फरक विशेष
‘नमरेर ठिकै गरें भन्ने लाग्छ’
कात्तिक ९, २०७५

मान्छे एकपटक जन्मछ । मर्छ पनि एकैपटक । तर जीवनमा उसले बाँच्ने अवतार भने एक होइन, अनेक हुन्छन् । सत्य हो ! कुनै अवतारले जीवनभर गौरवको अनुभूति दिलाउँछन् । सम्झँदा पनि सन्तुष्टिको श्वास फेर्न सकिन्छ । तर कुनै त यस्ता पनि अवतार हुन्छन्, जसको बारेमा खुलेर कुरा गर्न मन लाग्दैन । वा उक्त अवतारसँग जोडिएर आउने क्षणलाई सम्झनभन्दा बढी बिर्सन मन लाग्छ । यस्तै छ, शान्ति तामाङ लामाको एउटा अवतार ।

जन्म एक । तर दुइटा जुनी बाँच्नु परेको छ, शान्ति लामाले । एक वर्षसम्म मानसिक रोगको सिकार बनिन्, लामा । एकोहोरो टोलाइरहिन् । धेरै मान्छेको भीड देख्दा बेहोस् हुन थालिन् । उनका हात–खुट्टा पनि लगलग काम्न थाले । ‘त्यतिबेला किन बाँचियो भन्ने लाग्यो’ उनको गला खसखसाउँछ– ‘तर अहिले धेरै कुरा सिक्न पाएँ । नयाँ जीवनको सुरुवात पनि गरेकी छु ।’

शान्तिले यसको भन्नुको पछाडि एउटा कथाजस्तो लाग्ने कारुणिक वास्तविकता छ । जानकारीका लागि भन्नैपर्ने हुन्छ, शान्ति सिन्धुली जिल्लाको दुर्गम गाउँमा जन्मिन् । त्यो समयमा मान्छेको चेतना पनि ‘दुर्गम’ नै थियो । दुर्गम गाउँमा, त्यो पनि छोरी भएर जन्मिएका कारण पढ्नु हुँदैन, छोरी भनेका पराइ घर जाने हुन् भन्ने संस्कारको चपेटामा उनी पनि परिन् ।

फलतः शान्तिले चाहेको जति अध्ययन गर्न पाइनन् । जतिबेला शान्ति दुर्गम गाउँको बाटो हुँदै सुगम सहर काठमाण्डौं झरिन् त्यस्तै १२ वर्षकी थिइन् होला । उनी त्यो उमेरमा काठमाडौं झर्नुको मुख्य उद्देश्य पैसा कमाउनु नै थियो । काठमाडौं उनले सोचेजस्तो त थिएन । तर काम नपाएर खाली बस्नु पनि परेन शान्तिलाई । उनले गलैंचा कारखानामा सानो काम पाइन् । तलब– ३०० रूपैयाँ । तर, त्यही काममा पनि उनको ३ महिना तालिम भनेरै गयो ।

कमाइ गर्न काठमाडौं आएकी शान्तिले धेरथोर कमाइ त गरिन् । तर त्यतिले गुजारा चल्नेजस्तो देखिएन । काम नपाएर भन्दा काम पाएकोमा चिन्ता लाग्न थाल्यो, शान्तिलाई । एकदिनको कुरा हो ।

शान्तिलाई कसैले भनिदियो– ‘यहाँ भन्दा राम्रो कमाइ त बनारसमा हुन्छ ।’ त्यसपछि शान्तिलाई छटपटि बढ्यो । जब बनारस लगेर काममा लगाइदिने चिनेजानेकै मान्छे पनि भेटियो, शान्ति आफ्ना सहकर्मीसँगै बनारस जान तयार भइन् । कहाँ सिन्धुलीदेखि काठमाडौंसम्मको मात्र यात्रा गरेकी शान्ति, कहाँ बनारस ?

यो उनको देश बाहिरकै पहिलो यात्रा थियो । काठमाडौंबाट सुनौलीका लागि छुटेको बसमा दृढ निश्चयका साथ बसिन् शान्ति । शान्तिले एक्लो महसुस गर्नुपरेन । किनकि, त्यहाँ गलैंचा कारखानामा काम गर्ने अन्य महिला साथी थिए । बनारस लगेर काममा लगाइदिने चिनेका व्यक्ति पनि शान्तिसँगै थिए । उनलाई यति लामो यात्रा गर्नुपर्दा पनि कतै ‘डर’ थिएन । बसले आफ्नो निश्चित गति समाएपछि शान्तिलाई ढुक्क भयो । लामो सास फेरिन् । कपाल मिलाइन् । र, आँखा  मिचिन् ।

बेलाबेला झ्यालबाट तन्किएर बाहिरको दृश्य चियाउँथिन् शान्ति । घरिघरि एकोहोरो जस्तो बन्थिन् । उँघ्थिन् पनि । यसरी बस सुनौली पुग्यो । सुनौली झर्दा शान्तिलाई एकदम नौलो ठाउँ लाग्यो । काठमाडौंमा हुँदा पनि खासै बाहिर घुमफिर नगरेकी उनलाई, काठमाडौंकै कतिपय ठाउँहरू पनि विराना जस्ता लाग्थे । नौला लाग्थे । त्यस्तै महसुुस उनले सुनौली पुगेर पनि गरिन् । सुनौलीमा खानपिनको कार्यक्रम भयो । सबै त्यहीँ बसे । बनारस जाने क्रममा सुनौली–महाराजगञ्ज (नेपाल–भारत बोर्डर) बाट बसमा गोरखपुरका लागि प्रस्थान गर्दा शान्तिलाई एउटै मात्र चिन्ता थियो– कसरी हुन्छ धेरै पैसा कमाउने । गोरखपुर पुगेपछि उनले जीवनमा पहिलोपटक फलामको पाङ्ग्रा भएको ला...मो रेल देख्न पाइन् ।

अनि, त्यहीँबाट सुरु भयो शान्तिको जीवनमा रेल जस्तै लामो दुःखको दुःखद् शृङ्खला ।

‘रेल चढेको केही बेरपछि स्टेशनमा बेच्न ल्याएको खाना खाएकी हुँ’ शान्ति सम्झिने कोसिस गर्दै भन्छिन्– ‘ब्युझँदा कमाटिपुर, बम्बइ पुगेकी रहिछु ।’ कुनै सुकुम्बासीको झुप्रो जस्तो लाग्ने जस्ताले छाइएको घरमा शान्तिलाई पुर्याइयो । उनले आफू बनारस नभएर बम्बइ आएको बल्ल थाहा पाइन् । बाहिरबाट जस्ताले बारेको उक्त झुप्रो भित्र भने भव्य महल जस्तै थियो । त्यहाँको सजावटले उनलाई नलोभ्याएको पनि होइन । तर त्यहाँ उनले आफू जस्तै १०० जना नेपाली चेलिबेटीलाई देखिन् ।

‘म नयाँ भएर होला...’ उनलाई फकाउन गरिएको प्रयासबारे भन्छिन्– ‘राम्रै कोठामा राखे । बाहिर घुमाउन पनि लगे ।’ शान्तिको यो शृङ्खलमा अर्को दुःख थपिन आइपुग्यो । त्यो के भने, उनीसँगै गएका सबै साथीलाई त्यहाँबाट बाहिर कतै लगिएछ । त्यसपछि शान्ति एक्लो र शून्य बनिन् । बाहिर झुप्रो र भित्र महल लाग्ने त्यस कोठिकी सञ्चालक थिइन्, नेपाली दिदी । उनैले शान्तिलाई बताइन्– ‘अबदेखि तिमीले काम गर्ने ठाउँ यही हो ।’

शान्तिलाई कुनै तीखो काँडाले घोेचेजस्तो भयो । शान्तिलाई जुन कोठमा राखियो, पुरै पर्दा लगाएर राखियो । त्यो पर्दा उचालेर हेर्ने आँट शान्तिमा आएन । कोठिकी दिदीले पनि उनलाई बाहिर नजान अह्राइराख्थिन् । आफू सँगसँगै गएका साथी पनि त्यहाँ नहुँदा र दिदीले बाहिर नजाने उर्दी जाहेर गरेपछि शान्तिले बाहिर निस्कने आँटसम्म गरिनन् । बन्द कोठाको चीसो भित्तोसँग एकालाप गर्दागर्दा शान्ति आत्तिइन् । उनी चिच्याइन् । कराइन् । तर उनको स्वर कोठीकि दिदीसम्म मात्रै पुग्यो ।

‘जसले तिमीलाई लिएर आयो, उसले नै बेचेर गइसक्यो’ दिदीले शान्तिलाई सम्झाउँदै भनिन्– ‘अब त्यो पैसा नतिरेसम्म तिमी यहाँबाट कतै जान पाउँदिनौ ।’ शान्ति खङ्ग्रङ् भइन् । 

शान्तिलाई गाई बाख्रा बेचेको त राम्ररी थाहा थियो । तर यसपटक उनले आश्चर्यको अनुभव गरिन्, मान्छे बेचिएको खबरबाट । त्यो पनि आफैं । ‘मान्छे नि बेच्न मिल्छ र दिदी ?’ कोठीकि साहूनीसँग सोधिन् शान्तिले । ‘अँ’ जवाफमा दिदीको मुखबाट खस्रो बोली मात्रै सुन्न पाइन् शान्ति लामाले । शान्तिलाई लाग्यो, जहाँ गएपनि आखिर काम गर्नु नै हो । पैसाका लागि श्रम खर्चिनु नै हो । काठमाडौंमै भएको भए भाषाको समस्या हुँदैनथ्यो । साथीसङ्गी मिलेर बाहिर घुम्न जाउँ भनेपनि सकिन्थ्यो । अझ सबैभन्दा सजिलो त चाहेको बेला घर आउजाउ गर्न सकिन्थ्यो । खैर, बम्बइमा ती सुविधा नभएपनि कम्तिमा पैसा त कमाइन्छ । विरानो सहर बम्बइमा दुई दिन बिते शान्तिका ।

उनलाई छुट्टै कोठामा राखेर खाने पिउने व्यवस्था भएको थियो । साहूनी दिदीको व्यवहार पनि राम्रै थियो । यति हुँदाहुँदै पनि आफूले गनुपर्ने कामबारे शान्ति अनभिज्ञ थिइन् । तर, तेस्रो दिनपछि कहालीलाग्दा क्षणको औपचारिक उद्घाटन भयो । अब शान्ति कोठामा एक्लै नहुने भइन् । साहूनीले नयाँनयाँ ग्राहक उनको काँचो मासुसँग खेल्नका लागि पठाउन थालिन् । विवशताको ठूलो चट्याङ् शान्तिले चुपचाप सहिरहिन् । उनका आँखामा पीडाका आँसु टिलपिलाइरहे । तर, यो अवस्था भोग्ने शान्ति एक्लो थिइनन् ।

बरू यसरी शरीर बेच्ने काम चाहिँ जीवनकै पहिलो र तीतो अनुभव थियो उनकाे। यो अवस्थामा शान्तिलाई सम्हाल्ने भनेका त्यहीँ काम गर्ने नेपाली चेली रहेछन् । ‘यहाँबाट फर्किने भनेको एकैपटक मरेपछि मात्र हो’ शान्ति जस्ता थुप्रैले उनलाई यही कुरा सुनाउँथे । त्यसपछि शान्ति झन् बिथोलिन्थिन् । ‘पहिले हामीलाई मेकअप गर्न लगाइन्थ्यो’ बम्बइको काल कोठरीमा कसरी आफूलाई शरीर बेच्न तयार पारिन्थ्यो भन्ने प्रसङ्गमा शान्ति भन्छिन्– ‘त्यसपछि ढोकामा लस्करै हाम्रो फोटो टाँसेर विज्ञापन गर्थे । अनि मन परेको फोटो छानेर पुरूष सिँगोरी खेल्न हाम्रा कोठामा आइपुग्थे ।’

उनको नाम विपरीत जीवनमा अशान्ति छाउन सुरु भयो । जब पुरूष ग्राहक कोठमा छिर्थे, अनेक हर्कत गर्थे । उनीहरूले भनेको जस्तै गर्नुपर्थ्याे। यदि नगरेको खण्डमा चुरोटको ठुटोले पोल्दिने, कुट्ने–पिट्ने, धम्क्याउने आदी गर्दा रहेछन् शान्तिलाई । आफैंले आफैंलाई सम्हालेर शान्तिले २ वर्षसम्म यस्ता कहाली लाग्दा र शरीरका रौं ठाडा बनाइदिने अनेक घटनाहरू भोग्नुपर्यो ।

 

सन् १९९६ मा भारतीय प्रहरीले ब्रोथर क्षेत्रमा छापा मार्यो । छापा मार्नुको उद्देश्य चाहिँ १८ वर्षमुनिका बालबालिलाई बालश्रमबाट मुक्त गर्नु थियो । त्यतिबेला शान्तिको उमेर त्यस्तै १५/१६ थियो होला । भारतीय प्रहरीको सहयोगमा मारिएको छापामा शान्तिले पनि त्यो नरकबाट निस्कने मौका पाइन् । ‘जीवनमा सबैभन्दा खुसी भएको दिन हो त्यो’ शान्ति बोल्दाबोल्दै भावुक हुन्छिन् ।

फेरि अर्को संघर्ष

ब्रोथेलमा छापा मारेर अन्यको साथमा शान्तिको पनि उद्धार त भयो । तर फेरि फरक तरिकाको संघर्षको बाटोे हिँड्नुपर्यो भयो, शान्तिलाई । ब्रोथरबाट उद्धार गरिएपछि प्रहरीले जेलमा राख्यो शान्ति र ‘शान्तिहरू’लाई । जेलमा पनि ढुक्कले सास फेर्न पाइनन्, शान्तिले । त्यहाँका प्रहरीले उनीहरूलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार निकै घिनलाग्दो थियो । विकल्पमा शान्तिले यो पनि चुपचाप सहिरहिन् । त्यसैबीचमा नेपाल सरकारलाई उनीहरूको अवस्थाबारे खबर भयो । तर, सरकारले यस सम्बन्धमा कुनै चासो देखाएन । पछि माइती नेपाल लगायतका ७ वटा संस्थाले भारतमा बेचिएका नेपाली चेलीको उद्धार गर्ने भए ।

अहिले शक्ति समूह खोलेर चेलीबेटी बेचबिखनबारे उद्धार र सहयोग गर्दै आएकी चरिमाया तामाङ पनि त्यतिबेला शान्तिसँगैको उद्धार हुने समूहमा रहिछिन् ।

हेर्ने फरक आँखा

शान्ति लामाले दुईवर्षको अवधिभर शब्दमा व्यक्त गर्न नसकिने बर्बरता भोगिन् । ६ महिना जेलबास बसिन् । र, नेपाल फर्किइन् । नेपाल फर्कंदा उनले एउटा उपहार बोकेर फर्किइन् । उपहार थियो– एचआइभी एड्स । दुईवर्षसम्म शान्तिले पाइला टेक्न पाइनन् त के भो ? देश उही थियो, उस्तै थियो । नेपाली माटोको सुगन्ध अझै बाँकी थियो । तर, मान्छेको उनलाई हेर्ने दृष्टिकोण एकाएक बदलिइसकेको थियो ।

‘जब म नेपाल फर्किएँ, सोचेजस्तो केही थिएन’ शान्ति लामो सुस्केरा हाल्छिन्– ‘नेपालका केटा बिगार्छे, एड्स् सर्छ, घर–समाजको इज्जत पनि फाल्छे । बरू सबै मिलेर यसलाई लखेट्नुपर्छ भनियो ।’ 

नयाँ यात्रा

नेपाल आएपछि शान्तिले विगत बिर्सने कोसिस गरिन् । तर, शान्तिलाई बिर्सिने भने कोही भइदिएनन् । घरमा बाले सम्झिए । गाउँलेले पनि सम्झिरहे उनलाई । तर अलिक भिन्न तरिकाले । बाले पानी छुन नदिएर सम्झिएछन् । गाउँलेले मेलापर्व, सार्वजनिक स्थानमा हुने कार्यक्रममा सहभागी हुन नदिएर सम्झिए । शान्तिलाई सम्झिने सिलसिला काठमाडौंसम्म पुग्यो । ‘काठमाडौंमै केही गर्छु भनेर कोठा भाडा खोज्दा पनि दिएनन्’ शान्ति गुनासो पोख्छिन्– ‘उल्टै दुर्व्यवहारको सामना गर्नुपर्यो मैले ।’ एचआइभी भएको भनेपछि शान्तिले मानसिक तनाव पनि उत्तिकै झेल्नुपर्यो । अस्पताल जाँदा उपचार नहुने, डाक्टर पनि नजिक पर्न नचाहाने, कसैले छुन नखोज्ने लगायतका विभिन्न तनाव झेलिन् । र, पनि शान्ति हरेस खाइनन्, शान्तिले ।

एकबाट दुई 

२०५८ मा शान्तिको विवाह भयो । यो अनपेक्षित जस्तै थियो । उनलाई लाग्थ्यो, म जस्तोलाई कसले पो बिहे गर्ला ? तर, उनको यो अनुमान गलत साबित भयो । यद्यपि सम्बन्ध लामो समय भने टिक्न सकेन । ‘त्यस्तै मुश्किलले एक वर्ष टिक्यो होला’ विवाहको कुरामा शान्ति यति नै बोल्न चाहिन् । शक्ति समूहमा जोडिइन् । शक्ति समूह त्यही संस्था हो, जो शान्ति जस्तै पीडित चेली चरिमायाले खोलेकी थिइन् ।

२०७२ मा नेपालमा महाभूकम्प गयो । शान्ति दिनरात नभनि उद्धार र राहतका कार्यक्रममा जुटिन् । त्यही सन्दर्भमा विभिन्न जिल्ला पनि पुगिन् । उनलाई लागेछ, यतिकै मरें भने एचआइभी एड्स लागेर मरि भन्छन् । तर राहत वा उद्धार गर्दैगर्दा मरें भने कम्तिमा नराम्रो तरिकाले मृत्युको ब्याख्या–उपब्याख्या त हुँदैन । 

आफ्नै संस्था 

शक्ति समूहमा आवद्ध विभिन्न जिल्लाका महिलाहरू पनि एउटै समस्याबाट गुज्रिरहेका थिए । शान्तिलाई जस्तै तिनीहरूलाई पनि एच्आइभी एड्स देखिएको थियो । आफूलाई जस्तै अब अरूलाई पनि यस्तै अवस्था नआओस्, कसैले हेपिनु नपरोस् भन्ने लागेपछि शान्ति आफ्नै संस्था खोल्ने निर्णयमा पुगिन् । जिल्लामा रहेका सबैले सक्दो सहयोग गर्ने आश्वासन दिए । त्यसपछि उनी वकिलकोमा धाइन् । अनेक हार गुहार गरिन् । र, संस्था जन्मियो– पिस फाउण्डेशन अर्थात् शान्ति फाउण्डेशन । 

अहिलेकी शान्ति 

अहिले शान्ति दङ्ग छिन् । उनले खोलेको पिस फाउण्डेशनमा उनीजस्तै ३६ जना महिला जोडिएका छन् । सबैले आआफ्नो घरमा बसेर ह्याण्डी क्राफ्टको काम गर्छन् । र सामना देस विदेससम्म पुर्याएर आम्दानी गर्छन् । स्वरोजगारको सिर्जना गर्न पिस फाउण्डेशनले विभिन्न जिल्लामा पुगेर ट्रेनिङ पनि दिँदै आइरहेको बताउँछिन्, शान्ति । सामान बेचे वापत १ रूपैयाँ संस्थाामा जम्मा गर्नुपर्ने नियम रहेछ ।

पर्याप्त फण्ड नभएपनि अमेरिकी आइएनजीओले सानो सहयोग गरिरहेको रहेछ शान्तिको संस्थालाई । पन्ध्र हजार भाडा तिरेर अफिस खोलेकि छिन्, जहाँ ३ जना तलबी कर्मचारी काम गर्छन् । ‘पहिले त किन आफू किन बाँचे भनेर आफैंलाई धिक्कार्थेँ’ लय भत्किसकेको जीवनलाई पुनः लयमा फर्काएकि शान्ति भन्छिन्– ‘तर अहिले नमरेर ठिकै गरेँ भन्ने लाग्छ ।’

(फरकधार अर्काइभबाट)

फरक विशेष
यो पनि नछुटाउनुहोस्