले लकडाउनलाई चरणबद्ध रुपमा अन्त्य गर्दै जाने पनि सल्लाह गर्ने बताइएको छ ।

आइतबार दिउँसो नै रेडियो कार्यक्रम मनकी बातमा प्रधानमन्त्री मोदीले अहिले युद्धको समय भएको र यतिबेला सावधान रहनु नै एकमात्र उपाय भएको बताइसकेका छन् ।

भारतले अब विस्तारै लकडाउन अन्त्य गर्ने योजना बनाइरहेको भारतीय सन्चारमाध्यमले विभिन्न स्रोतको हवाला दिँदै दाबी गरेका छन् । 
 

 

कोरोनाभाइरसः न्युयोर्कमा मृत्यु दरमा कमी
एजेन्सी  |  ३:३२:३८

एजेन्सी– कोरोनाभाइरसका कारण अमेरिकामा सबैभन्दा बढी प्रभावित न्युयोर्कमा पनि अब मृतकको संख्यामा कमी आउन थालेको छ । यो दाबी त्यहाँका गर्भर एन्ड्र्यु क्युमोले गरेका हुन् । 

शुक्रबार न्युयोर्कमा ४३७ जनाको मृत्यु भएको थियो भने शनिबार यो घटेर ३ सय ६७ जनाको मात्र मृत्यु भएको उनले बताएका छन् ।

अब संक्रमण र मृत्युको दरले न्युयोर्क खोल्ने या नखोल्ने विषयमा निर्णय हुने पनि उनले बताएका छन् । उनले जनतालाई अनिश्चितकालका लागि घरमै बस्नु भनेर भन्नु सम्भव नहुने आफूलाई थाहा पाएको पनि बताएका छन् ।

उनले अहिले न्युयोर्कमा घरेलु हिंसा, ड्रग्स तथा मदिरा सेवन र मानसिक स्वास्थ्यका समस्या बढिसकेको बताएका छन् ।
 

 

कोरोनाभाइरसः इटाली र स्पेनमा एक महिना यता दैनिक मृत्युमा अहिलेसम्मकै कम
एजेन्सी  |  २:७:२८

एजेन्सी– १४ मार्चपछि इटाली र स्पेनमा कोरोनाभाइरसका कारण भइरहेका दैनिक मृत्युमा सबैभन्दा कम आइतबार दर्ज गरिएको छ । इटालीको नागरिक सुरक्षा एजेन्सीले एक दिनमा २ सय ६० जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै, स्पेनमा एक दिनमा २ सय ८८ जनाको मृत्यु रेकर्ड गरिएको छ ।

कोरोनाभाइरसका कारण अमेरिकापछि सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ । पछिल्लो तथ्यांकअनुसार अब इटालीमा कोरोनाभाइरसका कारण २६ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ । 

स्पेन धेरै नागरिकको मृत्यु हुने देशको सूचीमा तेस्रोमा छ । अब स्पेनमा २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ । 
 

 

वुहानमा अस्पतालमा अब छैनन् कोरोनाभाइरस संक्रमित
फरकधार  |  १९:१:१९

एजेन्सी– कोरोनाभाइरसको केन्द्रविन्दू अर्थात् उद्गम स्थल चीनको वुहानमा अब निकै सुधार आएको छ । त्यहाँका कुनै पनि अस्पतालमा अब एक जना पनि कोरोनाभाइरस संक्रमित छैनन् ।

कोरोनाभाइरस महामारी फैलिएपछि आइतबार पहिलो पटक त्यहाँ एकजना पनि कोरोनाभाइरस संक्रमित अस्पतालमा नभएका हुन् । 

‘यो सबैको मिहनेतको प्रतिफल हो,’ चीनको राष्ट्रिय स्वास्थ्य कमिसनका प्रवक्ताले भनेका छन्, ‘वुहानमा चिकित्सकहरुको दुःखलाई सबैले सम्मान गर्नुपर्छ ।’

वुहानका अन्तिम बिरामीको उपचार शुक्रबार भएको शिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । 

वुहानमा मात्र अहिलेसम्म कोरोनाभाइरसका ५० हजार संक्रमित भेटिएका छन् ।
 

 

काेराेनाभाइरस: यस्ताे छ भारतकाे पछिल्लाे २४ घन्टाकाे अपडेट
एजेन्सी  |  १८:४२:३०

एजेन्सी– भारतमा कोरोनाभाइरस (कोभिड १९) का कारण अहिलेसम्म ८ सय २६ जनाको निधन भएको छ । 

भारत सरकारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म २६ हजार ९ सय १७ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । त्यहाँ २० हजार १ सय ७७ जना अहिले पनि एक्टिभ कोरोना संक्रमित छन् । 

भारतमा उपचारबाट ५ हजार ९ सय १४ जना ठिक भइसकेका छन् । पछिल्ला २४ घन्टामा संक्रमणका नयाँ केसहरु १९७५ जना आएको र ४७ जनाको निधन भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

 

पश्चिम बंगालमा कोरोनाभाइरसका कारण अर्का चिकित्सको मृत्यु
एजेन्सी  |  १७:५७:५४

पश्चिम बंगालका वरिष्ठ चिकित्सक तथा पश्चिम बंगाल हेल्थ सर्भिसेजका सहायक निर्देशक डा. विप्लब कान्ति दासगुप्ताको कोरोनाभाइरसका कारण निधन भएको छ । 

उनी कोलकातामा रहेको अस्पतालमा निधन भएको हो । 

उनी भारतका चर्चित चिकित्सकमध्ये एक हुन् । 

६० वर्षका डा. दासगुप्ता पश्चिम बंगालमा कोरोनाभाइरसका काराण मृत्यु हुने पहिलो चिकित्सक हुन् । 

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले डा. दासगुप्ताको निधनमाथि गहिरो शोक प्रकट गरेकी छिन् । 

 

साउदीमा खुकुलो बनाइयो लकडाउन
एजेन्सी  |  १५:८:५४

साउदी अरबले आइतबार कोरोनाभाइरस संक्रमण रोकथामका लागि लगाएको नाकाबन्दीलाई खुकुलो बनाइदिएको छ । 

साउदीमा २४ घन्टाका लागि कर्फ्यू लगाइएको थियो । अब त्यहाँ विहान नौ बजेबाट साँझ पाँच बजेसम्म कर्फ्यू खुकुलो बनाइएको छ । 

आउने बुधबारबाट देशका पसलहरु खोल्न र केही उद्योगहरु पनि सन्चालनमा ल्याउन त्यहाँ अनुमति दिइएको छ । 

रमजान महिनाको पहिलो दुई साता त्यहाँ नाकाबन्दी अलिक खुकुलो बनाइएको हो । तर, त्यहाँ सामाजिक दूरी कडा रुपमा पालना गर्न अनुरोध गरिएको छ ।

अनि त्यहाँका मक्कामदिनामा पनि लकडाउन लागु हुने बताइएको छ ।

साउदीमा अहिलेसम्म १६ हजारमा कोरोनाभाइरस संक्रमण देखिएको छ । अहिलेसम्म कोभिड १९ का कारण त्यहाँ १ सय ३६ जनाको निधन भएको छ ।

 

सिंगापुरमा कोरोनाभाइरस संक्रमितलाई हाइटेक व्यवस्था
एजेन्सी  |  १३:१६:८

एजेन्सी– सिंगापुरमा तीव्र गतिमा बढिरहेको कोरोनाभाइरस संक्रमणलाई मध्यनजर गर्दै विशेष व्यवस्था गर्न थालिएको छ । सिंगापुरमा आइसोलेसनमा राख्ने व्यक्तिहरुका लागि अस्थायी सुविधाहरुको पनि बन्दोबस्त गर्न थालिएको छ ।

सिंगापुरमा प्रवासी मजदूरहरुको संख्या बढी भएको र उनीहरुमा कोरोनाभाइरस संक्रमण फैलिएको आशंका गरेकाले निकै चिन्ताजनक अवस्था भएको बताइएको छ । ५७ लाख मानिस बसोबार गर्ने सिंगापुरमा १२ हजार मानिसमा संक्रमण पुष्टि भइसकेको छ । 

समाचार एजेन्सी रोयटर्सको समाचारअनुसार एशियामा सबैभन्दा बढी प्रभावित देशमध्ये एक हो, सिंगापुर । तर, संक्रमितको संख्या बढिरहे पनि सिंगापुरमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या अरु देशको तुलनामा निकै कम छ । अहिलेसम्म सिंगापुरमा १२ जनाको कोभिड १९ का कारण निधन भएको छ । त्यहाँ अहिले २४ जना आइसियूमा छन् ।

त्यहाँको आइसोलेसन सेन्टरमा संक्रमितले आफैं आफ्नो स्वास्थ्य परीक्षण गर्न सक्ने पनि व्यवस्था गरिएको छ । 

त्यहाँ रोबोटले संक्रमितहरुलाई खाना दिने गर्छ । अनि प्रत्येक कोठामा टेलिकन्फ्रेन्सको व्यवस्था पनि गरिएको छ । अर्को एक ‘रोबोट डग’को पनि सिंगापुरमा परीक्षण गर्न थालिएको छ ।
 

 

थप दुईमा कोरोनाभाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमति संख्या ५१ पुग्यो
फरकधार  |  १२:५५:२

काठमाडौं– नेपालमा थप दुई जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार आइतबार थप दुई कारोनाभाइरस भएको पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ ।

पछिल्लो पटक दुईमा कोरोनाभाइरस संक्रमण वीरगन्जका ५० वर्षीय दुई पुरुषमा देखिएको हो । 

नेपालमा कोरोनाभाइरस संक्रमण ठिक हुनेको संख्या १२ पुगेको छ ।

 

कोरोनाभाइरसः क्युबा गरिरहेको छ उदाहरणीय काम
एजेन्सी  |  ११:३०:५२

एजेन्सी– क्युबाले शनिबार दक्षिण अफ्रिकामा २ सय १६ जना स्वास्थ्यकर्मी पठाएको छ । उनीहरुलाई कोरोनाभाइरसविरुद्ध लड्न दक्षिण अफ्रिका पठाइएको हो । 

यतिमात्र होइन, क्युबाले पछिल्ला दिनमा २० मेडिकल टिमलाई विभिन्न देशमा पठाएको छ । त्यसैले उसको प्रशंसा विश्वभर गर्न थालिएको छ । कतिपयले यसलाई समाजवादी एकताको संज्ञा दिएका छन् त कतिपयले मेडिकल डिप्लोमेसीको संज्ञा दिएका छन् ।

वामपन्थी शासनव्यवस्था भएको क्युबाले क्यारिबियन देशहरुमा पनि १२ सय स्वास्थ्यकर्मी पठाइसकेको छ । कतिसम्म भने क्युबाबाट कोरोनाभाइरसविरुद्ध लड्न युरोपका देशहरुमा पनि स्वास्थ्यकर्मी पुगेका छन् । 

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसरी क्युबाबाट पठाइएका स्वास्थ्यकर्मीलाई स्वीकार नगर्न अनुरोध गरेका छन् । 

त्यसो त क्युबामा नै पनि कोरोनाभाइरसका संक्रमित भेटिएका छन् । क्युबामा कोरोनाभाइरस संक्रमणका १३३७ संक्रमित भेटिएको बताइएको छ । त्यहाँ कोभिड १९ का कारण ५१ जनाको मृत्यु भइसकेको छ ।

दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली मखिजले भनेका छन्, ‘क्युबामा सबैभन्दा राम्रो पक्ष भनेको त्यहाँको सामुदायिक स्वास्थ्य सेवा हो ।’
 

 

चीनमा रोकिएन कोरोनाभाइरस संक्रमित भेटिन
फरकधार  |  ९:५८:४५

एजेन्सी– चीनको वुहानमा पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरस अहिले विश्वका लागि ठूलो कहर बनेको छ । विश्वका प्रायः सबै देशमा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 

चीनमा चाहिँ पछिल्ला दिनमा कोरोनाभाइरस संक्रमित भेटिने क्रम निकै घटेको छ ।

७८ दिनभन्दा बढी लकडाउन गरेपछि चीनले वुहान सहरलाई खोलेको छ । तर, चीनमा कोरोनाभाइरसका नयाँ संक्रमित भेटिने क्रम चाहिँ रोकिएको छैन । 

२५ अप्रिलमा चीनमा कोरोनाभाइरसका ११ नयाँ संक्रमित भेटिएका छन् । यसअघि २४ अप्रिलमा पनि चीनमा १२ जना कोरोनाभाइरस संक्रमित भेटिएका थिए । तर, यी दुवै दिन चीनमा कोरोनाभाइरसका कारण कसैको पनि मृत्यु भएन ।

चीनमा अब कोरोनाभाइरस संक्रमितको संख्या ८२ हजार ८ सय २७ पुगेको छ । त्यहाँ ४ हजार ६ सय ३२ जनाको मृत्यु भइसकेको छ । 

कोरोनाभाइरसका कारण सबैभन्दा धेरै संक्रमित र मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा झन्डै ९ लाख मानिस कोरोना संक्रमित भएका छन् भने ५२ हजारभन्दा बढीको कोरोनाभाइरसका कारण निधन भएको छ ।

 

भारतले हजारौँ नागरिकलाई देश फिर्ता ल्याउने
एजेन्सी  |  २२:५०:५२

कोरोनभाइरस संक्रमण रोकथामका लागि भारतमा २२ मार्चदेखि अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध लगाइएको छ । त्यही कारण भारतका हजारौं नागरिक विदेशमा फँसेको भारत सरकारको निष्कर्ष छ । 

यहीबीच अब ती नागरिकहरुलाई भारत फर्काउने भारत सरकारले निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै यसमा विशेष चासो राखेको भारतीय सन्चारमाध्यमले जनाएका छन् । 

यसका लागि मेको सुरुवातमा नै विशेष विमानहरु विभिन्न देश पठाउने भारत सरकारले तयारी गरेको छ ।

यसरी विदेशबाट ल्याएका सबै नागरिकलाई सबैभन्दा पहिले क्वारेन्टाइनमा राखिने तयारी पनि भारत सरकारले गरेको छ । 

अर्कोतिर, भारतमा ३ मेदेखि लकडाउन हट्ने अनुमान धेरैले गरेका छन् । भारत सरकारले भारतका सामान्य किराना पसल पनि खोल्न अनुमति दिएपछि यस्तो अनुमान गरिएको छ । तर, यसबारे विस्तृत रिपोर्ट अहिलेसम्म आइसकेको छैन । 

न्युयोर्कमा सामान्य औषधि पसलले पनि कोरोना परीक्षण गर्ने
एजेन्सी  |  २२:४०:३४

एजेन्सी– न्युयोर्कका गर्भनर एन्ड्र्यु क्योमोले प्राइभेट फार्मेसी तथा सामान्य औषधि पसलले पनि कोरोनाभाइरसको परीक्षण गर्न पाउने एउटा नियममा हस्ताक्षर गरेका छन् । 

क्योमोले यसका साथसाथै अब न्युयोर्कमा ५ हजार फार्मेसीहरुले पनि कोरोनाभाइरस परीक्षण गर्ने बताएका छन् । तर, यसका लागि उनीहरुले विशेष गाइडलाइन पनि ल्याएका छन् । 

न्युयोर्कमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । शनिबार मात्र त्यहाँ ४ सय ३७ जनाको निधन भएको बताइएको छ । एउटा सहरमा नै यति धेरै मृत्यु न्युयोर्कमा मात्र भएको छ ।

तर, अस्पतालमा भर्ना भएका बिरामीहरुको संख्या चाहिँ घटिरहेको उनले बताएका छन् ।
 

 

वीरगन्जका चारै कोरोनाभाइरस संक्रमित कोरोना मुक्त
फरकधार  |  १९:५०:१६

वीरगन्ज– वीरगन्जमा रहेको नारायणी अस्पतालका चारै जनाको पिसिआर परीक्षणमा कोरोनाभाइरस नेगेटिभ आएको छ । चौथों रिपोर्ट पनि नेगेटिभ आएपछि उनीहरुलाई भोलिसम्म डिस्चार्ज गर्ने तयारी गरिएको छ । 

उनीहरु डिस्चार्ज भएपछि नेपालमा कोरोना ठिक हुनेको संख्या १६ पुग्नेछ । नेपालमा ४९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । 

वीरगन्जमा तीन जना भारतीय र एक जना नेपालीमा कोरोनाभाइरस संक्रमण देखिएको थियो ।

यी चारै जनाको चारपटकसम्म कोरोनाभाइरस परीक्षण नेगेटिभ आएको हो । 

 

 

भारतमा गाउँगाउँका पसल खोल्न अनुमति, मानिसहरु ३० जुनसम्म भेला हुन नपाउने
एजेन्सी  |  १८:४९:४२

एजेन्सी– भारतको गृहमन्त्रालयले भारतका गाउँगाउँमा सबै किसिमका पसलहरु खोल्ने अनुमति दिएको छ । भारतीय मिडियामा गृह मन्त्रालयकी अधिकारी पुण्य सलिला श्रीवास्तावका अनुसार अब गाउँका साना पसलहरु सबै खुल्न पाउनेछन् । तर, सपिङ मलहरुलाई अझै खुल्न दिइएको छैन । 

भारतकै सहरी क्षेत्रमा भने पसलहरु खुल्न पाउने छैनन् । सहरी क्षेत्रका भीडभाड हुने ठाउँमा पनि पसलहरु खोल्न नदिने त्यहाँको सरकारले निर्णय गरेको छ । 

यसलाई भारतमा लकडाउन खुकुलो बनाइएको रुपमा हेरिएको छ ।

तर, यसरी पसल खोल्दा पसलहरुले स्वास्थ्यका लागि आवश्यक सावधानीहरु चाहिँ अपनाउनु पर्छ । त्यस्तै ब्युटि पार्लर र कपाल काट्ने पसलहरु चाहिँ त्यहाँ अझै खुलाउन पाइने छैन । 

मदिरा पसलहरु पनि त्यहाँ खोल्न दिइएको छैन । 

अर्कोतिर, उत्तर प्रदेशमा चाहिँ ३० जुनसम्म मानिसहरुलाई भेला हुनबाट प्रतिबन्ध लगाइएको छ । 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बताएअनुसार त्यहाँ सामाजिक तथा सांस्कृति समारोहमा पाबन्दी लगाइएको हो । उत्तर प्रदेशमा अब कोरोनाभाइरस संक्रमित अहिलेसम्म १६ सय पुगेका छन् । 
 

 

भारतमा र्‍यापिड टेस्ट फेरि रोक्ने तयारी
एजेन्सी  |  १८:०:५७

एजेन्सी– भारतीय समाचार एजेन्सी एनएनआईले कोरोनाभाइरस संक्रमितबारे थाहा पाउन गरिने र्यापिड टेस्टलाई पूर्ण रुपमा रोक्ने विषयमा छलफल गरिरहेको बताएका छन् । यो टेस्टिङ किट प्रभावकारी नभएको भन्दै यस्तो फैसला त्यहाँको सरकारले गर्न लागेको हो ।

एएनआईले आफ्नो ट्विटमा लेखेको छ, ‘कोरोनाभाइरसमाथि देशमा राम्रो भइरहेको र सरकारी कदमले पनि राम्रो काम गरेको छ । त्यसैले अहिले र्यापिड टेस्टको प्रयोग नगर्न ठिक हुनेछ भन्ने मन्त्रिपरिषदमा सूचना लगिएको छ ।’

एक अन्य ट्विटमा एएनआईले अहिले भारत सरकारसँग १५ लाख टेस्टिङ किट भएको पनि बताएको छ । अनि अहिले भारतमा १.२५ स्वयंसेवी कोभिड १९ विरुद्ध युद्धका लागि तयार भएको पनि बताइएको छ ।

 

 

श्रीलंकामा २४ घन्टे कर्फ्यू
एजेन्सी  |  १३:५३:६

कोरोनाभाइरस संक्रमणको बढ्दो संख्यालाई मध्यनजर गर्दै श्रीलंकामा फेरि २४ घन्टाको कर्फ्यू लगाइएको छ । 

शुक्रबार त्यहाँ देशभर ४६ जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि यो कर्फ्यू लगाइएको हो । यसका साथासाथै श्रीलंकामा अब कोभिड १९ का संक्रमित ४ सय २० जना पुगेको छ । श्रीलंकामा अहिलेसम्म कोरोनाभाइरसका कारण ७ जनाको मृत्यु भएको छ ।

शुक्रबार भेटिएका संक्रमितमा ३० जना नाविक हुन् जो राजधानी कोलम्बोको छेउमा बस्नछन् । त्यहाँ अहिलेसम्म ६० नाविकमा कोरोेनाभाइरस संक्रमण देखिएको छ । 

श्रीलंकामा यसअघि सोमबार पनि कर्फ्यू लगाइएको थियो । प्रहरीले त्यहाँ अहिलेसम्म ३० हजारभन्दा धेरैलाई पक्राउ गरेको छ ।

ट्रम्पले भने– त्यो मेरो जोक थियो
एजेन्सी  |  ५:८:२४

काठमाडौं– अहिले पूरै विश्व कोरोनाभाइरसको कहरका कारण समस्यामा परिरहेको छ । विश्वका अधिकांश देशमा हाहाकार मच्चिएको छ । शुक्रबार दिनभर कोरोनाभाइरसबारे विश्वमा के के भयो त ?

शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पको एक अभिव्यक्तिको निकै आलोचना भयो । उनले कोरोनाभाइरसको उपचार रोगाणुनाशकबाट उपचार गर्ने तरिका खोज्नु पर्ने बताएका थिए । तर, अब ट्रम्पले नै निकै आलोचना भएपछि यसलाई आफूले जोक गरेको बताएका छन् । उनले भनेका छन्, ‘त्यो मैले गरेको जोक थियो ।’

शुक्रबार नै अमेरिकामा कोरोनाभाइरसका कारण ५० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । विश्वभर सबैभन्दा धेरै नागरिक गुमाउने देश अमेरिका भएको छ । 

अब मुसलमानहरुको पवित्र महिना सुरु भइसकेको छ । रमजानको यो महिना पनि कोरोनाभाइरसका कारण प्रभावित हुने निश्चित छ । किनकि विश्वका अधिकांश देशमा मस्जिदहरु बन्द छन्, सामाजिक दूरी अपनाउन मानिसहरुलाई आग्रह गरिएको छ ।

बेलायतमा प्रमुख कर्मचारीहरुका लागि कोरोनाभाइरस संक्रमणको बुकिङ गर्न एक वेबसाइट सुरु भएको छ । यो वेबसाइटमा अत्यन्त धेरै ट्राफिक भएकाले शुक्रबार विहान चाहिँ यो क्र्यास भएको थियो । तर, यो साइट फेरि सन्चालनमा आइसकेको छ ।

स्पेन र इटालीमा पाँच सातापछि दैनिक मृत्यु हुनेको संख्यामा निकै कमी आएको छ । 

अमेरिकामा ५१ लाखको कोरोनाभाइरस परीक्षण भयो
एजेन्सी  |  ४:४१:५६

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकाले अरु देशभन्दा राम्रो र छिटो कोरोनभाइरसबारे काम गरिरहेको बताएका छन् । उनले अमेरिकामा सबैभन्दा पहिले परीक्षणलाई प्राथमिकता दिएको पनि बताएका छन् । 

ह्वाइटहाउसमा दैनिक गरिने कोरोनाभाइरसबारेको बिफ्रिङमा उनले भने, ‘परीक्षण नै हाम्रो दिमागमा छ, छिटो र धेरै परीक्षण हामी गर्न चाहन्छौँ ।’

‘एक महिनअघि अमेरिकामा ८० हजार अमेरिकीको मात्र परीक्षण भएको थियो,’ उनले शुक्रबार भने, ‘तर, आज विहानको डाटा निकै धेरै छ, ५१ लाख जनाको परीक्षण हामीले गरेका छौँ ।’

तर, धेरै जना कोरोनाभाइरस संक्रमित देखिएको भन्दै मानिसहरुलाई नआत्तिन पनि उनले अनुरोध गरेका छन् । ‘हामी सही बाटोमा छौँ,’ उनले भनेका छन् ।

कोरोनाभाइरसका कारण जुम्ल्याहा दिदीबहिनीको मृत्यु, सँगै जन्मिए, सँगै मरे
एजेन्सी  |  ४:३५:४६

एजेन्सी– बेलायतको साउथएम्प्टन जनरल अस्पतालमा दुई दिदीबहिनीको कोरोनभाइरसका कारण निधन भएको छ । ३७ वर्षकी केटी डेभिस र उनकी दिदी इमाको त्यही अस्पतालमा निधन भएको छ । इमा त नर्स पनि थिइन् । 

केटीको मंगलबार निधन भएको हो भने त्यही अस्पतालमा कोरोनाभाइरसका कारण इमाको शुक्रबार निधन भएको हो । 

‘उनीहरुले सधैं भन्थे कि उनीहरु सँगै यो पृथ्वीमा आएका छन् र सँगै यो पृथ्वीबाट बिदा हुनेछन्,’ उनीहरुकी अर्की बहिनीले भनेकी छिन्, ‘उनीहरु अमेजिङ जुम्ल्याहा दिदीबहिनी थिए । उनीहरु कति स्पेसल थिए भन्ने बुझाउन कुनै शब्दहरु नै छैनन् ।’

यी जुम्ल्याहा दिदी बहिनीले सधैं मानिसहरुलाई सहयोग गर्ने सोचेको र नर्स भएका कारण पनि समाजसेवा नै आफ्नो प्यासन हो भन्ने बताउने गरेको उनीहरुकी बहिनीले बिबिसीलाई जनाएकी छिन् ।

 

 

कोरोनाभाइरसः अमेरिकामा मृत्यु हुनेको संख्या ५० हजार पुग्यो
फरकधार  |  १२:५५:५५

एजेन्सी– गत वर्ष डिसेम्बरमा सबैभन्दा पहिले चीनको वुहान सहरमा मानिसमा देखिएको कोरोनाभाइरस (कोभिड १९) अहिले विश्वभरका लागि कहर बनेको छ । 

सुरुमा चीन र त्यसपछि युरोपेली मुलुक इटालीमा अत्यधिक प्रभाव पारेको कोरोनाभाइरस अहिले अमेरिकीमा अत्यधिक रुपमा देखिएको छ । अमेरिकामा मात्र अब कोरोनाभाइरस (कोभिड १९) कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । 

एउटै देशमा कोरोनाका कारण मृत्यु भएको यो नै सबैभन्दा ठूलो संख्या हो ।

अमेरिकामा अब कोरोनाभाइरस संक्रमितको संख्या झन्डै ९ लाख पुगेको छ । अमेरिकापछि इटालीमा २५ हजारभन्दा धेरै, स्पेन र फ्रान्समा २० हजारभन्दा धेरैको मृत्यु कोरोनाभाइरस संक्रमणबाट भएको छ ।

बेलायतमा दुई व्यक्तिलाई दिइयो कोरोनाभाइरसविरुद्धको भ्याक्सिन
फरकधार  |  २३:१५:४५

एजेन्सी– बेलायतमा कोरोनाभाइरस संक्रमितलाई पहिलो पटक भ्याक्सिन दिइएको छ । यो बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा सुरु भएको हो ।

पहिलो चरणमा दुई स्वयंसेवकलाई यो भ्याक्सिन दिइएको छ । 

अब क्रमशः यो भ्यक्सिन अरु ८ सय जनालाई दिइने बेलायती मिडिया बिबिसीले जनाएको छ ।

यसमा विभिन्न उपाय अपनाइएको पनि बिबिसीमा लेखिएको छ । एक हो, यीमध्ये आधालाई मात्र कोरोनाभाइरसको भ्याक्सिन दिइनेछ । आधालाई मेनिन्जाइटिसको भ्याक्सिन दिइनेछ । तर, उनीहरुलाई यसबारे भनिने छैन । चिकित्सकलाई चाहिँ यो विषयमा पनि थाहा हुनेछ । 

पहिलो पटक भ्याक्सिन लिने इलिसा ग्रान्टोले भनेकी छिन्, ‘म एक वैज्ञानिक हुँ र मलाई यो विज्ञानको प्रक्रियामा सहभागी हुनुपर्छ भन्ने लागेर यसलाई सहयोग गरेकी हुँ ।’

यो भ्याक्सिन अक्सफोर्ड विश्वविद्यालयमा तीन महिना लगाएर बनाइएको हो ।

अहिले यो भ्याक्सिन निकै महत्वपूर्ण भइसकेको छ । किनकि विश्वमा यो भाइरस सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण भइरहेको छ र अहिले पनि विश्वको पूरै जनसंख्या भाइरसबाट प्रभावित हुने सम्भावना छँदै छ ।

भ्याक्सिन बन्यो भने मात्र विश्वमा भइरहेका लकडाउनहरु सहजै हट्न सक्ने थिए, मानिसहरु फेरि पुरानै जीवनशैलीमा आउन सक्ने थिए ।

अहिले भ्याक्सिन बनाउनका लागि विश्वभरका रिसर्चरहरु निकै तीव्र गतिमा काम गरिरहेका छन् । विश्वभर ८० समूहले यो भ्याक्सिनबारे रिसर्च गरिरहेका छन् । कतिपय ठाउँमा अब भ्याक्सिन मानिसमा पनि परीक्षण गर्ने कुरा भइरहेको छ । 

सबैभन्दा पहिले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन गत महिना सिएटलमा वैज्ञानिकहरुले मानिसमा प्रयोग गरेका थिए । तर, यसको अध्ययन अझै सकिएको छैन । बेलायत र जर्मनीमा पनि अब भ्याक्सिन मानिसमा परीक्षण गर्ने कुरा भइरहेको छ ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले सेप्टेम्बरको अन्त्यसम्ममा १० लाख भ्याक्सिन बनाउने लक्ष्य लिएर काम गरिरहेका छन् । तर, अहिलेसम्म कसैलाई पनि यो भ्याक्सिनको प्रभावकारिता के होला भन्ने थाहा भइसकेको छैन ।

तर, कहिलेसम्म बनिसक्ला त भ्याक्सिन ? 

यसका लागि त वर्षौं वा एक दशक पनि लाग्न सक्छ । तर, अहिले रिसर्चरहरु केही महिनामा नै यो काममा सफलता पाउने उद्देश्यका साथ काम गरिरहेका छन् । 

जे होस्, विभिन्न विज्ञहरुले अब भ्याक्सिन २०२१ को बीचसम्ममा आइसक्ने अनुमान पनि गरेका छन् । यो एउटा ठूलो वैज्ञानिक उपलब्धि हुनेछ । तर, यसले पनि काम गर्छ भन्ने कुनै ग्यारेन्टी छैन ।

अहिले भ्याक्सिनमा काम गरिरहेका समूहहरुले ट्रायल गर्न खोजिरहेका छन् । तर, अहिलेसम्म यो कति प्रभावकारी हुन्छ भन्ने कसैले पनि भन्न सकेका छैनन् । त्यसपछि पनि निकै ठूलो प्रक्रियाबाट यो गुज्रनु पर्ने हुन्छ । अनि अहिले भइरहेको लकडाउनका कारण पनि भ्याक्सिन बनिहालेको खण्डमा विश्वका विभिन्न देशमा पुग्न केही समय पक्कै लाग्ने छ ।

अर्कोतिर, अहिले कति मानिसमा यो भ्याक्सिन दिनुपर्छ भन्ने पनि थाहा हुनसकेको छैन । भाइरस संक्रमण पुष्टि भइसकेका कम्तिमा पनि ७० प्रतिशत मानिसलाई भ्याक्सिन आवश्यक हुने विश्वका रिसर्चरहरुले बताइरहेका छन् । 

 

 

 

कोरोनाभाइरसः युरोपमा आधाभन्दा बढी अस्पतालबाहिर मरण
एजेन्सी  |  १९:१७:५७

एजेन्सी– चीनलगत्तै युरोपमा देखिएको कोरोनाभाइरसका कारण सो क्षेत्रलाई तत्कालै विश्व स्वास्थ्य संगठनले कोभिड १९ को नयाँ इपिसेन्टर घोषणा गरेको थियो । पछिल्लो समय अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या निकै बढेको छ । 

तर, युरोपको अवस्था पनि राम्रो छैन । 

बरु युरोपेली मुलुकमा त यो भाइरसका कारण मानिसहरुको मृत्यु अस्पतालभन्दा बाहिर हुन थालेको बताइएको छ । अर्थात्, कोभिड १९ का कारण युरोपमा मृत्यु हुनेमा बढी केयर होम्स तथा वृद्धाश्रमहरुका मानिसहरु छन् । 

स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक हान्स क्लुगले एक पत्रकार सम्मेलनमा यो तथ्य दिएका हुन् । उनले यसलाई अकल्पनीय मानवीय त्रासदी भनेका छन् ।

कोरोनाभाइरसः यस्ताे छ भारतकाे पछिल्लाे अपडेट
एजेन्सी  |  १९:११:९

एजेन्सी– छिमेकी देश भारतमा कोरोनाभाइरस संक्रमण केही दिन यता निकै रफ्तारमा हुन थालेको छ । भारतमा अब कोरोनासंक्रमितको संख्या २१ हजार ७ सय नाघेको छ । 

त्यस्तै, त्यहाँ कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ६ सय ८६ पुगेको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा ४३२५ जनाले कोरोनाभाइरसलाई जितेका छन् । 

भारतमा सबैभन्दा धेरै प्रभाव महाराष्ट्र राज्यमा परेको छ । त्यसो त भारतको राजधानी नयाँ दिल्लीमा पनि अब कोरोनाभाइरस संक्रमित २२४८ जना पुगेका छन् । 

 

 

 

२ जना थपिए कोरोनाभाइरस संक्रमित, ठिक भएर फर्किइन् सनसिटीकी ८१ वर्षीया वृद्धा
फरकधार  |  १७:२४:४१

काठमाडौं– नेपालमा कोरोनाभाइरस संक्रमणको हटस्पट बनेको उदयपुरमा थप एक जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । बुधबार उदयपुरबाहेक जनकपुरमा पनि एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या ४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयमा नियमित आयोजना हुने बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरमा ५५ वर्षीया महिलामा कोरोनाभाइरस संक्रमण देखिएको हो । त्यस्तै, जनकपुरमा १४ वर्षका किशोरमा कोरोनाभाइरस संक्रमण देखिएको उनले जानकारी दिएका छन् ।

उदयपुरकी संक्रमित भुल्केकै हुन् । उदयपुरमा यो क्षेत्रमा नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । अब उनीसँगै त्यही क्षेत्रमा मात्र २५ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । 

यी सबैको धरान र विराटनगरका अस्पतालमा उपचार भइरहेको छ ।

अर्कोतिर, पेप्सिकोलामा १ वैशाखमा कोरोनाभाइरस संक्रमण पुष्टि भएका दुई जना ठिक भएका छन् । कोरोनाभाइरसको उपचार पाटन अस्पतालमा गराएपछि उनीहरु घर फर्किएका छन् ।

सनसिटीका यी दुई जना ५८ र ८१ वर्षका थिए । उनीहरु बेलायतबाट नेपाल आएका थिए । नाताले छोरा र आमा यी दुईसँगै र्यापिड टेस्टमा महिलामा पनि कोरोनाभाइरस पोजेटिभ देखिएको थियो । तर, पिसिआर टेस्टमा उनको नतिजा नेगेटिभ आएको थियो ।

कोरोनाभाइरस दोस्रो विश्वयुद्धपछि लोकतन्त्रलाई सबैभन्दा ठूलो खतरा: मर्केल
एजेन्सी  |  १५:३१:३७

एजेन्सी– अब बाँडिएको युरोपलाई फेरि एक बनाउन र अगाडि बढ्नका लागि कोरोनाभाइरस एउटा ठूलो चुनौति भएको जर्मन चान्सलर एन्जेला मर्केलले बताएकी छिन् । 

‘यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौति हो,’ उनले भनेकी छन्, ‘हाम्रो जीवन, हाम्रो स्वास्थ्य र लोकतन्त्रका लागि यो नै सबैभन्दा ठूलो खतरा भएका छ ।’

बिहिबार जर्मन संसदको तल्लो सदनलाई सम्बोधन गर्दै मर्केलले यस्तो अभिव्यक्ति दिएकी हुन् ।

बिहिबार नै युरोपमा युरोपेली युनियनका नेताहरुबीच भिडियो कन्फ्रेन्समा कुराकानी हुने समय पनि तय भएको छ । त्यसमा पनि आफूले यस विषयमा कुरा गर्ने उनले बताएकी छिन् । 

‘हामीले अहिले प्राप्त गरेका उपलब्धिलाई अब खेर फाल्नु हुँदैन,’ उनले भनेकी छिन्, ‘हाम्रो सरकारले जतिसक्दो धेरै गरिरहेको छ ।’

युरोपमा कोरोनाभाइरस संक्रमित उल्लेख्य मात्रमा भेटिए पनि जर्मनीले मृतकको संख्यामा सुनामी आउन दिएको छैन । त्यहाँ अहिलेसम्म पाँच हजार जनाको कोभिड १९ का कारण निधन भएको बताइएको छ ।

फिनल्यान्डकी प्रधानमन्त्री कोरोनाभाइरसको संक्रमणको आशंकामा आइसोलेसनमा
फरकधार  |  १५:७:५९

एजेन्सी– फिनल्यान्डकी प्रधानमन्त्री साना मरिन आइसोलेसनमा बसेकी छिन् । उनी कोरोनाभाइरस संक्रमण भएको आशंकामा सेल्फ आइसोलेसनमा बस्न थालेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

उनको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोभिड १९ देखिएपछि उनी आइसोलेसनमा बसेकी हुन् । ती कर्मचारीसँग प्रधानमन्त्री मरिनको प्रत्यक्ष सम्बन्ध भएको बिबिसीले जनाएको छ । 

उनको कार्यालयले जारी गरेको एक विज्ञप्तिले प्रधानमन्त्री मरिनको कोरोनाभाइरस संक्रमण परीक्षण भएको र उनले यसका कुनै लक्षण नदेखाएको जनाएको छ । 

यी ३४ वर्षे प्रधानमन्त्री गत वर्ष डिसेम्बरमा विश्वमा सबैभन्दा कान्छी प्रधानमन्त्री भएपछि चर्चामा आएकी थिइन् ।

कोरोनाभाइरसः चीनमा लगातार छ दिन यता भएको छैन मृत्यु
एजेन्सी  |  ९:३५:४७

एजेन्सी– चीनले पछिल्लो समय कोरोनाभाइरसविरुद्धको जितलाई प्रमाणित गर्न सफल भएको छ । गत डिसेम्बरमा चीनको वुहान सहरबाट सुरु भएको कोरोनाभाइरसका कारण छ दिन यता चीनमा एक जनाको पनि मृत्यु भएको छैन । यसलाई ठूलो सफलताका रुपमा अन्तर्राष्ट्रिय सन्चारमाध्यमले चित्रण गरेका छन् । 

चीनमा पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या पनि घट्दो छ । त्यहाँ पछिल्लो २४ घन्टामा १० जना मात्र नयाँ कोरोनाभाइरस संक्रमित भेटिएको बताइएको छ । यो मंगलबारको तुलनामा ३० ले कमी हो । 

चीनमा कुनै लक्षण नदेखिएका संक्रमितको गणना चाहिँ फरक तरिकाले नै भइरहेको छ ।

बुधबार संक्रमण भए पनि लक्षण नदेखिएका मानिसको संख्यामा पनि कमी आएको छ । बुधबार यस्ता व्यक्ति २७ जना भेटिएका छन् । मंगलबार यो संख्या ४२ थियो ।

भारतमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई अब सात वर्ष जेल
एजेन्सी  |  ७:१५:३३

एजेन्सी– कोरोनाभाइरसविरुद्ध लड्न स्वास्थ्यकर्मीहरुले गर्ने योगदानलाई विश्वले प्रशंसा गरिरहेको छ । तर, भारतमा केही दिन यता बारम्बार स्वास्थ्यकर्मीहरुमाथि नै आक्रमण भएका समाचारहरु पनि आइरहेका छन् ।

यसबीच भारतले अब स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई सात वर्ष जेल सजाय हुने व्यवस्था ल्याएको छ ।

‘चिकित्सक तथा नर्सहरु र फ्रन्टलाइनमा कार्यरतहरुमाथि भएको आक्रमण स्हय हुनैसक्दैन,’ भारतका सूचना तथा प्रसारणमन्त्री प्रकाश जावेडकरले बताएका छन्, ‘यसबारे बुधबार हामीले एक अध्यादेश ल्याएका छौँ ।’ अध्यादेशमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई सात वर्षसम्मको जेल र ५० हजारदेखि २ लाखसम्मको जरिवाना हुने उल्लेख भएको भारतीय मिडियाले प्रकाशन गरेका छन् ।

३ मेपछि हट्न सक्छ भारतमा लकडाउन !
एजेन्सी  |  ६:५४:१२

एजेन्सी– भारतमा अहिले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन आह्वान गरिएको छ । यसअघि २१ दिने लकडाउन सकिएपछि भारत सरकारले ३ मेसम्मका लागि लकडाउन थपेको हो । 

१५ दिनका लागि थपिएको यो लकडाउनपछि भने भारतमा लकडाउन हट्न सक्ने बताइएको छ । 

भारतीय मिडिया नवभारतटाइम्सले सरकारी अधिकारीहरुको हवाला दिँदै ३ मेपछि लकडाउन हटाउने योजनामा सरकार रहेको उल्लेख गरेको छ । 

‘३ मेसम्म अत्यन्त धेरै टेस्टिङ गर्ने र लकडाउन हटाउने योजना बनिरहेको छ,’ सरकारी अधिकारीले भनेका छन्, ‘अहिले जति सकिन्छ, त्यति सक्रिय कोरोनाभाइरस संक्रमितको संख्या घटाउने प्रयास हुनेछ ।’

योबीचमा त्यहाँ जतिसक्दो धेरै परीक्षण गर्ने र लकडाउन अन्त्य गर्ने योजना बनाइएको उनले दाबी गरेका छन् ।

अमेरिकामा घरपालुवा बिरालोमा पनि देखियो कोरोना
एजेन्सी  |  ५:१०:८

एजेन्सी— अमेरिकाको न्युयोर्कमा दुई घरपालुवा बिरालोमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । यी बिरालोको टेस्टको नतिजा बुधबार आएको हो । 

सिडिसीका अधिकारीहरुले यी दुवै बिरालो दुई भिन्न परिवारको भएको बताएका छन् । पहिलो पटक घरपालुवा बिरालोमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि अमेरिकामा चिन्ता बढेको बिबिसीमा प्रकाशित समाचारमा जनाइएको छ ।

यसअघि अमेरिकाकै एक चिडियाघरमा पहिलो पटक बाघ र सिंहमा पनि कोभिड १९ देखिएको थियो ।

अमेरिकामा यी बिरालोमा कोरोनाभाइरस संक्रमण देखिए पनि ती परिवारका कुनै सदस्यमा कोभिड १९ नदेखिएको बताइएको छ । ती परिवारका कुनै पनि सदस्यमा कोरोनाभाइरसका लक्षण नदेखिएपछि चिन्ता थप बढेको बिबिसीले जनाएको छ । 

यीमध्ये एक बिरालोको मालिकको कोरोनाभाइरस पोजेटिभ आएको छ ।

तर, योसँगै सिडिसी र अमेरिकी कृषि विभागले मानिसहरुलाई घरपालुवा जनावरलाई बेघर नगर्न अनुरोध गरेका छन् । अहिलेसम्म जनावरबाट मानिसमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि नभएकाले यी दुई संस्थाले मानिसहरुलाई संयम रहन पनि अनुरोध गरेका छन् ।
 

 

 

कोरोनाभाइरसः इटालीमा मृत्यु हुनेको संख्या २५ हजार नाघ्यो
एजेन्सी  |  १:२०:१

एजेन्सी– इटालीमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ । 

सिभिल प्रोटेक्सन सर्भिसका अनुसार बुधबार इटालीमा ४ सय ३७ जनाको मृत्यु कोभिड १९ का कारण भएको छ । योसँगै इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २५०८५ पुगेको छ ।

अर्कोतिर, इटालीमा लगातार तेस्रो दिन नयाँ संक्रमितको संख्यामा कमी आइरहेको छ । अब त्यहाँ कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ७ हजार ६ सय ९९ पुगेको छ । 

इटालीका प्रधानमन्त्रीले यो साताको अन्त्यमा लकडाउन हटाउने योजनाको घोषणा गर्ने बताएका छन् ।

जर्मनीमा फेस मास्क अनिवार्य
एजेन्सी  |  २१:४८:४

एजेन्सी– जर्मनीका सबै प्रान्तहरुले अब बाहिर निस्कन चाहने जर्मनहरुका लागि फेस मास्क अनिवार्य गर्ने निर्णय गरेका छन् । यो कोरोनाभाइरसविरुद्ध लड्न जर्मनीमा पछिल्लो पटक अगाडि ल्याइएको कदम हो ।

जर्मनीको ब्रिमेनको संसदमा पनि अब यसबारे नयाँ कानुन पारित गरिँदै छ । यसअघि अरु जर्मनीका अरु प्रान्तहरुले यो नियम अनिवार्य बनाइसकेका छन् । 

सार्वजनिक यातायातमा पनि अब जर्मनीमा मास्क लगाउन अनिवार्य गरिएको छ । त्यस्तै, बजारमा जाँदा वा सपिङ गर्न जाँदा पनि प्रत्येक व्यक्तिले मास्क लगाउनै पर्ने नियम जर्मनीले लगाएको छ ।

जर्मनीकी चान्सलर एन्जेला मर्केलले पनि गत साता मास्क लगाउन अनिवार्य भएको बताएकी थिइन् । उनले यस्तो भएको खण्डमा मात्र देशमा भएको लकडाउनलाई अलिक सहज बनाउन सकिने पनि बताएकी छिन् । 

कोरोनाभाइरसः कहिलेसम्म उपलब्ध होला भ्याक्सिन ?
एजेन्सी  |  २१:४१:१०

कोरोनाभाइरस अहिले विश्वभर फैलिएको छ । तर, अहिलेसम्म कोभिड १९ का कारण हुने रोगबाट बच्नका लागि कुनै भ्याक्सिन बन्न सकेको छैन । 

यसको अर्थ के होइन भने यसबारे काम नै भएको छैन । मेडिकल रिसर्चरहरु यसबारे काम गरिरहेका छन् ।

तर, अहिले यो भ्याक्सिन निकै महत्वपूर्ण भइसकेको छ । किनकि विश्वमा यो भाइरस सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण भइरहेको छ र अहिले पनि विश्वको पूरै जनसंख्या भाइरसबाट प्रभावित हुने सम्भावना छँदै छ ।

भ्याक्सिन बन्यो भने मात्र विश्वमा भइरहेका लकडाउनहरु सहजै हट्न सक्ने थिए, मानिसहरु फेरि पुरानै जीवनशैलीमा आउन सक्ने थिए ।

अहिले भ्याक्सिन बनाउनका लागि विश्वभरका रिसर्चरहरु निकै तीव्र गतिमा काम गरिरहेका छन् । विश्वभर ८० समूहले यो भ्याक्सिनबारे रिसर्च गरिरहेका छन् । कतिपय ठाउँमा अब भ्याक्सिन मानिसमा पनि परीक्षण गर्ने कुरा भइरहेको छ । 

सबैभन्दा पहिले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन गत महिना सिएटलमा वैज्ञानिकहरुले मानिसमा प्रयोग गरेका थिए । तर, यसको अध्ययन अझै सकिएको छैन । बेलायत र जर्मनीमा पनि अब भ्याक्सिन मानिसमा परीक्षण गर्ने कुरा भइरहेको छ ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले सेप्टेम्बरको अन्त्यसम्ममा १० लाख भ्याक्सिन बनाउने लक्ष्य लिएर काम गरिरहेका छन् । तर, अहिलेसम्म कसैलाई पनि यो भ्याक्सिनको प्रभावकारिता के होला भन्ने थाहा भइसकेको छैन ।

तर, कहिलेसम्म बनिसक्ला त भ्याक्सिन ? 

यसका लागि त वर्षौं वा एक दशक पनि लाग्न सक्छ । तर, अहिले रिसर्चरहरु केही महिनामा नै यो काममा सफलता पाउने उद्देश्यका साथ काम गरिरहेका छन् । 

जे होस्, विभिन्न विज्ञहरुले अब भ्याक्सिन २०२१ को बीचसम्ममा आइसक्ने अनुमान पनि गरेका छन् । यो एउटा ठूलो वैज्ञानिक उपलब्धि हुनेछ । तर, यसले पनि काम गर्छ भन्ने कुनै ग्यारेन्टी छैन ।

अहिले भ्याक्सिनमा काम गरिरहेका समूहहरुले ट्रायल गर्न खोजिरहेका छन् । तर, अहिलेसम्म यो कति प्रभावकारी हुन्छ भन्ने कसैले पनि भन्न सकेका छैनन् । त्यसपछि पनि निकै ठूलो प्रक्रियाबाट यो गुज्रनु पर्ने हुन्छ । अनि अहिले भइरहेको लकडाउनका कारण पनि भ्याक्सिन बनिहालेको खण्डमा विश्वका विभिन्न देशमा पुग्न केही समय पक्कै लाग्ने छ ।

अर्कोतिर, अहिले कति मानिसमा यो भ्याक्सिन दिनुपर्छ भन्ने पनि थाहा हुनसकेको छैन । भाइरस संक्रमण पुष्टि भइसकेका कम्तिमा पनि ७० प्रतिशत मानिसलाई भ्याक्सिन आवश्यक हुने विश्वका रिसर्चरहरुले बताइरहेका छन् । 

 

 

कोरोनाभाइरसः जर्मनीमा पनि भ्याक्सिन अब मानिसमा प्रयोग हुने
फरकधार  |  २०:५२:३६

जर्मन कम्पनी बायोनटेकले बनाएको कोभिड १९ सँग लड्नका लागि उपयुक्त हुने सोचिएको भ्याक्सिन पनि अब मानिसमा प्रयोग हुने भएको छ । अमेरिकी औषधी कम्पनी प्फिजरले र बायोटेकले अब यसलाई संयुक्त रुपमा मानिसमा ट्रायल गर्ने भएका हुन् ।

यो अभ्यास अहिले सुरुमा २ सय स्वास्थ्य मानिसमा प्रयोग हुने बताइएको छ । यसका लागि १८ देखि ५५ वर्ष उमेर समूहका मानिसहरु छानिएका छन् ।

‘यो अत्यन्त राम्रो कुरा हो कि जर्मनीमा हामीले कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको विकास गरेका छौँ र अब यसलाई प्रयोग गर्न सक्ने चरणमा पुग्न परीक्षण सुरु हुने भएको छ,’ जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पाह्नले भनेका छन्, ‘तर, के बिर्सनु हुँदैन भने यो भ्याक्सिन सहज हुनका लागि केही महिनाहरु लाग्नेछन् । पहिले चाहिँ हामी सुरक्षित हुनुपर्छ ।’

अहिले यो भ्याक्सिनको परीक्षणका लागि केही मानिसहरुमा मात्र सिमित गरिएको पनि उनले बताएका छन् ।

उता, बेलायतमा पनि भ्याक्सिन बिहिबारदेखि मानिसमा परीक्षण हुने भएको छ । त्यस्तै, चीन र अमेरिकामा पनि विभिन्न भ्याक्सिनहरु अब परीक्षण हुन थालेका छन् । 

कोरोनाभाइरसः अमेरिकी प्रान्तमा चीनविरुद्ध मुद्दा !
एजेन्सी  |  १३:३१:१२

अमेरिकाको प्रान्त मिजुरीमा कोरोनाभाइरसको विषयलाई लिएर चिनियाँ सरकारविरुद्ध एउटा मुद्दा दायर गरिएको छ । यसलाई त्यहाँ नागरिक मुद्दाका रुपमा लिइएको छ । 

यो मुद्दा यस्तो समयमा लगाइएको छ जतिबेला अमेरिकाले बारम्बार कोरोनाभाइरस संक्रमण फैलाएको भन्दै चीनमाथि बारम्बार औंला उठाइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीको सुरुवाती दिनमा चीनको यो भाइरसविरुद्धको अभियानका लागि प्रशंसा पनि गरेका थिए । तर, जब भाइरस अमेरिकामा पनि फैलिन थाल्यो र यसलाई विश्व महामारी घोषणा गरियो, त्यसपछि उनले पनि चिनियाँ सरकारको बारम्बार विरोध गर्दै आएका छन् । उनले यो भाइरसलाई लिएर चीनले ठूलो मूल्य चुकाउनु पर्ने पनि बताउँदै आएका छन् । 

अमेरिकामा यही वर्ष नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुँदैछ । राजनीतिक विश्लेषकले चाहिँ मिजुरीमा दायर गरिएको यो मुद्दा ट्रम्पलाई ठूलो चुनौति हुने विश्लेषण गर्न थालेका छन् ।

‘अहिले अमेरिकीहरु अमेरिकी सरकारले आफ्ना कमजोरी लुकाउन चीनमाथि आरोप लगाएको र चीनविरुद्ध मुद्दा हालेर ध्यान डाइभर्ट गर्न खोजेको भन्ने सोच्न थालिसकेका छन्,’ शिकागो विश्वविद्यालयका कानुनका प्रोफेसर टम गिन्सबर्गले भनेका छन्, ‘तर, यसले डोनाल्ड ट्रम्पलाई नै असर गर्ने देखिन्छ ।’

त्यसो त अमेरिकामा मुद्दा चले पनि चिनियाँ सरकारलाई चाहिँ खासै केही हुँदैन । किनकि अमेरिकी अदालतका मुद्दामा विदेशी सरकार सुरक्षित हुन्छन् । तर, यसलाई अन्तर्राष्ट्रिय जगतले कसरी लिन्छ भन्ने चाहिँ महत्वपूर्ण हुन्छ ।
 

 

 

इटालीले ‘लकडाउन एक्जिट प्लान’ यो साता ल्याउने
एजेन्सी  |  १:१५:१२

एजेन्सी– यो साताको अन्त्यसम्म इटालीले अब लकडाउनबाट कसरी बाहिर आउने भन्ने विषयको योजना सार्वजनिक गर्ने भएको छ । 

इटालीका प्रधानमन्त्री गियुसेप्पे कोन्टेले फेसबुकमा एउटा पोस्ट लेख्दै यसको जानकारी दिएका हुन् ।

उनले इटालीमा अब लकडाउन अन्त्य हुने तर यो क्रमशः हुने बताएका छन् । ‘अत्यन्त धेरै सावधानी र गम्भीर वैज्ञानिक नीति’का साथ इटाली खोल्ने कोन्टेले दाबी गरेका छन् । 

यसको कार्यान्वयन ४ मेबाट हुनसक्ने अनुमान उनले गरेका छन् । 

युरोपमा कोरोनाभाइरसका कारण सबैभन्दा धेरै जनाको मृत्यु इटालीमा भएको छ । इटालीमा मंगलबारसम्म कोरोनाभाइरसका कारण २४ हजार ६ सय ४८ जनाको मृत्यु भएको बताइएको छ ।

‘मलाई त एकैपटक सबै खोलौँ भन्ने मन छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘तर, यस्तो निर्णय गैरजिम्मेवार हुनेछ । त्यसैले केही सावधानी अपनाएर हामी अब विस्तारै खुल्ने छौँ ।’

इटालीमा ९ मार्चदेखि पूर्ण रुपमा लकडाउन आह्वान गरिएको थियो ।

कोरोनाभाइरसः इटालीमा घट्दै छन् संक्रमित
एजेन्सी  |  २३:२२:५९

एजेन्सी– इटालीमा कोरोना संक्रमितको संख्यामा लगातार दोस्रो दिन पनि कमी आएको छ । 

सोमबारको तुलनामा मंगलबार इटालीमा कोरोनाभाइरस संक्रमितको स.ख्या घटेको छ । र, यो उल्लेख्य संख्या भएको त्यहाँका मिडियाले जनाएका छन् । 

मंगलबार सोमबारको तुलनामा ५ सय २८ जना कममा कोरोनाभाइरस संक्रमण देखिएको हो । 

कोरोनाभाइरस महामारी फैलिएपछि सोमबार पहिलो पटक इटालीमा कोरोना संक्रमितको संख्यामा कमी आएको थियो । 

तर, इटालीमा अझै पनि कोभिड १९ का कारण प्रत्येक दिन ५ सय जनाभन्दा बढीले ज्यान गुमाएका छन् । त्यहाँ मंगलबार पनि ५ सय ३४ जनाको निधन भएको छ । योसँगै इटालीमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या २४६४८ पुगेको छ ।

बिहिबारबाट कोरोनाभाइरसको भ्याक्सिन बेलायतमा मानिसमा प्रयोग हुने
एजेन्सी  |  २२:५२:१८

बेलायती स्वास्थ्यमन्त्री म्याट हानककले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन तयार भएको बताएका छन् । उनका अनुसार अब यो रोगविरुद्धको भ्याक्सिन मानिसमा बिहिबारबाट सुरु हुने भएको छ ।

उनले यसका लागि सरकारी प्रयास भइरहेको पनि जानकारी दिएका छन् । 

मंगलबारको मिडिया ब्रिफिङमा उनले बेलायतले अन्य देशको भन्दा कोरोनाभाइरसको भ्याक्सिनको खोजीमा बढी पैसा खर्च गरेको पनि जानकारी दिएका छन् ।

अक्सफोर्ड र इम्पेरियल कलेजको संयुक्त प्रयासमा यो भ्याक्सिन तयार भएको र बिहिबार पहिलो पटक मानिसमा परीक्षण गरिने पनि उनले बताएका छन् ।

काठमाडौंमा दुई नर्सको र्‍यापिड टेस्टमा कोरोनाभाइरस पोजेटिभ
फरकधार  |  २१:५०:४१

काठमाडौं– कोरोनाभाइरस परीक्षणका लागि र्‍यापिड टेस्ट गर्दा काठमाडौंमा दुई जना नर्समा कोरोनाभाइरस एन्टिबडी पोजेटिभ देखिएको छ । यो मंगलबार अबेर साँझ आएको सूचना हो । 

त्रिपुरेश्वरमा रहेको केन्द्रीय कारागारको अस्पतालमा कार्यरत दुई जना नर्समा कोरोनाभाइरस पोजेटिभ देखिएको हो । 

उनीहरुलाई सोमबार नै टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको स्रोतले जानकारी दिएको छ । तर, सरकारले उनीहरुको पिसिआर रिपोर्ट आएपछि मात्र यसबारे विस्तृत सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ  

उनीहरुको पिसिआर परीक्षणको नतिजा भोलिसम्ममा आउने बताइएको छ । 

नेपालमा अब ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यीमध्ये पाँच जना ठिक भइसकेका छन् । 

भारतमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ६ सय बढी
एजेन्सी  |  १९:२२:४२

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोनाभाइरस संक्रमितको संख्या अब १९ हजारभन्दा बढी भएको बताएको छ । मन्त्रालयको वेबसाइटमा राखिएको तथ्यांकअनुसार अब त्यहाँ १८ हजार ९ सय ८५ जना कोरोनाभाइरस संक्रमित भएका छन् । 

अनि कोभिड १९ का कारण भारतमा ६ सय ३ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

यसका साथसाथै कोरोनाभाइरसबाट ठिक भएकाको संख्या पनि भारतमा बढेको छ । भारतमा अहिलेसम्म ३ हजार २ सय ५९ जना ठिक भइसकेको सरकारले जनाएको छ ।

पाकिस्तानमा बढ्दो कोरोना कहर
एजेन्सी  |  १९:१९:३७

एजेन्सी– पाकिस्तानमा पनि कोरोनाभाइरसका संक्रमितको संख्या बढ्दो छ । अब त्यहाँ ९ हजार पाँच सयभन्दा धेरै जना कोरोनाभाइरस संक्रमित भएको बताइएको छ । पाकिस्तानमा कोभिड १९ का कारण १ सय ९७ जनाको मृत्यु भइसकेको छ ।

पाकिस्तानमा सामाजिक कार्यकर्ता अब्दु सत्तार इधीका छोरा तथा इधी फाउन्डेसनका अध्यक्ष फैसल इधी पनि कोरोनाभाइरस संक्रमणका शिकार भएका छन् । 

उनले आफू संक्रमित भएको थाहा पाएपछि एउटा भिडियो सन्देश पनि जारी गरेका छन् । उनले यो महामारीमा मानिसहरुको सेवा गर्न पाउनु आफूहरुलाई निकै ठूलो राहत भएको बताएका छन् । उनले भिडियो आफू पनि कोरोनाभाइरस संक्रमित भएको र आफू छिट्टै ठिक हुने विश्वास पनि व्यक्त गरेका छन् । 

उनले कोरोनाभाइरस संक्रमण हुँदैमा आत्तिनु नहुने पनि बताएका छन् । 

भारतमा चीनबाट ल्याइएका किटबाट गरिएको र्‍यापिड टेस्ट ९५ प्रतिशत गलत
एजेन्सी  |  १८:२२:२७

एजेन्सी– भारतमा पछिल्ला दिन कोरोनाभाइरस संक्रमितको संख्या बढ्दो छ । तर, भारतको राजस्थान सरकारले अब र्यापिड टेस्ट नगर्ने भएको छ । त्यहाँ चीनबाट ल्याइएका र्यापिड टेस्ट किट्सले गलत परीक्षण रिपोर्ट दिइएको भन्दै त्यस्ता किटबाट अब र्यापिड टेस्ट नगर्ने भइएको हो । 

मंगलबार राजस्थान सरकारले यो किट प्रयोग गरेर र््यापिड टेस्टलाई रोक्ने निर्णय गरेको हो । त्यहाँका स्वास्थ्यमन्त्री डा. रघु शर्माले यो कटिबाट भएका परीक्षणको रिपोर्ट गलत आएकाले यस्तो कदम चालिएको बताएका छन् । 

उनका अनुसार र्यापिड टेस्टमा आएको नतिजामा जम्मा पाँच प्रतिशत मात्र मिलेको थियो । 

‘पहिले नै संक्रमित भएका व्यक्तिहरुमा यसको परीक्षण पनि गरियो,’ उनले भनेका छन्, ‘तर, १६८ जनामा परीक्षण गर्दा यसले सही नतिजा दिएन । जब सही नतिजा नै आउँदैन, यसबाट परीक्षण गर्नुको के अर्थ भयो र ?’

उनले अहिले तत्काल नै यो र्यापिड टेस्टको भर पर्न नसकिने बताएको भारतीय सन्चारमाध्यममा समाचार छ  ।

जर्मनीमा रोकियो चर्चित बियर फेस्टिभल
एजेन्सी  |  १४:२२:३३

एजेन्सी– कोरोनाभाइरस संक्रमणको खतराका कारण जर्मनीमा यस वर्ष चर्चित बियर फेस्टिभल (अक्टोबरफेस्ट) स्थगित गरिएको छ । 

जर्मनीमा प्रत्येक वर्ष यो कार्यक्रम आयोजना हुँदै आएको थियो । यसमा ५० देखि ६० लाख मानिसहरुको सहभागिता हुने गरेको थियो । यस वर्ष यो चाड १९ सेप्टेम्बरबाट ४ अक्टोबरसम्म मनाउने कार्यक्रम रहेको थियो ।

बियर फेस्टिभल रोक्दा म्युनिखको अर्थतन्त्रमा ठूलो असर पर्ने बताइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो फेस्टिभलबाट मात्र म्युनिखले प्रत्येक वर्ष १ बिलियन अमेरिकी डलर कमाउने गरेको थियो ।

जर्मनीमा डेढ लाख पुगे कोरोनाभाइरस संक्रमित
एजेन्सी  |  १४:१०:०

एजेन्सी– जर्मनीमा सोमबार मात्र कोरोनाभाइरसका नयाँ संक्रमित १७८५ जना थपिएका छन् । 

यसका साथसाथै जर्मनीमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ४३ हजारभन्दा धेरै पुगेको छ । 

यो तथ्यांक रोबर्र्ट कोच इन्स्टिच्युट फर इन्फेक्सन डिजिजले सार्वजनिक गरेको हो । 

अहिलेसम्म जर्मनीमा कोरोनाभाइरसका कारण ४ हजार ५ सय ९८ जनाले ज्यान गुमाएका छन् । सोमबारभन्दा दुई दिनअघिसम्म जर्मनीमा कोरोनाभाइरस संक्रमितको संख्या विस्तारै कम हुँदै गएको देखिएको थियो । 

यही कारण त्यहाँको सरकराले यो साता साना पसलहरु र स्कुल खुलाउने निर्णय गरेको थियो । तर, अब संक्रमितको संख्या बढ्दै गएपछि सरकारको यो निर्णय फिर्ता हुनसक्ने अनुमान गरिएको छ ।

ज्याक माको उदार मनः गरे विश्व स्वास्थ्य संगठनलाई पनि सहयोग
एजेन्सी  |  १०:५८:५५

अलिबाबाका संस्थापक ज्याक माले विश्व स्वास्थ्य संगठनलाई पनि ठूलो सहयोग गर्ने भएका छन् । 

यसअघि १५० भन्दा धेरै देशलाई १ करोड मास्क, १० लाख एन ९५ मास्क, १० लाख टेस्टिङ किट्स सहयोग गरिसकेका अलिबाबाका संस्थापक ज्याक माले अब विश्व स्वास्थ्य संगठनलाई १ करोड मास्क, १० लाख एन९५ मास्क, १० लाख टेस्टिङ किट्स सहयोग गर्ने बताएका हुन् । 

उनले यसअघि अफ्रिकाका ५४ देशमा मात्र होइन, एशियामा नेपाललगायत दर्जनौँ देशमा पनि मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

 

‘थप भयावह हुनसक्छ कोरोना कहर’
एजेन्सी  |  १०:२५:३०

एजेन्सी– विश्व स्वास्थ्य संगठनले अझै पनि कोरोनाभाइरस संक्रमणको रफ्तार नरोकिएको बताउँदै यसले थप भयावह स्थिति सिर्जना गर्न सक्ने बताएको छ । 

संगठनका महासचिव टेड्रोस एडनमले राष्ट्रिय तथा विश्वस्तरमा एकजुट नहुने हो भने आउने दिनमा कोरोनाभाइरसको कहर थप बढ्ने बताएका हुन् । 

‘यो एउटा यस्तो भाइरस हो, जसलाई विश्वका धेरै देशले र धेरै मानिसले अझै पनि बुझिसकेका छैनन्,’ उनले भनेका छन्, ‘कयौँ विकसित देशमा पनि यसलाई लिएर गलत निष्कर्ष निकालिएको छ । किनकि यसबारे सही जानकारी नै आएको छैन ।’

कोरोनाभाइरसः भारतमा संक्रमितको संख्या १८ हजार नाघ्यो
एजेन्सी  |  १०:८:४०

एजेन्सी– पछिल्ला केही दिनयता भारतमा रफ्तारमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ । १५ दिनअघि मात्र त्यहाँ पाँच हजारभन्दा कम कोरोनाभाइरस संक्रमित भेटिएका थिए । 

तर, अब यो संख्या १८ हजार ६ सय १ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड १९ का कारण भारतमा अहिलेसम्म ५ सय ९० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

यसबाहेक भारतमा ३ हजार २ सय ५१ जना कोरोनाभाइरस संक्रमित ठिक भएर अस्पतालबाट घर फर्किएका छन् । 

बैंगलोरमा १० वर्षीय नेपालीमा कोरोनाभाइरस संक्रमण
फरकधार  |  ९:४८:४४

काठमाडौं– दक्षिण भारतको सहर बैंगलोरमा १० वर्षीय नेपाल बालकमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । उनलाई एक साताअघि नै कोरोनाभाइरस भएको पुष्टि भएको हो । अहिले उनको भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यी बालकलाई उनका बाबु र आमाबाट कोरोनाभाइरस संक्रमण भएको हो । बझाङका यी बालक आफ्ना बाबुआमासँग त्यहाँ बस्दै आएका छन् । ४५ वर्षका उनका बाबु र ३५ वर्षकी उनकी आमाले कोरोनाभाइरसलाई जितिसकेका छन् । यी बालककी आमाले काम गर्ने घरबाट उनलाई कोरोनाभाइरस संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।

उनलाई कोरोनाभाइरस पुष्टि भएपछि परिवारका सबैजनालाई आइसोलेसनमा राखिएको थियो । आइसोलेसनमा रहेकामध्ये १० वर्षीय बालकलाई पनि कोरोनाभाइरस पुष्टि भएको हो ।

योसँगै भारतमा १६ नेपाली कोरोनाभाइरस संक्रमित भएका छन् । यीमध्ये तीन जना ठिक भएर अस्पतालबाट घर फर्किइसकेका छन् ।

अमेरिकासँग बढ्दो तनावबीच विश्व स्वास्थ्य संगठनले भन्यो– हामी कुनै कुरा लुकाउँदैनौँ
एजेन्सी  |  ०:१५:१२

एजेन्सी– पछिल्लो समय अमेरिकासँग बढ्दो तनावबीच एक भावुक सन्देश दिएका विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस अधानोमले आफूहरुले कोरोनाभाइरसबारे केही पनि नलुकाएको बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस महामारीबारे खास सूचनाहरु लुकाएको आरोप लगाउँदै आएका छन् । यही आरोप लगाउँदै उनले अमेरिकाले संगठनलाई दिँदै आएको रकम पनि तत्कालका लागि रोकेको बताएका छन् ।

यो प्रकोप व्यवस्थापनमा संगठनले राम्रो काम गर्न नसकेको आरोप ट्रम्पले लगाएका थिए । 

तर, डा. टेड्रोसले आफूहरुले सबै सूचना अमेरिकाको सम्बन्धित विभागलाई दिएको बताएका छन् । ‘हामीले थाहा पाएको जानकारी जनवरी देखि नै अमेरिका र अन्य देशलाई पनि दिएका छौँ,’ उनले भनेका छन् । 

‘संगठनमा कुनै पनि कुरा गोप्य र लुकाइएका छैनन्,’ उनले भनेका छन्, ‘हामी सूचना पाउने वित्तिकै बाहिर ल्याउँछौँ किनकि यो मानिसको जीवनसँग सम्बन्धित कुरा हो ।’

कोभिड १९ का कारण फ्रान्समा २० हजारभन्दा धेरैको मृत्यु
एजेन्सी  |  ०:५:३३

एजेन्सी– कोरोनाभाइरस संक्रमणबाट हुने रोग कोभिड १९ का कारण २० हजारभन्दा धेरै जनाको मृत्यु हुने देशमा अब फ्रान्स पनि थपिएको छ । फ्रान्समा सोमबार आएको अन्तिम तथ्यांकसँगै २० हजारभन्दा धेरैले ज्यान कोरोनाभाइरसका कारण गुमाएका छन् । 

त्यहाँको स्वास्थ्यमन्त्रालयका निर्देशकले यसलाई ‘प्रतिकात्मक तथा आततायी’ संज्ञा दिएका छन् । 

सोमबारसम्मको तथ्यांकअनुसार अब फ्रान्समा कोरोनाभाइरसका कारण २० हजार २ सय ६५ जनाले ज्यान गुमाएका छन् । तीमध्ये १२ हजार ५ सय १३ ले अस्पताल र अन्यले नर्सिङ होम्समा ज्यान गुमाएका हुन् । 

जेरोमी सालोमोनले भनेका छन्, ‘यो हामीले अत्यन्त दुखका साथ स्वीकार गर्नु पर्ने हुन्छ ।’

फ्रान्सबाहेक अहिलेसम्म इटाली, स्पेन र अमेरिकामा २० हजारभन्दा धेरै नागरिकको कोरोनाभाइरसका कारण निधन भएको छ ।

कोरोनाभाइरसको उत्पत्तिबारे छानबिन गर्ने अमेरिकी मागलाई चीनले किन गरिदियो खारेज ?
एजेन्सी  |  २३:४२:३१

एजेन्सी– चीनले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यो माग खारेज गरिदिएको छ जसमा उनले कोरोनाभाइरसको उत्पत्तिबारे अमेरिकाले छानबिन गर्न चाहेको बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त चीनको वुहानमा अमेरिकी अनुसन्धान टोलीलाई जान अनुमति दिन समेत अनुरोध गरेका थिए । तर, चीनले आफू पनि अरु देशजस्तै कोरोनाभाइरसको पीडित भएको तर अपराधी नभएको भन्दै यो अनुरोधलाई खारेज गरिदिएको छ ।

अमेरिकाले चाहिँ कतै कोरोनाभाइरस चीनको प्रयोगशालाबाट सुरु भएको त होइन भन्ने आशंका गरेको छ । ट्रम्पका यस्ता टिप्पणीको प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भाइरस पूरै मानव जातिका लागि साझा दुश्मन भएको बताए । उनले अमेरिकी आरोपलाई स्वीकार गर्न नसकिने पनि बताए ।

यसबीच अमेरिकामा यो भाइरसका कारण ४१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । अमेरिकामा अब कोरोनाभाइरस संक्रमितको संख्या ७ लाख ६४ हजारभन्दा बढी पुगिसकेको छ । 

कोरोनाभाइरस सबैभन्दा पहिले चिनियाँ सहर वुहानमा गत सालको डिसेम्बरको अन्त्यमा मानिसमा देखिएको थियो । पछिल्लो समय अमेरिकी नेताहरुले यो भाइरस समयमा रोकथाम नगरेको भन्दै चीनमाथि कारवाही हुनु पर्ने माग राखिरहेका छन् ।

इटालीमा सक्रिय कोरोनाभाइरस संक्रमितको संख्या घट्यो
एजेन्सी  |  २३:४:१२

एजेन्सी– इटालीका अधिकारीहरुले देशमा कोरोनभाइरसको महामारी सुरु भएपछि पहिलो पटक सक्रिय संक्रमितको संख्यामा गिरावट आएको बताएका छन् । 

‘पहिलो पटक सक्रिय कोरोनाभाइरस संक्रमितको संख्या घटेको छ,’ नागरिक सुरक्षा एजेन्सीका प्रमुख एन्गेलो बोरेलीले भनेका छन्, ‘अहिले सक्रिय संक्रमितको संख्या घटेको छ । यसले नयाँ आशा जन्माएको छ ।’

सोमबार इटालीमा १ लाख ८ हजार २ सय ३७ जना कोरोनाभाइरस संक्रमित रहेको बताइएको छ । यो अघिल्लो दिनको भन्दा २० जनाले मात्र कमी हो । तर, यसलाई त्यहाँ नयाँ आशाका रुपमा लिइएको छ । 

आइतबार मात्र त्यहाँ नयाँ संक्रमितको संख्या ४ सय ८६ पुगेको थियो ।

इटालीमा अहिले अमेरिका र स्पेनपछि सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 

पुटिनले भने– रुसमा कोरोनाभाइरस तहल्का मच्चाउनै बाँकी छ
एजेन्सी  |  २२:३४:५७

एजेन्सी– रुसमा अहिले पनि कोरोनाभाइरस संक्रमणले निकै नराम्रो स्वरुप लिइसकेको छ । तर, अझै यसको कहर बढ्न सक्ने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । 

एक भिडियो कन्फ्रेन्समा उनले सोमबार विज्ञहरुले रुसमा अझ धेरै समस्या कोरोनाभाइरसका कारण हुनसक्ने बताएका हुन् । 

‘यो महामारीको संक्रमण अझै धेरै फैलिइरहेको छ,’ उनले भनेका छन्, ‘हाम्रो दुर्भाग्य, यो बढ्दो छ । अहिले मस्कोमा मात्र होइन, अन्य ठाउँहरुमा पनि निकै द्रुत गतिमा बढिरहेको छ ।’

उनले यसअघि आफूहरुले गरेका विभिन्न कार्यान्वयनहरुका कारण सुरुमै यो भाइरसले ठूलो क्षति चाहिँ नपुर्याइसकेको पनि बताएका छन् । 

‘यसको उत्कर्ष अझै आउनै बाँकी छ,’ उनले भनेका छन्, ‘तर, हामीले यसलाई जित्नु पर्ने हुन्छ, जितेर छाड्ने प्रतिबद्धता हामीमा हुन जरुरी छ ।’

कोरोनाभाइरसः विश्वभर आज के के भयो ?
एजेन्सी  |  १९:४४:४३

एजेन्सी– अहिले विश्व कोरोनाभाइरसको कहरमा छ । विश्वका अधिकांश देशहरुमा कोरोनाभाइरसका कारण धेरै कुराहरु फेरिएका छन्, मानिसको जीवनशैली फेरिएको छ ।

गत वर्ष डिसेम्बरको अन्त्यमा चीनको वुहान सहरमा देखिएको कोरोनाभाइरस अझै रोकिने छाँटकाँटमा देखिँदैन । 

आज कोरोनाभाइरस संक्रमितको संख्या २४ लाख नाघेको छ । जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार आजसम्ममा यसका कारण १ लाख ६६ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । 

आजको तथ्यांकलाई हेर्ने हो भने यो भाइरसका सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । अमेरिकामा ७ लाख ६० हजार मानिसहरु कोरोनाभाइरस संक्रमित भएका छन् । 

आजकै दिन आएको अर्को समाचारअनुसार युरोपका केही ठाउँहरुमा लकडाउन खुकुलो बनाउन तयारी गरिरहेको छ । डेनमार्क, जर्मनी तथा चेक रिपब्लिकमा केही पसलहरु खुला हुन थालेका छन् । नर्वेमा किन्डरगार्टन खुला गरिएको छ । पोल्यान्डमा अब मानिसहरुलाई पार्क तथा जंगलमा जानका लागि अनुमति दिन थालिएको छ ।

यता, भारतमा गैरहटस्पट क्षेत्रहरुमा लकडाउन खुकुलो बनाउँदै केही व्यापारिक गतिविधि दिन अनुमति दिइएको छ ।

उता, बेलायतमा आजकै दिन आपतकालीन आर्थिक सहयोग दिनका लागि कोष स्थापना गरिएको छ । यो सहयोग कोरोनाभाइरसका कारण रोजगारी गुमाउनेहरुका लागि दिन लागिएको हो ।

अनि चीनमा ग्रेटवाल नजिकैका ठाउँबाहेक अन्य ७३ पर्यटकीय स्थलहरु खोलिएका छन् । 

अमेरिकामा तेलको मूल्य २१ वर्षको सबैभन्दा कम पनि भएको छ । 

घानामा हट्यो लकडाउन
एजेन्सी  |  १८:३३:५३

एजेन्सी– घानाका राष्ट्रपति नाना अकुफो अड्डोले देशका विभिन्न ठाउँमा लगाइएको आशिंक लकडाउनलाई हटाउने भएका छन् । 

तर, लकडाउन हटे पनि सामाजिक भेटघाट तथा भीडभाड गर्न नपाइने त्यहाँको नियम चाहिँ यथावत् छ । अनि त्यहाँका सीमाहरु पनि अझै दुई साताका लागि बन्द नै हुने भएका छन् ।

कोरोनाभाइरसको प्रकृति थप बुझिसकेपछि यस्तो निर्णय गरिएको राष्ट्रपतिले बताएका छन् । 

घानामा १ हजार ४२ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । त्यहाँ कम्तिमा पनि ६० हजार मानिसमा परीक्षण गरिएको बताइएको छ ।

चीनः खुल्न थाले पर्यटन स्थल
एजेन्सी  |  १२:२३:१६

एजेन्सी– कोरोनाभाइरस सबैभन्दा पहिले मानिसमा देखिएको चीनमा अब विस्तारै जनजीवन सामान्य हुन थालेको छ । त्यहाँ दुई महिनाभन्दा बढी समय लकडाउन गरिएको थियो । 

चिनियाँ समाचार एजेन्सी शिन्ह्वाका अनुसार बेइजिङमा अब ‘चीनको ढोका’सहित ७३ प्रमुख पर्यटन स्थलमा पर्यटकहरुलाई जान दिन थालिएको छ ।

यी सबै पर्यटनस्थल बाहिरी पर्यटकीय स्थल भएको बताइएको छ । बेइजिङ पर्यटन विभागका एक अधिकारीले त्यहाँ अब पर्यटकस्थलहरु विस्तारै खुलेको बताएका छन् । 

त्यस्तै, शंघाईमा पनि अब राति अबेरसम्म पसलहरु खुल्न थालेका छन् । मानिसहरुको भीड बढ्न थालेको त्यहाँका सन्चारमाध्यमले जनाएका छन् । 

कैलालीका २१ वर्षीया कोरोनाभाइरस संक्रमित युवा पनि निको भएर फर्किए
फरकधार  |  १७:३६:४३

धनगढी– कोरोनाभइरस संक्रमित कैलाली लम्कीचुहाका २१ वर्षीय युवाले पनि कोरोनाभाइरसलाई पराजित गर्दै निको भएर अस्पतालबाट  डिस्चार्ज भएका छन् । 

उनी १६ दिनअघि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए । लम्कीचुहा नगरपालिका १ प्रतापपुरका २१ वर्षीय युवाको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतलाले आइतबार दिउँसो डिस्चार्ज गरेको हो ।

‘आत्मबल घटेन भने कोरोना सन्चो हुन्छ, घट्न नदिनुस्,’ डिस्चार्ज भएपछि उनले भनेका छन्, ‘मलाई त ठिक हुन्छ भन्ने विश्वास पहिले नै थियो ।’

कोरोनाभाइरस संक्रमण भएको पुष्टि भए पनि उनलाई कुनै लक्षण देखिएको थिएन । 

नेपालमा कोरोनाभाइरस संक्रमणबाट ठिक भएर निस्किने उनी चौथों व्यक्ति हुन् । शनिबार काठमाडौंकी १९ वर्षीया युवती र बाग्लुङकी ६१ वर्षीया महिलाको पनि लगातार पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको थियो । त्यसअघि नै चीनबाट आएका एक युवा संक्रमणबाट मुक्त भएपछि घर फर्किइसकेका थिए ।

कैलालीका यी युवा चाहिँ भारतको मुम्बईबाट घर फर्किएका थिए ।

कोरोनाभाइरसलाई लिएर बारम्बार चीनमाथि किन उठिरहेछन् प्रश्न ?
एजेन्सी  |  १४:३४:१८

एजेन्सी– गत वर्ष डिसेम्बरको अन्त्यमा पहिलो पटक चीनको वुहान सहरमा मानिसमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भयो । जतिबेला वुहानमा यो भाइरस मानिसमा देखिएको थियो, त्यति बेला युरोप र अमेरिकाले यसलाई हलुका रुपमा लिएका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसलाई चिनियाँ भाइरस भन्दै खिल्ली पनि उडाए । यही भाइरस संक्रमण भएपछि लन्डनस्थित अस्पतालमा पुगेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि यो केही नभएको प्रतिक्रिया सुरुमा दिएका थिए । 

तर, अब युरोप र अमेरिका नै कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित भएका छन् । 

अनि ती देशका राष्ट्राध्यक्षहरु चीनमाथि प्रश्न उठाइरहेका छन् । केहीअघिसम्म चीनले भाइरस रोकथाममा सहयोग नगरेको, पारदर्शी नभएको आरोप मात्र उनीहरुले लगाएनन्, यही विषयमा मुद्दा उठाउँदै अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिइरहेको ‘फन्ड’ पनि अब रोकिदिएको छ । यसको सर्वत्र आलोचना भएको छ । 

तर, अन्तर्राष्ट्रिय मिडियाहरुमा यसबारे भन्दा पनि बढी चीनमाथि अमेरिकाले लगाएका समाचारहरुले प्राथमिकता पाएका छन् । 

कोरोनाभाइरसबारे अपडेट दिन अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित प्रेस कन्फ्रेन्समा राष्ट्रपति ट्रम्पले चीनसँगसँगै मिडियामाथि पनि निशाना प्रहार गरिरहेका छन् । 

शनिबार आयोजित कन्फ्रेन्समा ट्रम्पले न्युयोर्क टाइम्समा रिपोर्टर म्यागी ह्याबमनमाथि निशाना बनाए ।

‘मैले पनि मार्क मेडोसबारे लेखिएको एउटा रिपोर्ट पढेको थिएँ,’ ट्रम्पले भने, ‘यो तिनै म्यागीले लेखेको कथा थियो जसलाई रुसको कथा छापेका कारण पुलित्जर पुरस्कारसमेत दिइएको थियो ।’

उनले म्यागीले मार्क रोइरहेको गलत समाचार छापेको आरोप लगाउँदै आलोचना गरेका थिए ।

प्रेसमाथि मात्र होइन, ट्रम्पले चीनले अहिले पनि पारदर्शी नभएर आफ्ना तथ्यांक लुकाइरहेको बताएका छन् । उनले त अमेरिकाभन्दा चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या बढी भएको पनि बताएका छन्  ।

‘अमेरिका पहिलो नम्बरमा होइन, चीन हो,’ उनले भनेका छन्, ‘हामी त उनीहरुको आसपास पनि छैनौँ, यो कुरा मलाई थाहा छ, उनीहरुलाई पनि थाहा छ ।’

यतिमात्र होइन, उनले चीनले समयमा नै कोरोनाभाइरस संक्रमण नरोकेको पनि आरोप लगाएका छन् । उनले त यसको मूल्य चीनले चुकाउनु पर्ने पनि बताएका छन् । चीनले जानेर वा बुझेर नै यो काम नगरेको आरोप उनले  लगाएका हुन् ।

उता, अष्ट्रेलियाका विदेशमन्त्रीले पनि यसबारे स्वतन्त्र जाँच हुनु पर्ने बताउका छन् । 

फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोँले पनि चीनको पारदर्शीतामाथि प्रश्न उठाएका छन् । आखिर किन ? 

‘किनकि विश्व चीनलाई यसमा दोष दिएर आफूहरु सुरक्षित हुन चाहन्छन्,’ बिबिसीमा बेलायती विश्लेषकहरुले यसको कारण दिएका छन् ।

न्युजिल्यान्डमा कोरोनाभाइरसका कारण १२ जनाको मृत्यु
एजेन्सी  |  ११:५:५८

एजेन्सी– पछिल्लो समय विश्वका लागि कहर बनेको कोरोनाभाइरस तुलनात्मक रुपमा न्युजिल्यान्डमा निकै कममा रोक्न सफल भएको भन्दै त्यहाँको सरकारको प्रशंसा भएको छ । 

प्रधानमन्त्री जेसिन्डा अर्डेर्नको यही कारण पनि पछिल्लो समय निकै प्रशंसा भएको छ । समयमा नै लकडाउन र अन्य उपायहरु अपनाएका कारण न्युजिल्यान्डमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या १४ सय ३१ मा सिमित पनि भएको छ । 

अब त्यहाँ कोरोनाभाइरसका कारण १२ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घन्टामा नौ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 

सोमबार न्युजिल्यान्डले लकडाउन अन्त्य भएको हुनसक्ने घोषणा गर्नसक्ने अनुमान गरिएको छ ।

कोरोनाभाइरसः मध्यपूर्वमा इरानभन्दा टर्की बढी प्रभावित
एजेन्सी  |  ११:०:१०

एजेन्सी– युरोप र अमेरिकामा कहर मच्चाइरहेको कोरोनाभाइरसका कारण अब मध्यपूर्व पनि बढी प्रभावित हुन थालेको छ । टर्कीमा कोरोनाभाइरस संक्रमितको संख्या अब कम्तिमा पनि ८२३२९ पुगेको छ । 

टर्कीका स्वास्थ्यमन्त्री फहरेतिन कोकाले छिमेकी मुलुक इरानभन्दा पनि बढी टर्की अब बढी प्रभावित भएको बताएका छन् । उनले टर्कीमा मध्यपूर्वका देशमा सबैभन्दा बढी संक्रमित भएको पनि बताएका छन् । 

पछिल्ला २४ घन्टामा टर्कीमा कोरोनाभाइरस संक्रमणका ३ हजार ७ सय ८३ जना संक्रमित भेटिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ सय २१ जनाको मृत्यु भएको थियो । त्यहाँ अब मृत्यु हुनेको संख्या १८९० पुगेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इरानको राजधानी तेहरानमा प्रतिबन्ध अब अलिक खुकुलो बनाइएको छ । शनिबार इरानमा पछिल्लो एक महिनामा सबैभन्दा कमको मृत्यु भएको जनाइएको छ । शनिबार मात्र इरानमा ७३ जनाको मृत्यु भएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार अब त्यहाँ मृत्यु हुनेको संख्या ५ हजार ३१ पुगेको छ । इरानमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या ८० हजार ८ सय ६८ जना पुगेका छन् ।

उदयपुरमा थप एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
फरकधार  |  २१:२८:५७

काठमाडौं– नेपालमा थप एकजना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३१ पुगेको छ । यीमध्ये तीन जना निको भएर घर फर्किइसकेका छन् । 

हिजो शुक्रबार गरिएको परीक्षणमा नेगेटिभ आएका एक जनामा आजको परीक्षणमा कोरोनाभाइरस संक्रमण पोजेटिभ आएको हो । उनी उदयपुरको मस्जिदमा बसेका भारतीय नागरिक हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ६५ वर्षका यी पुरुष भारतबाट केही समयअघि नेपाल आएका थिए । यसअघि त्यही मस्जिदमा रहेका १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । 

विराटनगरको कोशी अन्चल अस्पतालमा कोरोनाभाइरस संक्रमित भेटिएका यी व्यक्तिको स्वाब परीक्षण गरिएको थियो ।

शुक्रबार भेटिएका १२ जनामध्ये एक जना नेपाली थिए । उनीहरुको अहिले उपचार जारी छ ।

कोरोनाभाइरसः नाइजेरियाली राष्ट्रपतिका प्रमुख सल्लाहकारको मृत्यु
एजेन्सी  |  १८:५७:२१

एजेन्सी– नाइजेरियाको राष्ट्रपति कार्यालयले कोरोनाभाइरस संक्रमणका कारण त्यहाँका राष्ट्रपतिका सल्लाहकारको निधन भएको जनाएको छ । 

राष्ट्रपति मोहम्मद बुहारीको कार्यालयले जारी गरेको विज्ञप्तिमा यो घोषणा गर्दा आफूहरुलाई निकै दुखद लागेको उल्लेख गरिएको छ ।

‘मृतकमा कोरोनाभाइरस संक्रमण त देखिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, उनी उपचार गराइरहेका थिए ।’ अब्बा क्यारीको निधनसँगै नाइजेरियमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । त्यहाँ अहिलेसम्म ४ सय ९३ जनाभन्दा बढीमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

भारतीय रिजर्भ बैंकले ल्यायो ५० हजार करोडको आर्थिक प्याकेज योजना
फरकधार  |  १२:१०:२२

कोरोनाभाइरसका कारण भारतीय अर्थतन्त्रमा आएको सुस्तीलाई हटाउनका लागि ठूलो आर्थिक प्याकेजको घोषणा गरिएको छ । 

भारतीय रिजर्भ बैंकका गर्भनर शक्तिकान्त दासले शुक्रबार यसको घोषणा गरेका हुन् । 

उनले बजारमा तत्काल रिजर्भ बैंकले ५० हजार करोड लगानी गरिने बताएका छन् । 

यसका लागि भारतीय रिजर्भ बैंकले नाबार्डलाई २५ हजार करोड, सिडबी १५ हजार करोड, एनएचबीका लागि १० हजार करोड दिने भएको हो । 

भारतका गर्भनर दासले विश्वको अर्थतन्त्र नै कोरोनाभाइरसका कारण खराब अवस्थामा पुगेको छर भारतको अवस्था त्यति साह्रै खराब नभइसकेको पनि बताएका छन् । उनले कोरोनाभाइरसका कारण ९.९ ट्रिलियन डलर नोक्सान हुने आशंका जनाएका छन् । यो भनेको जापान र जर्मनीको संयुक्त जिडिपीभन्दा पनि धेरै हो ।

यो मन्दी सन् १९२९ को ग्रेट डिप्रेसनभन्दा बढी आर्थिक मन्दी हुने उनले बताएका छन् । 

उनले भारतमा मार्चको अर्थतन्त्रमा केही सुस्तता आए पनि भारतीय अर्थव्यवस्था अब फेरि लयमा आउन थालेको पनि दाबी गरेका छन् । उनले अहिले भारतका सबै बैंकले राम्रो काम गरिरहेको र ९१ प्रतिशत बैंकका एटिएम पनि चालु भएको दाबी गरेका छन् । अनि भारतीय केन्द्रीय बैंकले बजारमा पैसाको कमी हुन नदिन अरु पनि योजनाहरु ल्याउने उनले बताएका छन् । 

ट्रम्पले ल्याए लकडाउन हटाउने योजना
एजेन्सी  |  १२:१:४५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सामान्य जनजीवन सुरु गर्नका लागि तीन चरणका एक योजनाको प्रस्ताव राखेका छन् । 

ट्रम्पले ‘ओपनिङ अप अमेरिका अगेन’ योजनाअनुसार अमेरिकामा लकडाउन हटाउने योजना ल्याएका हुन् । उनले सबैभन्दा पहिले स्कुल तथा अन्य कार्यालय खोल्नका लागि तीन चरणको प्रस्ताव पेश गरेका छन् ।

उनले योसँगै सबै राज्यहरुलाई यी योजना लागु गर्न पनि विचार गर्न अनुरोध गरेका छन् । यो योजनाअनुसार सबै चरणका १४ दिनसम्ममा सबै योजना लागु हुने र त्यहाँको जनजीवन सामान्य बनाउने बताइएको छ ।

बिहिबार भएको संवाददातासँगको सम्मेदनमा ट्रम्पले यो योजनाबारे विस्तारमा बताएका छन् । उनले लामो समयसम्म लकडाउन हुँदा अर्थव्यवस्था कमजोर हुने र लकडाउन नै कोरोनाभाइरस संकटबाट बाहिर आउने उपाय नभएको बताएका छन् ।

अहिले विश्वमा कोरोनाभाइरसका संक्रमितको संख्या २२ लाखभन्दा धेरै भइसकेको छ । यसका कारण १ लाख ४४ हजारभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् । 

भारतमा कोरोनाभाइरसका कारण ३९२ जनाको मृत्यु
फरकधार  |  २१:५६:३०

एजेन्सी– भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ११९३३ पुगेको छ । 

भारत सरकारको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार अहिलेसम्म भारतमा ३ सय ९२ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । 

भारतमा कोरोनाभाइरस ठिक भएका व्यक्तिको संख्या पनि अब १३४३ पुगेको छ । बुधबार भारतले दोस्रो चरणको लकडाउन सुरु गरेको छ । यो लकडाउन अब त्यहाँ ३ मेसम्म लागु हुनेछ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कम्युनिस्टी ट्रान्समिसन भएको छैन । यसको श्रेय त्यहाँ लकडाउनलाई नै दिइएको छ ।

कोरोनाभाइरसः स्पेनमा १८ हजार ५ सयको मृत्यु
फरकधार  |  १९:२४:३५

एजेन्सी– कोरोनाभाइरसका कारण सबैभन्दा धेरै जनाको मृत्यु हुने देशमा स्पेन तेस्रो नम्बरमा छ । तर, स्पेनकै संख्या पनि कोरोना कहरका कारण डरलाग्दो छ ।

स्पेनमा पछिल्लो २४ घन्टामा ५ सय २३ जनाको कोभिड १९ का कारण मृत्यु भएको छ ।

योसँगै यो महामारीका कारण स्पेनमा मृत्यु हुनेको संख्या १८ हजार ५ सय पुगेको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनिस संसदलाई जहिलेसम्म कोरोनाभाइरसको औषधी पत्ता लाग्दैन, त्यति बेलासम्म विश्वमै जीवन सामान्य नहुने बताएका छन् ।

पछिल्लो साता स्पेनमा लागु भएको लकडाउन चाहिँ अलिक खुकुलो बनाइएको छ ।

चीनमा पाँच सातापछि कोरोनाभाइरस संक्रमित
एजेन्सी  |  १३:५३:३३

गत डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरस केही साता यता चीनमा कम देखिन थालेको थियो । तर, अब फेरि यो ट्रेन्ड बदलिएको छ ।

आइतबार मात्र चीनमा १०८ जना कोरोनाभाइरसका नयाँ संक्रमित भेटिएपछि चीनको चिन्ता बढेको अन्तर्राष्ट्रिय मिडियामा उल्लेख  गरिएको छ । 

पाँच सातापछि एकै दिन यति धेरै संक्रमित फेरि चीनमा भेटिएका हुन् । 

संघाईमा रहेका बिबिसीका संवाददाता रोबिन ब्रान्टले गरेको रिपोर्टअनुसार आइतबार जसमा कोरोनाभाइरस संक्रमण देखिएको छ, उनीहरु सबै विदेशबाट फर्किएका चिनियाँ नागरिक हुन् ।

उनीहरुमध्ये अधिकांश रुसबाट फर्किएको बताइएको छ ।

चीनले अहिले अन्तर्राष्ट्रिय यात्रामा पूर्ण प्रतिबन्ध लगाएको छ । तर, यसको बाबजुद त्यहाँ भाइरस संक्रमण रोकिएको छैन ।

पहिलो पटक कोरोनाभाइरस देखिएको वुहानमा पनि नयाँ कोरोनाभाइरस संक्रमित भेटिएको बिबिसीमा उल्लेख छ । त्यहाँ पछिल्ला दिनमा दुई जनाको मृत्यु भएको बताइएको छ । 

तर, केही दिनअघि ७७ दिनको लकडाउन पछि चिनियाँ सहर वुहान खुलिसकेको छ ।

फ्रान्समा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्यामा उल्लेख्य कमी
एजेन्सी  |  ०:२९:५४

एजेन्सी– कोरोनाभाइरस संक्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्यामा उल्लेख्य कमी आएको छ । त्यहाँका अस्पतालमा सघन उपचार कक्ष आइसियूमा भर्ना हुन पर्ने बिरामीको संख्या पनि निकै तल झरेको छ । 

त्यसैले फ्रेन्च स्वास्थ्य मन्त्रालयले आफूहरुले अब फ्रान्समा कोभिड १९ को प्रभाव कम हुँदै जाने अनुमान गरेको बताएका छन् । 

शनिबार फ्रान्समा ६ सय ६८ जनाको कोभिड १९ का कारण मृत्यु भएको थियो । तर, आइतबार यो संख्या ३ सय १५ मात्र रह्यो । योसँगै फ्रान्सले अब कोभिड १९ को प्रभाव कम हुने आशा गरेको छ । फ्रान्समा अहिलेसम्म कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १४ हजार ३ सय ९३ पुगेको छ ।

अब फ्रान्समा आइसियुमा कोभिड १९ का बिरामी ६ हजार ८ सय ४५ जना छन् । 

कोरानाभाइरसः बेलायतमा मृतकको संख्या १० हजारभन्दा धेरै, भारतमा ८ हजार बढी संक्रमित
एजेन्सी  |  २१:३:२५

एजेन्सी– बेलायतमा आइतबार ७ सयभन्दा धेरैको कोभिड १९ का कारण निधन भएको छ । योसँगै त्यहाँ कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १० हजारभन्दा बढी भएको छ ।

पछिल्ला २४ घन्टामा इंग्ल्यान्डमा ६५७, स्कटल्यान्डमा २४, वेल्समा १८ र नर्दन आयरल्यान्डमा ११ जना कोरोनाभाइरस संक्रमितको निधन भएको बताइएको छ ।

यता, भारतमा पनि कोरोनाभाइरस संक्रमितको संख्या बढ्दो छ । आइतबार साँझ चार बजेसम्मको तथ्यांकअनुसार अब भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ८ हजार नाघेको छ । अब भारतमा ८ हजार ३ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । त्यहाँ अहिलेसम्म २ सय ७३ जनाको कोभिड १९ का कारण निधन भइसकेको छ ।

भारतमा पछिल्ला २४ घन्टामा ९०९ जना थप संक्रमित भेटिएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज
एजेन्सी  |  १८:३१:२०

एजेन्सी– बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई कोरोनाभइरस संक्रमण भएको पुष्टि भएपछि केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । 

केही दिनअघि त उनलाई लन्डनस्थित अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा राखिएको थियो । तर, त्यहाँ उनलाई भेन्टिलेटरमा चाहिँ राखिएन । 

गत आइतबार अस्पताल भर्ना भएका बोरिसको स्वास्थ्यमा सुधार भएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको बिबिसीले जनाएको छ । उनी अब प्रधानमन्त्री निवासमा रहनेछन् । तर, उनको शरीरमा पछिल्लो समय कोरोनाभाइरस संक्रमण देखिए वा नदेखिएबारे केही बताइएको छैन ।
 

कोरोनाभाइरसः स्पेनमा तीन दिनपछि फेरि बढे कोभिड १९ बाट मृत्यु हुने
एजेन्सी  |  १७:१:५५

एजेन्सी– स्पेनमा आइतबार कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या फेरि बढेको छ । पछिल्ला तीन दिनमा यो संख्या घट्दै गएपछि त्यहाँ नयाँ आशा जन्मिएको थियो । 

शनिबार स्पेनमा कोभिड १९ का मृत्यु हुनेको संख्या तीन साता यताकै सबैभन्दा कम थियो । तर, आइतबार फेरि यो संख्या कम्तिमा पनि सय जनाले बढेको छ । 

स्पेनको स्वास्थ्य मन्त्रालयले आइतबार स्पेनमा ६ सय १९ जनाको मृत्यु भएको जनाएको छ । शनिबार यो संख्या ५ सय १० मात्र थियो । 

योसँगै स्पेनमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १६ हजार ९ सय ७२ पुगेको छ । 

स्पेनमा अहिले कोरोनाभाइरस संक्रमित बढेर १ लाख ६६ हजार पुगेका छन् । 

बेलायती प्रधानमन्त्री बोरिसले भने– स्वास्थ्यकर्मीप्रति ऋणी छु
फरकधार  |  ११:१९:२

एजेन्सी– कोरोनाभाइरस संक्रमणको पुष्टि भएको १० दिनपछि अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पहिलो पटक आफ्नो विज्ञप्ति जारी गरेका छन् । अस्पताल भर्ना भएको भोलिपल्ट सघन उपचार कक्ष (आइसियू)मा उपचार गराएका जोनसन केही दिनअघि मात्र सामान्य वार्डमा सारिएका थिए ।

उनले आफूलाई हेरचाह गर्ने स्वास्थ्यकर्मीप्रति ऋणी भएको बताएका छन् । 

५५ वर्षका बोरिस लन्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएका छन् । अहिले पनि उनी अस्पतालमा नै छन् ।

आइतबार बेलायतमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १० हजार कट्ने अनुमान गरिएको छ । शनिबार बेलायतमा अहिलेसम्मकै सबैभन्दा धेरै ९ सय १७ जनाले ज्यान गुमाएका थिए । अहिलेसम्म बेलायतमा कम्तिमा पनि ९ हजार ८ सय ७५ जनाको निधन भइसकेको छ । 

बेलायती मन्त्रीहरुले अहिले पनि बेलायती जनतालाई घरभित्रै रहन अनुरोध गरेका छन् । 

अर्कोतिर, प्रधानमन्त्री बोरिसले चाहिँ केही समय आराम गर्ने विदेशमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री डोमिनिक राबले जानकारी दिएका छन् । 

अछाममा २२६ को स्वाब परीक्षण, १११ को नेगेटिभ
फरकधार  |  ११:७:४

अछाम– कोरोनाभाइरस संक्रमणको आशंकामा अछाममा मात्रै २ सय २६ जनाको स्वाब परीक्षण गरिएको छ । यीमध्ये अहिलेसम्म १ सय ११ जनाको रिपोर्ट आइसकेको छ । सबैको रिपोर्ट नेगेटिभ छ ।

थप १ सय १५ जनाको रिपोर्ट आउन बाँकी छ । 

जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार सोमबारभित्र सबैको रिपोर्ट आउने विश्वास लिइएको छ ।

रिपोर्ट नेगेटिभ आएकाहरु विदेशबाट नेपाल आएका थिए । उनीहरु विदेशबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । अब रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर जान दिइएको छ ।

५२ देशका २२ हजार स्वास्थ्यकर्मी कोरोनाभाइरस संक्रमित
फरकधार  |  १०:५४:३८

एजेन्सी– विश्व स्वास्थ्य संगठनले जारी गरेको एक रिपोर्टअनुसार अहिले विश्वभर २२,०७३ स्वास्थ्याकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । 

संगठनका अनुसार यो तथ्यांक ८ अप्रिलसम्मको हो । रिपोर्टमा ८ अप्रिलसम्म ५२ देशका स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । सँगसँगै संगठनले सबै देशबाट यथेष्ठ जानकारी नपाएकाले यो संख्या अझ बढी हुनसक्ने पनि बताएको छ ।

संगठनले स्वास्थ्यकर्मी कोरोनाभाइरसविरुद्धको लडाईंमा फ्रन्ट लाइनमा हुने भएकाले यो निकै महत्वपूर्ण हुन्छ । स्वास्थ्यकर्मीलाई संक्रमण हुनु भनेको अन्य बिरामीलाई पनि कोरोनाभाइरस संक्रमण हुनसक्ने सम्भावना रहेको स्वास्थ्य संगठनले जनाएको छ । 

कोरोनाभाइरसः अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार पुग्यो
फरकधार  |  ६:२३:१८

एजेन्सी– अमेरिकामा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या अब २० हजारभन्दा बढी पुगेको छ । अहिलेसम्म यो महामारी फैलिएपछि सबैभन्दा धेरैको ज्यान अमेरिकामा गएको हो । 

यसअघि इटालीमा यो महामारीका कारण धेरैले ज्यान गुमाएका थिए । 

शनिबारको अन्तिम तथ्यांक भन्दै जोन हप्किङ्स विश्वविद्यालयले जारी गरेको तथ्यांकमा अमेरिकामा सबैभन्दा धेरैको एकै दिन मृत्यु भएको पनि देखिन्छ । तथ्यांकअनुसार शनिबारमात्र अमेरिकामा २ हजार जनाको मृत्यु भएको छ ।

उता, अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्कका गर्भनर एन्ड्र्यु क्योमोले राज्यमा कोरोनाभाइरसका कारण भएको मृत्यु अब विस्तारै नियन्त्रणमा आउन थालेको बताएका छन् ।

न्यूयोर्क यो महामारीको अमेरिकी इपिसेन्टर मानिएको छ । अमेरिकामा ५ लाखभन्दा बढीलाई कोरोनाभाइरस संक्रमण देखिँदा न्यूयोर्कमा १ लाख ८० हजारभन्दा धेरैलाई यो संक्रमण भएको छ । अमेरिकामा कोभिड १९ का कारण मृत्यु हुने सबैभन्दा धेरै पनि न्यूयोर्ककै छन् ।

ब्राजिलमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १ हजार बढी, राष्ट्रपतिलाई कुनै मतलब छैन
एजेन्सी  |  १९:५२:३३

दक्षिणी गोलार्धको देश ब्राजिलमा अब कोभिड १९ का कारण मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगेको छ । दक्षिणी गोलार्धमा कोरोनाभाइरसका कारण सबैभन्दा बढी मृत्यु भएको देश नै यही हो । 

त्यहाँ लगभग २० हजार मानिस कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

ब्राजिलका अधिकारीहरुले मृत्यु हुने र संक्रमित हुने दुवै संख्या निकै माथि पुग्ने बताएका छन् । किनकि त्यहाँ अहिलेसम्म अस्पताल गएका मानिसहरुको मात्र परीक्षण गरिएको छ । त्यहाँका अधिकारीहरुले यो महिनाको अन्तिममा यो महामारीको प्रकोप स्पष्ट रुपमा देखिने पनि बताएका छन् ।

ब्राजिलका अधिकांश राज्यहरुले क्वारेन्टाइनलाई लागु गरेका छन् । तर, ब्राजिलका राष्ट्रपति बोल्सोनारोले आफूले लकडाउन वा अरु कुनै प्रतिबन्ध नलगाउने बताइसकेका छन् । देशको अर्थतन्त्रमा यसले प्रभाव पार्ने भन्दै उनले यस्तो कदम लिएको बताएका छन् ।

यतिमात्र होइन, क्वारेन्टाइन वा लकडाउन आह्वान गरेका राज्यहरुमा व्यावसाय खुलाउनका लागि केन्द्रले आदेश दिने पनि चेतावनी दिएका छन् । 

उनले सामाजिक दूरीले आफ्नो सरकारलाई असफल बनाउन भनिएको एउटा षडयन्त्र भएको मात्र बताएनन्, शुक्रबार आफैं सडकमा निस्किएर मानिसहरुसँग हात मिलाएका छन् ।

यो क्रममा उनले विभिन्न ठाउँमा आफ्ना समर्थकसँग हात मिलाउँदै सेल्फी लिएका थिए । तर, उनका आलोचकहरुले उनको विरोध गरेका छन् । 

बेलायतमा थप ९१७ को मृत्यु, प्रधानमन्त्री बोरिस अस्पतालमै
एजेन्सी  |  १९:४४:१८

एजेन्सी– बेलायती सरकारले जारी गरेको पछिल्लो तथ्यांकअनुसार बेलायतका अस्पतालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १० हजार कटेको छ । पछिल्लो २४ घन्टामा त्यहाँ कम्तिमा पनि ९ सय १७ जनाको मृत्यु भएको थियो ।

बेलायतमा अहिलेसम्म कोरोनाभाइरसका कारण ७८ हजार ९ सय ९१ जना संक्रमित भएका छन् । 

उता, बेलायती प्रधानमन्त्री बोरिस जोनसन अहिले पनि अस्पतालमा नै छन् । उनलाई हिजोमात्र आइसियूबाट सामान्य वार्डमा सारिएको हो । 

बेलायतमा १९ स्वास्थ्यकर्मीको कोरोनाभाइरसका कारण मृत्यु
एजेन्सी  |  १६:०:७

बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या १९ पुगेको छ । त्यहाँका स्वास्थ्यमन्त्री म्याट हानककका अनुसार यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । 

‘अत्यन्त दुखका साथ भन्नुपर्छ,’ उनले भनेका छन्, ‘अहिलेसम्म १९ स्वास्थ्यकर्मीको निधन कोरोनाभाइरसका कारण भएको छ ।’

तर, उनले यी स्वास्थ्यकर्मीमा उपचारको क्रममा कोरोनाभाइरस लागेको वा अरु नै कारणबाट उनीहरुमा संक्रमण भएको हो भन्नेबारे चाहिँ केही नखुलेको पनि बताएका छन् । 

कोरोनाभाइरसः अमेरिकामा एकै दिन २ हजारभन्दा बढीको मृत्यु
एजेन्सी  |  १५:१९:५१

एजेन्सी– अमेरिकामा कोरोनाभाइरसका कारण एकै दिन २ हजारभन्दा बढीको मृत्यु भएको छ । कोभिड १९ महामारी फैलिएपछि एकै दिन धेरै मृत्यु भएको यो पहिलो पटक हो । 

जोन हप्किङ्स विश्वीविद्यालयको तथ्यांकअनुसार पछिल्ला २४ घन्टामा अमेरिकामा २ हजार १ सय ८ जनाको मृत्यु भएको छ । त्यहाँ अब कोरोनाभाइरस संक्रमितको संख्या ५ लाखभन्दा बढी भएको छ । 

अब अमेरिकामा मृतकको संख्या विश्वकै सबैभन्दा धेरै हुने विज्ञहरुले बताएका छन् । अहिलेसम्म कोभिड १९ का कारण इटालीमा सबैभन्दा धेरै १८ हजारको मृत्यु भइसकेको छ । 

उता, अमेरिकी राष्ट्रपति कार्यालयहरुमा विज्ञहरुले कोभिड १९ का संक्रमितको संख्या अब नियन्त्रणमा आउनसक्ने बताएका छन् । 

‘हामी अझै पिकमा पुगेका छैनौँ,’ ह्वाइटहाउसका विज्ञ डा. डेबोराह बिक्र्सले भनेका छन्, ‘तर, विस्तारै यो नियन्त्रणमा आउने देखिएको छ ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ अमेरिकामा १ लाखसम्म मानिसको कोभिड १९ का कारण मृत्यु हुनसक्ने बताएका छन् । 

स्विडेनले किन अस्वीकार गरिरहेको छ लकडाउन ? किनकि ऊ विश्वास गर्छ ‘हर्ड इम्युनिटी’मा
फरकधार  |  १४:४६:४४

कोरोना कहरका कारण अहिले युरोप निकै आत्तिएको छ । अनि युरोपका अधिकांश देशमा अहिले लकडाउन आह्वान गरिएकोछ । मानिसहरुलाई घरबाहिर निस्कन दिइएको छैन, निस्कनेलाई जरीवाना लगाउन थालिएको छ ।

तर, स्वीडेनमा होइन ।

स्वीडेनमा त बारहरु खुलेका छन्, रेष्टुरेन्टहरु खुलै छन् र मानिसहरु आवतजावत गरिरहेका छन् । खेल मैदान र त्यहाँका पार्कहरु अहिले पनि भरिएका छन् । स्कुलहरुमा बालबालिका पढिरहेका छन् । 

किन ? 

किनकि त्यहाँको सरकारले ऐच्छिक रुपमा नागरिकलाई कोरोनाभाइरस संक्रमणलाई रोक्न आह्वान गरेको छ ।

‘स्वीडेनले अहिले त्यस्तो गरिरहेको छ, उनीहरु भीडमा रमाइरहेका छन्,’ स्वीडेनका नेताहरुले होइन, अमेरिकी राष्ट्रपति ट्रम्पले बरु मंगलबार चेतावनी दिएका थिए, ‘उनीहरुले अब ठूलो मूल्य चुकाउनु पर्ने छ ।’ 

तर, यस्तो चेतावनीले पनि स्वीडेन सरकारलाई असर गरेको देखिँदैन । उनीहरुलाई त थाहा छ, यो सब त्यहाँका नागरिकमा भर पर्ने कुरा हो । त्यसैले त स्विडेनका परराष्ट्रमन्त्री आन लिन्डेले भनेकी थिइन्, ‘ट्रम्प गलत छन् ।’

अनि उनले भनेकी थिइन्– यो हर्ड इम्युनिटी सिद्धान्त पनि हो । 

हर्ड इम्युनिटी अर्थात् जतिसक्दो धेरै मानिसहरुलाई कोरोनाभाइरस हुन दिने र देशभित्र नै सरकारले मानिसहरुमा यो भाइरसविरुद्धको प्रतिरोधात्मक क्षमता विकास गर्ने । अनि गम्भीर बिरामीहरुलाई मात्र उपचार गर्ने ।

‘हामी लकडाउनमा विश्वास गर्दैनौँ,’ उनले थपेकी छिन्, ‘हामी हाम्रा जनताले नै जिम्मेवारी बहन गरेको हेर्न चाहन्छौँ ।’

यसको अर्थ स्वीडेनमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या नभएको चाहिँ होइन । त्यहाँ ९ अप्रिलको तथ्यांकअनुसार ९१४१ मा कोरोनाभाइरस संक्रमण देखिएको छ भने ७९३ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।

२० लाखभन्दा बढीको कोरोना टेस्ट गरिएको ट्रम्पको दाबी
एजेन्सी  |  ४:३६:४९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा २० लाखभन्दा धेरै मानिसको कोरोनाभाइरस टेस्ट गरिएको दाबी गरेका छन् । 

‘आज म यहाँ भन्न चाहन्छु,’ अमेरिकामा हुने दैनिक ब्रिफिङमा ट्रम्पले भने, ‘हाम्रा परीक्षणहरु अरु देशका भन्दा एकुरेट छन् ।’

उनले अहिले विश्वले आफूहरुले जे गरिरहेको छ, त्यही अनुसरण गर्न खोजेको पनि उनले दाबी गरेका छन् । 

साउदीमा राजा, राजकुमार आइसोलेसनमा, राजपरिवारका १ सय ५० जना संक्रमित
एजेन्सी  |  २:२८:३९

अहिले विश्वका लागि ठूलो चुनौति बनेको कोरोनाभाइरसले धनी र गरिब भन्ने गरेको छैन । न त यसले को सत्तामा छ र को बाहिर छ भन्ने नै गरेको छ । चाहे राजा हुन् वा प्रधानमन्त्री, धनाढ्य हुन् या सामान्य नागरिक कोरोनाभाइरस सबैमा देखिएको छ । 

कोभिड १९ को शिकार अहिले जो पनि हुनसक्छन् । बेलायती राजकुमार यसका एक उदाहरण हुन् । बेलायती राजकुमार चाल्र्समा यसको संक्रमण देखिएको थियो । त्यहाँ नै प्रधानमन्त्री बोरिस जोनसन अहिले उपचार गराइरहेका छन् । 

अब कोरोनाभाइरस साउदी अरबको शाही परिवारमा पनि पुगेको छ । अनि त्यहाँ शाही परिवारका कम्तिमा पनि १ सय ५० जना यसबाट संक्रमित भएको समाचार अन्तर्राष्ट्रिय मिडियामा आउन थालेको छ ।

टाइम पत्रिकाको एक रिपोर्टअनुसार त्यहाँका राजा सलमान र राजकुमार मोहम्मद बिन सलमान अब आइसोलेसनमा गएका छन् । रिपोर्टका अनुसार त्यहाँको विशेष अस्पतालका चिकित्सक शाही परिवारको उपचारमा जुट्न थालेका छन् । अनि त्यहाँ कोभिड १९ बढ्न सक्ने भन्दै उनीहरुको विशेष अस्पतालमा ५ सय अतिरिक्त शैय्या तयार पार्न भनिएको छ । 

अस्पतालमा चिकित्सकहरुलाई पूर्ण रुपमा सतर्क रहन भनिएको पनि टाइम पत्रिकामा छापिएको छ । साउदी अरबमा अहिलेसम्म ४४ जनाको कोभिड १९ का मृत्यु भएको छ । त्यहाँ कोरोनाभाइरस संक्रमितको संख्या अब ३२८७ पुगेको छ ।

मर्केलले भनिन्– संक्रमितको संख्या घट्दो छ, खुसी होऔँ
एजेन्सी  |  २:२०:५५

जर्मन चान्सलर एन्जेला मर्केलले अहिले कोरोनाभाइरसका कारण निकै त्रसित भए पनि विस्तारै देशमा कोरोनाभाइरस संक्रमणमा नियन्त्रण आउनेजस्तो देखिन थालेको बताएकी छिन् ।

जर्मनीमा पछिल्लो २४ घन्टामा ४९७४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै जर्मनीमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या १०८२०२ पुगेको छ । अनि त्यहाँ कोरोनाभाइरसका कारण २१०७ जनाको निधन भएको छ । 

‘पछिल्लो समय आएको संख्याले हामीलाई आशावादी बनाउँछ,’ उनले भनेकी छिन्, ‘अब यो विस्तारै कम हुँदै जान थालेको छ । हामी यसबारे खुसी हुनसक्छौँ ।’

यसअघि उनले जर्मन नागरिकहरुले सरकारलाई साथ दिनु पर्ने आह्वान गरेकी थिइन् ।

आफूमाथि लागेको आरोपलाई चीनले भन्यो– अनुचित, डब्लूएचओलाई गर्‍यो समर्थन
एजेन्सी  |  ०:५४:४०

एजेन्सी– पछिल्लो समय चीन सरकारमाथि लागेका आरोपलाई चीनले अनुचित र अन्यायपूर्ण बताएको छ । उसले कोरोनाभाइरसका महामारीलाई लुकाउन खोजेको र यसका तथ्यबारे गलत जानकारी दिएको आरोप लगाउँदै आइएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनले विश्वलाई यो महामारीबारे जानकारी दिने विषयमा खुला, पारदर्शी र जिम्मेवार भएको बताएका छन् । 

‘यो भाइरसबारे धेरै जानकारी थाहा पाउन त हामीलाई नै समय लाग्यो,’ उनले भनेका छन्, ‘हामीलाई थाहा भएको कुरा हामीले भनेका थियौँ ।’ कोरोनाभाइरस पहिलो पटक चिनियाँ सहर वुहानमा गत डिसेम्बरमा देखिएको थियो ।

पछिल्लो समय चीनमाथि अमेरिकाले कोरोनाभाइरसबारे जानकारी लुकाएको आरोप लगाउँदै आएको छ । यही कारणलाई देखाउँदै अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई सहयोग नगर्ने तयारी रहेको पनि सुनाइसकेका छन् । उनले डब्लूएचओ चीन परस्त भएको आरोप लगाएका थिए । 

अब चीनले यो आरोपलाई निराधर भन्दै डब्लूएचओको प्रशंसा पनि गरेको छ ।

कोरोनाभाइरसलाई ट्विन टाउरमाथिको आक्रमणसँग तुलना गरे न्युयोर्कका गर्भनरले
एजेन्सी  |  ०:२६:३५

अमेरिकी सहर न्युयोर्कका गर्भनर एन्ड्र्यु क्योमोले कोरोनाभाइरसका कारण मच्चिएको यो आपत्लाई ९÷११ को आक्रमणसँग तुलना गरेका छन् । 

उनले कोरोनाभाइरसका कारण राज्यमा त्यस्तै  समस्या देखिने जुन ९÷११ मा त्यहाँको ट्विन टाउरमाथि भएको आक्रमणपछि देखिएको थियो भन्ने अभिव्यक्ति दिएका हुन् । 

आज उनले गरेको प्रेस बिफ्रिङमा ११ सेप्टेम्बर २००१ मा भएको त्यो आतंककारी आक्रमण विनाशकारी भएको बताएका हुन् । याृसँगै उनले यो भाइरस पनि साइलेन्ट किलर भएको बताएका छन् ।

उनले कोरोनाभाइरसका कारण निधन भएका व्यक्तिहरुको अन्तिम संस्कारका लागि जरुरी कदम उठाउने पनि बताएका छन् । अहिले कोभिड १९ का कारण न्युयोर्कमा मात्रै सात हजारभन्दा धेरैको निधन भइसकेको छ ।

कोरोनाभाइरस संक्रमितको संख्या १५ लाख पुग्यो, झन्डै एक लाख मृत्यु
एजेन्सी  |  २२:१८:१८

एजेन्सी– अमेरिकाको जोन हप्किङ्स विश्वविद्यालयको ताजा तथ्यांकअनुसार विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या अब १५ लाखभन्दा पनि बढी भएको छ । 

यसको मतलब के हो भने पछिल्ला ६ दिनभित्र मात्र संक्रमित व्यक्तिको संख्या विश्वमा पाँच लाखभन्दा बढी भएको छ । 

गत शुक्रबार मात्र विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या १० लाख थियो ।

तर, अमेरिकी विश्वविद्यालयले यो तथ्यांक सार्वजनिक गरेको भए पनि वास्तविक कोरोनाभाइरस संक्रमितको संख्या वास्तविकताभन्दा निकै धेरै भएको हुनसक्ने बताइएको छ । किनकि विश्वमा कुनै लक्षण नदेखिएका र अस्पताल नपुगेका संक्रमित पनि यति नै हुनसक्ने मानिएको छ । 

अमेरिकी विश्वविद्यालयका अनुसार अब यसका कारण मृत्यु हुनेको संख्या पनि अब झन्डै ९० हजार पुगिसकेको छ । अब केही दिनमा यो संख्या एक लाख कट्ने अनुमान गरिएको छ । 

अहिले कोरोनाभाइरस संक्रमण भएर पनि ठिक भएका व्यक्तिको संख्या चाहिँ ३ लाख ३७ हजारभन्दा बढी पुगिसकेका छन् ।

कोरोनाभाइरसबाट सबैभन्दा धेरै संक्रमित चाहिँ अमेरिकामा भएका छन् । त्यहाँ अहिलेसम्म ४ लाख ३२ हजारमा यो भाइरस संक्रमण देखिएको । अमेरिकापछि स्पेन, इटाली तथा जर्मनीमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

भाइरसका कारण सबैभन्दा बढी इटालीमा ज्यान गुमाएका छन् । त्यहाँ १७ हजारभन्दा धेरै मानिसको मृत्यु कोभिड १९ का कारण भएको छ । स्पेनमा १५ हजार र फ्रान्समा झन्डै १० हजारले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।

जापानमा कोरोनाभाइरसको अलार्म, बढे संक्रमित
एजेन्सी  |  २०:७:२२

एजेन्सी– पछिल्लो समय एशियाली देशमा जापान कोरोनाभाइरसबाट त्यति धेरै प्रभावित भएको थिएन । तर, अब जापानमा पनि कोरोनाभाइरस संक्रमण निकै द्रुत गतिमा फैलिएको छ । 

जापानमा बुधबारमात्र ५ सयभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 

बिहिबार जापानी स्वास्थ्य मन्त्रालयले बताएअनुसार एकै दिन जापानमा कोरोना संक्रमित भेटिएको यो सबैभन्दा धेरै हो । 

यीमध्ये १४४ जनामात्र राजधानी टोकियो क्षेत्रमा भेटिएका छन् । 

योसँगै जापानमा कोरोना संक्रमितको संख्या ५ हजारभन्दा धेरै भएको छ । एक दिनअघि मात्रै जापानी प्रधानमन्त्री सिन्जो अबेले जापानमा संकटकाल घोषणा गरेका छन् । 

स्पेनमा कोरोनाभाइरसका कारण मृत्यु हुने १५ हजार नाघे, नयाँ संक्रमित घटे
एजेन्सी  |  १७:५५:५७

कोरोनाभाइरस संक्रमणबाट स्पेनमा १५ हजार २ सय ३८ जनाको मृत्यु भएको छ । तर, स्पेनमा नयाँ संक्रमितको संख्या कम हुँदै गएपछि नयाँ आशा पनि जन्मिएको छ । 

बिहिबार त्यहाँको सरकारले जारी गरेको सूचनाअनुसार ५ हजार ७ सय ५६ जनाको पछिल्ला २४ घन्टामा निधन भएको छ । बुधबार यो संख्या ६ हजार १ सय ८० थियो ।

अर्कोतिर, त्यहाँ बुधबारभन्दा संक्रमितको संख्या बिहिबार कम देखिएको छ । 

अब स्पेनमा लकडाउन लम्ब्याउने तयारी चलिरहेको छ । यही लकडाउनले नै त्यहाँ अवस्था नियन्त्रणमा आएको त्यहाँका प्रधानमन्त्रीले दाबी गर्दै आएका छन् । 

बैंककमा मदिरा बेच्न प्रतिबन्ध
एजेन्सी  |  १५:१२:३६

बुद्धिस्ट नयाँ वर्षका रुपमा चिनिने सङक्रानमा पार्टीहरु नहोस् र कोरोनाभाइरस संक्रमण नफैलिओस् भनेर बैंककमा मदिरा बेच्न पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । 

१३ अप्रिलबाट सुरु हुने यो चाड १५ अप्रिलसम्म थाइल्यान्ड र बैंककमा उत्साहका साथ मनाइन्थ्यो । बुद्धको मूर्तीमा पानी खनाएर मनाइने यो चाडमा मदिरा खपत बढी हुने र यसका कारण कोरोनाभाइरस संक्रमण फैलिने डर पनि बढ्ने भन्दै त्यहाँ मदिरामाथि १० दिनका लागि पूर्ण प्रतिबन्ध लगाइएको हो ।

यो विश्वमै चर्चित चाडमध्येको एक हो । पानी त्यसरी हाल्नु भनेको दुःख बगाउनु हो भन्ने विश्वास लिइन्छ । तर, अहिले कोरोनाभाइरस संक्रमण भएकाले यो चाड मनाउन पनि धेरै मानिसको भीड हुन नदिने थाइ सरकारले नीति लिएको छ । 

थाइल्यान्डमा अहिलेसम्म २ हजार ३ सयभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । त्यहाँ कोभिड १९ का कारण ३० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरसः न्युयोर्कमा मात्रै एक दिनमा ७७९ जनाको मृत्यु
एजेन्सी  |  १:१९:१७

एजेन्सी– गत वर्षको अन्त्यमा चीनको वुहानबाट देखिएको कोरोनाभाइरसका कारण अहिले अमेरिका र युरोप निकै ठूलो समस्यामा परेका छन् । युरोपका केही मुलुक र अमेरिकामा यो भाइरसको संक्रमण निकै द्रुत गतिमा भइरहेको छ । 

केही दिनयता अमेरिकामा भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । मंगलबार मात्रै अमेरिकामा १८ सयभन्दा बढीले यो भाइरसका कारण ज्यान गुमाएका छन् । यो भाइरसको महामारीपछि कुनै पनि देशमा सबैभन्दा बढी एकै दिनमा ज्यान गुमाउनेको संख्या हो यो । 

अझ, अमेरिकाको न्युयोर्क यो भाइरसका कारण निकै प्रभावित भएको छ । न्युयोर्कका अधिकारीहरुले दिएको जानकारीअनुसार अब न्युयोर्कमा कोभिड १९ का मृत्यु हुनेको संख्या दैनिक बढेपछि त्यहाँ शवहरुको व्यवस्थापनमा पनि समस्या हुन थालेको छ । 

न्युयोर्कमा गत २४ घन्टामा मात्र ७ सय ७९ जनाले यो भाइरसका कारण ज्यान गुमाएका छन् । 

बेलायतमा पछिल्लो २४ घन्टामा ९ सयभन्दा धेरैको मृत्यु, प्रधानमन्त्री आइसियूमै
एजेन्सी  |  २०:२०:१५

एजेन्सी– बेलायतमा कोरोना कहर बढ्दो छ । बेलायतको इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स तथा नर्दन आयरल्यान्डमा पछिल्ला २४ घन्टामा कम्तिमा पनि ९ सय जनाको मृत्यु भएको बताइएको छ । 

यसअघि मंगलबार अमेरिकामा एकै दिन १८ सयभन्दा धेरैको मृत्यु भएको बताइएको छ ।

अब बेलायतमा कोरोनाभइरसबाट मृत्यु हुनेको संख्या ७ हजारभन्दा बढी भएको छ । यसमा सबैभन्दा बढी इंग्ल्यान्डमा ६ हजार ४ सय ८३ जनाको मृत्यु भएको छ । 

उता, बेलायती प्रधानमन्त्री बोरिस जोनसन तेस्रो दिन पनि आइसियूमा नै उपचार गराइरहेका छन् । 

कोरोनाभाइरसः जर्मनीले कसरी रोकिरहेको छ मृत्युको सुनामी ?
फरकधार  |  १९:४२:३

मार्चको दोस्रो साता, युरोप कोरोनाभइरसको केन्द्र बनिरहेको थियो । मानिसहरुले चीनबाट अब ध्यान हटाएर युरोपका देशहरुमाथि ध्यान दिन थालेका थिए । युरोपमा इटाली, स्पेन, फ्रान्स तथा बेलायतमा समस्या देखिने एक किसिमले त्यति बेला अनुमान गरिइसकिएको थियो । 

हुन पनि अहिले यी चारै देशमा अवस्था निकै नाजुक बनिसकेको छ । कोरोनाभाइरसका कारण त्यहाँ दर्जनौँ मानिसहरुले ज्यान गुमाएका छन्, दर्जनौँ समस्यामा परेका छन् । 

तर, यही समयमा जर्मनीमा भने कोरोनाको प्रभाव उत्पातै बढी देखिएको छैन । बरु त्यही जर्मनीमा केही पहिले चान्सलर एन्जेला मर्केलले ७० प्रतिशत मानिसलाई कोरोना हुनसक्ने चेतावनी निकालेकी थिइन् । उनको यो चेतावनी थियो, जर्मनीका ७० लाख मानिसहरु कोरोना संक्रमित हुनसक्छन् । 

त्यसो त यसो भनेको केही दिनमा नै एन्जेला मर्केल नै क्वारेन्टाइनमा बस्न बाध्य भइन् । अनि त झन् जर्मनीमा भन्न थालियो– अब हाम्रो हालत पनि इटालीको जस्तै हो । इटालीको जस्तै जहाँ प्रत्येक दिन पाँच सयभन्दा धेरै मानिसहरुको मृत्यु भइरहेको छ । 

तर, अहिलेसम्म जर्मनीमा यस्तो दुखदायी प्रभाव परेको छैन । त्यहाँ कोरोनाभाइरस संक्रमित धेरै देखिएका छन् तर धेरैको मृत्यु भएको छैन । 

आखिर यो कोरोनाभाइरसका कारण हुने मृत्यु कसरी रोकिरहेको छ जर्मनी ?

त्यसो त जर्मनीमा पनि कोरोना संक्रमितको संख्या इटालीको बराबर जस्तै छ । इटालीमा अहिलेसम्म १ लाख ३५ हजारमा कोरोना संक्रमण देखिएको छ भने जर्मनीमा १ लाख ७ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ । 

तर, मृत्युको अन्तर निकै फराकिलो छ । स्पेनमा अहिलेसम्म १४ हजारभन्दा धेरै, इटालीमा १७ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । तर, जर्मनीमा अहिलेसम्म कोरोनाकै कारण जम्मा दुई हजारले मात्र ज्यान गुमाएका छन् ।

यसलाई हिसाब गर्ने हो भने जर्मनीमा कोरोनाका कारण भएको मृत्युदर ०.३ प्रतिशत हुन आउँछ । इटालीमा यो ९ र बेलायतमा अहिले यो ४.६ प्रतिशत छ । 

हो, जर्मनीमा पनि त्यहाँका अधिकारीहरुले आउने दिन समस्याग्रस्त हुनसक्ने बताएका छन् । तर, अहिलेसम्म कसरी जर्मनीले आफूलाई नियन्त्रणमा राख्न सकेको छ त ? 

जानकारहरु भन्छन् यसको मुख्य कारण नै टेस्टिङ अर्थात् परीक्षण हो ।

जर्मनीले जनवरीबाट नै आफ्ना नागरिक तथा पर्यटकमाथि निगरानी बढाएको थियो, परीक्षण सुरु गरेको थियो । अनि देशभर टेस्टिङ किट्स पनि व्यवस्था गरेको थियो ।

त्यसैले जर्मनीले निकै धेरै परीक्षण गर्यो र कोरोना संक्रमित भेटिएकालाई धामधम अस्पतालमा भर्ना गरेर उपचार सुरु गर्यो ।

कतिसम्म भने जर्मनीले लकडाउन गरेपछि पनि परीक्षण ट्याक्सी चलाएको छ, त्यहाँ मानिसहरुको घरघरमा गएर कोरोनाभाइरस संक्रमण परीक्षण हुन थालेको छ । यही परीक्षणमा युरोपका अन्य देश चुकेका थिए । जर्मनीले आफूलाई यसमा चुकाएन ।

एक सातामा नै एक लाखभन्दा बढीलाई परीक्षण गरेकाले पनि जर्मनीमा कोरोना भाइरसका लागि लड्न अझ सहज भयो ।

परीक्षण मात्र होइन, जर्मनील ट्र्याकिङलाई पनि निकै प्राथमिकतामा राखेको थियो । युरोपका वा अन्य देशबाट आएका व्यक्तिहरुलाई परीक्षण गर्ने मात्र होइन, देशभित्रै मानिसहरुलाई पनि ट्र्याकिङ गर्न जर्मनी सक्षम भयो । यसले गर्दा पनि उसले अरु देशले जस्तो कोरोनाभाइरसका कारण ठूलो नोक्सानी व्यहोर्नु परेको छैन । 

सँगसँगै जर्मनीको राम्रो स्वास्थ्य सिस्टमलाई पनि यो विषयमा निकै तारिफ गरिएको छ । त्यसो त कोरोनाका केही संक्रमित भेटिएलगत्तै जर्मनीले देशका अस्पतालहरुमा आइसियु पनि बढाएको थियो ।

 

योसँगसँगै जर्मन सरकारलाई त्यहाँका नागरिकले पनि प्रत्येक पाइलामा समर्थन गरे । चाहे सीमा बन्द गर्दा होस् या सामाजिक दूरीको नियम ल्याउँदा नै किन नहोस्, जर्मनहरुले जर्मनीलाई राम्रो साथ दिए । 

त्यसैले अहिले जर्मनी कोरोनाभाइरसले सताइरहेको विश्वको मानचित्रमा अलग भएर उभिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले भने– १४ अप्रिलमा लकडाउन हटाउन सम्भव छैन, हट्दैन
फरकधार  |  १८:५१:३

कोरोनाभाइरस संक्रमण रोकथामका लागि भारतमा २५ मार्चदेखि २१ दिने लकडाउन आह्वान गरिएको । अब यो लकडाउन १४ अप्रिल सकिने भएपछि त्यसपछि के हुन्छ भन्ने प्रश्न त्यहाँ उब्जिन थालेको छ । 

तर, पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या पनि निरन्तर बढ्दै गएको छ । त्यसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विभिन्न राज्यका मुख्यमन्त्रीहरुले लकडाउन जारी राख्न अनुरोध गरेका थिए । 

अब प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले अहिले तत्काल भारतमा लकडाउन हटाउन सम्भव नभएको बताएका छन् । भिडियो कन्फ्रेन्सका माध्यमबाट राजनीतिक दलका नेताहरुसँग उनले गरेको बैठकमा यो बताएका हुन् । ‘सम्भव छैन,’ उनले भनेका छन्, ‘लकडाउन हट्दैन ।’

यो कुराकानीमा उनले आफ्नो पूरै समय लकडाउनका लागि नै दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

‘अहिले देशमा सामाजिक आपतकाल लागेको हो,’ उनले भनेका छन्, ‘हामी अझ सतर्क हुन जरुरी छ ।’

अहिले भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५ हजारभन्दा बढी पुगिसकेको छ ।

सिंगापुरमा ‘सर्किट ब्रेकर’ लकडाउन
एजेन्सी  |  १५:३१:३९

एजेन्सी– सिंगापुरले अब देशभरका विभिन्न ठाउँमा सामाजिक तथा व्यक्तिगत तथा अन्य कुनै पनि खालका भेटघाटहरुलाई प्रतिबन्ध लगाएको छ । कोभिड १९ विरुद्ध सिंगापुरले लिएको यो कदमलाई त्यहाँ ‘सर्किट ब्रेकर’ नामको नियम भनिएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा जारी गरिएको सूचनाअनुसार यो नियम मंगलबार मात्र त्यहाँको संसदले पारित गरेको थियो । अब बुधबारबाट नै लागु गरिएको यो नियम कम्तिमा पनि ४ मेसम्म लागु हुने बताइएको छ ।

अहिलेसम्म सिंगापुरमा १४८१ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । अनि त्यहाँ ६ जनाको कोभिड १९ का कारण मृत्यु भएको छ ।

अमेरिकामा एकै दिन १८ सयको मृत्यु
फरकधार  |  १४:१४:८

एजेन्सी– कोरोनाभाइरस संक्रमणले अब अमेरिकामा कहर मच्चाउने प्रष्ट भएको छ । मंगलबारमात्र अमेरिकामा अहिलेसम्म विश्वकै एकै दिन यो भाइरसका मृत्यु हुनेको संख्यामा रेकर्ड कायम भएको छ ।

मंगलबारमात्र अमेरिकामा कम्तिमा पनि १८ सय जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको मानिएको छ । अहिलेसम्म यो महामारीपछि एकै दिन यति धेरै मृत्यु भएको यो पहिलो पटक हो । 

यसका साथै अमेरिकामा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १३ हजार पुगेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख पुगिसकेको छ । कुनै पनि देशमा यति धेरै संक्रमित भएको पनि यो पहिलो पटक हो । 

योसँगै विश्वमा अब कोरोना संक्रमितको संख्या १४ लाख कटिसकेको छ ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिएको रकम दिन छोड्ने
फरकधार  |  ४:३:४७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिइरहेको रकम सहयोग गर्न छोड्नेबारे आफूले विचार गरिरहेको बताएका छन् । 

उनले विश्व स्वास्थ्य संगठनले अमेरिकासँग रकम लिएको तर चीनसँग मिलेर काम गरिरहेको आरोप लगाउँदै यस्तो योजना बनाएका हुन् । 

यसअघि पनि ट्रम्पले स्वास्थ्य संगठनले गर्दा अमेरिकामा कोरोनाभाइरस यति धेरै फैलिएको आरोप लगाएका थिए । उनले चीनसँग अमेरिकाले उडान रद्द गर्दासमेत विश्व स्वास्थ्य संगठनले आफूहरुलाई सही सूचना नदिएको र सहयोग नगरेको पनि दाबी गरेका थिए ।

उनले चीनले दिएको सूचना पनि गलत भएको तर त्यसलाई स्वास्थ्य संगठनले समर्थन गरिरहेको बताएका छन् । 

‘मैले त्यति बेला चीन र युरोपसँगका उडानहरु नरोकेको भए अहिले अमेरिकामा लाखौँ मानिसको मृत्यु भइसकेको हुन्थ्यो,’ उनले भनेका छन् । उनले थपेका छन्, ‘पहिले त मलाई कुनै पनि समस्या छैन भन्ने बिफ्रिङ गरिएको थियो, हामीलाई उनीहरुले गलत सूचना दिइरहेका छन् । उनीहरु हामीसँग पैसा लिएका छन् र चीन केन्द्रीत भएका छन् ।’

उनले पछिल्ला वर्षमा डब्लूएचओ चीनप्रति वफादार भएको पनि आरोप लगाएका छन् ।

अमेरिकीलाई ट्रम्पले भने– कोरोनाको औषधी बनिरहेको छ, हामी तपाईंको रक्षा गर्नेछौँ
एजेन्सी  |  ३:४६:५४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले अमेरिकामा केही कम्पनीहरुले अहिले निकै द्रुत गतिमा कोरोनाभाइरसविरुद्धको औषधीमा काम गरिरहेको बताएका छन् । उनले दुई विभिन्न भ्याक्सिनमा पनि काम भइइरहेको बताएका छन् ।

सँगसँगै उनले अहिले अमेरिकामा अभाव भएको भेन्टिलेटर जुनसम्म १ लाखभन्दा धेरै भइसक्ने पनि बताएका छन् । अनि त्यसबाट २ सय वटा भेन्टिलेटर बेलायतलाई सहयोग गर्ने पनि बताएका छन् ।

मंगलबारको ब्रिफिङमा ट्रम्पले अहिले आठ वटा कम्पनीले औषधीमै काम गरिरहेकाले कोरोनाभाइरसलाई जित्न सकिने पनि बताएका छन् । 

उनले अमेरिकीहरुलाई आश्वासान दिँदै प्रत्येक प्रान्तमा निकै राम्रो काम भएको र कुनै गर्भनरले काम गर्न नसके केन्द्र सरकारले नै त्यहाँका जनतालाई हेर्ने आश्वासन पनि दिएका छन् ।

न्युयोर्कमा शव व्यवस्थापन गर्न सकिएन, तरकारी राख्न बनाइएको कोल्ड स्टोरमा राखिने
एजेन्सी  |  १:१४:२०

अमेरिकाको न्युयोर्कको सफोक काउन्टीमा छोटो समयमा कोरोनाभाइरसका कारण अत्यन्त धेरेको मृत्यु भएपछि शव व्यवस्थापन समस्याको विषय बनेको छ । 

सिएनएनमा आएको रिपोर्टअनुसार अब त्यहाँको सरकारले शवहरु तत्कालका लागि तरकारी राख्न बनाइएको कोल्ड स्टोर प्रयोग गर्ने बताएको छ । 

उक्त काउन्टीका प्रवक्तासँग कुरा गर्दै सिएनएनले लेखेको छ– त्यहाँ भएको एउटा ठूलो कोल्ड स्टोरमा अहिले तत्कालका लागि शव राख्नेबारे काउन्टीका प्रवक्ताले पुष्टि गरेका छन् ।

अहिले त्यहाँ शव राख्ने ठाउँ भरिइसकिएको बताइएको छ ।

‘हामीले यस्तो अवस्थाबारे सोचेकै थिएनौँ,’ काउन्टीका प्रमुख बेलोनीले भनेका छन्, ‘अब छलफलमा जुट्न थालेका छौँ ।’

यो क्षेत्रमा मात्र सोमबार कम्तिमा पनि २ सय जनाको कोभिड १९ का कारण निधन भएको थियो ।

सुरुमा कोरोनाभाइरस देखिएको वुहानमा रेल गुड्न थाले, जहाज उड्न थाले
फरकधार  |  २३:४९:३०

कोरोनाभाइरस सुरुमा देखिएको चीनको वुहान सहर अब आशिंक रुपमा खुल्न थालेको छ । चीनले सोमबार र मंगलबार आफ्नो देशमा कोरोना संक्रमणका कारण एकजनाको पनि मृत्यु नभएको बताएको छ । 

अब वुहानमा रेलहरु गुड्न थालेका छन्, विमानहरु उड्न थालेका छन् । त्यहाँ २३ जनवरीदेखि पूर्ण लकडाउन आह्वान गरिएको थियो ।

वुहान प्रहरीले अब त्यहाँ सवारी चालकहरुलाई केही दिन अत्यधिक ट्राफिक हुने चेतावनी पनि दिएको छ । वुहान खुलाएसँगै त्यहाँबाट २ सय विमानले उडान भर्ने र १० हजार मानिस बाहिर जाने बताइएको छ । 

चिनियाँ मिडियाहरुले पनि त्यहाँ रेलहरु गुडेको र विमानहरुमा मानिसहरु बोर्डिङ गरेको फुटेज तथा तस्वीरहरु राख्न थालेका छन् । अब त्यहाँ बाटोमा राखिएका अवरोधहरु हटाइएका छन्, मानिसहरु निस्फिक्री सहरमा घुम्न थालेका छन् । 

दस साताभन्दा बढी त्यहाँ लाखौँ मानिसहरु घरभित्र बस्न बाध्य भएका थिए ।

न्युयोर्कमा ह्वात्तै बढ्यो कोरोनाभाइरसका कारण मृत्यु भएकाको संख्या
एजेन्सी  |  २१:५२:२६

एजेन्सी– अमेरिकी सहर  न्युयोर्कका गर्भनर एन्ड्र्यु क्युमोले केहीअघि त्यहाँ आज भएका मृत्यु र कोरोना संक्रमितको संख्याबारे नयाँ जानकारी दिउका छन् । 

उनका अनुसार सोमबार न्युयोर्कमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । उनका अनुसार सोमबारमात्र ७३१ जनाले कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । 

न्युयोर्कमा मात्र अहिलेसम्म कोभिड १९ का कारण ५ हजार ४ सय ८९ जनाले ज्यान गुमाएका छन् । अनि त्यहाँ ३९ हजारभन्दा धेरै संक्रमित भेटिएका छन् । 

उनले छिमेकी न्यु जर्सीमा मृतकको संख्या अझ धेरै भएको बताएका छन् । उनका अनुसार न्यु जर्सीमा कम्तिमा पनि एक हजार जनाले एकै दिनमा कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोनाभाइरसः चिनियाँ दाबीमा किन आशंका गरिरहेको छ विश्व ?
फरकधार  |  २१:२४:२६

चीनले पछिल्ला दुई दिनमा कोरोना भाइरसका कारण एक जनाको पनि मृत्यु नभएको तथ्यांक बाहिर ल्याएको छ । गत वर्ष वुहानमा पहिलो पटक भेटिएको यो भाइरसबाट चीनमा एक जनाको पनि मृत्यु नभएको यो पहिलो पटक हो ।

चीनले तीन महिनापछि पहिलो पटक आफ्नो देशमा भएका कोरोनाभाइरस संक्रमितको संख्या पनि जारी गरेको थियो । चीनले दिएको तथ्यांकअनुसार ७ अप्रिलसम्म ८१ हजार ७ सय ४० जना कोरोनाभाइरस संक्रमित भएका छन् । अनि कोभिड १९ का कारण अहिलेसम्म चीनमा ३३३१ जनाले ज्यान गुमाएका छन् ।

जुन ठाउँबाट कोरोनाभाइरस सुरु भएको हो, त्यही ठाउँले छोटो समयमा यो महामारीलाई नियन्त्रणमा लिएको भनेर विश्व स्वास्थ्य संगठनले पनि चीनलाई प्रशंसा गरेको छ । 

तर, यो सबबीच पनि विश्वले अहिले पनि चिनियाँ यो तथ्यांकमा अविश्वास गरिरहेको छ ।

गत साता बेलायती मन्त्री मिसेल गोभले पनि बिबिसीसँग भनेका थिए– चिनियाँ रिपोर्टिङ खासमा प्रष्ट थिएन ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बारम्बार चिनियाँ तथ्यांकमाथि अविश्वास गर्दै आएका छन् । आखिर यो सबको कारण विश्वका अन्य देशमा कोरोना भाइरसका संक्रमितको संख्या निकै बढ्दै जानु भएको पनि बताइएको छ ।

जे भए पनि आखिर किन चिनियाँ तथ्यांकमाथि यति ठूलो अविश्वास गरिएको छ त ? 

यसको जवाफमा विश्वका विज्ञहरुले एउटा जवाफ दिन्छन्– सधैं आफ्ना तथ्यांक चीनले लुकाइरहने भएकाले ।

चीनले यसअघि पनि विभिन्न सन्दर्भमा विश्वले पत्याउन नसक्ने तथ्यांकहरु दिँदै आएको छ । उसको आर्थिक विकासको सन्दर्भमा पनि यो लागु हुँदै आएको छ ।

यो महामारीअघि चीनले आफ्नो आर्थिक विकास ६ प्रतिशतले हुने प्रक्षेपण गरेको थियो । अहिलेसम्म चीनले विभिन्न वर्षमा लिएका आर्थिक विकास पनि पूरा हुँदै आएका थिए । तर, यसबारे पनि विश्वले बारम्बार प्रश्न गर्ने गरेको थियो । किनकि चिनियाँ अर्थतन्त्रबारे त्यहाँका अर्थशास्त्रीहरुले मात्र पढ्ने गरेका छन् । विश्वका अन्य अर्थशास्त्रीले चिनियाँ यस्ता दाबीहरु अत्यन्त कम विश्लेषण गर्दै आएका छन् । 

चीनको कम्युनिस्ट पार्टीका नीति तथा रणनीतिका कारण पनि यस्तो भएको विश्वास धेरैले गर्ने गरेका छन् ।

आर्थिक विकासको सन्दर्भमा पनि चीनले बारम्बार झुट बोलेको आरोप लागिरहँदा कोरोनाभाइरसबारे उसको तथ्यांकमा आशंका गरिनु नराम्रो होइन ।

स्कटल्यान्डमा एकै दिन ७४ जनाको मृत्यु
एजेन्सी  |  १८:३२:८

स्कटल्यान्डकी फस्र्ट मिनिस्टर निकोला स्ट्रजिअनले दैनिक गरिने प्रेस कन्फरेन्समा स्कटल्यान्डमा पछिल्लो २४ घन्टामा ७४ जनाको कोभिड १९ का कारण मृत्यु भएको जानकारी दिएकी छिन् । 

उनले अहिले स्कटल्यान्डमा योसँगै २ सय ९६ जनाको निधन भएको बताएकी छिन् । 

उनले बेलायती प्रधानमन्त्री बोरिस जोनसनको पनि स्वास्थ्यलाभको कामना गरेकी छिन् । 

बेलायती प्रमको स्वास्थ्य स्थिर
एजेन्सी  |  १७:५७:३७

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको अवस्था स्थिर भएको बताइएको छ । उनले एक रात लन्डनको अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा बिताएका छन् । 

उनका प्रवक्ताले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्यअवस्था सामान्य रहेको छ । 

उनले अक्सिजन लिइरहेको र पछिल्लो समय उनको स्वास्थ्यमा सुधार देखिएको उनको कार्यालयले जनाएको हो । 

‘उनलाई भेन्टिलेटरको आवश्यकता अहिलेसम्म परेको छैन,’ प्रवक्ताले भनेका छन्, ‘अनि उनलाई अहिलेसम्म न्युमोनिया पनि देखिएको छैन ।’

जोनसलाई स्वास्थ्यमा समस्या आएको भन्दै सावधानी अपनाउने हेतुले आइसियूमा लगिएको पनि बताइएको छ । 

अर्कोतिर, विश्वभर विभिन्न फेक अनलाइनका लिंक सेयर गरेर जोनसनको निधन भएको समाचार सामाजिक सन्जालमा व्यापक सेयर भइरहेका छन् । 

स्पेनको आशः मेबाट फुटबल खेलहरु हुने
एजेन्सी  |  १७:५२:१२

एजेन्सी– स्पेनिस लिग ला लिगाका अध्यक्ष जाभियर टेबासले स्पेनको घरेलु लिग मेबाट सुरु हुने आशा व्यक्त गरेका छन् । आशामात्र होइन, उनले २८ मेबाट खेलहरु सुचारु गर्ने पनि बताएका छन् । 

त्यहाँ हुने खेलहरु ११ मार्चबाट रोकिएका थिए ।

ला लिगाका क्लबहरुले योबीचमा १ बिलियन युरो गुमाउने पनि उनले बताएका छन् । 

उनले २९ मे, ७ जुन र २८ जुन तीन मिति दिँदै फुुटबल खेल सुरु हुने तायारी गरेका हुन् । 

इटालीमा कोरोनाभाइरसका कारण ९४ डाक्टर र २६ नर्सकाे मृत्यु
एजेन्सी  |  १७:०:१०

इटालीको चिकित्सकीय संघले देशमा ९४ जना चिकित्सकले कोरोनाभाइरसका कारण ज्यान गुमाएको छ । त्यस्तै, २६ जना नर्सले पनि कोभिड १९ का कारण मृत्युवरण गरेका छन् ।

अहिले इटालीमा कम्तिमा पनि ६ हजार ५ सय ४९ जना नर्स कोरोनाभाइरस संक्रमित भएको पनि बताइएको छ ।

सोमबारका अनुसार अब इटालीमा १२ हजार ६ सय ८१ जना स्वास्थ्यकर्मी कोरोनाभाइरस संक्रमित भएका छन् । 

युरोपमा सबैभन्दा बढी प्रभावित इटालीमा पिपिई अभावमा स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस संक्रमण भएको बताइएको छ । अनि यसलाई गम्भीर भएर लिन पनि त्यहाँका स्वास्थ्यकर्मीसम्बन्धी संघसंस्थाले आह्वान गरेका छन् ।

‘भारतमा लकडाउन बढ्ने’
एजेन्सी  |  १६:०:५९

कोरोनाभाइरस प्रकोपबाट लड्नका लागि अहिले भारतमा लकडाउन आह्वान गरिएको छ । २५ मार्चमा गरिएको २१ दिने लकडाउन आह्वान फेरि बढ्ने अब भारतीय मिडियाले रिपोर्ट गर्न थालेका छन् । 

अनि यसको आधार हो– त्यहाँका राज्य सरकारहरुले केन्द्र सरकारलाई दिएका सिफारिस । त्यहाँका अधिकांश राज्य सरकारहरुले केन्द्र सरकारलाई लकडाउन लम्ब्याउन अनुरोध गरेको नवभारतटाइम्समा समाचार छ । 

समाचार एजेन्सी एनएनआईका अनुसार सरकारी अधिकारीहरु पनि लकडाउन बढाउने पक्षमा छलफल गरिरहेका छन् ।

यसअघि भारतमा गरिएको लकडाउनको आह्वान १४ अप्रिलमा सकिँदै छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय क्याबिनेटको बैठकमा पनि यही विषयमा छलफल गरेको बताइएको छ । 

पछिल्लो समय भारतका विभिन्न क्षेत्रमा कोरोनाभाइरस संक्रमितको संख्या थपिँदै जाँदा वा बढ्दै जाँदा भारत सरकारले लकडाउन बढाउनुको अर्को विकल्प नदेखेको पनि विभिन्न मिडियाले रिपोर्ट प्रकाशन गरेका छन् । 

स्पेनमा फेरि बढ्यो दैनिक मृत्यु हुनेको संख्या
एजेन्सी  |  १५:४३:८

एजेन्सी– पछिल्ला २४ घन्टामा स्पेनमा कोभिड १९ का कारण ७ सय ४३ जनाको निधन भएको छ । योसँगै स्पेनमा अब मृत्यु हुनेको संख्या १३ हजार ७ सय ९८ पुगेको छ । 

केही दिनयता स्पेनमा दैनिक मृत्यु हुनेको संख्या कम हुँदै गएको थियो । तर, मंगलबार अचानक त्यहाँ मृतकको संख्या बढ्न थालेको हो ।

मंगलबार आएको यो संख्या अघिल्लो दिनको भन्दा एक सयभन्दा बढीले बढी हो । 

अहिले स्पेनमा १ लाख ४० हजार ५ सय जनामा कोरोना भाइरस संक्रमण देखिइसकेको छ । अमेरिकापछि सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भएको देश नै स्पेन बनेको छ ।

काेराेनाभाइरस: जापानले संकटकाल घोषणा गर्‍यो
फरकधार  |  १४:५२:११

एजेन्सी– जापानी प्रधानमन्त्री सिन्जो अबेले देशमा एक महिनाको संकटकाल घोषणा गरेका छन् । 

कोरोनाभाइरसविरुद्ध लड्न बनेको विशेष टास्क फोर्सको बैठकपछि उनले यो घोषणा गरेका हुन् । 

यो संकटकाल आजबाट ६ मेसम्म लागु हुने बताइएका् छ । अनि यसमा टोकियोसहित कोरोनाभाइरस प्रभावित क्षेत्रहरु पर्ने जनाइएको छ । 

अबेले हिजोमात्र जापानमा कोरोनाभाइरस संक्रमितको संख्या बढेको भन्दै संकटकाल लगाउन सकिने संंकेत गरेका थिए । 

उनले गरेको घोषणामा अत्यवाश्यक तथा आधारभूत आर्थिक गतिविधि चाहिँ जारी रहने बताइएको छ । त्यहाँ अझै पनि सुपरमार्केटहरु खुल्ने बताइएको छ । अनि अबेले जापानी जनतालाई घरमा नै रहन अनुरोध समेत गरेका छन् । 

चीनमा भएन एक जनाको पनि मृत्यु
एजेन्सी  |  १४:२२:३२

एजेन्सी– कोरोनाभाइरसको उद्गम स्थल मानिएको चीनमा पछिल्लो समय कोरोना कहर निकै घटेको छ । पछिल्लो समय युरोप र अमेरिकामा ठूलो समस्याका रुपमा देखिएको कोरोनाभाइरस अब चीनमा निकै हदसम्म कन्ट्रोलमा आएको छ । 

पछिल्लो समाचारअनुसार अब चीनमा कोरोनाभाइरसका कारण कसैको पनि ज्यान गएको छैन । अनि सोमबार चीनमा कोरोनाभाइरस संक्रमित जम्मा ३२ जना भेटिएका छन् ।

चीनमा कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्म ८१ हजार ७४० पुगेको छ । त्यहाँ कोरोनाभाइरसका कारण ३३३१ जनाले ज्यान गुमाएका छन् । 

चीनको सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तमा जनजीवन सामान्य हुन थालेको छ । त्यहाँ लगाइएका अधिकांश प्रतिबन्ध पनि फुकुवा गर्न थालिएका छन् ।

उता, दक्षिण कोरियामा पनि लगातार दोस्रो दिन कोरोनाभाइरस संक्रमितको संख्या निकै घटेको छ । सोमबार लगातार दोस्रो दिन दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमित ५० भन्दा कम भेटिएका छन् । यीमध्ये १७ जना विदेशबाट दक्षिण कोरिया पुगेको जनाइएको छ ।

बेलायती प्रधानमन्त्रीलाई भेन्टिलेटरमा राख्ने तयारी
एजेन्सी  |  २:४६:८

एजेन्सी– बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यअवस्था निकै खस्किएको बेलायती मिडियाले उल्लेख गर्न थालेका छन् । यसबीच उनलाई विश्वभरका नेताहरुले शुभकामना पठाइरहेका छन् । 

बिबिसीमा आएको समाचारअनुसार उनको सचिवालयले अहिले बेलायती महारानी एलिजावेथलाई पनि बारम्बार यसबारे जानकारी दिइरहेको छ । 

केही समयअघि बोरिसको स्वास्थ्य खस्किएपछि उनलाई आइसियुमा सारिएको थियो । उनी हिजोमात्र अस्पतालमा भर्ना भएका थिए । १० दिन अघि उनलाई कोरोनाभाइरस संक्रमण देखिएको थियो । 

उनको स्वास्थ्यअवस्था निकै खस्किएको बताइएको छ । त्यसैले केहीबेरमा उनलाई भेन्टिलेटरमा राख्ने तयारी गरिएको छ । 

त्यसो त उनको सचिवालयले उनको ‘अचेत’ नभएको बताएँदै आएको छ । ‘तर, कोभिड १९ भएका बिरामीलाई आइसियुमा लगेपछि २४ घन्टाभित्र नै भेन्टिलेटरमा राख्नु पर्ने हुन्छ,’ एक चिकित्सकले बिबिसीलाई बताएका छन् । 

कोभिड १९ ले फोक्सोमा आक्रमण गर्ने भएकाले बिरामीलाई सास फेर्न अत्यन्त अप्ठ्यारो हुने बताइएको छ ।

अहिलेसम्म कोभिड १९ को कुनै पनि औषधी पत्ता लागेको छैन । त्यसैले बेलायती प्रमको स्वास्थ्यअवस्थाबारे धेरैले चिन्ता गरेका छन् ।

उनलाई बेलायतकी पूर्वप्रम थेरेसा मेदेखि फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनसम्मले सुस्वास्थ्यको कामना गरेका छन् । आयरल्यान्डका प्रधानमन्त्री, स्पेनका प्रधानमन्त्रीलगायतले पनि उनलाई छिट्टै ठिक हुने विश्वासका साथ ट्विटरमा बोरिसको स्वास्थ्य ठिक होस् भन्ने कामना लेखेका छन् । 

लन्डनका मेयर सद्दिक खानले पनि आफूले प्रधानमन्त्रीको स्वास्थ्यका लागि प्रार्थना गरिरहेको ट्विट गरेका छन् । 

फ्रान्सका लागि भयावह रह्यो सोमबार
एजेन्सी  |  १:१:२

फ्रान्समा पछिल्लो समय कोरोना कहर झन् बढ्दो छ । सोमबार मात्र फ्रान्समा कोरोनाभाइरस संक्रमणका कारण ८ सय ३३ जनाको मृत्यु भएको छ । 

जबदेखि फ्रान्समा कोरोनाभाइरस देखिन थालेको थियो, तबदेखि फ्रान्समा यो सबैभन्दा बढी मृत्यु भएको देश हो ।

अहिलेसम्म फ्रान्समा कोरोनाभाइरसका कारण ८ हजार ९ सय ११ जनाको मृत्यु भइसकेको छ । 

युरोपेली देशमा इटाली र स्पेनपछि अब कोरोनाको सबैभन्दा ठूलो असर फ्रान्समा देखिँदै छ ।

चीनले पहिलो पटक आधिकारिक रुपमा बतायो– यसरी सुरु भएको थियो कोरोनाभाइरस
एजेन्सी  |  ०:५०:४१

चीन सरकारले कोभिड १९ बिमारी पत्ता लगाउने र नियन्त्रण पाएको विषयमा आधिकारिक रुपमा सोमबार एक प्रकाशन निकालेको छ । 

उक्त प्रकाशनअनुसार अघिल्लो वर्ष डिसेम्बर महिनाको अन्त्यमा कोरोनाभाइरस पहिलो पटक मानिसमा देखिएको र त्यति बेला उक्त बिमारीलाई अज्ञात कारणले भएको निमोनिया भनिएको थियो । यसबीच बारम्बार चीनमाथि कोरोनाभाइरसबारे तथ्यांकहरु लुकाएको आरोप लगाइँदै आएको छ । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले सोमबार कोरोनाभाइरसका कारण अहिलेसम्म चीनमा ३३३१ जनाको मृत्यु भएको जनाएको छ । एनएचसीका अनुसार अहिलेसम्म चीनमा संक्रमितको संख्या ८१७०८ पुगेको छ । यीमध्ये अहिले चीनमा १२९९ जनाको उपचार भइरहेको छ भने ७७०७८ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । 

चिनियाँ सरकारी मिडिया शिन्ह्वाका समाचार एजेन्सीले उक्त प्रकाशनलाई हवाला दिँदै लेखेको छ– डिसेम्बरमा अज्ञात कारणले भएको निमोनियाको उपचार गर्न ३० डिसेम्बरमा नै त्यहाँको स्वास्थ्य विभागले सम्बन्धित निकायहरुलाई पत्राचार गरेको थियो । 

कोरोना अपडेटः इटालीमा अहिलेसम्म १६५२३ मृत्यु
एजेन्सी  |  २३:३:३

एजेन्सी– आइतबार पनि लगातार मृतकको संख्या घटेपछि इटालीमा अब कोरोनाभाइरस प्रकोप घट्ला भन्ने अनुमान गरिएको थियो । तर, सोमबार फेरि इटालीमा आइतबारको भन्दा १ सय बढीले ज्यान गुमाएका छन् । 

सोमबार इटालीमा कोरोनाभाइरसका कारण ६३६ जनाको निधन भएको छ । आइतबार त्यहाँ ५२५ जनाको मृत्यु भएको थियो । यसका साथसाथै अब इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६५२३ पुगेको छ ।

अहिलेसम्म कोरोनाका कारण विश्वमा सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । 

अब इटालीमा एक लाख तीस हजारभन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन् । सोमबार मात्र इटालीमा ३५९९ नयाँ संक्रमित भेटिएका छन् । 

तेलंगनाका मुख्यमन्त्रीले भने– १५ अप्रिलपछि पनि २१ दिने लकडाउन गरौँ
एजेन्सी  |  २२:४२:२

अहिले भारतमा कोरोनाभाइरसविरुद्ध लड्नका लागि २१ दिने लकडाउन चलिरहेको छ । तर, यहीबीच अब यो लकडाउन के हुने र १५ अप्रिलपछि के हुने भन्ने चर्चा पनि चल्न थालेको छ । 

कतिपयले अहिले लकडाउन पूर्णरुपमा हटाइने बताएका छन् भने कतिपयले यसलाई चरणबद्ध तरिकाले हटाउन सकिने तर्क पनि गर्न थालेका छन् ।

तर, यसबारे भारत सरकारले अहिलेसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन । 

यसैबीच तेलंगानाका मुख्यमन्त्री चन्द्रशेखर रावले चाहिँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लकडाउनलाई जारी राख्न सिफारिस गरेका छन् । उनले भारतसँग कोरोनाभाइरसविरुद्ध लड्ने एउटै हतियार लकडाउन भएको बताएका छन् । 

‘बरु खस्किएको अर्थतन्त्रलाई फेरि माथि ल्याऔँला,’ उनले भनेका छन्, ‘तर, मृत्यु भएका जीवनलाई फेरि कसरी फिर्ता ल्याउन सकिन्छ र ?’

विश्वभर कोरोनाका कारण १३ लाख मानिस संक्रमित
फरकधार  |  १८:३६:५१

एजेन्सी– विश्वभर कोरोनाभाइरसका कारण हुने रोग कोभिड १९ तेल लाख मानिसलाई संक्रमण भइसकेको छ । यसका कारण ७० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । 

जोन हप्किङ्स विश्वविद्यायले जारी गरेको जाजा तथ्यांकका अनुसार अब सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ । त्यसपछि स्पेन, अमेरिका, फ्रान्स तथा बेलायतमा कोभिड १९ का कारण धेरै मृत्यु भएको जछ । 

इटालीमा १५८८७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । स्पेनमा अहिलेसम्म १३०५५ जनाको र अमेरिकामा ९६५३ जनाको मृत्यु भएको छ । फ्रान्समा मृत्यु हुनेको संख्या ८ हजार र बेलायतमा ५ हजार नाघेको छ । 

गत वर्ष डिसेम्बरको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरमा पहिलो पटक मानिसमा देखिएको कोरोना भाइरस पहिलो पटक सोमबार अमेरिकामा मानिसबाट बाघ र सिंहमा पनि संक्रमण भएको छ । योसँगै विश्व अहिले कोरोनाविरुद्धको लडाइँमा होमिएको छ ।

अफगानिस्तानमा कोरोनाका कारण पहिलो चिकित्सकको मृत्यु
एजेन्सी  |  १४:५९:३२

अफगानिस्तानमा कोरोनाभाइरस संक्रमणबाट मानिसहरुको ज्यान बचाइरहेका एक चिकित्सकको मृत्यु भएको छ । अफगानिस्तानमा कोरोनाभाइरसका कारण मृत्यु भएका चिकित्सक उनी पहिलो हुन् ।

अफगानिस्तानको स्वास्थ्यमन्त्रालयले यसको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ताले ती चिकित्सक काबुलको एक निजी अस्पतालमा काम गर्ने गरेको बताएका छन् । अब उनीसँगै काम गर्ने अन्य २० जनाको पनि कोरोना टेस्ट गर्न लागिएको छ ।

अहिलेसम्म अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ३६७ पुगेको छ । अनि त्यहाँ १० जनाको मृत्यु कोभिड १९ का कारण भएको छ ।

अलिबाबाका ज्याक माले अफ्रिका पठाए टेस्टिङ किट्स
एजेन्सी  |  ११:५०:१९

एजेन्सी– अलिबाबाका संस्थापक ज्याक माले अफ्रिकामा कोरोनाभाइरसविरुद्ध लड्न सहज होस् भनेर मेडिकल सामाग्री पठाएको जनाएका छन् । 

चिनियाँ अनलाइन सन्चलनबाट अर्बपति बनेका ज्याक माले केही समयअघि नेपालमा पनि मेडिकल सामाग्री पठाएका थिए । उनले अहिले अफ्रिकामा सयौँ भेन्टिलेटर, हजारौँ पिपिई र अन्य मेडिकल सामाग्री पठाएको जनाएका छन् ।

यसअघि उनले इथियोपियामा पनि यस्तै सहयोग गरेका थिए । 

बेलायती महारानीले भनिन्– हामीले जित्नेछाैँ, राम्रा दिन फेरि आउनेछन्
एजेन्सी  |  ०:५८:४०

एजेन्सी– बेलायती महारानी एलिजावेथले बेलायतवासी र कमनवेल्थ राष्ट्रहरुका लागि विशेष सम्बोधन गरेकी छिन् । बेलायतमा गद्दी सम्हालेको ६८ वर्षमा उनले यो चौथों पटक सम्बोधन गरेकी हुन् । 

कोरोनाभाइरसको महामारीले विश्वभर र बेलायतमा पारेको समस्याबारे एलिजावेथले आफ्ना कुराहरु राखेकी छिन् । उनले प्लेगको महामारीको समय पनि सम्झिँदै त्यति बेला आफू ‘केटाकेटी’ भएको र परिवारसँग छुट्टिन पर्दा दुखद अनुभव भएको बताएकी छिन् । 

यतिमात्र होइन, उनले बेलायती स्वास्थ्यकर्मी र विश्वभरका स्वास्थ्यकर्मीलाई धन्यवाद पनि दिएकी छिन् ।

‘हामीले जित्नेछौँ, हामी सफल हुनेछौँ,’ उनले भनिन्, ‘अहिले हामीले एकअर्कालाई भेट्न नमिल्ने समय आएको छ । तर, भोलि फेरि हामी भेट्नेछौँ ।’ यो उनले युद्धको समयबारे भेरा लिनले लेखेको गीतलाई उद्धृत गरेकी हुन्– वी विल मिट अगेन ।

उनले अहिले कोरोनाभाइरसविरुद्धको लडाइँ यसअघिका अरु लडाइँहरुभन्दा फरक भएको भन्दै यसमा सबैजना एकजुट भएर लाग्ने हो भने जित निश्चित भएको पनि बताएकी छिन् । 

उनले बेलायती स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै सुरुवात गरेको सम्बोधनमा भनेकी छिन्– अहिले विश्वभरबाट मुटु हल्लाउने खबर आइरहेका छन्, तर हामी भोलि यसलाई जितेर अगाडि आउने छौँ । 

यो समयमा दैनिक खाद्यवस्तु उपलब्ध गराउने देखि लिएर अन्य काममा पनि संलग्न भइरहेकाहरुलाई पनि उनले धन्यवाद दिएकी छन् । 

चेक रिपब्लिकले फ्रान्सका कोरोनाभाइरस संक्रमितको उपचार गर्ने
एजेन्सी  |  ०:३३:४४

चेक रिपब्लिकका प्रधानमन्त्री एन्ड्रेज बेबिसले उनको देशले फ्रान्सका कोभिड १९ का संक्रमितलाई उपचार गर्ने बताएका छन् । फ्रान्सले सहयोग माग गरेकाले आफूहरुले यो निर्णय लिएको उनले बताएका छन् । 

सामाजिक सन्जालमा लेख्दै उनले फ्रान्समा अहिले कोरोनाभाइरस कारण उत्पन्न भएको परिस्थितिलाई अलिक सहज बनाउन यो गर्न लागिएको बताएका हुन् । 

‘फ्रान्सले हामीसँग सहयोग मागेको छ,’ उनले भनेका छन्, ‘हामीसँग अहिले उनीहरुलाई सहयोग गर्ने अवस्था छ, हामी सहयोग गर्छौँ ।’

त्यसो त चेक रिपब्लिकमा पनि ४५४३ जनामा कोभिड १९  देखिएको छ । त्यहाँ अहिलेसम्म ६७ जनाले कोभिड १९ का कारण ज्यान गुमाउका छन् ।

इटालीमा १०४ वर्षकी हजुरआमाले जितिन् कोरोनाभाइरस
एजेन्सी  |  २३:१५:४८

एजेन्सी– युरोपेली मुलुक इटाली कोरोनाभाइरसका कारण निकै प्रभावित भएको छ । त्यहाँ अहिलेसम्म १६ हजारभन्दा धेरैले कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । 

आइतबार चाहिँ त्यहाँ मृत्यु हुनेको संख्या दुई साता यताकै सबैभन्दा कम थियो । 

अनि आइतबार नै इटालीबाट अर्को खुसीको समाचार पनि आएको छ । समाचार हो, १०४ वर्षकी अदा जानुस्सोले कोभिड १९ लाई पराजित गरेकी छिन् । उनी उत्तरी इटाली लेसोनाकी हुन् ।

उनी त्यहाँ एक नर्सिङ होममा बस्थिन् जहाँ अन्य २० जनाको कोरोनाभाइरसका कारण निधन भएको छ । 

‘उनी ठिक हुनु ठूलो खुसीको कुरा हो,’ त्यहाँको पत्रिका ला रिपब्लिकामा उनका चिकित्सक कार्ला फुर्नोले बताउका छन् । 

उनी एक मात्र वृद्धा होइनन् जसले कोरोनाभाइरसलाई पराजित गरेकी छिन् । तर, उनको यो जितले कोरोनाभाइरसविरुद्धको लडाइँमा सकारात्मक आश थप्ने विश्वास गरिएको छ ।

बेलायती स्वास्थ्यमन्त्रीले भने– कोरोनाका कारण मैले दुई जना प्रिय व्यक्ति गुमाएँ
एजेन्सी  |  २२:२५:३०

एजेन्सी– बेलायती स्वास्थ्यमन्त्री म्याट हानककले आफूले पनि कोरोनाका कारण दुई प्रिय व्यक्ति गुमाएको बताएका छन् । आइतबार बेलायती सरकारको नियमित प्रेस ब्रिफिङमा उनले भनेका छन्, ‘हामी समवेदना प्रकट गर्छौँ । मैले पनि मेरा प्रिय दुई व्यक्ति गुमाएको छु, मलाई थाहा छ, यो कति अप्ठ्यारो समय हो ।’

उनले अहिलेसम्म कोरोना भाइरस भइसकेपछि कसरी मानिसहरुले इम्युनिटी पावर विकास गर्छन् भन्ने पनि निश्चित नभइसकेको र कोरोना जुनसुकै तरिकामा पनि फैलिन सक्ने भएकाले खतरानक भाइरस भएको छ । अनि यही कारण उनले अहिले घरभित्र बस्नु वा सोसियल डिस्टेन्सिङ नै यसबाट बच्ने एकमात्र उपाय भएको पनि बताएका छन् । 

लिबियाका पूर्वप्रधानमन्त्रीको कोरोना संक्रमणका कारण मृत्यु
एजेन्सी  |  २१:३५:५०

एजेन्सी– लिबियाका पूर्वप्रधानमन्त्री महमूद जिब्रिलको इजिप्टको एक अस्पतालमा निधन भएको छ । उनलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो । 

स्थानीय मिडियाका अनुसार जिब्रिलको राजनीतिक पार्टी फोर्सेज एलायन्सले उनलाई २६ मार्चमा कोरोना भाइरस परीक्षणमा टेस्ट पोजेटिभ आएको जानकारी दिएको छ ।

बेलारुसका राष्ट्रपतिले भने– भोड्का पिए कोरोनालाई जितिन्छ
एजेन्सी  |  १८:४६:६

अहिले विश्व कोभिड १९ रोगका कारण प्रताडित भएको छ । मानिसहरुलाई निकै ठूलो समस्यामा कोरोना भाइरसले पारेको छ । तर, बेलारुसले चाहिँ यसलाई नजरअन्दान गरेको छ । त्यहाँका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले बारम्बार मानिसहरुलाई कोरोनाका कारण विचलित नहुन अनुरोध गरिरहेका छन् र टिप्स पनि दिएका छन् । 

अचम्मको कुरा त उनले दिएको टिप्स नै अचम्मको छ । उनले भोड्का पिएर खेतमा काम गर्न जाने हो भने कोरोना भाइरसले केही नहुने बताउँदै आएका छन् । 

त्यसो त बेलारुसमा अहिलेसम्म ४४० जनामा कोरोना भाइरस संक्रमण देखिइसकेको छ ।

राष्ट्रपति एलेक्जेन्डरले यतिमात्र होइन, बेलारुसमा कोरोनाका कारण अहिलेसम्म चार जनाको मात्र मृत्यु भएको पनि बताएका छन् ।

अनि उनले देशमा रेष्टुरेन्ट खोल्न, बजार खोल्न पनि आदेश दिइरहेका छन् । कतिसम्म भने युरोपमा अहिले एक्लै फुटबल खेलाइरहेको छ, बेलारुसले । 

उनले भोड्का पिए पनि धेरै पिउन नहुने मात्र बताएका छैनन्, मानिसहरुलाई सौना बाथ लिन पनि अनुरोध गरिरहेका छन् । 

कोरोना भाइरसः सिंगापुरमा अचानक बढे संक्रमित
एजेन्सी  |  १८:२६:४५

सिंगापुरमा कोरोना भाइरसका संक्रमितको संख्या ह्वत्तै बढेको छ । पछिल्ला २४ घन्टामा त्यहाँ कम्तिमा पनि नयाँ संक्रमितहरुको संख्या १२० पुगेको जानकारी दिइएको छ । 

चीनपछि पहिलो पटक कोरोना भाइरस संक्रमित भेटिए पनि सिंगापुरमा सख्त प्रतिबन्ध लगाइएको थियो । यसका कारण त्यहाँ कोरोना संक्रमितको संख्या बढ्न पाएको थिएन । 

सिंगापुरमा पहिलो कोरोना संक्रमित फ्रेबुअरीमा भेटिएका थिए । तर, सिंगापुर सरकारले लगाएको प्रतिबन्ध तथा लकडाउनका कारण त्यहाँ संक्रमितको संख्या बढ्न पाएको थिएन ।

योसँगै अब फेरि एशियामा कोरोना कहर बढ्ने अनुमान गर्न थालिएको छ ।

कोरोना भाइरसः स्पेनबाट लामो समयपछि आएको ‘खुसीको खबर’
एजेन्सी  |  १७:२०:२

एजेन्सी– कोरोना भाइरसका कारण स्पेनमा मृत्यु हुनेको संख्या बढेर १२ हजार ४१८ भएको छ । 

२४ घन्टामा स्पेनमा ६७४ जनाको मृत्यु भएको छ । 

तर, यो एक साता यता एक दिनमा भएको निकै कम संख्या हो । स्पेनमा यो साता मृत्यु हुनेको संख्या सधैं ८ सयभन्दा बढी थियो । 

त्यसैले अब विज्ञहरुले स्पेनमा कोरोना संक्रमण विस्तारै कम हुँदै जाने अनुमान गर्न थालेका छन् । 

बेलायतमा कोरोनाका कारण २० हजारसम्मको मृत्यु हुने
एजेन्सी  |  १६:८:९

एजेन्सी– बेलायतमा ७ हजारदेखि २० हजारसम्म मानिसको मृत्यु हुनसक्ने अनुमान गरिएको छ । कोरोना भाइरसका संक्रमित दैनिक बढिरहेको समयमा बेलायतबाट यो अनुमान त्यहाँका वरिष्ठ सरुवा रोग विशेषज्ञले गरेका हुन् ।

बिबिसीका एन्ड्र्यु मारसँग कुरा गर्दै प्रोफेसर निल फर्गुसनले भनेका छन्, ‘बेलायतमा ७ हजारदेखि २० हजारसम्म मानिसको मृत्यु हुनसक्छ ।’ उनले अहिले भइरहेको लकडाउनले त्यहाँ केही राम्रो प्रदर्शन गरेको र कोरोना भाइरस संक्रमण रोकिन सक्ने अनुमान पनि बढिरहेको बताएका छन् ।

अब १० दिन अझ बढी संवेदनशील हुनु पर्ने उनले जानकारी दिएका छन् । ‘हामीले यसलाई कसरी लिन्छौँ भन्ने पनि हो,’ उनले भनेका छन् । 

ट्रम्पले मोदीलाई दिए जवाफ– जति सक्छु, सहयोग गर्छु !
एजेन्सी  |  १५:३१:२

कोरोना संकटका कारण अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सबै देशहरुसँग सहयोगको याचना गरिरहेका छन् । विभिन्न देशसँग विभिन्न औषधि माग गरिरहेका ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि हाइड्रोक्सीक्लोरोक्वीन औषधि दिन अपिल गरेका थिए ।

 उनले फोनमा नै मोदीसँग यो अनुरोध गरेका थिए । 

अब भारतीय प्रधानमन्त्री मोदीले यसको जवाफ दिएका छन् । उनले ट्रम्पलाई आफूले जति सक्छु, सहयोग गर्छु भनेका छन् । 

यसअघि भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाइसकेको छ । मोदीले चाहिँ ट्रम्पलाई पहिले आफ्नो देशमा राखेर बढी भएको औषधी मात्र सहयोग गर्ने जानकारी दिएका छन् । हाइड्रोक्सीक्लोरोक्वीन मलेरियाको दशकौं पुरानो औषधी हा् । यसको सबैभन्दा धेरै उत्पादन भारतमा मात्र हुन्छ ।

कोरोना फैलाएको आरोपमा उत्तर प्रदेशमा एक जनाको गोली हानी हत्या
एजेन्सी  |  १४:१४:३८

भारतको उत्तर प्रदेशमा प्रयागराज जिल्लाको करेली क्षेत्रमा आइतबार विहान एक युवाको गोली हानि हत्या गरिएको छ । आक्रमण गर्ने युवालाई त्यहाँ भीडले समातेर प्रहरीमा बुझाएको छ । यो मुद्दामा प्रहरीले अन्य एकलाई पनि पक्राउ गरेको छ । 

यी दुई युवाबीच चिया पसलमा झगडा भएको र अर्का व्यक्तिले कोरोना फैलाएको भन्दै उनीमाथि गोली प्रहार भएको त्यहाँको प्रहरीले प्रारम्भिक अनुसन्धानमा फेला पारेको छ ।

अबको साता झन् धेरै मृत्यु हुनेछः ट्रम्प
एजेन्सी  |  १३:३०:१२

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई अब अझ कठीन साता आउनै बाँकी भएको बताएका छन् ।

‘अबको साता झन् कठीन हुनेछ,’ उनले भनेका छन्, ‘अबको साता झन् धेरै मृत्यु हुनेछ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरु कोरोना संक्रमण रोक्न लागिरहेको र भ्याक्सिनको विकास भइरहेको पनि बताएका छन् । अमेरिकामा अहिलेसम्म ८ हजार ५ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै, त्यहाँ विश्वमा अरु देशको भन्दा बढी ३ लाख १० हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ ।

दोस्रो परीक्षणमा पनि ट्रम्पमा देखिएन कोरोना संक्रमण
एजेन्सी  |  ३:४२:४१

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि कोरोना परीक्षण गराएका छन् । यसअघि पनि उनले कोरोना भाइरसको परीक्षण गराएका थिए । 

यसअघिको जस्तै यसपटक पनि अमेरिकी राष्ट्रपति ट्रम्पमा कोरोना भाइरस देखिएको छैन । अन्तर्राष्ट्रिय सन्चारमाध्यमका अनुसार ह्वाइट हाउसमा कोरोना संक्रमित व्यक्तिसँग बोल्दा पनि कोरोना संक्रमण हुनसक्छ भन्ने बिफ्रिङ दिएपछि ट्रम्पले दोस्रो पटक कोरोना संक्रमणको परीक्षण गराएका थिए । 

यसअघि उनको चिकित्सकीय टिममा एक जनालाई कोरोना संक्रमण देखिएपछि उनले परीक्षण गराएका थिए । त्यसो त, ब्राजिलका एक उच्च पदस्थ अधिकारीलाई पनि ट्रम्पलाई भेटेर गएपछि कोरोना भाइरस संक्रमण देखिएको थियो । तर, ब्राजिलका राष्ट्रपति बोल्सोनारोलाई कोरोना देखिएको थिएन ।

उनले आफूले केही समयअघि आजै याे टेस्ट गरेकाे र यसका लागि १५ मिनेटमात्र लागेकाे पनि बताए ।

ट्रम्पले भने– कोरोनाविरुद्धको भ्याक्सिनमा निकै प्रगति भएको छ
एजेन्सी  |  ३:२५:३९

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाविरुद्धको भ्याक्सिन विकासमा प्रगति भएको जनाएको छ । ‘धेरै तीव्र गतिमा यसमा काम भइरहेको छ,’ उनले भने, ‘र, यसको प्रतिफल पनि राम्रो आउने निश्चित छ ।’

स्थानीय समयअनुसार बिहिबार गरिएको अमेरिकी कोरोना भाइरसविरुद्ध टास्क फोर्सको ब्रिफिङमा डोनाल्ड ट्रम्पले यस्तो बताएका हुन् । उनले अमेरिकामा अब विस्तारै कोरोना भाइरस संक्रमण कम हुँदै जाने विश्वास लिएको पनि बताएका छन् । 

यसका साथसाथै उनले अमेरिकीहरुले सरकारले उपलब्ध गराउने १२ सय डलर कसरी पाउन सक्छन् भन्ने पनि जानकारी दिएका छन् । 

अमेरिकामै अब अमेजनले एन ९५ मास्क सर्वसाधरणका लागि बिक्री नगर्ने निर्णय गरेको छ । 

इरानका सभामुखलाई कोरोना संक्रमण
एजेन्सी  |  २:३३:२७

इरानी संसदका सभमुखलाई पनि कोरोना संक्रमण देखिएको छ । अलि लारिजानी अब इरानमा सरकारी अधिकारीमा कोरोना संक्रमण देखिएका सबैभन्दा उच्चपदस्थ अधिकारी भएका छन् । 

उनी १२ वर्षदेखि इरानमा सभामुख पदमा छन् । उनी इरानको सुरक्षा परिषद्का सदस्य पनि हुन् ।

उनी यसपटक चाहिँ संसदीय निर्वाचनमा उम्मेदवार भएनन् । अब त्यहाँ को सभामुख हुने भन्ने विषय कोरोना भाइरसकै कारण केही पछिका लागि धकेलिएको छ । 

अहिले इरानमा ५० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको बताइएको छ । त्यहाँ ३ हजार १ सय ६० जनाको कोभिड १९ का कारण मृत्यु भइसकेको छ ।

रुसमा लकडाउन ३० अप्रिलसम्म
एजेन्सी  |  २३:५२:५६

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा लकडाउनको अवधि ३० अप्रिलसम्म बढाउने घोषणा गरेका छन् । उनले देशमा लकडाउन बढाउने घोषणा गर्नुका साथसाथै अहिले रुपमा फरक फरक ठाउँमा फरक फरक अवस्था भएको पनि बताएका छन् ।

उनका अनुसार कोरोना भाइरस संक्रमणको सबैभन्दा खराब स्थिति अहिले रुसको मस्कोमा गम्भीर अवस्थामा छ । उनले स्थानीय प्रशासन तथा स्वास्थ्यकर्मीको प्रयासका बाबजुद त्यहाँ कोरोना संक्रमितको संख्या बढिरहेको बताएका छन् । 

पछिल्लो २४ घन्टामा रुसमा कोरोना संक्रमित ७७१ जना देखिएका छन् । योसँगै रुसमा संक्रमितको संख्या ३५४८ पुगेको छ ।

दिल्लीमा कोरोना संक्रमित चिकित्सककी गर्भवती पत्नी पनि कोरोना संक्रमित
एजेन्सी  |  २२:२२:३०

एजेन्सी– नयाँ दिल्लीमा कोरोना संक्रमित पाइएका एम्स अस्पतालका चिकित्सककी पत्नीमा पनि कोरोना संक्रमण देखिएको छ । 

उनकी पत्नी गर्भवती थिइन् । भारतको समाचार एजेन्सी एएनआईका अनुसार नौ महनिाकी उनकी गर्भपति पत्नी पनि एम्स अस्पतालकै चिकित्सक हुन् । 

अब उनलाई पनि एम्स अस्पतालको आइसोलेसनमा राखिएको छ । त्यहाँ नै उनको डेलिभरी गराइने पनि बताइएको छ ।
 

अमेरिकी डेमोक्रेट्सको अधिवेशन सर्यो
एजेन्सी  |  २२:१९:३६

एजेन्सी– बढ्दो कोरोना कहरका कारण अमेरिकी डेमोक्रेटिक पार्टीले आफ्नो अधिवेशन सार्ने निर्णय गरेको छ । यसअघि जुलाईमा हुने भनिएको अधिवेशन अब अगस्टमा हुने भएको छ । यो अधिवेशनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार चयन गर्छ ।

एक साता लामो यो कार्यक्रम अब १७ अगस्टमा सुरु हुने भएको छ । 

डेमोक्रेटिक पार्टीका सम्भावित उम्मेदवार जोइ वाइदेनले यो प्रस्ताव पार्टीमा राखेका थिए । नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाट अहिले राष्ट्रपति डोनाल्ड ट्रम्प नै उम्मेदवार हुँदैछन् । 

कोरोना महामारीबीच भारतीय प्रम मोदीले तेस्रो पटक देशवासीका नाममा सम्बोधन गर्ने
एजेन्सी  |  १८:४३:४२

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनको यो सम्बोधन शुक्रबार विहान भारतीय समयअनुसार ९ बजे हुने भएको छ । मोदीले ट्विटरमा यसको जानकारी दिएका हुन् । 

योभन्दा पहिले उनले २४ मार्चमा देशको नाममा सम्बोधन गर्दै २१ दिनको लकडाउन घोषणा गरेका थिए । उनले मानिसहरुलाई उनीहरुकै भविष्यका लागि पनि यो लकडाउन अत्यन्त जरुरी भएको बताएका थिए । 

त्यसअघि उनले २२ मार्चमा भारतमा जनता कर्फ्यू लगाउने आह्वान गर्दै देशवासीको नाममा सम्बोधन गरेका थिए ।

थाइल्यान्डमा देशभर कर्फ्यू
एजेन्सी  |  १८:३८:५२

काठमाडौं– कोरोना भाइरस संक्रमण रोकथामका लागि थाइल्यान्डले देशभर कर्फ्यू लगाएको छ ।

शुक्रबारबाट लागू हुने भनिएको यो कर्फ्यू विहान १० बजेबाट साँझ ४ बजेसम्म लागू हुने भएको छ । थाइल्यान्डका प्रधानमनत्री प्रायुथ चान ओचाले अहिले कोरोना भाइरस संक्रमण रोक्नका लागि यही नै अन्तिम उपाय भएको बताएका छन् । 

कसैले यसलाई उल्लघंन गरेमा उसलाई दुई वर्ष जेल सजाय हुने पनि बताइएको छ ।

भारतले लन्च गर्‍यो कोरोना ट्र्याक गर्ने एप
एजेन्सी  |  १८:३४:१०

एजेन्सी– भारत सरकारले नयाँ एप लन्च गरेको छ । विश्व कोरोना भाइरसबाट प्रताडित भएको यो समयमा आएको भारतीय एपले पनि कोरोना भाइरस संक्रमितसँग नजिकै भएको जानकारी अर्को व्यक्तिलाई दिन्छ । 

आरोग्य सेतु नामको यो यापले ब्लूटुथ र लोकेसन डाटा प्रयोग गर्ने बताइएको छ । अनि यसले कोही व्यक्ति तपाईंको नजिकै भएको र उसलाई कोरोना भाइरस संक्रमण रहेको रहेछ भन्ने जानकारी दिन्छ ।

यो एपले पहिले थाहा भइसकेका कोरोना संक्रमितको डाटा लिने र त्यहीअनुसार जानकारी दिने बताइएको छ ।

यो एपले नाम, नम्बर पब्लिक नगर्ने र लिंग तथा विदेश यात्राबारे जानकारी पनि ट्र्याक नगर्ने बताइएको छ ।

टेकुमा उपचाररत दुवै जनाको कोरोना टेस्ट दोस्रो पटक पनि पोजेटिभ
फरकधार  |  १४:६:४

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमण देखिएका दुई जनाको उपचार अहिले टेकुस्थिट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । उनीहरु दुवैको दोस्रो पटक कोभिड १९ को परीक्षण गरिएको छ । 

अस्पतालले जनाएअनुसार दुवै जनाको टेस्ट फेरि पनि पोजिटिभ आएको छ । अर्थात्, दुवैमा अझै पनि कोरोना भाइरस देखिएको छ । योसँगै उनीहरु थप केही दिन अस्पताल बस्नु पर्ने भएको छ । 

उनीहरुको यो टेस्ट नेगेटिभ आएको भए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको थियो ।

अहिले टेकुमा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीया युवती र युएईबाट आएका धादिङका ३४ वर्षीय युवक उपचार गराइरहेका छन् । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

मौरिससले ल्यायो नियमः थरको पहिलो अक्षरअनुसार मानिसहरु खाद्यान्न किन्न निस्कन पाउने !
एजेन्सी  |  १:५:३६

कोरोना त्रासका कारण विश्वभर नयाँ नयाँ उपाय अपनाएर यसको रोकथाम गर्ने प्रयास गरिएको छ । 

अब मौरिससमा पनि मानिसहरुले अत्यावश्यक खाद्यान्न किन्नका लागि एउटा विशेष नियम पालना गर्नु पर्ने भएको छ । त्यहाँको सरकारले मानिसहरुले अब सामान किन्न कुन बार बाहिर निस्कन पाउने भन्ने उनीहरुको थरको पहिलो अक्षरले निर्धारण गर्ने नियम बनाएको बिबिसीमा आएको समाचारमा उल्लेख गरिएको छ । 

प्रधानमन्त्री प्रभिन्द जुगनाथले यसले कोरोनाको संक्रमण रोकथाममा सहयोग पुग्ने र मानिसहरुलाई घरबाहिर निस्किएर सामान किन्ने समय ३० मिनेटको मात्र दिइने बताएका छन् । 

त्यहाँ लगाइएको नियमअनुसार अब थर एबाट एफसम्मका अक्षरबाट सुरु हुनेले सोमबार र बिहिबार सामान किन्न पाउने छन्, जिबाट एनसम्मबाट थर सुरु हुनेले मंगलबार र शुक्रबार सामान किन्न पाउने छन् । अनि ओदेखि जेडसम्मका अक्षरबाट थर सुरु हुनेले बुधबार र शनिबार सामान किन्न पाउनेछन् । त्यहाँका पसलहरु आइतबार बन्द हुन्छन् ।

अहिले मौरिससमा १६१ जना कोरोना संक्रमित भेटिएका छन् । त्यहाँ अहिलेसम्म पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

अनि मौरिसले बिहिबार सकिने लकडाउन पनि अब बढाएर १५ अप्रिलसम्म लकडाउनको घोषणा गरेको छ ।

यसअघि पानामाले पनि पुरुष र महिला घरबाहिर निस्कने पाउने दिनहरु छुट्टाछुट्टै बनाएको समाचार आएको थियो :

कोरोना संक्रमण रोक्न पानामामा अनौठो नियमः महिला पुरुष सँगै बाहिर निस्किन नपाउने !

कोरोनाबारे अहिलेसम्मका सबै कुरा परिवर्तन हुनसक्छन्ः डब्लूएचओ
एजेन्सी  |  ०:३६:२९

एजेन्सी– विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले कोरोना भाइरसबारे अहिलेसम्म जाने बुझेका सबै तथ्यहरु फरक पर्न सक्ने बताएका छन् । जेनेभामा आज भएको मिडिया ब्रिफिङमा उनले अहिले यो भाइरस नयाँ भएकाले यसबारे अध्ययन गर्ने काम भइरहेको र अहिलेसम्म डब्लूएचओले निकालेको निर्देशनहरु पनि फेरिन सक्ने बताएका छन् । 

आम मानिसमा यसको प्रकोप नफैलिओस् भन्नका लागि अब झन् फरक उपायहरु आउन पनि सक्ने उनले बताएका हुन् । ‘यो अत्यन्त नयाँ भाइरस हो र हामीले यसबारे सिकिरहेका छौँ,’ उनले भनेका छन्, ‘यो महामारी हो, यसले देखाउँदै जाने कुराबाट हामीले सिक्दै जाने हो ।’

‘हामीले जे सिकिरहेका छौँ,’ उनले भनेका छन्, ‘त्यो यही भाइरसको कारणबाट सिकिरहेको छौँ र यो प्रक्रिया निरन्तर चलिरहने छ ।’

कोरोना संक्रमण रोक्न पानामामा अनौठो नियमः महिला पुरुष सँगै बाहिर निस्किन नपाउने !
फरकधार  |  २२:४३:४०

एजेन्सी– अहिले संसार कोरोना भाइरससँग लडिरहेको छ । यही समयमा पानामामा नयाँ र अलिक अनौठो लाग्ने नियम लगाइएको छ । त्यो हो– पानामामा अब महिला र पुरष सँगै बाहिर निस्कन पाउने छैनन् । यतिमात्र होइन, त्यहाँ पुरुष बाहिर निस्किने र महिला बाहिर निस्किने बार पनि छुट्याइएको छ । 

बुधबारबाट लागु भएको यो नियमअनुसार अब त्यहाँ महिलाहरु घरमा आवश्यक सामाग्री किन्न सोमबार, बुधबार र शुक्रबार घरबाट बाहिर निस्किन पाउने छन् । 

त्यस्तै, त्यहाँ पुरुषहरु अब मंगलबार, बिहिबार र शनिबारमात्र घरबाट बाहिर निस्कन पाउनेछन् । आइतबार चाहिँ सबैजना घरमा नै बस्नु पर्ने छ । 

त्यहाँको सरकारले यो नियम अब कम्तिमा पनि १५ दिनका लागि लागु हुने जनाएको छ । 

यसअघि पनि त्यहाँको सरकारले सबैलाई अनिवार्य क्वारेन्टाइनमा निस्किन आदेश दिएको थियो । ‘तर, त्यसलाई पूर्णरुपमा पालना गरिएन,’ त्यहाँका सरकारी अधिकारीलाई सिएनएनले उद्धृत गरेको छ, ‘अब महिला र पुरुष जो बाहिर निस्किए पनि दुई घन्टाभन्दा बढी समय घरबाहिर बिताउन पाउने छैनन् ।’

मध्यअमेरिकी यो देशमा अहिलेसम्म १०७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कोरोनाका कारण २७ जनाको मृत्यु भइसकेको छ ।

जर्मनीमा लकडाउनको समय थपियो
एजेन्सी  |  २२:३५:४६

एजेन्सी– जर्मनीले आफ्नो देशमा लकडाउनको समयसीमा थपेको छ । कोरोना भाइरस संक्रमणबाट बच्न अब जर्मनीमा १९ अप्रिलसम्म लकडाउन हुनेछ । 

जर्मन चान्सलर एन्जेला मर्केलले अहिले बाहिर निस्कने सही समय नभएको पनि बताएकी छिन् । बरु उनले भनेकी छिन्– महामारी कुनै पनि छुट्छीलाई चिन्दैन ।

जर्मनीमा अहिलेसम्म ६७ हजार मानिसमा संक्रमण देखिइसकेको छ । त्यहाँ अहिलेसम्म ७३२ जनाको कोरोनाका कारण निधन भएको छ । जर्मन चान्सलर एन्जेला मर्केल स्वयं कोरोना संक्रमित भएपछि अहिले क्वारेन्टाइनमा छिन् ।

पाँचौ पटक पनि कोरोना भाइरस देखिएपछि कनिकाको डाइट बदलियो
एजेन्सी  |  २१:३३:५७

भारतको पिजिआईमा कोरोना वार्डमा भर्ना भएर उपचार गराइरहेकी कनिका कपुरमा अझै पनि कोरोना भाइरस संक्रमण देखिएको छ । उनको यो पाँचौ पटक गरिएको परीक्षण थियो । यस्तो रिपोर्ट आएसँगै कनिकाले त्यहाँका चिकित्सकहरुसँग सल्लाह गरेकी छिन् । उनको स्वास्थ्यमा क्रमिक सुधार त देखिएको छ तर भाइरस अझै पनि उनको शरीरमा छ । 

यस्तो रिपोर्ट आएपछि उनको खानामा परिवर्तन गरिएको त्यहाँका चिकित्सकले जनाएका छन् । उनमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खानपानमा परिवर्तन गरिएको हो ।

अब उनलाई भिटामिन, प्रोटिन तथा कार्बोहाइड्रेटको मात्र बढाएर दिन थालिएको छ । उनमा ज्वरो, खोकी तथा रुघा चाहिँ देखिएको छैन ।

यो वर्षको विम्बलडन रद्द
एजेन्सी  |  २१:८:२५

एजेन्सी– कोरोना भाइरसका कारण यो वर्षको विम्बलडन प्रतियोगिता रद्द हुने भएको छ । 

दोस्रो विश्वयुद्धपछि यो चर्चित टेनिस प्रतियोगिता पहिलो पटक रद्द गरिएको हो । 

लन्डनमा हुने भनिएको यो प्रतियोगिता २९ जुनमा सुरु हुने तय गरिएको थियो । 

यो वर्षको विम्बलडन रद्द
एजेन्सी  |  २१:७:५१

एजेन्सी– कोरोना भाइरसका कारण यो वर्षको विम्बलडन प्रतियोगिता रद्द हुने भएको छ । 

दोस्रो विश्वयुद्धपछि यो चर्चित टेनिस प्रतियोगिता पहिलो पटक रद्द गरिएको हो । 

लन्डनमा हुने भनिएको यो प्रतियोगिता २९ जुनमा सुरु हुने तय गरिएको थियो । 

यो देशले लगायो कोरोना भाइरस शब्द र मास्कमाथि प्रतिबन्ध !
फरकधार  |  १८:५:८

एजेन्सी– अहिले विश्वमा कोरोना भाइरस सबैभन्दा बढी प्रयोग गरिएका शब्द हुन् । अहिले त गुगलमा सबैभन्दा बढी खोजिने शब्द पनि कोरोना भाइरस नै हो । 

तर, एउटा देशले अहिले कोरोना भाइरस शब्दमाथि नै प्रतिबन्ध लगाएको छ । यसरी प्रतिबन्ध लगाउने देश हो, तुर्कमेनिस्तान । 

त्यहाँ त मानिसहरुलाई मास्क लगाउन पनि प्रतिबन्ध लगाइएको छ । इन्डिपेन्डेन्टको रिपोर्टअनुसार तुर्कमेनिस्तानको सरकारले स्थानीय मिडिया तथा त्यहाँको स्वास्थ्यमन्त्रालयले बाँडेका पर्चामा पनि यो शब्द प्रयोग नगर्न निर्देशन दिइसकेको छ । 

अनि त्यहाँको सरकारले भनेको छ कि अहिलेसम्म तुर्कमेनिस्तानमा एक जना पनि कोरोना भाइरस संक्रमित भेटिएका छैनन् ।

अहिले विश्वमा ठूलो समस्याका रुपमा देखिएको यो महामारीबारे त्यहाँ मानिसहरुलाई चर्चा गर्न पनि प्रतिबन्ध लगाइएको छ । अनि जसले यसबारे कुराकानी गरेका छन्, उनीहरुलाई प्रहरीले गिरफ्तार पनि गरेको छ ।

देशमा अहिले कोरोना भाइरस नभेटिए पनि त्यहाँको सरकारले यसलाई रोक्न कडा कदम उठाइएको पनि जनाएको छ ।

स्पेनमा लागातार पाँचौ दिन ८ सयभन्दा बढीको निधन
फरकधार  |  १७:३८:४०

एजेन्सी– गत वर्षको अन्तिममा चीनको वुहानमा देखिएको कोरोना भाइरसको समस्यामा अहिले युरोपेली र अमेरिकी मुलुकहरु देखिएका छन् । विश्व स्वास्थ्य संगठनले केही समयअघि मात्रै युरोपलाई कोरोनाको इपिसेन्टर बताएको थियो । 

युरोपमा पनि इटाली र स्पेनमा यो भाइरसको निकै ठूलो तान्डव देखिएको छ । यी दुई देशमा मात्र गरेर यो भाइरसका कारण ज्यान गुमाउनको संख्या २५ हजार बढी पुगेको छ । 

स्पेनमा लगातार पाँचौ दिन आज पनि ८ सयभन्दा धेरैको कोरोनाको कारण निधन भएको छ । युरोपले बुधबार पछिल्ला २४ घन्टामा ८६४ जनाको मृत्यु कोरोना कारण भएको जनाएको छ । मंगलबार ८४९ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए ।

८ सयभन्दा धेरैको मृत्यु भएको यो लगातार पाँचौ दिन हो । कोरोनाका कारण मृत्यु हुनेको संख्या विश्वमा इटालीभन्दा पछाडि रहेको छ ।

दिल्लीका दुई चिकित्सकमा देखियो कोरोना भाइरस
फरकधार  |  १७:३०:४

एजेन्सी– पछिल्ला २४ घन्टामा भारतमा कोरोना भाइरस संक्रमितको संख्या निकै बढेको छ । अब भारतमा दुई हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ ।

अब भारतमा चिकित्सकहरुमा पनि कोरोना भाइरस संक्रमण देखिन थालेको छ । दिल्लीको क्यान्सर अस्पतालमा एक चिकित्सकमा कोरोना संक्रमण देखिएपछि त्यो अस्पताल नै बन्द गरिएको छ । 

अब भारतीय समाचार एजेन्सी भारतीय न्युज सर्भिसका अनुसार सफदरजंग अस्पतालमा पनि दुई चिकित्सक कोरोना भाइरस संक्रमित भेटिएको छ । यी दुवै चिकित्सक कोरोना संक्रमितको उपचारमा संलग्न थिए । 

अब उनीहरुले जाँच गरेका अन्य बिरामीसहित १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि दिल्लीको क्यान्सर अस्पताल बन्द
फरकधार  |  १३:२९:२७

एजेन्सी– दिल्ली सरकारले चलाएको एक अस्पताल बुधबारबाट बन्द गरिएको छ । त्यहाँका एक चिकित्सकमा कोरोना भाइरस संक्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो । 

दिलशाद गार्डेनमा रहेको दिल्ली सरकारले चलाएको अस्पतालका ओपिडी तथा अन्य सेवाहरु बन्द गरिएको छ । त्यहाँका चिकित्सकलाई अब क्वारेन्टाइनमा राखिएको छ । 

अस्पतालका अधिकारीहरुले ती चिकित्सकलाई उनका आफन्तहरुबाट कोरोना संक्रमण भएको हुनसक्ने बताएका छन् । 

दिल्लीमा पछिल्लो समय १२० जना कोरोना संक्रमित भेटिएका छन् । त्यहाँ दुई जनाको मृत्यु भइसकेको छ । दिल्लीको निजामुद्दीनमा एकै पटकमा १२० जनाभन्दा बढी कोरोना संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ । तर, यसबारे परीक्षणको रिजल्ट आइसकेको छैन ।

केही दिनमा बेलायतमा दैनिक २५ हजारको कोरोना परीक्षण हुने
एजेन्सी  |  १३:१४:५९

एजेन्सी– बेलायतले मिड अप्रिलदेखि प्रत्येक दिन २५ हजार जनाको कोरोना भाइरस टेस्ट गर्ने लक्ष्य लिएको छ । त्यहाँका एक मन्त्रीले एक सन्चारमाध्यमलाई यो जानकारी दिएका हुन् । 

कोरोना भाइरसको टेस्ट गर्न आवश्यक केमिकलको कमी भएको समाचार आइरहँदा बेलायतले यस्तो तयारी गरेको हो । 

अहिले विश्वमा जति धेरै कोरोनाको टेस्ट भएको छ, त्यति नै धेरै कोरोना संक्रमित बिरामलाई बचाउन पनि सकिने बताउँदै आइएको छ । 

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो
फरकधार  |  १०:४८:१३

जोन्स हपकिंस विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ ।

अमेरिकामा अहिले विश्वकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित रहेका छन् । अहिलेसम्मको रिपोर्टअनुसार अमेरिकामा अहिेल १ लाख ८८ हजार १ सय ७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

युरोपेली देशहरुले अस्वीकार गरेका कोभिड–१९ टेस्टिङ किट नेपाल सरकारले ल्यायो
फरकधार  |  १०:६:४३

काठमाडौं– कोरोना भाइरस संक्रमण भए वा नभएको थाहा पाउन सरकारले चीनबाट ल्याएका र्‍यापिड टेस्टिङ किटमाथि प्रश्न उठ्न थालेको छ । १५ मिनेटमा नै कोरोना संक्रमणको नतिजा दिन सक्ने भन्दै चीनले प्रचार गरेका यस्ता किट्सहरु युरोपेली देशहरुमा अस्वीकार गरिएका थिए । तर, सरकारले सात करोड रुपैयाँभन्दा बढी लागतमा ७५ हजार त्यस्ता किट किनेको छ । 

यी किटहरुलाई विश्व स्वास्थ्य संगठनले पनि सिफारिस गरेको छैन । यस्ता किटबाट आउने नतिजाका कारण समुदायमा कोरोना भाइरस संक्रमण झन् छिटो फैलिने आशंका गरिएको छ ।

यसअघि यस्तै किटहरुलाई युरोपेली देशहरुले अस्वीकार गरेका मात्र थिएनन्, आलोचना पनि गरेका थिए । स्पेन, टर्की तथा नेदरल्यान्ड्समा यस्तै किटका कारण समुदायमा कोरोना भाइरस संक्रमण झन् तीव्र गतिमा फैलिएको भन्दै उनीहरुले दोस्रो पटक यस्ता किट किनेनन् । तर, नेपाल सरकारले अझै दुई चरणमा यस्ता परीक्षण किट्स ल्याउने तयारी गरेको छ ।

अहिले युरोपेली देशमा लाखौँ मानिसमा कोरोना भाइरस देखिएको छ । त्यहाँ हजारौँले कोरोनाका कारण ज्यान गुमाएका छन् । इटालीमात्र १५ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

सबैभन्दा पहिले कोरोना भाइरस मानिसमा चीनको वुहान सहरमा देखिएको थियो । सन् २०१९ को अन्त्यमा देखिएको कोरोना भाइरस नियन्त्रण गर्न चीन सरकारले कडा लकडाउन गरेको थियो ।

तर, चीनले त्यसपछि बनाएका टेस्टिङ किट र फेस मास्क नै गुणस्तरीय नभएको युरोपेली देशहरुले निष्कर्ष निकालेका थिए । 

सबैभन्दा पहिले नेदरल्यान्ड्स पुगेका यी सामानहरुलाई त्यहाँको स्वास्थ्य मन्त्रालयले अस्वीकार गरेको थियो । २१ मार्चमा बनेका यस्ता सामाग्रीहरु त्यहाँका स्वास्थ्यकर्मीलाई वितरण गरिएको भए पनि ती सामाग्रीको प्रभावकारितामाथि प्रश्न उठेको थियो । त्यहाँका मास्कको फिल्टरले समेत काम नगरेको त्यहाँका अधिकारीले बताएका थिए ।

त्यसपछि उनीहरुले बाँकी सामान ल्याउन छाडे । 

‘थप आउने सामाग्रीलाई हामीले अहिले तत्काल नल्याउन भनेका छौँ,’ नेदरल्यान्ड्स सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘अब चीनबाट मास्क र टेस्टिङ किट्स नल्याउने हामी निष्कर्षमा पुगेका छौँ ।’

उता, स्पेनको सरकारले पनि अहिले नेपाल सरकारले ल्याएको जस्तै टेस्टिङ किट्स ल्याएको जनाएको थियो । तर यसले काम नगरेको भन्दै उसले यी सामानको आयात रोक्यो । 

‘६० हजारजनामा गरिएको परीक्षणमा त्यसले राम्रो नतिजा दिन सकेन,’ स्पेनका अधिकारीहले भनेका थिए, ‘त्यसैले हामीले यी सामान नल्याउने भयौँ ।’

यी देशले मात्र आरोप लगाएका होइनन्, स्पेनमा रहेको चिनियाँ दूतावासले पनि चीनमा प्राइभेट कम्पनीले बनाएका टेस्टिङ किट्स भरपर्दो नभएको भन्दै ट्विट गरेको छ ।

उता, टर्कीमा पनि यस्ता टेस्टिङ किट्स किनिएको छैन । त्यहाँ सुरुमा ३ लाख ५० हजार यस्ता टेस्टिङ किट्स किन्ने भनिएको थियो ।

कोरोना भाइरसको डरले अमेजनका कर्मचारीले गरे हड्ताल
फरकधार  |  १९:४१:१९

अमेरिकामा कोरोना भाइरसको डरका कारण इकमर्स साइट अमेजनसहित अन्य धेरै कम्पनीहरुमा दबाब बढ्दै गइरहेको छ । 

अमेरिकामा खाना डेलिभरी गर्ने फर्म इन्स्टाकार्ट तथा अमेजनका केही कर्मचारीले अब सुरक्षा व्यवस्था कमजोर भएको भन्दै काम गर्न अस्वीकार गरेका छन् । 

अमेरिकी संसदहरुले पनि अमेजनका संस्थापक जेफ बेजोससँग कुरा गर्दै यसबारे चिन्ता प्रकट गरेका थिए ।

अर्कोतिर अमेजनका प्रवक्ताले आफूहरुले अहिले सबै सुरक्षा संयन्त्र अपनाएको र आफ्ना कर्मचारीहरुलाई सुरक्षित राखिरहेको बताएका छन् । तर, आफूहरुले पर्याप्त मात्रामा मास्कसमेत नपाएको भन्दै त्यहाँका कर्मचारी हड्तालमा उत्रिएका छन् ।

बेल्जियममा १२ वर्षकी युवतीको कोरोनाका कारण मृत्यु
फरकधार  |  १९:१५:२०

युरोपमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुने सबैभन्दा कम उमेरकी बालिका १२ वर्षकी भएको बताइएको छ । 

‘आज हामीसँग एउटा अत्यन्त दुखद कुरा छ, र मलाई योबारे जानकारी दिन पनि समस्या भइरहेको छ,’ सरुवा रोग विशेषज्ञ इमानुएल एन्ड्रले मंगलबार एक कार्यक्रममा भनेका छन्, ‘यो दुर्लभ हो र यसले गर्दा हामी निकै चिन्तित छौँ ।’

१२ वर्षकी ती बालिकाको नाम गोप्य राखिएको छ । तर, बेल्जियममा उनी पढ्ने घेन्टको स्कुलमा सबै अभिभावकसँग सतर्कता अपनाइएको समाचार छ । 

बेल्जियममा अहिलेसम्म ७०५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । अनि अहिले ५ हजारभन्दा बढी अस्पतालमा छन् ।

यसअघि १४ वर्षकी एक किशोर पोर्चुगलमा कोरोनाका कारण निधन भएको थियो । कोरोना भाइरसका कारण निधन हुने उनी नै अहिलेसम्मका सबैभन्दा कान्छा व्यक्ति भएको बताइएको थियो ।  

स्पेनमा एकै दिन ८४९ जनाको मृत्यु
एजेन्सी  |  १६:८:१८

कोरोना भाइरसका कारण युरोपमा सबैभन्दा बढी प्रभावित दोस्रो देश बनेको छ स्पेन । स्पेनमा अहिलेसम्मकै सबैभन्दा धेरै ८४९ जनाले विगत २४ घन्टामा ज्यान गुमाएका छन् । 

त्यहाँ अहिलेसम्म ८१८९ जनाले कोरोना कारण ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्पेनभन्दा इटालीमा धेरै जनाको मृत्यु कोरोना भाइरसका कारण भएको छ ।

कोरोनाका कारण हुने मृत्यु एक लाखमा रोक्न सके उपलब्धिः डोनाल्ड ट्रम्प
फरकधार  |  ११:२१:४३

एजेन्सी– अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले अमेरिका कोरोना भाइरस संक्रमणको चपेटामा परेको बताएका छन् । उनले कतिसम्म भनेका छन् भने अमेरिकामा कोरोना भाइरसका कारण एक लाख मानिसको मृत्यु हुनसक्छ । ‘हामीले एक लाख मानिसको मृत्युमा रोक्न सक्यौँ भने पनि अहिलेका लागि उपलब्धि हुन्छ,’ उनले भनेका छन् । 
अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६० हजारभन्दा बढी भइसकेको छ । यो अहिले विश्वमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमितको संख्या हो । चीनमा ८२ हजार मानिसमा कोरोना संक्रमण देखिएको थियो ।

सोमबार कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङमा बोल्दै ट्रम्पले अहिले अमेरिकामा भेन्टिलेटर उत्पादनको काम १० कम्पनीले गरिरहेको बताएका छन् । ‘यो अरु देशले कहिल्यै गर्न सक्दैनन्,’ उनले भने, ‘हामी सही बाटोमा छौँ भन्ने विश्वास मैले लिएको छु ।’ 

उनले अहिलेसम्म अरु देशले भन्दा आफूहरुले कोरोना भाइरस संक्रमितको परीक्षण धेरै गरेकाले पनि अमेरिकामा कोरोना संक्रमितको संख्या धेरै देखिएको बताएका छन् । 
 

कोरोना भाइरसः केरलामा ८८ र ९३ वर्षका वृद्धा भए ठिक
फरकधार  |  १०:४०:२१

एजेन्सी– भारतीय पत्रिका इन्डियन एक्सप्रेसमा छापिएको एक समाचारअनुसार केरलामा कोरोना संक्रमित दुई वृद्ध ९३ वर्षका थोमस र उनकी पत्नी ८८ वर्षकी मरियम्माले अस्पतालबाट डिस्चार्ज हुन पाउने भएका छन् । उनीहरुमा कोरोना भाइरस अब नदेखिएको अस्पतालले जनाएको छ । 

दुवैजना कोरोना भाइरस संक्रमणका साथसाथै डायबिटिज र हाइपरटेन्सनका बिरामी पनि थिए । अस्पतालमा भर्ना भएपछि पनि थोमसलाई हृदयघात भएको थियो । तर, दुवैले कोरोना भाइरसमाथि जित निकालेका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस वृद्ध मानिसहरुका लागि अझ बढी खतरानक भएको बताउँदै आएको छ । तर, यसबीच केरलामा भएको यो प्रगतिले पूरै भारतको स्वास्थ्य टिमलाई खुसी बनाएको छ । 

थोमसका दुई छोरा, बुहारी तथा नातिनातिनीमा पनि कोरोना भाइरस देखिएको थियो । तर, अब सबै जना ठिक भएर अस्पतालबाट फर्किँदै छन् । थोमसका छोराको परिवार २९ फ्रेबुअरीमा इटालीबाट फर्किएको थियो । 

आइ लभ रक एन्ड रोलका गायकको कोरोनाका कारण मृत्यु
एजेन्सी  |  १७:१३:१०

सन् ८० को दशकको चर्चित गीत हो, आइ लभ रक एन्ड रोल । त्यही गीतका गायक तथा सह लेखक अलान मेरिलको कारोना भाइरसका कारण मृत्यु भएको छ । 

उनकी छोरी लौराले यसलाई पुष्टि गर्दै लेखेकी छिन् कि ६९ वर्षका यी गायक केही साताअघिसम्म पनि विभिन्न ठाउँमा कन्सर्ट गरिरहेका थिए । 

‘उनी निमोनियाका बिरामी भएका थिए,’ उनले भनेकी छिन् ।

आइ लभ रक एन्ड रोल चाहिँ विश्वप्रसिद्ध गीत भएको थियो । जेएन जेटका लागि सन् १९८२ मा हिट भएको यो गीतलाई पनि ब्रिट्नी स्पियर्सदेखि सबैले गाएका थिए । यही गीतको प्यारोडी आइ लभ ससेज रोल्स गत वर्ष क्रिसमसमा बेलायतमा निकै गाइएको थियो ।

कोरोना भाइरसका कारण मृत्यु हुने उनी पहिलो गायक चाहिँ होइनन् । यसअघि कन्ट्री सिंगर जोय डिफीको पनि कोरोनाका कारण नै मृत्य भएको थियो ।

भारतमा कोरोनाका कारण मृत्यु हुने संख्या ३० पुग्यो
फरकधार  |  १७:१:१३

चीनबाट सुरु भएको कोरोना भाइरसले अब विस्तारै हाम्रो अर्को छिमेकी मुलुक भारतलाई पनि समस्यामा पार्ने निश्चित भएको छ । 

भारतमा अहिले कोरोना संक्रमितको संख्या १ हजार नाघिसकेको छ । भारतमै कोरोनाका कारण मृत्यु हुनेको संख्या अब ३० पुगेको जछ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा अहिले १०७१ जना उपचार गराइरहेका छन् । त्यहाँ सबैभन्दा धेरै महाराष्ट्रमा ९ जनाको मृत्यु भइसकेको छ ।

लकडाउनमा एम्बुलेन्सले पाएन अनुमति, महिलाको बाटोमै मृत्यु
एजेन्सी  |  २१:४६:१३

एजेन्सी — कोरोना भाइरसका कारण अहिले विश्वका धेरै देशहरुमा लकडाउन गरिएको छ । नेपालमा आजमात्रै सरकारले लकडाउन थप ८ दिन गर्ने फैसला गरेको छ । 

उता, भारतमा यसअघि नै बुधबार २१ दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनो रोकथामका लागि गरिएको यो कदम निकै महत्वपूर्ण छ । तर, यसका कारण अरु दुर्घटना पनि बढेका छन् । 

एउटा त्यस्तै समाचार छ, भारतको । त्यहाँ प्रहरीले एउटा एम्बुलेन्सलाई अनुमति नदिँदा एक वृद्धाको बाटोमा नै मृत्यु भएको छ । कर्नाटक प्रहरीले ती महिला बोकेको एम्बुलेन्सलाई बाटोमा चल्न अनुमति दिएको थिएन । यही कारणले ७० वर्षकी ती महिलाको बाटोमा नै निधन भएको हो । त्यहाँ कर्नाटकले केरलासँग जोडिएको सीमा बन्द गरेको छ ।

कोरोना संकट अझ गहिरिन्छः बेलायती प्रधानमन्त्री
एजेन्सी  |  १९:५:४५

एजेन्सी– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले देशवासीको नाममा एक चिठी लेखेका छन् । कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा रहेका प्रधानमन्त्री बोरिसले कोरोनाको संकटको विषयमा देशवासीको नाममा चिठी लेखेका हुन् ।

उनले कोरोना भाइरस संकट थप गहिरिने बताएका छन् । ‘यो ठिक हुनुभन्दा अगाडि थप समस्या हुनसक्छ,’ उनले लेखेका छन् । 

प्रधानमन्त्री जोनसनले आवश्यक परेमा देशमा अझ कडा प्रतिबन्धहरु लगाउन सकिने पनि बताएका छन् । 

कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको संख्या १२२८
फरकधार  |  १८:५६:१७

एजेन्सी– गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले युरोप र अमेरिकामा अत्यधिक देखिएको छ ।

सँगसँगै यो भाइरस अहिले बेलायतमा पनि कहर बनेको छ । 

बेलायतमा पछिल्लो २४ घन्टामा २०९ जनाको मृत्यु यही भाइरसका कारण भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२२८ पुगेको छ ।

क्वारेन्टाइनमा नबस्नेलाई सरकारले कारवाही गर्ने
फरकधार  |  १७:१:४५

काठमाडौं– विदेशबाट फर्किएर आएकाहरुलाई क्वारेन्टाइनमा नबसे सरकारले कारवाही गर्ने भएको छ । साथै केही समययता विदेशबाट आएकाहरु सरकारको सम्पर्कमा नआए पनि उनीहरु कारवाहीमा पर्नेछन् ।

१ चैतबाट नेपाल आएकाहरुलाई सरकारले क्वारेन्टाइनमा बस्न अनुरोध गरेको थियो । 

तर, अधिकांशले सरकारको यो अनुरोधलाई पालना गरेका छैनन् । यसको पुष्टि बाग्लुङमा भेटिएकी कोरोना संक्रमित युवतीबाट पनि भएको छ । उनले अस्पतालमा ज्वरो आएको भन्दै परीक्षण गर्न गए पनि घरमै क्वारेन्टाइनमा बसेकी थिइनन् ।

यतिमात्र होइन, पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेका केही व्यक्तिहरु आएको विमानमा सँगै आएकाहरुलाई अनुरोध गर्दा पनि उनीहरु सरकारको सम्पर्कमा आएका छैनन् ।

आइतबार सिंहदरबारमा बसेको कोरोना संक्रमण रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले अब उनीहरुलाई कारबाही नै गर्ने निर्णय गरेको हो । 

भारतमा कोरोना संक्रमितको संख्या एक हजार नजिक
फरकधार  |  ६:१:५०

एजेन्सी– भारतमा पछिल्ला २४ घन्टामा कोरोना भाइरस कोभिड १९ का संक्रमितको संख्या १४९ पुगेको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या बढेर ९१८ पुगेको छ । पछिल्लो २४ घन्टामा भारतमा कोरोना संक्रमित सबैभन्दा धेरै देखिएका हुन् । 

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि दिनहुँ बढिरहेको छ । आइतबार बिहानसम्म त्यहाँ १९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

ट्रम्पले पूरै न्युयोर्क सहर क्वरेन्टाइन गर्ने
फरकधार  |  ५:५७:२

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको न्यूयोर्क पूरै क्वारेन्टाइन गर्नेबारे आफूले सोचिरहेको बताएका छन् । यसो गरेमात्र कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न सकिने उनले निष्कर्ष निकालेका छन् ।

‘यो हटस्पट भएको छ,’ उनले पत्रकारहरुलाई भनेका छन्, ‘म क्वारेन्टाइनबारे सोच्दै छु ।’

न्युयोर्कमा मात्र अहिले कोरोना संक्रमितको संख्या ५२ हजार कटेको छ । यो अमेरिकामा संक्रमितको संख्याको आधा हो ।

न्युयोर्कका गर्भनरले केही दिनअघि नै न्युयोर्कमा अहिले कोरोना भाइरस बुलेट ट्रेनभन्दा पनि छिटो फैलिएको बताएका थिए । 

खुल्यो चीनको वुहान सहर
फरकधार  |  १४:३०:३४

एजेन्सी– अहिले विश्वका लागि कहर बनेको कोरोना भाइरस सबैभन्दा पहिले देखिएको चिनियाँ सहर वुहान अब विस्तारै खुल्न थालेको छ । गत वर्ष डिसेम्बरमा पहिलो पटक कोरोना भाइरस वुहानमा देखिएको थियो । त्यस लगत्तै यो सहरलाई जनवरी देखि आइसोलेसनमा राख्ने सरकारले निर्णय गरेको थियो । 

अहिले पनि अन्य चिनियाँ वा अरु मानिसलाई वुहानमा छिर्न दिइएको छैन । तर, वुहानबाट मानिसहरुलाई अब बाहिर निस्किन दिइएको छ ।

त्यहाँका सन्चारमाध्यमले अब रेल स्टेसनका तस्वीरहरु प्रकाशन गर्न थालेका छन् जहाँ मानिसहरुको ठूलो भीडभाड देख्न सकिन्छ ।

कतिपय ठाउँमा पसलहरु र मार्टहरु खुलेका छन् र त्यहाँ पनि मानिसहरुको भीडभाड देख्न सकिन्छ । १ करोडभन्दा धेरै मानिस बस्ने यो ठाउँमा कोरोनाका कारण ३२३९ जनाको निधन भएको थियो । ५० हजारभन्दा धेरै यो ठाउँका मानिसमा कोरोना भाइरस संक्रमण देखिएको थियो । 

कोरोना भए/नभएको पुष्टि अब पाँच मिनेटमै
एजेन्सी  |  १४:२३:०

एजेन्सी– कोरोना भाइरस संकटकाबीच अब एउटा खुसीको खबर पनि आएको छ । अमेरिकाको एक प्रयोगशालाले कोरोना भाइरस जाँच्नका लागि एउटा यस्तो किट बनाएको छ जसले केवल पाँच मिनेटमै कोही व्यक्ति संक्रमित छ या छैन भन्ने एकिन गर्न सकिन्छ ।

अनि यो किट अत्यन्त सानो र हल्का भएकाले यसलाई सहजै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने बनाइने पनि बताइएको छ ।

एबट ल्याबोरेटरिजले एक विज्ञप्ति निकाल्द्यै अर्को साता देखि नै यसलाई बजारमा उपलब्ध गराउने बताएको छ । शुक्रबार यसबारे प्रेस रिलिज निकाल्दै कम्पनीले यो जाँचमा केवल १३ मिनेटमात्र लाग्ने जनाएको छ । 
 

गरिबले होइन, धनीले फैलाएको कोरोना भाइरस
फरकधार  |  १३:४९:२३

विश्वमा जुनसुकै महामारी फैलिँदा पनि सबैभन्दा बढी असर यसले गरिब वर्गलाई गर्छ । तर, एउटा कुरा निकै गम्भीर छ कि यस्ता महामारी फेरि गरिब वर्गले नै फैलाएको मान्नेहरु धेरै छन् । 

विश्वमै एउटा बुझाई छ कि महामारीको फैलावटलाई जहिले पनि गरिबको काँधमा राख्न खोजिन्छ । तर, इतिहास हेर्ने हो भने यो प्रष्ट हुन्छ कि महामारीहरु सबैभन्दा पहिले उपल्लो वा धनी वर्गमा देखिन्छ । जुन मध्यम वर्ग र त्यसपछि मात्र गरिब वर्गमा पुगेको हुन्छ ।

अनि कुलिन वर्गले पनि जहिले आरोप लगाएको हुन्छ, यो महामारी खासमा गरिबहरुले उनीहरुको झुपडीबाट फैलाएका हुन्छन् । 

तर, सन् १६५ देखि १८० सम्म फैलिएको एन्टोनाइन प्लेग होस् या १५२० को आसपासमा विश्वमा फैलिएको स्मल पक्स होस् या येलो फिभर र रसियन फ्लू नै किन नहोस्, सन् १८१७ को समयमा फैलिएको इन्डियन प्लेग होस् या क्लोलेरा नै किन नहोस्, सबै सबैभन्दा पहिले धनी व्यक्तिहरुमा देखिएको थियो । त्यसबाट यी महामारी मध्यम वर्गमा पुगेको थियो अनि बल्ल गरिब वर्गलाई यसले बढी प्रहार गरेको थियो ।

र, यी सबै महामारीको कारण विश्वमा नयाँ नयाँ ठाउँमा यात्रा गरिरहेका मानिसहरु, विमानमा सवार मानिसहरु, पानीजहाजमा सवार मानिसहरुमा बढी देखिएको थियो । यसरी यात्रा गर्नेहरुले पछि यसलाई समाजमा ल्याएका थिए । र, यसले सबैभन्दा बढी गरिब वर्गलाई असर पारेको देखिन्छ ।

अब पछिल्लो समय विश्वलाई कहर बनेको कोरोनाको कुरा गरौँ । कोरोना पनि अधिकांश ठाउँमा विमानमा यात्रा गर्नेहरुबाट फैलिएको स्पष्ट भइसकेको छ । चीनको वुहानमा गत डिसेम्बारमा देखिएको कोरोना भाइरस पार्टीहरुबाट अझ बढी फैलिएको छ, ठूला मानिसहरुमा पुगेको छ । हवाइ जहाजमा यात्रा गरेको यो कोरोना भाइरस त्यसैले पनि गरिबले फैलाएको हुनै सक्दैन, यसलाई त धनीहरुले एक ठाउँबाट अर्को ठाउँमा लगेको प्रष्ट हुन्छ ।

नेपालमा अहिलेसम्म चार जना संक्रमित देखिएका छन् । अब उनीहरुबारे हेर्ने हो भने पनि दुई जना चीन र फ्रान्सबाट फर्किएका व्यक्ति भएको पुष्टि भएको छ । चीनमा वा फ्रान्समा पढ्न जाने व्यक्ति हाम्रो समाजमा गरिबीको रेखामुनि रहेका व्यक्ति पक्कै होइनन् । 

तर, यो महामारीले सबैभन्दा बढी असर चाहिँ गरिबीको रेखामुनि रहेका व्यक्तिलाई नै असर गर्ने प्रष्ट देखिन्छ ।

कोरोना कहरः ९० वर्षकी काजोदी निस्किइन् ४०० किमीको पैदल यात्रामा
फरकधार  |  २:८:४८

काजोदीले आफ्नो यात्रा सुरु गरेको अब तीन घन्टा भएको छ । अब प्रत्येक पाइलामा उनले लठ्ठीलाई दह्रो बनाएर टेक्नु पर्छ, पाखुरालाई बलियो बनाउनु पर्छ ।

जे गरेर होस्, उनले हिँड्न छोड्नु हुँदैन ।

उनी कति वर्षकी भइन् ? यो उनी आफैंलाई पनि थाहा छैन । तर, उनका आफन्तहरु भन्छन्– उनी ९० वर्षभन्दा बढी भइन् । 

त्यही परिवारको एउटा समूहसँग काजोदीले यो यात्रा तय गरेकी हुन् । अनि परिवारका सबैजना उनीभन्दा निकै अगाडि पुगिसकेका छन् । 

काजोदीको परिवार अहिले भारतको नयाँ दिल्लीको नोयडा सेक्टर १५ मा बस्छ । अनि परिवारका सबैले त्यहाँ ट्राफिकमा रोकिने गाडीमा खेलौनाहरु बेच्छन् । 

अब यो परिवारले यात्रा तय गरेको छ– ४ सय किलोमिटर टाढाको । राजस्थानको सवाइ मधुपुर भन्ने गाउँमा उनीहरु फर्किँदै छन् । 

अनि अहिले भारत छ, पूरै लकडाउनमा ।

त्यसैले उनीहरुले पूरै यात्रा पैदल गर्ने महत्वकांक्षा बनाएका छन् र निस्किएका छन् बाटोमा ।

अब काजोदीले आफ्नो अनुहार उठाउँछिन् अनि सोध्छिन्– अब पारी चोक कति टाढा छ ?

उनलाई उनकै समूहका एक पुरुषले जवाफ दिन्छन्– होला त्यस्तै २० किलोमिटर । विहान पैदल यात्रा सुरु गरेकी काजोदीले अहिलेसम्म जम्मा यात्रा गरेकी छन्– १० किलोमिटर । अनि पारी चोकबाट त गाडी भेट्ने आशामा उनीहरु अगाडि बढिरहेका छन् । तर, काजोदी र परिवारलाई यो पनि थाहा छ, देशभर अहिले सवारी साधन चलेका छैनन् ।

हिँड्दा हिँड्दै गलेकी छिन् काजोदी तर गलेको छैन उनको सपना । गलेको छैन उनको गन्तव्य र गलेको छैन उनको चाहना । कोरोना भाइरसको यो विश्वव्यापी महामारीले पनि गलाउन सक्ने छैन उनको त्यो गन्तव्यसम्मको यात्रा । 

केहीबेर विश्राम लिने मुडमा पुगेकी छिन्, काजोदी । उनी परिवारका सबैजनासँग बाटो छेउमा बस्छिन् । त्यही बेला प्रहरी आउँछन् र भन्छन्– अलिक टाढा टाढा बस्नु, हाम्रो हाकिमले देख्यो भने तिमीहरु सबैलाई पक्राउ गर्छन्, हाम्रो जागिर जान्छ ।

यी प्रहरीले यति के भनेका थिए, ९० वर्षकी काजोदी फेरि उठ्छिन् । दरिलो बनाउँछिन् आफूले टेकेको लठ्ठी र दरिलो बनाउँछिन् गन्तव्यमा पुग्ने आफ्नो सपना । 

अनि उनी हिँड्न थाल्छिन् । हिँडिरहन्छिन् ! उनले हिँड्न छोड्नु हुँदैन !
 

भारतीय म्यागजिन आउटलुकबाट

भारतमा ओडिसाका सबै सांसद क्वारेन्टाइनमा
फरकधार  |  १:७:५२

एजेन्सी– भारतमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या निकै बढेको छ । 

यहीबीच त्यहाँको ओडिशा राज्यका सबै विधानसभाका कर्मचारी तथा सांसदलाई क्वारेन्टाइनमा राखिएको छ । 

त्यहाँ विधानसभालाई सचिवालयमा पनि सिफ्ट गरिएको बताइएको छ । भारतीय मिडियामा आएको समाचार अनुसार उनीहरुले पछिल्लो समय भेटघाट गरेका केही व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

यस्तो हुन्छ कोरोना भाइरस, भारतीय वैज्ञानिकले जारी गरे तस्वीर
फरकधार  |  ०:४७:१५

एजेन्सी– भारतीय वैज्ञानिकहरुे पहिलो पटक सार्स सिओभी २ भाइरस (कोभिड १९) को सुक्ष्मतम (माइक्रोस्कोपिक) तस्वीर फेला पारेका छन् । वैज्ञानिकहरुको प्रयोगशालाका अनुसार भारतमा पहिलो पटक कोरोना संक्रमित देखिएका व्यक्तिबाट लिइएको स्याम्पलबाट यो तस्वीर सार्वजनिक गरिएको हो । आइजेएमआरको पछिल्लो एडिसनमा यसबारे प्रकाशित गरिएको छ । 

उता, भारतमा पछिल्ला २४ घन्टामा कम्तिमा पनि ७५ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । अनि यही समयमा चार जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ७ सय नाघेको छ ।

मुम्बईमा नवजात शिशुलाई पनि कोरोना
फरकधार  |  ०:९:२९

एजेन्सी– भारतको मुम्बईमा भर्खर जन्मिएका एक शिशुमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । उनलाई कोभिड १९ रोग देखिएको भारतीय सन्चार एजेन्सी पिटिआईले जनाएको छ । 

योसँगै अब मुम्बईमा १९ जना कोरोना संक्रमित भेटिएका छन् । 

नवजात शिशुमा कोरोना देखिएको यो पहिलो पटक हो । यसअघि विश्वमा भर्खर जन्मिएको बच्चामा कोरोना भाइरस संक्रमण देखिएको थिएन ।

इटालीमा अहिलेसम्मकै एक दिनमा सबैभन्दा बढीको मृत्यु
फरकधार  |  २२:४१:५०

एजेन्सी– कोरोना भाइरसको कहरले इटालीमा तत्काल नछोड्ने अनुमान गर्न थालिएको छ । यो अनुमान किन आएको हो भने त्यहाँ प्रत्येक दिन मृत्यु हुनेको संख्या बढ्दो छ । 

पछिल्ला २४ घन्टामा इटालीमा ९६९ जनाको मृत्यु भएको छ । 

विश्वमा फैलिएको कोरोना भाइरसका कारण एकै दिनमा मृत्यु भएको यो सबैभन्दा धेरै हो । यसअघि पनि इटालीमा नै एकै दिनमा ७४३ जनाको मृत्यु भएको थियो । 

अब इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९१३४ पुगेको छ । त्यहाँ पछिल्ला २४ घन्टामा ४४०१ जनालाई संक्रमण पनि देखिएको छ । अब इटालीमा ६६ हजार ४ सय १४ जना संक्रमित छन् । 

बेलायत सरकारका प्रमुख मेडिकल अफिसर नै आइसोलसनमा !
फरकधार  |  २२:३४:२८

बेलायत सरकारका प्रमुख मेडिकल अफिसर प्रोफेसर क्रिस विट्टी नै आइसोलेसनमा बसेका छन् । उनले ट्विटरमा एक ट्विट लेख्दै आफूलाई कोरोना संक्रमण भएको आशंकामा गत राति देखि आइसोलेसनमा बसेको जानकारी दिएका हुन् ।

प्रोफेसर विट्टीले बेलायतको सम्पूर्ण स्वास्थ्य रेस्पोन्स हेर्दै आएका थिए र उनी बेलायती सरकारका कार्यक्रमहरुमा प्रश्नको उत्तर दिन तयार हुन्थे । 

बेलायतमा यसअघि नै प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीलाई पनि कोभिड १९ भएको पुष्टि भइसकेको छ ।

कोरोना कहरः विश्वभर कन्डम अभाव हुने डर
फरकधार  |  २१:३०:३१

एजेन्सी–  अहिले विश्वभर कहर मच्चाइरहेको कोरोना भाइरसका कारण अब छिट्टै विश्वभर कन्डमको अभाव सिर्जना हुने अनुमान गर्न थालिएको छ । कन्डमको विश्वको सबैभन्दा ठूलो उत्पादकले उत्पादन बन्द गरेसँगै यो डर निम्तिएको बिबिसीमा उल्लेख गरिएको छ । 

कारेक्स बर्हाडका मलेसियामा भएका तीन उद्योगमा अहिले कन्डम उत्पादन रोकिएको छ । यो १० दिनदेखि बन्द भएपछि अहिले विश्वमा एक करोड कन्डम कम भइसकेको जनाइएको छ । कम्पनीका सिइओ मिहा कियाटले समाचार एजेन्सीहरुलाई बताएअनुसार अब कम्पनी कहिले खुल्छ भन्ने एकिन छैन ।

विश्वमा पाइने पाँचमध्ये एक कन्डम उत्पादन गर्ने यो कम्पनीले अहिले मलेशियाली सरकारसँग आफूहरुलाई खोल्न अनुमति दिन अनुरोध गरेको छ । अहिले मलेशियामा कोरोना भाइरस संक्रमणका कारण लकडाउन गरिएको छ । 

मलेशिया दक्षिण एशियामा सबैभन्दा बढी प्रभावित देश हो । त्यहाँ २१ सय जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने २६ जनाको मृत्यु भइसकेको छ ।

यसबीच मिहा कियाटले अहिले पनि माग पहिलेको भन्दा बढी भएको तर उत्पादन नै बन्द भएकाले भविष्यमा बर्बादीको समय आउनसक्ने बताएका छन् । 

कोरोना भाइरसः अमेरिकामा अन्तिम संस्कार लाइभ स्ट्रिमिङ
फरकधार  |  २०:५४:३३

कोरोना भाइरसका कारण बढ्दै गएको तनावबीच अब मृतकको अन्तिम संस्कारमा समेत समस्या देखिन थालेको छ । अमेरिकामा अन्तिम संस्कारमा पनि मानिसहरुलाई भेला नहुन भनिएको छ । 

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले यो नियम कडा रुपमा लागु गर्न अनुरोध गरेको छ । 

त्यसैले अब अमेरिकामा अन्तिम संस्कार पनि लाइभ स्ट्रिमिङको माध्यमबाट हुन थालेको छ । 

उता, इटालीमा चाहिँ एक घरका दुई जनामात्र अन्तिम संस्कारमा सहभागी हुन पाएका छन् । 

नेपालमा भेटिए कोरोनाका चौथों संक्रमित
फरकधार  |  १९:६:५३

काठमाडौं– नेपालमा कोरोना भाइरसका चौथों संक्रमित भेटिएका छन् । 

उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । उनको अवस्था स्थिर रहेको स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । 

यसअघि नेपालमा तीन जना संक्रमित भेटिइसकेका छन् । यीमध्ये एक जना ठिक भएर घर गएका छन् भने दुई जनाको काठमाडौंस्थित टेकु अस्पतालमा उपचार भइरहेको छ । 

बेलायती स्वास्थ्यमन्त्रीलाई पनि कोरोना !
फरकधार  |  १९:१:५७

एजेन्सी– कोरोना भाइरसले विश्वमा मच्चाइरहेको तहल्का तत्काल रोकिने छाँटकाँट देखिएको छैन । चीनबाट सुरु भएको कोरोना भाइरस अब युरोप र अमेरिकामा बढो समस्या बनेको छ ।

यसैबीच बेलायती स्वास्थ्यमन्त्री म्याट हानककलाई पनि कोरोना संक्रमण देखिएको छ । 

उनी कोरोनाका लक्षण देखिएपछि घरमा नै आइसोलेसनमा रहेका छन् । यसअघि आजै बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोना भाइरस संक्रमण देखिएको थियो । 

बेलायतमा क्याबिनेटका मन्त्रीहरुमा कोरोना देखिएको उनी तेस्रो व्यक्ति हुन् । 

फेरि गरिएको परीक्षणमा पनि कनिकालाई देखियो कोरोना
एजेन्सी  |  १८:५६:५९

बलिउड गायिका कनिका कपुरको तेस्रो पटक गरिएको परीक्षणमा पनि उनलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

सन्जय गान्धी पोस्ट ग्र्याजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स लखनउमा उनको तेस्रो पटक कोरोना भाइरस परीक्षण गरिएको थियो । 

गायिका कनिका कपुर गत शुक्रबार त्यति बेला चर्चामा आइन् जब उनमा कोरोना भाइरस संक्रमण भएको खबर बाहिर आयो । उनको जाँच रिपोर्ट पोजेटिभ आएपछि उनी सहभागी कार्यक्रमहरुबारे पनि चर्चा गर्न थालियो । 

उनले योबीचमा केही सार्वजनिक कार्यक्रममा सहभागिता जनाएकी थिइन् । 

लखनउमा उनी सहभागी एक पार्टीमा राजस्थानकी पूर्वमुख्यमन्त्री वसुन्धरा राजे, उनका छोरा तथा सांसद दुष्यन्त सिंह, उत्तर प्रदेशका स्वास्थ्यमनत्री जय प्रताप सिंहजस्ता भिआइपी प्रोफाइल पनि सहभागी थिए । अहिले उनीहरु सबै सेल्फ आइसोलेसनमा बसेका छन् ।

कर्मचारीमा कोरोना देखिएपछि रुसी राष्ट्रपति पुटिनलाई पनि कोरोना भएको आशंका !
फरकधार  |  १८:४७:२२

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि कोरोना संक्रमण भएको आशंका गरिएको छ । 

अन्तर्राष्ट्रिय सन्चारमाध्यममा आएका समाचारअनुसार उनका प्रशासनिक स्टाफमध्ये एकजना कोरोना भाइरस संक्रमित पाइएका छन् । यही आधारमा पुटिनलाई पनि कोरोना भाइरस भएको हुनसक्ने आशंका गरिएको हो । 

तर, उनका प्रेस संयोजकले चाहिँ ६७ वर्षका पुटिन अहिले पनि दैनिक काम गरिरहेको बताएका छन् । ‘उनमा कुनै लक्षण देखिएको छैन,’ उनले भनेका छन् । 

रुसमा शुक्रबार एकै दिनमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । रुसी अधिकारीहरुका अनुसार शुक्रबार त्यहाँ १९६ नयाँ संक्रमित भेटिएका छन् । योसँगै रुसमा अब १०३६ जनामा कोरोना संक्रमण देखिएको छ । रुसमा अहिलेसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भइसकेको छ । 

न्यूयोर्कमा कोरोनाबाट निधन भएका नर्सको बहिनीलाई चिठी– बआमालाई नभन्नू, आत्तिन्छन् !
फरकधार  |  १६:०:२८

म्यहाट्टन अस्पतालमा किअस केलीले काम गर्न थालेको धेरै भएको थिएन । त्यहाँ नर्सिङ म्यानेजरको जिम्मेवारीमा रहेका केलीले १८ मार्चमा आफ्नी बहिनीलाई विश्वमा छाना खसेको प्रतीत गराउने किसिमको मेसेज गरेका थिए । 

उनले लेखेका थिए– मलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । 

अनि अर्को मेसेज पठाएका थिए– म अहिले आइसियूमा छु । 

त्यसपछि उनलाई बहिनीको तारान्तार फोन आएको थियो । त्यो फोनलाई उनले उठाएनन्, त्यसको पनि मेसेज नै लेखे– म बोल्न सक्दिनँ, मेसेज गर्न सक्छु ।

उनी आइसियुमा थिए । उनले बहिनीलाई मेसेज पठाइरहेका थिए । र, उनले फेरि मेसेज पठाए– बआमालाई नभन्नू, उनीहरु आत्तिन्छन् !

१८ मार्चमा केली र उनकी बहिनी मारिया पाट्रिस शेरोनबीच यही कुराकानी भयो । 

अनि यही नै शेरोनलाई दाइको अन्तिम मेसेज पनि भयो । एक साता पनि नबित्दै केलीको निधन भयो । योबीचमा शेरोनले आफ्नो मोबाइलबाट लगातार केलीलाई मेसेज गरिरहेकी थिइन् । तर, कुनै पनि मेसेजको जवाफ आएन । 

४८ वर्षका केली माउन सिनाइ वेस्टमा कार्यरत थिए । उनी नै न्युयोर्कमा कोरोना भाइरसका कारण मृत्यु हुने पहिलो नर्स हुन् । 

उनकी बहिनीले उनलाई कहिलेकाहीँ दम देखिने गरेको तर अरु स्वास्थ्य समस्या नभएको बताएकी छिन् । ‘उसको मृत्यु रोक्न सकिन्थ्यो,’ शेरोनले फेसबुकमा लेखेकी छिन्, ‘मलाई रिस उठेको छ, ऊ स्वस्थ्य थियो ।’

अस्पतालमा उनका साथीहरु पनि रिसाएका छन् । उनीहरुको गुनासो छ– उनीहरुले आवश्यक पिपिई पाएका छैनन् । कतिपयले आफूहरुले कोरोनाविरुद्ध लड्न मास्कसमेत नपाएको गुनासो गरेका छन् । 

कोरोनाविरुद्ध भारतीय सेना, लन्च गर्‍याे अपरेसन नमस्ते
एजेन्सी  |  १४:४८:१०

एजेन्सी– कोरोना भाइरसविरुद्ध अब भारतीय सेना पनि मैदानमा आएको छ । सेनाले अपरेसन नमस्ते लन्च गरेको छ । भारतीय सेनाका प्रमुख एमएम नरवणेका अनुसार महामारीविरुद्ध लड्नका लागि सेनाको जिम्मेवारी सरकारलाई सहयोग गर्नु भएको बताएका छन् ।

उनले अहिले बिदामा बसेका सेनालाई पनि छुट्टीमा नबस्न अनुरोध गरेका छन् । उनले अपरेसन नमस्तेले कोरोनालाई जित्ने विश्वास लिएको पनि बताएका छन् । 

अनि सँगसँगै सेना पनि फिट र सुरक्षित रहनमा ध्यान दिनु पर्ने उनले जोड दिएका छन् । 

बेलारुसलाई कुनै फिक्री छैन कोरोनाको
फरकधार  |  ११:११:१९

केही दिन यता युरोप कोरोना भाइरस महामारीको केन्द्र बनेको छ । कयौँ देशमा सरकारले प्रतिबन्धहरु लगाएको छ, देशहरुमा लकडाउन भएको छ । तर, यसबीच पनि युरोपको एउटा देशमा यसबारे कुनै ध्यान दिइएको छैन । 

न त्यहाँको सरकारले कुनै प्रतिबन्ध लगाएको छ न कुनै सामाजिक कार्यक्रमहरु स्थगित नै भएका छन् । 

छिमेकी देशहरु युक्रेन र रुसले समेत कडा प्रतिबन्ध लगाइसक्दा पनि बेलारुसमा चाहिँ यसबारे कुनै कदम उठाइएको छैन । सरकारले केही भनेका छैन, त्यहाँका जनताहरु खेलहरुमा सहभागी भइरहेका छन्, पार्टी गरिरहेका छन् । 

युक्रेनमा कोरोना संक्रमण रोक्न संकटकाल घोषणा भइसकेको छ । रुसले आफ्ना स्कुलहरु बन्द गरेको छ, सार्वजनिक कार्यक्रमहरुमा प्रतिबन्ध लगागएको छ र विदेशबाट आउने सबै उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । 

तर, बेलारुसमा यो कोरोना भाइरसका कारण कुनै परिवर्तन देखिएको छैन, आम दिनहरुजस्तै मानिसहरु समय बिताइरहेका छन् ।

बेलारुसका सीमाहरु पहिलेजस्तै खुलेका छन्, मानिसहरु काम गर्न गइरहेका छन् र त्यहाँका सपिङ स्टोरहरुमा अरु देशमा जस्तो भीडभाड भएको छैन ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले अहिले देशमा कोरोनाका कारण कुनै कदम चाल्न आवश्यक नभएको बताएका छन् । मंगलबार त्यहाँको राजधानी मिंस्कमा चीनका राजदूत भेटेर उनले भनेका छन्, ‘घटनाहरु त हुन्छन् तर यसका कारण मानिसहरुमा ठूलो समस्या भएको हेर्न हामीलाई मन छैन ।’

उनले नै त्यहाँका सिनेमा घर बन्द गरेका छैनन्, सार्वजनिक कार्यक्रमहरु पनि निर्वाद रुपमा चलाउन भनेका छन् । 

बेलारुसमा अहिले विश्वभरका फुटबल प्रतियोगिता रद्द हुँदा पनि फुटबलका खेलहरु भइरहेका छन् ।

राष्ट्रपति लकाुशेन्कोले केही दिनअघि मात्र भनेका थिए, ‘कोरोना भाइरसलाई त एउटा ट्र्याक्टरले रोक्नेछ ।’ बेलारुसका सामाजिक सन्जाल प्रयोगकर्ताले उनको यो अभिव्यक्तिको निकै आलोचना गरेका थिए । 

तर, राष्ट्रपतिले चाहिँ खेतमा मेहनत गर्न जनतालाई अनुरोध गर्न यस्तो वाक्य बोलेको बताएका थिए । उनले मानिसहरुलाई मदिरा नपिउने भए पनि कोरोना रोक्न एक पेग भए पनि भोड्का पिउन अनुरोधसमेत गरेका थिए ।

उता, त्यहाँका जनता चाहिँ घरबाट बाहिर निस्कन छोडिरहेका छन् । तर, राष्ट्रपतिले उनीहरुलाई भनेका छन्– विदेशबाट आउने सबैको चेकजाँच गरिएको छ, जसमा कोरोना भाइरस देखिएको छ, उनीहरुलाई १५ दिन क्वारेन्टाइनमा राखेर मात्र छोडिएको छ ।

विश्वमै सरकारहरु कडा भएनन् भने कोरोनाका कारण करोडौंको मृत्यु हुन्छ
फरकधार  |  ७:१३:१८

एजेन्सी– विश्वभरका सरकारहरुले अझ कडा कदम उठाएनन् भने कोरोनाको लडाइँसँग विश्वले हार्ने विश्वका वैज्ञानिकहरुले बताएका छन् । त्यसैले उनीहरुले तत्काल सरकारहरुलाई अझ कडा कदम उठाउन निर्देशन दिएका छन् । सरकारले यस्तो नगरेको खण्डमा करोडौं मानिसको ज्यान जानसक्ने पनि उनीहरुले चेतावनी दिएका छन् । 

यस्तो निष्कर्ष निकाल्दै चेतावनी दिएको कोरोनाबारे अध्ययन गरिरहेको बेलायती टिमले हो । यो समूहका वैज्ञानिकहरुले तत्काल सरकारहरुले अझ कडा कदम उठाउनु पर्ने बताएका छन् ।

यसअघि पनि कोरोनाभाइरसबारे जानकारी दिँदै आएको इम्पेरियल कलेजका वैज्ञानिकहरुले आफ्नो एक अध्ययनअनुसार यस्तो बताएका हुने । उनीहरुले अहिले नै सरकारहरु गम्भीर भएमा तीन करोड मानिसको ज्यान बचाउन सकिने समेत बताएका छन् । 

ती वैज्ञानिकहरुले विकासशील देशमा यो खतरा २५ गुणा बढी हुने पनि देखाएका छन् ।

कोरोना भाइरसः चीन र इटालीलाई पछाडि पार्दै अमेरिका अगाडि
फरकधार  |  ७:५:१५

एजेन्सी– विश्वभर फैलिएको कोरोना भाइरसका संक्रमितको संख्यामा अब अमेरिका अगाडि भएको छ । अमेरिकामा शुक्रबार विहान कोरोना संक्रमितको संख्या ८३५०० पुगेको छ । 

यो अहिलेसम्म कुनै पनि देशमा सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा ८१७८२ र इटालीमा ८०५८९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमितको संख्या धेरै भए पनि कोरोनाकै कारण ज्यान गुमाउने संख्या चाहिँ इटालीको धेरै छ । त्यसपछि चीनको छ । अमेरिकामा अहिलेसम्म १२०० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । इटालीमा यो संख्या ८२१५ पुगेको छ । तर, कोरोनाको उद्गम मानिएको चीनमा यसका कारण ३२९१ जनाले मात्र ज्यान गुमाएका छन् । अहिले चीनमा कोरोनाका नयाँ संक्रमित भेटिने क्रम घट्दो छ ।

कोरोना संक्रमित बढ्दै जाँदा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब छिट्टै देश पुरानै लयमा फर्किने बताउँदै आएका छन् । उनले अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित पार्ने भएकाले अहिले तत्काल लकडाउन नगर्ने पनि बताउँदै आएका छन् ।

अमेरिकाको समयअनुसार बिहिबार साँझ यो नयाँ संक्रमितको संख्याबारे पत्रकारहरुले राखेको प्रश्नमा ट्रम्पले आफूहरुले परीक्षण धेरै गरेकाले धेरैमा कोरोना भाइरस देखिएको बताएका छन् । यतिमात्र होइन, उनले चीनको एकिन संख्या थाहा नभएकाले अमेरिकी संख्या धेरै देखिएको हुनसक्ने आशंका पनि गरेका छन् ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चाहिँ अब अमेरिकाका सबै ५० प्रान्तमा कोरोना परीक्षण गर्न सकिने बताएका छन् ।

उता, अमेरिकी अस्पतालहरुमा अहिले थेग्न सक्नेभन्दा धेरै बिरामी भएको रिपोर्ट आइरहेका छन् । न्युयोर्कका मेयर एन्ड्र्यु क्योमोले यसअघि नै न्युयोर्कमा कोरोना बुलेट ट्रेनभन्दा छिटो विस्तार भइरहेको प्रतिक्रिया दिएका थिए ।

हो, सालकबाट नै सरेको रहेछ मानिसमा कोरोना भाइरस !
फरकधार  |  २२:४:५३

अहिले कोरोना भाइसले विश्वमा तहल्का मच्चाइरहेको छ । विश्वका धेरै देशहरुमा अहिले लकडाउनको अवस्था छ । अनि वैज्ञानिकहरु अहिले कोरोना भाइरस मानिसमा कसरी सरेको रहेछ भन्नेबारे अध्ययन गरिरहेका छन् । 

यहीबीच चीनमा व्यापक तस्करी हुने सालकमा पनि त्यही भाइरस देखिएको छ जुन अहिले मानिसमा सरिरहेको छ र विश्वलाई रुवाइरहेको छ ।

एउटा अन्तर्राष्ट्रिय टिमले सालक लगायतका जंगली जनावर अब बेचबिखन हुन छोड्नु पर्ने निष्कर्ष निकालेको छ । अन्यथा यस्ता जनावरबाट यस्तै खतरानाक रोग बारम्बार मानिसमा देखिने बताइएको छ । अनि यही समूहले चमेरो पनि कोरोना भाइरस संक्रमण फैलाउन जिम्मेवार रहेको निष्कर्ष निकालेको छ ।

थम्प्सडाउन स्वास्थ्यमन्त्रीज्यू !
फरकधार  |  २१:४०:४९

काठमाडौं– विश्व कोरोना भाइरससँग लडिरहेको छ । यही बेला यस्तो शीर्षकमा समाचार पढ्न सायदै कसैलाई महत्वको विषय वा चासोको विषय होला । 

तर, फरकधारले काठमाडौंमा केही व्यक्तिहरुसँग कुराकानी गरेको छ । नेपाल सरकारले लकडाउन घोषणा आज तेस्रो दिन हो । यही दिन हामीले बानेश्वर वरपर केही व्यक्तिहरुसँग कुराकानी गरेका थियौँ । 

हामीले गर्न खोजेको कुराकानी त लकडाउन अनुभवको थियो । 

तर, अधिकांश व्यक्तिहरु जसलाई हामीले भेट्यौँ, उहाँहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकालबारे कुराकानी गर्नुभयो । यो किन पनि होला भने बिहिबार विहानदेखि स्वास्थ्यमन्त्री सामाजिक सन्जालमा भाइरल छन् ।

कपिल काफ्ले खासमा चितवनका हुन् । तर, उनले काठमाडौंमा बस्न थालेको अब केही वर्ष भइसकेको छ । छोराछोरी र आफ्नै पनि भविष्यका लागि उनी काठमाडौं बस्न थालेको अब ८ वर्र्ष भइसकेको छ । 

बिहिबार दिउँसो उनी नयाँ बानेश्वरबाट पुरानो बानेश्वरतिर जाँदै थिए ।

‘घरमा पकाउने तेल सकिएको छ,’ उनले भने, ‘त्यही भएर म तेल लिन हिँडेको  । अहिलेसम्म पाएको छैन । म मुख्य सडकमा हिँडेकाले मात्र होला, केही पर जान्छु भनेर हिँडेको, यो लकडाउनमा केही भए पनि एक्सरसाइज हुने थियो ।’

उनले भनेजस्तै काठमाडौंका मुख्य सडकहरुमा नेपाल लकडाउनको तेस्रो दिन पनि सुनसान थियो । भित्र केही पसलहरु खुलेका छन् । तर, यो क्षेत्रमा बुधबार प्रहरीले माइकिङ गरेको थियो, राति २ बजेदेखि विहान ७ बजेसम्म मात्र पसल खोल्न भनेको छ ।

त, कपिलले यही कुरामात्र गरेनन् । उनी हातमा मोबाइल लिएर हिँडिरहेका थिए । उनले फेरि भने, ‘विश्वमा यत्रो महामारी लागेको छ, तर, हाम्रा स्वास्थ्यमन्त्रीले जे भनेका छन्, त्यसले उनको मुखमा सबैभन्दा पहिले महामारी लगाउनु पर्ने देखिएको छ ।’

अब जाऔँ, स्वास्थ्यमन्त्रीको मुख किन लकडाउन गर्नुपर्छ भन्नेतिर ! 

किनकि उनी पछिल्लो समय जे बोलिरहेका छन्, त्यो हामीले सुन्न चाहेको कुरामात्र होइन, राष्ट्रकै लागि घातक छ ।

मन्त्रीले भनेका छन्, ‘पिपिई भान्सामा खाना पकाउन चाहिनेजस्तो भयो ।’

हो, भाइरल भिडियोमा यही अभिव्यक्ति सुन्न पाइन्छ । त्यसमाथि उनले त पिपिई भनेको त बल्ल सुनेका रहेछन् । अर्थात्, स्वास्थ्यकर्मीका लागि अहिले सबैभन्दा आवश्यक कुरा उनले सुनेका रहेनछन् । उनले अर्थात् स्वास्थ्यमन्त्रीले ।

के यो गम्भीर कुरा होइन ? जसले देशमा कोरोना भाइरस संक्रमणका लागि सबैभन्दा धेरै यस विषयमा चनाखो हुनुपथ्र्यो, उसैले यस विषयमा सुनेको छैन भन्न सुहाउँछ ?

यही कारण, हामीले भन्न छुटाउनु हुँदैन– थम्प्सडाउन स्वास्थ्यमन्त्रीज्यू !

भारतमा निःशुल्क ग्यास सिलिन्डर दिने सरकारको घोषणा
फरकधार  |  १५:३७:४५

भारतकी वित्तमन्त्री निर्मला सीतारमणले २० करोड गरिब महिलाको खातामा तीन महिनासम्म ५–५ सय रुपैयाँ सरकारले दिने बताएकी छिन् । यो पैसा मातृत्व तथा महिला कल्याणलाई ध्यानमा राखेर दिन लागिएको हो ।

उनले गरिब परिवारका ८ करोड महिलालाई उज्जवला योजनाअनुसार मोदी सरकारले एलपिजी ग्यास सिलिन्डिर उपलब्ध गराउने पनि बताएकी छिन् । उनीहरुलाई अब तीन महिनासम्म निःशुल्क ग्याँस दिन लागिएको हो ।

इटाली र चीनपछि सबैभन्दा धेरै संक्रमित अमेरिकामा
एजेन्सी  |  १०:१३:५८

कोरोना भाइरसका कारण सबैभन्दा धेरै संक्रमित देशमा परेको छ, अमेरिका । अमेरिकामा अब कोरोना संक्रमितको संख्या ६८५७२ जना पुगिसकेको छ । जोन हप्किन्स विश्वविद्यालयले तयार पारेको डाटा अनुसार अमेरिकामा अझ लाखौँमा संक्रमण हुने देखिएको छ ।

योसँगै अमेरिका इटाली र चीनपछि सबैभन्दा धेरै संक्रमित भएको देश बनेको छ । 

कोरोनाका कारण अमेरिकामा एकै दिन २०० बढीको मृत्यु
एजेन्सी  |  १०:१:४३

एजेन्सी– कोरोना भाइरसले अमेरिकामा अहिले निकै सताइरहेको छ । त्यहाँ कम्तिमा पनि ६६ हजार मानिसमा यो संक्रमण फैलिइसकेको छ । 

अनि बुधबार एकै दिन अमेरिकामा २२३ जनाभन्दा बढीको मृत्यु भएको रिपोर्ट आएको छ । मंगलबार अमेरिकामा १६४ जनाको मृत्यु भएको थियो ।

जनवरीमा पहिलो पटक कोरोना देखिएको अमेरिकामा अहिलेसम्म ९४४ जनाको मृत्यु भइसकेको छ । चार दिन अघि अर्थात् आइतबारसम्म त्यहाँ ३२६ जनाको मात्र मृत्यु भएको थियो ।
 

कोरोना संक्रमणपछि मृत्यु हुने सम्भावना कति हुन्छ ?
फरकधार  |  ९:५६:१९

बेलायती सरकारका वैज्ञानिक सल्लाहकारहरुले भनेका छन् कि कोरोना भाइरस संक्रमण भएको कारण मृत्यु हुने सम्भावना केवल ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म मात्र हुन्छ ।

कोरोना संक्रमणको विषयमा यो मृत्युदर कम हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा यो भाइरसका कारण मृत्यु हुनेको दर अहिले ४ प्रतिशत देखिएको छ । २३ मार्चसम्म बेलायतमा पनि यो दर अलिक माथि थियो । त्यो हो– ५ प्रतिशत । यस्तो किन भएको थियो भने त्यहाँ सबै मानिसमा कोरोना भएको पुष्टि थिएन ।

कोरोना भाइरस संक्रमणको सुरुवातमा कसको टेस्ट हुने र कसको नहुने भन्ने कुराले पनि यो कुरा निर्धारण गर्छ । त्यसैले पनि विभिन्न देशमा यसबारे फरक फरक धारणा रहेको छ । त्यसैले विभिन्न देशबाट आएका यी तथ्यांक भ्रामक हुनसक्छन् ।

त्यसमाथि कसैको पनि मृत्यु दर व्यक्तिको उमेर, स्वास्थ्य तथा स्वास्थ्य सेवामा उसको पहुँचले निर्धारण गरेको हुन्छ ।

जानकारहरुका अनुसार कोरोना लागेका व्यक्तिको मृत्यु त्यस्ता व्यक्तिहरुमा बढी हुन्छ जो बुढा छन् वा जसलाई पहिले नै अरु समस्या छ ।

लन्डनको इम्पेरियल कलेजको ताजा तथ्यांक तथा अनुमानका अनुसार ८० वर्षभन्दा मानिसको मृत्यु दर अहिले १० गुणा बढी देखिएको छ । जबकी ४० वर्षभन्दा तलका मानिसमा यो कम देखिएको छ ।

अब पहिलो पटक चीनमा कोरोना भाइरस संक्रमण भएका ४४ हजार मानिसको विश्लेषण गरिएको छ । यसमा उनीहरुलाई पहिले नै मधुमेश, उच्च रक्तचाप, मुटुको रोग तथा सासको बिमारी भएको खण्डमा उनीहरुको मृत्युदर पनि पाँच गुणा बढी देखिएको छ । 

काठमाडौंका टोलटोलमा प्रहरीको माइकिङ– पसल राति २ बजेदेखि विहान ७ बजेसम्म मात्र खोल्नु
फरकधार  |  १८:३०:४

काठमाडौं– कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनमा अब पसल खोल्ने समय तोकिएको छ । बुधबार दिउँसो प्रहरीले बानेश्वर आसपासका विभिन्न क्षेत्रमा गएर माइकिङ गरेको छ । 

प्रहरीले खाद्यान्न तथा अन्य पसलहरुलाई पनि राति दुई बजेदेखि विहान सात बजेसम्म मात्र पसल खोल्न अनुरोध गरेको छ । 

‘भर्खर प्रहरी आएर यस्तो आदेश दियो,’ बानेश्वरमा रहेको लुम्बिनी किराना पसलका सन्चालकले भने, ‘राति २ बजेदेखि विहान सात बजेसम्म मात्र पसल खोल्नु भन्ने प्रहरीको भनाइ छ ।’ उनले सरकारले खाद्यान्न पसलहरु दिनभर खुला राख्न गृहमन्त्रालयका प्रवक्ताले भनेको भए पनि प्रहरीले आएर यस्तो भनेपछि आफूले मानेर पसल बन्द गरेको जनाए ।

प्रहरीले यस्तो भनेपछि बानेश्वर आसपासका सबै पसलहरु बन्द भएका छन् । बानेश्वरबाट पुरानो बानेश्वर जाने बाटोमा प्रहरीले बुधबार साँझ चार बजेतिर यस्तो माइकिङ गरेको थियो । त्यही क्रममा केही पसलका सटरसमेत प्रहरीले नै तानिदिएको थियो ।

कोरोना भाइरसको डाटा ट्र्याक गर्ने नेपाली सिस्टम
फरकधार  |  १८:२३:३

काठमाडौं– विश्व अहिले कोरोना भाइरसको संक्रमणका कारण निकै त्रसित भइरहेको छ । यही कारण विश्वभर कोरोना भाइरसबारे अनेक अफवाह पनि फैलिइरहेका छन् । अनि बेलाबेलामा विश्वमा कोरोना संक्रमित, कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या तथा ठिक भएका बिरामीबारे पनि गलत सूचना आइरहेका हुन्छन् ।

यही कुरालाई ध्यानमा राखेर प्रिक्सा टेक्नोलोजिजको ख.बर सलुसनले नेपालीलाई सहज होस् भनेर नयाँ सिस्टम डेभलप गरेको छ । यसमा नेपालको जिल्लाको नक्सासहित कोरोना भाइरसबारे सम्पूर्ण विवरण हेर्न पाइन्छ ।

नेपालको मात्र होइन, यो सिस्टममा विश्वका सबै देशमा कोरोनाका कारण भएको संक्रमण, मृत्यु तथा निको भएका बिरामीबारे आधिकारिक तथ्यांक लिन सकिन्छ । 

कोरोनानेपालडटलाइभ  (https://coronanepal.live/) मा गएर विश्वभरको तथ्यांक हेर्न सकिन्छ । प्रिक्सा टेक्नोलोजिजका सिइओ मनिष कु. शर्माले यो सिस्टमले आधिकारिक तथ्यांक हेर्न मिल्ने र सतर्क रहन सहयोग गर्ने बताउँछन् । ‘डाटालाई चित्रमा हेर्दा त्यसको महत्व अझ बढ्ने हुनाले नेपालकै सीमा रेखांकन राखेर यो सिस्टमको निर्माण गरेका हौँ,’ उनी भन्छन् ।

तथ्यांकका साथासाथै यो सिस्टमले कोरोना भाइरससम्बन्धी विभिन्न आधिकारिक नेपाली अनलाइन पोर्टलमा आएका समाचारलाई पनि खोजेर राख्ने गरेको छ । यो सिस्टम, कम्प्युटर, मोबाइल, ट्याब्लेट तथा अन्य माध्यमबाट सहजै हेर्न मिल्छ । अहिले नेपाल लकडाउनमा रहेको समयमा यसबारे सूचना छिटो र आधिकारिक रुपमा बाहिर आउन सक्ने विश्वास प्रिक्साले लिएको छ ।

मलेशियामा लम्बियो लकडाउन
फरकधार  |  १५:७:४२

एजेन्सी– मलेशियाले आफ्नो देशमा लकडाउनलाई लम्ब्याएको छ । अब थप दुई साता लामो लकडाउन गर्ने त्यहाँको सरकारले जनाएको हो । यसअघि पनि मलेशियाले दुई साता लामो लकडाउन गरेको थियो । 

कोरोना भाइरसका कारण दक्षिण पूर्वी एशियामा सबैभन्दा धेरै प्रभावित देशमध्ये एक हो, मलेशिया । त्यहाँ अझै पनि दैनिक संक्रमितको संख्या बढिरहेको छ ।

तर, युरोप र अमेरिकाको तुलनामा यो अत्यन्त कम छ । त्यहाँ १७२ जना नयाँ संक्रमित देखिँदा संक्रमितको संख्या १८ सय पुगेको छ । अहिलेसम्म मलेशियामा १७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

अरु देशमा भन्दा जर्मनीमा कोरोनाका कारण हुने मृत्यु किन कम छ ?
फरकधार  |  १४:४२:४३

बर्लिन– चार साताअघिको मात्र कुरा हो । सरुवा रोग विशेषज्ञहरुलाई अधिकांशले सोधिरहेको एउटै प्रश्न थियो– अरु देशको तुलनामा जर्मनीमा किन कम मानिसहरुको मृत्यु भइरहेको छ ? 

यो युरोपकै अरु देशको तुलना गरेर सोधिएको प्रश्न थियो । 

किनकि इटालीमा कोरोना भाइरस संक्रमित ९.५ प्रतिशत मानिसहरुको मृत्यु भएको थियो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा पनि अहिलेसम्म कोरोना संक्रमित ४.३ प्रतिशत मानिसको मृत्यु भएको छ । तर, जर्मनीमा यो ०.४ प्रतिशत मात्र छ । 

यो फराकिलो अन्तर एउटै कारणले भएको विशेषज्ञहरु मान्छन् । उनीहरुका अनुसार जर्मनीले सुरुवाती चरणमा जुन काम देखायो, जसरी कोरोना भाइरसको परीक्षण गर्यो, त्यसले गर्दा निकै फरक परेको छ । जर्मनीले संक्रमण भेटिएको केही दिनमा नै निकै सुक्ष्म तरिकाले परीक्षण सुरु गर्न थालेकाले पनि यस्तो भएको हो । 

अरु देशले चाहिँ निकै क्रिटिकल भइसकेका र लक्षण देखिएका मानिसहरुमा मात्र परीक्षण गर्न थाल्यो । यसले गर्दा अरु देशमा भन्दा जर्मनीमा मानिसहरुको उपचार समयमा हुन थाल्यो। 

‘सुरुमा जब हामीसँग अत्यन्त कम केसहरु थिए, हामीले मानिसहरुलाई राम्रोसँग आइसोलेसनमा राख्न थाल्यौँ,’ रेनहार्ड बुसले भनेका छन्, ‘यही नै मुख्य कारण हो ।’ बुस बर्लिन विश्वविद्यालयका स्वास्थ्य विभागका प्रमुख हुन् ।

अर्कोतिर, मंगलबार दिउँसो सम्मको तथ्यांकलाई हेर्ने हो भने फ्रान्समा भन्दा धेरै कारोना संक्रमित जर्मनीमा देखिएका छन् । तर, अझै पनि कोरोनाका कारण मृत्यु हुनेको संख्या जर्मनीमा फ्रान्सको तुलनामा निकै कम छ ।

भारतको क्याबिनेट बैठकमा सोसल डिस्टेन्सिङ
एजेन्सी  |  १३:४८:४१

एजेन्सी– कोरोना भाइरसको कहरबीच भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले क्याबिनेट बैठक बोलाएका छन् । बुधबार बसेको यो बैठकमा मन्त्रीहरु कम्तिमा पनि दुई मिटर टाढा बसेका छन् । 

भारतमा मोदीले बारम्बार मानिसहरुलाई सोसल डिस्टेन्सिङ पालना गर्न अनुरोध गरिरहेका छन् ।

उनले अहिलेसम्म कोरोनाको विषयमा गरेको दुई सम्बोधनमा पनि यसबारे कुरा उठाएका थिए । भारतमा आजबाट २१ दिनका लागि लकडाउन आह्वान गरिएको छ । 

नेपालमा तेस्रो व्यक्तिमा देखियो कोरोना
फरकधार  |  १३:६:२

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारीले पुष्टि गरेका छन्।

योसहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका छन्।

प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार ३०-३१ वर्षका ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन्।

चीनमा फेरि भेटिए कोरोना संक्रमित
फरकधार  |  ७:५१:२२

एजेन्सी– केही दिनयता कोरोना भाइरस संक्रमण सुरु भएको चीनको वुहानबाट खुसीको खबर आइरहेका थिए । त्यहाँ पछिल्ला केही दिन नयाँ संक्रमितहरु नभेटिएका समाचारले विश्वभर कोरोना भाइरस नियन्त्रणमा लिन सकिने आशा जगाएका थिए ।

तर, मंगलबार फेरि चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुका अनुसार मंगलबार चीनमा ४७ जना नयाँ संक्रमित भेटिएका हुन् । 

त्यसो त केही दिनयता चीनले आफ्नोमा कोरोना भाइरस संक्रमित नभेटिएको बताए पनि विदेशबाट आउने केहीलाई कोरोना भाइरस देखिएको बताउँदै आएको छ ।

चीनमा अब विस्तारै जीवन सामान्य हुँदै गइरहेको छ, बेइजिङमा चिडियाघर खुल्न थालेका छन्, वुहानमा पनि विद्यार्थीहरु ५८ दिनको लकडाउन पछि विद्यालय फर्किन थालेका छन् ।

अष्ट्रेलियामा पनि ह्वात्तै बढे कोरोना संक्रमित
एजेन्सी  |  ७:३३:५३

एजेन्सी– अष्ट्रेलियामा गत सातासम्म कम मानिसमा देखिएको कोरोना संक्रमण अहिले धेरैमा देख्न थालिएको छ । गत सातासम्म त्यहाँ ६ सय जनामा मात्र कोरोना संक्रमण देखिएको थियो । तर, यो साताका चार दिनमा नै यो संख्या बढेर २३०० पुगेको छ । 

‘हामी कोरोना संक्रमण दरका कारण निकै आत्तिएका छौँ, यो निकै छिटो फैलिएको छ,’ अष्ट्रेलियाका प्रमुख मेडिकल अफिसर डा. ब्रेन्डान मर्फीले अष्ट्रेलियालीहरुलाई बताएका छन् ।

आजबाट अष्ट्रेलियामा कडा नियमहरु लागु भएका छन् । मानिसहरुले विवाह र मलामी जाँदा पनि यी नियमको पालना गर्नु पर्ने हुन्छ । अष्ट्रेलियाका विभिन्न पसलहरुलाई पनि सरकारले बन्द गर्न निर्देशन दिएको छ । 

प्रधानमन्त्री स्कट मोरिसनले केही समयका लागि घरमै पनि भीडभाड नगर्न र कुनै उत्सव मनाउने नाममा धेरै मानिस भेला नहुन छोड्न अनुरोध गरेका छन् । 

अष्ट्रेलियाको सिड्नीको न्यु साउथ वेल्समा अहिले सबैभन्दा धेरै संक्रमित देखिएका छन् । त्यहाँ एक हजारभन्दा धेरैमा कोरोना संक्रमण भएको छ । त्यहाँ एक सात वर्षे बालिका र दुई महिने बालकमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।

कोरोना भाइरसबारे अफवाह बढी, लकडाउन गर्नै पर्दैनः ब्राजिलियन राष्ट्रपति
एजेन्सी  |  ७:१३:१५

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले अझै पनि कोरोनाबारे भ्रम फैलाएर विश्वमा लकडाउन गरिएको बताएका छन् । अनि उनले ब्राजिलमा सबै कुरा खुला रहेको बताएका छन् । उनले विश्वका देशहरुले कोरोना भाइरसबारे भ्रम फैलाउन अत्यन्त धेरै उपाय अपनाएको आरोप पनि लगाएका छन् ।

बारम्बार विवादमा आइरहने बोल्सोनारोले कोरोना भाइरस मिडियाका कारण अत्यन्त धेरै चिन्ताको विषयजस्तो देखिएको आरोप पनि लगाएका छन् । ब्राजिलको राष्ट्रिय टिभीमा सम्बोधन गर्दै उनले कोरोना भाइरस सामान्य भएको र भाइरस संक्रमण हुँदा अलिअलि चिसो भएको जस्तो मात्र हुने बताएका छन् ।

राष्ट्रपतिको यस्तो अभिव्यक्ति आएपछि त्यहाँका अन्य मन्त्रीहरुले मिडियालाई कुनै पनि प्रतिक्रिया दिन मानेका छैनन् ।

तर, उनले टिभीमा सम्बोधन सुरु गरेलगत्तै मानिसहरु घरबाहिर निस्किएर र वरन्डामा बसेर थालहरु बजाउन थालेका थिए ।

यसअघि पनि बोल्सोनारोले कोरोना भाइरसलाई एउटा मिथ्या भाइरस भन्दै अहिले विश्वमा अनावश्यक रुपमा आतंक फैलाइएको बताएका थिए । ब्राजिलमा कोरोना भाइरसका कारण मंगलबार राति अबेरसम्म ४६ जनाको मृत्यु भएको छ । त्यहाँ २२०१ जना कोरोना भाइरसका कारण संक्रमित भएका छन् ।

‘न्यूयोर्कमा कोरोना बुलेट ट्रेनभन्दा छिटो फैलिइरहेछ’
एजेन्सी  |  ६:५५:२०

एजेन्सी– गत डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसका कारण अहिले विश्व ठूलो संकटमा परेको छ । अब विस्तारै चीनमा जनजीवन सामान्यतर्फ फर्किरहँदा कोरोनाका कारण युरोप र अमेरिका निकै ग्रस्त बनेका छन् । 

अमेरिकी सहर न्यूयोर्कका गर्भनर एन्ड्र्यु क्वोमोले अब न्यूयोर्कका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउन अनुरोध गरेका छन् । न्यूयोर्कमा कोरोना निकै छिटो फैलिइरहेको भन्दै उनले यस्तो अनुरो गरेका हुन् । 

‘न्यूयोर्कमा कोरोना बुलेट ट्रेनभन्दा छिटो फैलिइरहेको छ,’ उनले भनेका छन्, ‘यो हामीले सोचेभन्दा छिटो भइरहेको छ र हामीले सोचेभन्दा धेरै भइरहेको छ ।’ मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

क्वोमोले यो चुनौतिसँग लड्न आफूहरुसँग पर्याप्त स्वास्थ्य सामाग्री नभएको पनि बताएका छन् ।

न्यूयोर्कमा अहिले २५ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यहाँ कम्तिमा पनि २१० जनाको कोरोनाका कारण निधन भएको छ ।

विश्व स्वास्थ्य संगठनले चाहिँ अब कोरोनाको इपिसेन्टर अमेरिका हुनसक्ने भन्दै चेतावनी दिएको छ ।

घरबाहिर निस्किनु खतरानक, अन्धविश्वास झन् बढीः मोदी
फरकधार  |  २२:५८:८

एजेन्सी– विश्वभर सन्त्रासको वातावरण बनाएको कोभिड १९ अर्थात् कोरोना भाइरसलाई संक्रमणबाट रोक्न भारतले विशेष नियम बनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर पूर्णरुपमा २१ दिनको लकडाउन घोषणा गरेका छन् । 

अनि सँगसँगै उनले सामाजिक सन्जालबाट यसबारे ज्ञान पनि दिइरहेका छन् । ट्विटरमा उनले लेखेका छन्, ‘अब घरबाट निस्कनु खतरानक हुनेछ ।’

अनि थपेका छन्, ‘त्यसमा पनि हाम्रा विश्वास र अन्धविश्वास झन् खतरानक हुनेछन् ।’ उनले कसैले पनि अन्धविश्वास तथा अफवाहलाई विश्वास नगर्न पनि अनुरोध गरेका छन् । 

आत्तिनु पर्दैन, जरुरी सामान उपलब्ध हुन्छः मोदी
फरकधार  |  २२:५३:१२

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राति १२ बजेदेखि देशभर लकडाउन भए पनि जरुरी सामान उपलब्ध हुने भएकाले कोही पनि आत्तिनु नपर्ने बताएका छन् ।

‘अत्यावश्यक सामान त उपलब्ध हुन्छ,’ मोदीले भारतमा २१ दिनका लागि लकडाउनको घोषणा गरेपछि भनेका छन् । 

अब भारतमा आज रातिदेखि २१ दिन लकडाउन हुँदैछ ।

कोरोना भाइरसः इजिप्टमा कर्फ्यू
फरकधार  |  १७:५४:५३

एजेन्सी– विश्वव्यापी महामारी कोरोना भाइरससँग बच्न विश्वका विभिन्न देशले आआफ्ना सतकर्ता अपनाएका छन् । कोरोना भाइरस संक्रमण देखिएका विश्वका अधिकांश देशले लकडाउन गर्ने फैसला गरिसकेका छन् ।

कतिपयले चाहिँ लकडाउनले मात्र समस्या समाधान नहुने देखेपछि कर्फ्यू लगाउने निर्णय गरेका छन् । देशैभर कर्फ्यू लगाउने निर्णय पछिल्लो समय इजिप्टले गरेको छ ।

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो
एजेन्सी  |  १७:४:२०

एजेन्सी– चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको नयाँ इपिसेन्टरका रुपमा यो महिनाको सुरुवातमा विश्व स्वास्थ्य संगठनले युरोपलाई घोषणा गर्यो । 

युरोपको इटालीमा कोरोना भाइरस संक्रमणका कारण निकै धेरैले ज्यान पनि गुमाइसकेका छन् । 

अब इटालीमा विस्तारै नियन्त्रणमा आउन लागेको यो भाइरसले स्पेनमा वितण्डा मच्चाउन थालेको छ । स्पेनमा पछिल्लो २४ घन्टामा यो भाइरसका कारण ५ सय १४ जनाको मृत्यु भएको छ । यो स्पेनमा एकै दिनमा भाइरसका कारण मृत्यु हुने सबैभन्दा धेरै संख्या हो । स्पेनमा अहिलेसम्म यो भाइरसका कारण २६९६ जनाको मृत्यु भइसकेको छ । त्यहाँ झन्डै ४० हजारमा भाइरस संक्रमण देखिएको छ ।

ग्रान्डीले कोरोना शंकास्पदको उपचार गर्न नमानेपछि मन्त्रालयले सोध्यो स्पष्टिकरण
फरकधार  |  १५:५६:१३

काठमाडौं– कोरोना भाइरस शंकास्पद बिरामीलाई आफूहरुले उपचार नगर्ने खालका अभिव्यक्ति दिएको भन्दै राजधानीका दुई अस्पताललाई स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोधेको छ । ग्रान्डी अस्पताल र अल्का अस्पताललाई मन्त्रालयले स्पष्टिकरण सोधेको हो ।

यी दुई अस्पतालले विभिन्न सन्चारमाध्यममा कोरोना भाइरसको उपचार आफ्नो अस्पतालमा नगर्ने, बिरामी आए फर्काइदिने खालका अभिव्यक्ति दिएका थिए । यसैलाई आधार बनाएर मन्त्रालयले स्पष्टिकरण सोधेको हो । ग्रान्डी अस्पतालका प्रमुख चक्रराज पाण्डेले एक टिभीमा अन्तर्वार्ता दिँदा यस्तो अभिव्यक्ति दिएका थिए । त्यस्तै, अल्काका प्रमुख कुमार थापाले एक अनलाइनले त्यस्तै अभिव्यक्ति दिएका थिए ।

मन्त्रालयले स्पष्टिकरण दिएपछि ग्रान्डीका प्रमुख पाण्डे मन्त्रालयमा नै पुगेर स्पष्टिकरण दिएका छन् । उनले आफू सरकारको निर्देशन पालना गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

यशूका अनुयायीलाई कोरोना लाग्दैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ
फरकधार  |  १४:८:३७

काठमाडौं– केही दिनयता सामाजिक सन्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा एक युवा मन्चबाट चिच्याइचिच्याइ यशूको प्रशंसा गरिरहेका छन्, गाथा गाइरहेका छन् । अनि त्यसमा उनले जोडेका छन्, पछिल्लो समय विश्वमा महामारी लिएको कोरोना भाइरस । 

यशूले कोरोनाभाइरसका बिरामीलाई निको पार्ने भन्दै उनले भ्रम फैलाएका थिए । 

ती युवालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको पावर हाउसबाट केशवराज आचार्यलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनलाई कास्की जिल्ला अदालतमा म्याद थप्न लगेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले अफवाह फैलाएको कसुरमा कारवाही गर्ने प्रहरीको तयारी छ । 

आचर्यले भिडियोमा कोरोनालाई यशूले ठिक गर्ने र अहिले चीनमाथि पनि यशूको कृपा भएको बताएका थिए । 

कोरोना भाइरसले विश्वभर सन्त्रासको वातावरण फैलाइरहँदा विश्वभरका चर्चहरुमा तथा भजन मण्डलीमा विभिन्न कार्यक्रमहरु रद्द गरिएका छन् । तर, आचार्यले आफ्नो चर्चमा मानिसहरुलाई बोलाएर अनावश्यक कुरा उल्लेख गरेका थिए । 

उता, दक्षिण कोरियामा त यस्तै भ्रम फैलाएको आरोपमा एक चर्चाका प्रमुखमाथि नरसंहारको आरोपसम्म लगाउने तयारी भएको छ । उनी र अन्य ११ जनाामाथि अनुसन्धान गरिएको छ । यो कोरियाको राजधानी सिओलको कुरा हो । कोरियाली राजधानी सिओलको सरकारले अनुसन्धान गरिरहेका कर्मचारीलाई त्यहाँको सिनचिओन्जी चर्जका संस्थापक ली मान हीमाथि अनुसन्धान गर्न आदेश दिएको थियो । 

एशियाली देशमा दक्षिण कोरियामा चीनपछि कोरोना भाइरसका कारण अवस्था निकै नाजुक बनेको छ । त्यहाँ सबैभन्दा पहिले कोरोना भाइरसको संक्रमण यही चर्चमा देखिएके थियो अहिले पनि कोरोना भाइरस संक्रमण हुनेमध्ये सबैभन्दा बढी सिनचिओन्जी चर्चका सदस्य छन् । 

यही चर्चका सदस्यले एकले अर्कोलाई कोरोना भाइरस संक्रमण गराएको आरोप लगाएका छन् । 

भाइरस फैलिएसँगै सिओलको सरकारले उनीहरुविरुद्ध कानुनी प्रक्रिया सुरु गर्न निर्देशन दिएको हो । उनीहरुलाई नरसंहार गरेको आरोप लगाउन र त्यहाँको कानुन मिचेको आरोप लगाउन निर्देशन दिइएको छ । 

यो चर्चका २ लाख ३० हजार सदस्यहरुसँग सोधपुछ गरिएको छ । तीमध्ये झन्डै ९ हजारले आफूहरुमा कोरोना भाइरसको संक्रमण देखिएको स्वीकार गरेका छन् ।

त्यही चर्चकी एक ६१ वर्षीया महिलाले आफूमा कोरोना भाइरस संक्रमणका लक्षण देखिएको स्वीकार गरेकी छिन् । तर, उनले अस्पतालमा नगएर चर्चमा यो कुरा लगेको मानिन्छ । 

त्यसो त यही चर्चका संस्थापक लीमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । अहिले उनी उपचारको क्रममा छन् ।

ली म्यान ही ८८ वर्षका भएका छन् । उनी आफूलाई दोस्रो जिसस क्राइस्ट भएको दाबी गर्छन् र आफूलाई बाइबलमा उल्लेख गरिएको ‘द प्रमिस्ड पास्टर’ मान्छन् । 

उनले यो चर्च सन् १९८४ मा सुरुवात गरेका हुन् । कोरियन भाषामा सिनचिओन्जीको अर्थ नयाँ स्वर्ग र पृथ्वी हुन्छ । लीले यसअघि आफूले आफूसँग १ लाख ४४ हजारलाई स्वर्गमा लैजाने दाबी गर्दै आएका थिए । 

कोरोना भाइरस संक्रमित युवती आएकै विमानमा आएका थिए काभ्रेका दुई जना, सेल्फ क्वारेन्टाइनमा घरमा छन्
फरकधार  |  १३:२२:७

काठमाडौं– १८ मार्चमा फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी एक युवतीमा कोरोना भाइरस संक्रमण देखिएको सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका थिए । 

सो विमानमा फ्रान्समा अध्ययनका लागि पुगेकी १९ वर्षकी युवती थिइन् । उनमा कोरोना भाइरस देखिएपछि विमानमा आएका अन्य व्यक्तिहरुको पनि खोजी सुरु भएको छ । 

सोहीमध्ये केही अहिले आफैं अस्पतालमा पुगेर घरमा सेल्फ क्वारेन्टाइनमा बस्न थालेका छन् । 

कतार एयरवेजको फ्लाइट नम्बर क्युआर ६५० विमानमा सो दिन काभ्रेका दुई युवा पनि आएको बुझिएको छ । बनेपा नगरपालिकाका वडा नम्बर २ का एक युवाले नगरपालिकाको सम्पर्कमा आफू पुगेको बताएका छन् । उनले आफूलाई कुनै पनि फ्लूको लक्षण नदेखिएको पनि जानकारी दिएका छन् । बनेपामा धुलिखेल अस्पतालमा पुगेर उनले परीक्षण समेत गराएका छन् । र, आफू घरमा सेल्फ क्वारेन्टाइनमा रहेको बताएका छन् । 

उता, यही विमानमा आएका काभ्रको अर्का एक युवाल पनि सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

त्यस्तै, बाग्लुङका दुई जना र गोरखाका एक जना युवा पनि सोही विमानमा आएको खुलेको छ । उनीहरु पनि सामान्य स्वास्थ्य जाँचसँगै घरमा नै सेल्फ क्वारेन्टाइनमा छन् । 

यता, टेकु अस्पतालमा उपचार गराइरहेकी कोरोना संक्रमित ती युवतीको स्वास्थ्य स्थीर रहेको जनाइएको छ । अस्पताल स्रोतका अनुसार उनको फेरि एकपटक कोरोना परीक्षण गर्ने तयारी गरिएको छ ।

बेइजिङमा फेरि खुल्यो चिडियाघर
एजेन्सी  |  १३:८:४५

एजेन्सी– कोरोना भाइरसको यो सन्त्रासकाबीच चीनबाट एउटा खुसीको समाचार आएको छ । अब चीनमा ५८ दिनअघि बन्द भएको चिडियाघर मानिसहरुका लागि खुलेको छ । 

बेइजिङ चिडियाघर सोमबारबाट आम मानिसका लागि खुला गरिएको हो । 

स्थानीय सन्चारमाध्यमहरुका अनुसार चिडियाघरमा लामो समय शान्त भएपछि कयौँ जनवारहरुको मुड खुसी देखिन्छ ।

‘चिडियाघर खाली हुँदा केही जनावरहरु विशेष गरि पान्डाहरुले निकै रमाइलो गरे,’ चाइना डेलीले चिडिया घरका झाङ छेन्ग्लिनलाई उद्धृत गरेको छ । उनले यो क्षेत्रमा बारम्बार स्यानिटाइजेसन गरिएको पनि बताएका छन् । 

लकडाउनमा माेटरसाइकल लिएर घुम्न निस्किएका दुई जना बुटवलमा पक्राउ
फरकधार  |  १२:३७:२५

बुटवल– काेराेना भाइरस राेकथामका लागि सरकारले लकडाउनकाे निर्णय गर्याे । तर,  लकडाउन उल्लंघन कुनै कामविना मोटरसाइकलमा घुम्न निस्किएका दुई जना बुटवलमा पक्राउ परेका छन् । 

प्रहरीका अनुसार बुटवलका हेमन्त घिमिरे र नवराज श्रेष्ठ चौरहा चाेकबाट पक्राउ परेका हुन् । 

 

उनीहरुले चलाएकाे माेटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

 

भरतपुरमा लकडाउन उल्लघंन गर्ने १० जना पक्राउ
फरकधार  |  ११:५६:५८

भरतपुर– कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले मंगलबारदेखि एक साताका लागि लकडाउन गरेको छ । तर, चितवनमा सरकारको यो निर्देशनको उल्लघंन गर्ने १० जना भेटिएका छन् जसलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनको नारायाणगढ तथा टाँडीबाट ती १० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

लकडाउनको समयमा विनाकाम घरबाट निस्किएर भीडभाड गर्न खोज्नेलाई प्रहरीले पक्राउ गर्नेछ । यसरी पक्राउ पर्नेलाई ६ महिना कैदा वा ६ सय रुपैयाँ वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

क्यानेडेली प्रधानमन्त्रीले भने– अब अत्ति भयो, घर जाऊ, घरमै बस !
एजेन्सी  |  ३:४६:४१

एजेन्सी– क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले स्थानीय समयअनुसार सोमबार आफ्नो निवास ओटावाबाट सम्बोधन गर्दै क्यानेडेली नागरिकलाई चेतावनी दिएका छन् । उनले सरकारले लागु गरेको ‘सोसल डिस्टेन्सिङ’लाई अटेर गर्नेहरु प्रति क्रुद्ध भएर यस्तो चेतावनी दिएका हुन् । 

‘भयो भनेपछि भयो, अब अत्ति भयो,’ उनले सम्बोधनमा भनेका छन्, ‘अब घर जाऊ, घरमै बस ।’

उनले सामाजिक दूरी कायम गर्नु पर्ने समय भएकाले यसलाई अटेर नगर्न बताएका हुन् । ‘यदि यो सुझाव मान्न तयार हुनुहुन्न र भीडभाडमा जाने कुरालाई रोज्नुहुन्छ भने,’ उनले भने, ‘तपाईंले आफूलाई मात्र होइन, अरुलाई पनि समस्यामा पार्दै हुनुहुन्छ ।’

उनले यो कुरा जसरी पनि आफूहरुले लागु गरेरै छाड्ने पनि बताएका छन् । ‘हामी यो गरेरै छाड्छौँ,’ उनले भनेका छन्, ‘सुझाव र सल्लाह दिएर होस् या नियम लागु गर्न कडा उपाय अपनाएर नै किन नहोस् ?’

अमेरिकी सन्चारमाध्यम सिएनएनमा आएको समाचार अनुसार अहिलेसम्म क्यानडामा कोरोना भाइरसका संक्रमित १४३२ जना देखिएका छन् । क्यानडामा कोभिड १९ का कारण २० जनाको मृत्यु भइसकेको छ ।

मध्यरातमा भारतीय स्वास्थ्य मन्त्रालयको अपडेटः थप एकको मृत्यु
फरकधार  |  २:५१:२०

एजेन्सी– भारतमा पनि कोरोना भाइरसको संक्रमण थप फैलिँदै गएको छ । सोमबार मध्यरातमा भारतीय स्वास्थ्य मन्त्रालयले यसबारे अपडेट जारी गरेको छ । 

अपडेट अनुसार सोमबार मात्र भारतमा दुई जनाको मृत्यु भएको छ । हिमाचल प्रदेश र पश्चिम बंगालमा एक एक जनाको मृत्यु भएको भारतीय स्वास्थ्य अधिकारीले जनाएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

योसँगै कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

भारत सरकारको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अब कोरोना भाइरस संक्रमितको संख्या ४६८ पुगेको छ ।

बेलायती प्रधानमन्त्रीले भनेः घरमै बस्नू, बेलायतमा पनि २ जनाभन्दा बढी भेटघाट गर्न नपाइने
एजेन्सी  |  २:३४:२७

एजेन्सी– बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसविरुद्धको लडाइँका लागि बेलायतमा नयाँ नियमहरु ल्याएका छन् । उनले गरेका निर्णय अनुसार अब बेलायतमा पनि सार्वजनिक स्थलमा २ जनाभन्दा बढी भेटघाट गर्न पाउने छैनन् । 

बेलायतवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिसले भने, ‘घरमै बस्नू ।’ यो सँगै उनले केही सिमित कामहरुका लागि मात्र मानिसहरु बाहिर निस्किन पाउने पनि बताएका छन् । अत्यावश्यक सामाग्रीको किनमेल, स्वास्थ्यसँग सम्बन्धित विषयहरुमा मात्र अब बेलायतीहरु घरबाट बाहिर निस्किन पाउनेछन् । यसलाई बेलायती मिडियाले बेलायतको लकडाउनको संज्ञा दिएका छन् । 

प्रहरीले पूर्णरुपमा आफ्नो शक्तिको अभ्यास गर्न पाउने भन्दै बोरिसले बेलायतवासीलाई आफूसँगै बस्नेबाहेक अरु परिवारका सदस्य तथा नातेदारलाई पनि नभेट्न उर्दी जारी गरेका छन् । 

उनले बेलायतमा भएका सबै पसलहरु पनि बन्द गर्न निर्देशन दिएका छन् । यसमा अत्यावश्यक सामाग्री बेच्ने पसलहरु परेका छैनन् । अब त्यहाँ कपडा तथा विद्युतीय सामाग्री बेच्ने पसल खुल्न पाउने छैनन् ।

लाइब्रेरी, प्लेग्राउन्ड तथा मन्दिर र चर्च पनि बन्द गर्न बोरिसले निर्देशन दिएका छन् । अब बेलायतमा कुनै पनि सांस्कृतिक कार्यक्रम तथा विवाह ब्रतवन्ध केही पनि गर्न पाइनेछैन । 

यो सबै नियम कम्तिमा पनि तीन साताका लागि लागु भएको बोरिसले बताएका छन् ।

बोरिसले यही सम्बोधनमा बेलायती जनताले फेरि उठेर देखाउने विश्वास आफूले लिएको पनि बताएका छन् । ‘सरकारले लाखौँ टेस्टिङ किट्स किन्दै छ, अरु सुविधाहरुमा काम गरिरहेको छ, बेलायती जनताले चुनौति सामाना गर्न सक्छन् र चुनौतिलाई जितेर अगाडि बढ्छन् भन्नेमा म विश्वस्त छु,’ उनले भनेका छन् ।

के कोरोना भाइरस संक्रमण रोक्न लकडाउन सही फैसला हो ?
फरकधार  |  २३:४०:२९

कोरोना भाइरस अहिले विश्वमा जुन गतिमा फैलिएको छ, विभिन्न देशहरुले त्यही गतिमा तयारी पनि अगाडि बढाइरहेका छन् । फलस्वरुपः कोरोना भाइरस संक्रमण देखिएका मुलुकहरुमा लकडाउन पनि गर्न थालिएको छ । र, यो सुरुवात कोरोना भाइरस पहिलो पटक देखिएको चीनबाट नै भएको थियो ।

त्यसपछि अमेरिका, इटाली, फ्रान्स, आयरल्यान्ड, बेलायत, डेनमार्क, न्युजिल्यान्ड, पोल्यान्ड तथा स्पेनले पनि कोरोना भाइरस संक्रमण रोक्नका लागि यही तरिका अपनाए ।

अनि नेपालले पनि अहिले यही उपाय अपनाएको छ ।

तर, विश्व स्वास्थ्य संगठनका एक अधिकारीले लकडाउनबारे प्रश्न उठाएका छन् । स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइक रायनले भनेका छन् कि कोरोना भाइरसलाई रोक्न लकडाउन मात्र प्रभावकारी तरिका होइन ।

समाचार एजेन्सी रोयटर्समा प्रकाशित एक समाचारमा रायनको भनाईलाई उद्धृत गरिएको छ । त्यसमा उनले भनेका छन्, ‘लकडाउनका साथसाथै सबै देशले कोरोना भाइरसबाट बच्नका लागि राम्रो परीक्षण पनि गर्नु पर्ने हुन्छ । किनकि जब लकडाउन सकिन्छ, तब फेरि कोरोना भाइरस तीव्र गतिमा फैलिने सम्भावना बढ्दै जान्छ ।’

रायनले यो जवाफ अमेरिकाको सन्दर्भमा सोधिएको प्रश्नमा दिएका हुन् । उनले बताएका छन् कि मानिसहरुलाई घरमा राख्दैमा कोरोना भाइरसको संक्रमण रोकिन्छ नै भन्ने छैन ।

अब नेपालमा चाहिँ के होला ? 

पक्कै पनि नेपाल सरकारले लिएको यो कदम निकै प्रशंसनीय कदम हो । यसले नेपालमा संक्रमण फैलिने कुरामा कमी ल्याउने पक्कापक्की छ । 

तर, अब सँगसँगै नेपालमा कोरोना भाइरस देखिएकी फ्रान्सबाट फर्किएकी १९ वर्षकी ती युवतीले यसबीचमा कोकोसँग भेटिन्, उनीसँग विमानमा आएका मानिसहरु कोको थिए भन्ने पहिले पत्ता लगाउनु पर्ने र उनीहरुलाई पनि ट्र्याकिङ गर्नु पर्ने सरकारको जिम्मेवारी रहेको छ । यो सब कुरा हुँदा र नेपालीहरुको स्वास्थ्य राम्रोसँग परीक्षण गरिँदा मात्र यो लकडाउन राम्रो सावित हुनसक्छ । अन्यथा यसले पनि सोचेको जस्तो परिणाम दिने छैन ।

कोरोना भाइरसः तत्काल हटाउनुहोस् मोबाइलबाट यी एप्स
फरकधार  |  २१:५६:३५

काठमाडौं– पछिल्लो समय विश्वलाई रुवाएको छ, कोरोना भाइरसले । योसँगै पछिल्लो सूचना प्रविधिलाई पनि विशेष प्रयोग गरेर नयाँ नयाँ काम भएका छन् । 

तर, सँगसँगै यहीबीचमा केही बदमास पनि देखिएका छन् ।

उनीहरुले मोबाइलका लागि विभिन्न एप्सहरु बनाएका छन् । त्यहीमध्ये एक हो, कोभिडलक नाम गरेको एउटा एप । अहिले यो एप विश्वभर निकै धेरै डाउनलोड भएको छ । यसले कोरोना भाइरस ट्र्याक गर्ने दाबी गरिएको छ । 

अनि एन्ड्रोइडमा अहिले अर्को पनि नोटिफिकेसन निकै भाइरल हुन थालेको छ । त्यसमा कोरोना सेफ्टी मास्क किन्नका लागि मानिसहरुलाई आग्रह गनिे गरिएको छ । 

माथि भनिएको एप र तल आएको नोटिफिकेसनले अहिले विश्वभरबाट युजर डाटा तानिरहेको र कतिपय सामान किन्नु भनेर क्रेडिट कार्डको जानकारी पनि लिएको हुनसक्ने विश्वमा गरिएका विभिन्न अनुमानले देखाएका छन् । त्यसैले कतै तपाईंले पनि यी याप वा कोरोना भाइरससम्बन्धी कुनै एप डाउनलोड गर्नुभएको छ भने तत्काल हटाउनुहोस् ।

मानिसहरुले लकडाउन नटेरेपछि महाराष्ट्रमा कफ्र्यू
फरकधार  |  २०:५४:५८

एजेन्सी– भारतको महाराष्ट्रमा कफ्र्यू लगाइएको छ । मानिसहरुले यसअघि सरकारले लगाएको लकडाउनलाई अटेरी गरेपछि कफ्र्यु लगाइएको हो । 

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले भनेका छन्– लकडाउन गर्दा पनि मानिसहरु बाटोमा आए, उनीहरुले टेरेनन्, अब कफ्र्यु लगाउनुको विकल्प भएन ।

उनले महाराष्ट्रमा कोरोनाका कारण प्रभावित नभएका जिल्लाका नागरिकलाई बचाउनका लागि यो कदम चालेको पनि बताएका छन् । 

महाराष्ट्रमा अहिलेसम्म भारतमा सबैभन्दा धेरै ९० जना कोरोना संक्रमित भेटिएका छन् ।

इटालीपछि स्पेनमा छायो संकट, लगाइयो संकटकाल, प्रधानमन्त्रीले भने– खराब दिन अझ आउनै बाँकी छ
फरकधार  |  २०:४९:३८

एजेन्सी– चीनपछि युरोपमा कोरोना भाइरस संक्रमणले अहिले इटालीमा निकै ठूलो समस्या पैदा गरिरहेको छ । विश्व स्वास्थ्य संगठनले नै युरोपलाई अब यो भाइरसको इपिसेन्टर बताएको छ । 

अब युरोपको इटालीपछि स्पेनमा ठूलो संकट देखिएको छ । 

समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबारसम्म स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७२० पुगिसकेको छ । स्पेनमा एक दिनमा नै ३९४ जनाले ज्यान गुमाएका छन् । 

स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या २८७५२ पुगेको छ ।

यीमध्ये २५७५ जना ठिक भएका छन् । अनि १७८५ जनालाई अहिले पनि आइसियुमा राखेर उपचार गरिइरहिएको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार महामारीसँग लड्न आवश्यक सबै कदम सरकारले चाल्ने बताएका थिए । 

उनले भनेका थिए, ‘अझै पनि खराब दिन आउनै बाँकी छ ।’

त्यहाँको सरकारले कोरोना भाइरससँग लड्न आपातकाल लगाएको छ । १५ मार्चमा लगाइएको यो आपत्कालीन अवस्था अझ बढाउने बताइएको छ । 

स्पेनको राजधानी मड्रिड नै यो संकटको केन्द्र बनेको छ ।

मंगलबार विहान ६ बजेदेखि नेपाल पूर्णरुपमा लकडाउन, घरबाहिर निस्किन नपाइने, सवारी नचल्ने
फरकधार  |  १९:४५:३७

काठमाडौं– सरकारले मंगलबारबाट सर्वसाधरण घरबाहिर निस्किन नदिने निर्णय गरेको छ । अर्थात्, मंगलबारबाट नेपाल पूर्णरुपमा लकडाउनमा गएको छ । 

कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले यो निर्णय गरेको हो । 

मंगलबारबाट काठमाडौं उपत्यकासहित बाहिर पनि कुनै सवारी साधन चल्न पाउने छैनन् । पूर्ण रुपमा लकडाउन गर्दा अत्यावश्यक सवारी साधन बाहेक अरु केही चलाउन पाइने छैन । 

सोमबार फ्रान्सबाट नेपाल आएकी एक १९ वर्षीया युवतीलाई कोरोना भाइरस संक्रमण भेटिएपछि नेपाल सरकारले यो निर्णय गरेको हो । ती युवती फ्रान्सबाट कतार एयरवेजमा नेपाल आएकी थिइन् । उनको अहिले टेकुस्थित अस्पतालमा उपचार भइरहेको छ । 

सरकारले उनीसँगै त्यो विमानमा आएका अन्य नेपालीको पनि खोजी गरिरहेको छ ।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले मंगलबार विहान ६ बजेबाट नै एक सातासम्म सर्वसाधरणलाई बाहिर निस्किन रोक लगाएको हो । सरकारले मंगलबारबाट नै आन्तरिक उडान पनि बन्द गर्ने निर्णय गरेकाे छ ।

खाद्यान्न तथा अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारी साधनबाहेक अरु निजी कुनै पनि सवारी साधन चलाउने पाइने छैन । 

जनस्वास्थ्य विज्ञ पाण्डेकाे सुझाव– कोरोना संक्रमण पोजिटिभ देखिदैमा आत्तिनु पर्दैन
फरकधार  |  १७:९:३२

काठमाडाै‌– फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि काठमाडौं वासी त्रसित बनेका छन् ।

यहीबीच जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले आफ्नो फेसबुकमा कोरोना पोजिटिभ देखिँदैन नआत्तिन अनुरोध गरेका छन् । उनले लेखेका छन्ः

 

चीन, युरोपियन देशहरु, अमेरिका, क्यानडा लगायतका देशहरुमा हजारौंलाई कोरोना संक्रमण प्रमाणित भएको छ | ती मध्ये केहि देशमा दैनिक सयौंको संख्यामा बिरामीको मृत्यु पनि भइरहेको छ | संक्रमण डढेलो लागेझैं बिस्तार हुँदा पनि त्यहाँका जनता आत्तिएका छैनन् | संयमित रहेर सरकारलाई सहयोग गरिरहेका छन्, सरकारको आदेश पालना गरेर घरमै बसिरहेका छन् |

कोरोना संक्रमणको सवालमा हामी नेपाली तुलनात्मक रुपमा धेरै भाग्यमानी रह्यौं | अन्य राष्ट्रले ठूलो विपदसंग लड्दा हामीकहाँ भर्खर २ वटा मात्र केस देखिएका छन् | एउटा गलत समाचारले हिंजो हामीलाई पेनिक बनायो भने आज फ्रान्सबाट आएकी युवतीलाई कोरोना संक्रमण पोजिटिभ देखिंदा हामी निकै आत्तिएका छौं | हामीहरुले मानसिक रुपमा के तयारी गर्नुपर्छ भने सयौं कोरोनाको पोजिटिभ केस देखिन सक्छ भन्ने | सयजना कोरोना संक्रमणका केस देखिएमा ८५ जनालाई सामान्य लक्षण देखिएर आफै निको हुन्छ | बाँकी १५ % मध्ये १० % लाई अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गर्दा निको हुन्छ | अनि ५ % लाई आइसीयुमा राखेर वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ | ती १०० जना संक्रमितमा मृत्यु हुने २-३ जना मात्र हुनेछन |

विश्वको डाटा हेर्ने हो भने पनि मृत्यु हुनेमा क्यान्सरको अन्तिम स्टेजमा पुगेका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचाइभी एड्सको औषधिले काम गर्न छोडेका दीर्घ बिरामी, पटक पटक निमोनिया भइरहने र दमका ती बिरामी जसलाई अक्सिजन २४ घण्टा आबश्यक पर्छ, दीर्घ मुटु र मधुमेहका बिरामी जसलाई ती रोगले मृगौला, मुटु लगायतका अंगमा असर गरिसकेको छ.... हरुको मृत्यु भएको देखिन्छ |

तसर्थ कोरोना संक्रमणका केस बढे भनेपनि आत्तिनु पर्दैन | सतर्क र सजग हुनुपर्दछ | हल्ला र भ्रमको पछि लाग्दा मानसिक पीडा मात्र हुन्छ | पूर्व तयारी गरौँ, पेनिक नबनौं |

दक्षिण कोरियाबाट खुसीको खबरः घट्न थाले कोरोना संक्रमित
एजेन्सी  |  १६:५१:५३

एजेन्सी– दक्षिण कोरियामा कोभिड १९ को महमारी फैलिएपछि भएका संक्रमणमा अब विस्तारै कम हुन थालेको छ । दक्षिण कोरियामा चार साताअघिदेखि त्यहाँ संक्रमितको संख्या निकै तीव्र गतिमा बढिरहेको जनाएको थियो । 

अब विस्तारै त्यहाँ संक्रमितको संख्या घट्दो छ ।

पछिल्ला २४ घन्टामा त्यहाँ जम्मा ६४ नयाँ मानिसमा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कोरोना संक्रमित ८ हजार ९ सय ६१ पुगेका छन् । दक्षिण कोरियामा अहिलेसम्म १११ जनाको मृत्यु कोभिड १९ का कारण भएको छ  

देशमा कोरोना संक्रमित घट्न थाले पनि स्वास्थ्य अधिकारीहरुले अझै ढुक्क हुने समय नभएको बताएका छन् । 

दक्षिण कोरियाले यो भाइरसलाई आफ्नो काबुमा राख्न सक्नुको एउटै कारण चाहिँ त्यहाँ प्रत्येक दिन २० हजारभन्दा बढी मानिसको संक्रमण परीक्षण गर्ने गरिएको थियो ।

विराटनगर भोलिदेखि लकडाउन
फरकधार  |  १६:३९:०

विराटनगर– विराटनगर महानगरपालिकाले मंगलबारदेखि अनिश्चितकालिन लकडाउन गर्ने भएको छ । 

त्यहाँका व्यवसायी तथा अन्य सरोकारवालाहरुसँग बसेर विराटनगर महानगरपालिकाले यो निर्णय लिएको हो । अब भोलिदेखि अर्थात् मंगलबारदेखि विराटनगर अत्यावश्यक सेवाबाहेकका सबै पसलहरु समेत बन्द हुने भएका छन् । 

विराटनगरका मेयर भीम पराजुलीले फरकधारलाई दिएको जानकारी अनुसार यो लकडाउन कहिलेसम्म भन्ने निश्चित भएको छैन । ‘अवस्था सामान्य भएपछि अर्का सूचना ननिकालेसम्म अब सबै क्षेत्र बन्द नै हुनेछन्,’ फरकधारसँगको टेलिफोन सम्पर्कमा उनले भने, ‘यसअघि नै हामीले हाट बजार बन्द गर्ने निर्णय गरेका थियौँ ।’

उनले खाद्यान्न, औषधि, पानी, दूध, तरकारी र एम्बुलेन्स सेवा भने सञ्चालनमा कुनै अवरोध नहुने बताए । 
 

‘नेपालमा एक विद्यार्थीमा कोरोना भाइरस पोजिटिभ देखियो’
फरकधार  |  १२:४१:४१

काठमाडौं– नेपालमा एक महिलामा कोरोना भाइरस संक्रमण देखिएको छ । 

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यसको पुष्टि गरेका हुन् । 

उनका अनुसार कोरोना भाइरस संक्रमण देखिएकी ती युवती फ्रान्सबाट आएकी हुन् । ‘१९ वर्षकी विद्यार्थी हुन्,’ स्वास्थ्यमन्त्री ढकालले भने, ‘उहाँलाई आइसोलेसनमा राखेर उपचार गरिइरहेका छौँ । उहाँको परिवारलाई पनि हामीले अलग राखेका छौँ ।’

स्वास्थ्य मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलनः स्वास्थ्यमनत्रीले लगाएनन् मास्क !
फरकधार  |  १२:३७:१६

काठमाडौं– स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार विहान अचानक पत्रकार सम्मेलन बोलाए । पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलिन नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले गरेका विभिन्न गतिविधिबारे जानकारी दिन स्वास्थ्यमन्त्रीले यो पत्रकार सम्मेलन बोलाएका थिए । 

कोरोना भाइरसबाट बच्न हामीले सबैभन्दा पहिलो सतकर्ता अपनाउने भनेको भीडभाडमा नजाने हो, गएकै खण्डमा पनि मास्क लगाएर बस्नु पर्ने हो ।

तर, आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री मास्क नलगाइ बसेका थिए । 

आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठकमा भने सबै मन्त्रीले मास्क लगाएकै थिए ।

आज रातिदेखि अर्घाखाँची लकडाउन गर्ने निर्णय
फरकधार  |  १२:२६:२०

अर्घाखाँची– कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्घाखाँची जिल्ला आज रातिदेखि लकडाउन गरिने भएको छ । 

सोमबार विहान अर्घाखाँची सदरमुकाममा बसेको प्रमुख जिल्ला अधिकारीको अध्यक्षताको सर्वपक्षीय बैठकले अर्घाखाँची तत्काल लकडाउन गर्ने निर्णय गरेको हो । अब अर्को सूचना जारी नभएसम्म अर्घाखाँची लकडाउन हुनेछ ।

अब अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा निजी सवारी साधन पनि प्रवेश गर्न पाउने छैनन् । बैठकले मोटरसाइकलमा पनि पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ । तर, यसबीचमा मालवाहक सवारी साधन, ग्यास तथा तेलका ट्याङ्कर चाहिँ जान पाउने छन् ।

यसअघि कन्चनपुर र जुम्ला जिल्लाले पनि लकडाउन गर्ने फैसला गरिसकेका छन् ।