फरक विशेष
जसलाई लाग्छ – दसैँ नआए हुन्थ्यो
असोज २८, २०७५

मजदुर

ललितपुर चापागाउँका कपिल चौलागार्इंले खाद्य संस्थानमा मजदुरी गर्न थालेको १५ वर्ष भयो । चौलागार्इं खाद्य संस्थानमा खाद्यान्न बोकेर आउने ट्रकको सामान लोड–अनलोड गर्ने गर्छन् । दैनिक ज्यालादारीमा काम गर्ने चौलागाई ६८ वर्ष पुगिसके ।

अरूका लागि दसैँ रमाइलो चाड भए पनि चौलागार्इंका लागि भने दसैँ अरू वेलाभन्दा धेरै पैसा कमाउने समय हो । दसैँका लागि संस्थानले ल्याएका खसी–बोका, भेडा–च्यांग्राको गोठालोमा खटिएका चौलागाईं फुलपातीसम्म संस्थानमै बस्नेछन् । 

यसरी रात–दिन संस्थानमै बसेर काम गर्दा उनको खाने–बस्ने व्यस्था सबै संस्थानमा नै हुन्छ । दसैँको समयमा चौलागाईंले अन्य समयभन्दा धेरै ज्याला पनि पाउँछन् ।

अन्य समयमा ३ सय ९५ रुपैयाँ दैनिक ज्याला पाउने चौलागार्इंले दसैँको समयमा ५ सय रुपैयाँ दैनिक ज्याला पाउँछन् । अहिले संस्थानको थापाथलीस्थित कार्यालयमा खसी–बोका र भेडा–च्यांग्राको हेरचाहका लागि उनीसहित २० जना मान्छे खटाइएको छ । संस्थानले दसैँ–तिहारका लागि २ हजार खसी–बोका र भेडा–च्यांग्रा ल्याएको छ । 

६ जनाको परिवार भएका चौलागार्इंलाई भने दसैँ नआए नि हुन्थ्योजस्तो लाग्छ । ‘दसैँ आयो कि चिन्ता सुरु हुन्छ ।’ भेडा धपाउँदै चौलागाईं भन्छन्, ‘लोकको लाजले ऋण गरेर भएपनि चाडबाड मान्नैपर्यो ।’

सामान्य समयमा पनि ज्यालाबाट आम्दानी भएको पैसाले चौलागाईंलाई घर चलाउन मुस्किल हुन्छ । त्यसमाथि यस्ता ठूला चाडबाडमा त चौलागाईंको खर्चको भार बढ्छ । संस्थानमा खसी–बोका र भेडा–च्यांग्रा किन्न आउने मानिसले छानी–छानी खसी–बोका, भेडा–च्यांग्रा किनेको देख्दा उनलाई पनि किन्न रहर लाग्छ । 

तर, रहरले मात्रै केही हुँदो रहेनछ । ‘फुलपातीको दिन घर जाँदा एउटा खसी लिएर जान पाए त राम्रै हुन्थ्यो नि !’ चौलागाईं हाँस्दै भन्छन्, ‘मजदुरीको पैसाले खान–लाउनै पुग्दैन कसरी खसी किन्नु !’

उनले यो दसैँमा संस्थानबाट ७ हजार जति आम्दानी हुने आश गरेका छन् । यस वर्षको दसैँ उनले त्यही ७ हजारले टार्नुपर्ने छ । ‘त्यस्तै, ७ हजार जति आउँछ होला, त्यही पैसाले दसैँ मनाउँछु,’ चौलागार्इंले सुनाए ।

रिक्साचालक

काभ्रेपलाञ्चोकका समर तामाङले काठमाडौंमा रिक्सा चलाउन थालेको २५ वर्ष भयो । वसन्तपुर दरबार स्क्वायरको गेटमा भेटिएका समरलाई अझै दसैँ लागेको छैन । समरले चलाउने रिक्सा पनि साहुको हो । समर साहुलाई दैनिक २ सय रुपैयाँ बुझाउँछन् । ‘आम्दानी भए पनि नभए पनि दैनिक साहुलाई २ सय रुपैयाँ बुझाउनुपर्छ,’ समरले सुनाए ।

पहिले–पहिले रिक्सा बिग्रिँदा साहुले बनाउने खर्च दिन्थे । तर, अहिले रिक्सा बिग्रिए पनि समरले नै बनाउनुपर्छ । समरले कमाएको धेरै पैसा त रिक्सा बनाउँदै सकिन्छ । ‘रिक्सा बिग्रियो भनेर साहुलाई भन्न गयो । आफँै बनाएर चलाउने भए चलाऊ नत्र थन्क्याइदेऊ भन्छन्’ समर  सुनाउँछन्, ‘पेट पाल्नै पर्यो अनि आफ्नै खर्चले रिक्सा बनाएर चलाउन थाल्छु ।’

देशभर दसैँ लागिसकेको छ । मानिसहरू काठमाडौंबाट घर फिर्न थालिसकेका छन् । तर, समर भने दसैँको एक दिनअघि मात्रै घर जाने तयारीमा छन् । ‘दसैँ आयो, गाडी कम चल्छन्, मान्छे रिक्सा चढ्छन् कि भनेर ।’ समरले दसैँको एक दिनअगाडि घर जानुको कारण बताए ।

४० वर्ष पुगेका समर २५ वर्षअघि घरबाट भागेर काठमाडौं आएका थिए । त्यो वेलाभन्दा अहिले रिक्सा चलाउने मान्छे कम भएका छन् । ‘रिक्सा चलाउने मात्रै होइन, रिक्सा चढ्ने मान्छे पनि कम भए ।’ रिक्सा चढ्ने मान्छे कम भएपछि समरको आम्दानी पनि कम हुन थालेको छ । ‘कुनै समय महिनाकै ३० हजार कमाइ हुन्थ्यो । अहिले त महिनाको १० हजार कमाइ हुन पनि मुस्किल हुन्छ,’ समरले सुनाए । समरको रिक्साका प्रमुख यात्रु हुन्, विदेशी पर्यटक र मनाङतिरका मान्छे ।  

दसैँका लागि समर काठमाडौंबाटै चामल र चिउरा लिएर जाने तयारीमा छन् । ‘दसैँमा अरू त केही किन्न सकिँदैन, परिवारको मुखमा माड लाउन भए पनि चामल र चिउरा लिएर जान्छु,’ समरले आफ्नो दसैँ सपिङको लिस्ट सुनाए ।

बिहान ६ बजेदेखि साँझ १० बजेसम्म रिक्सा चलाउने समरको काभ्रेमा रहेको घर भूकम्पमा भत्कियो । घर बनाउँदा समरलाई ३ लाख रुपैयाँ ऋण लागेको छ । ‘सरकारले दिएको ३ लाखले त केही पुग्दो रहेनछ,’ समरले सुनाए ।

समरलाई दसैँ नआएकै भए हुन्थ्योजस्तो लागेको छ । ‘गरिबलाई त यो दसैँ कालै हो नि !’ रिक्साको ह्यान्डल सोझो बनाउँदै समरले भने, ‘समाजका अगाडि नाक राख्न पनि दसैँ मान्नुपर्छ ।’

दसैँमा खर्च हुने पैसा जोगाउन पाएको भए घर बनाउँदा लागेको ऋण तिर्न सजिलो हुन्थ्यो लागेको छ, समरलाई । ‘तर, दसैँमा केही नभए पनि २५ हजारसम्म खर्च भइहाल्छ । यो पैसा जोगाउन पाएको भए त ऋण तिरिन्थ्यो,’ समरले सुनाए ।

घर बनाउँदा लागेको ऋण तिर्न उनी विदेश जाने सोचमा पनि थिए । त्यसैका लागि उनले पासपोर्ट पनि बनाए । 
तर, श्रीमतीले उनलाई विदेश नजाऊ भनिन् । ‘नपढेको मान्छे, विदेश नजानू भनिन् श्रीमतीले ।’ श्रीमतीको सल्लाह टार्न नसकेर समर विदेश गएनन् । अहिले उनलाई पासपोर्ट बनाउँदा १० हजार बित्थामा खर्च भयोजस्तो लागेको छ । ‘त्यही १० हजार भएको भए पनि यो सालको दसैँ रमाइलो हुन्थ्यो,’ सनमले हाँस्दै सुनाए ।

चिया पसले

शान्तिदेवि गौतम एघार वर्षदेखि चाबहिलको सडकमा चिया बेचिरहेकी छिन् । उनलाई सटरमा नै चिया पसल चलाउने मन नभएको भने होइन । ‘मन भएर मात्रै नहुने, पैसा पनि चाहिँदो रहेछ,’ शान्तिले सुनाइन् ।

बिहान ४ बजेदेखि ७ बजेसम्म शान्ति चिया पसल चलाउँछिन् । शान्तिको चिया पसलमा दैनिक चार सयदेखि पाँच सयसम्मको व्यापार हुन्छ । उनकोे जीवन गुजारा गर्ने एउटै माध्यम हो, चिया पसल । 

देशभर दसैँको रौनक छाइसक्दा पनि उनलाई दसैँको रौनकले छोएको छैन । ‘माइतीमा आमा–बुबा पनि छैनन्, घरमा श्रीमान् छैनन्,’ शान्तिले भनिन्, ‘एक्लो मान्छेले के दसैँ मनाउनु !’ १८ वर्षअघि शान्तिका श्रीमान्को मृत्यु भएको थियो । शान्तिका सन्तान पनि छैनन् । 

१० वर्षदेखि शान्तिको जीवनमा कुनै चाड आएको छैन । बरु दसैँमा उनको व्यापार भने बन्द हुन्छ । ‘मान्छे नै हुँदैनन्, पसल बन्द गर्नुपर्छ,’ शान्तिले भनिन् । उनलाई लाग्छ, यो दसैँ त नआए पनि हुने । ‘दसैँमा सबैजना आ–आफ्नो घर जान्छन्, अब म कता जानु !’
  
ढुंगा फोर्नेको कथा

चाबहिल गोपिकृष्ण सिनेमा हलअगाडि सडकमा सिलौटा फिँजाएर राखिएका छन् । मुस्किलले नेपाली बोल्न जानेका दुई दाजुभाइ दिनभर ढुंगा खोपेर बस्छन् । सनी कुसबाँडिया र शिव कुसबाँडिया । 

काठमाडौं अहिले दसैँमा रंगिएको छ । जताततै दसैँको माहोल छाएको छ । तर, सडकमा बसेर ढुंगा खोपिरहेका यी दुईलाई भने दसैँ के हो भन्ने पनि थाहा छैन ।

१० वर्षीय सनी र १३ वर्षीय शिवको घर भारत हो । तर, भारतको कुन ठाउँमा हो भन्ने थाहा छैन । ‘लुम्बिनीसे अन्दर जाते हे, और कुछ देरमे हमारी गाउँ हे,’ शिवले आफ्नो गाउँ जाने बाटो बताए । शिव र सनीका आमा बुबा मात्रै होइन, बाजे पनि नेपालमै छन् । उनका बुबा–आमा पनि सिलौटा बनाउने काम गर्छन् । 

अहिले एउटा सिलौटाको मूल्य ६ सय देखि २ हजार रुपैयाँ पर्ने गर्छ । ‘छे सौ से दो हजार तकका हे ।’ सिलौटामा छिनो चलाउँदै शिव भन्छन् । अहिले नेपालमा दसैँ सुरु भएको कुरा उनीहरूलाई थाहा छ । तर, दसैँ के हो भन्ने कुरा भने थाहा छैन । दसैँमा काठमाडौं सुनसान हुने भएपछि उनीहरू पनि भारत जान्छन् । 

त्यसो त नेपालको दसैँले उनीहरूलाई पनि छोएको छ । दसैँकै लागि भनेर शिव र सनीले उनका आमा–बुबाका लागि नयाँ कपडा पनि खरिद गरिसकेका छन् । ‘हम्ने भी नये कपडे खरिद चुके हे,’ सनीले मुस्कुराउँदै भने । 


 

फरक विशेष
यो पनि नछुटाउनुहोस्