फरक विशेष
नेपालका राजनीतिक दलभित्र उठ्ला मिटु आन्दोलन ?
मंसिर १३, २०७५

काठमाडौं– कार्यक्षेत्रमा हुने यौनहिंसाविरुद्ध फिल्मी दुनियाँ तथा मिडियाका महिलाले धुवाँधार मिटु अभियान चलाइरहँदा राजनीतिक क्षेत्रका महिला भने मौन देखिन्छन् । अमेरिका, युरोप हुँदै भारतमा पनि मिटु अभियानले हल्लीखल्ली मच्चायो भने नेपालमा पनि यसको छिटपुट प्रभाव देखियो । तर, नेपालका राजनीतिकर्मी महिलाहरू चाहिँ किन मौन छन् त ?

आफू काम गर्ने दल वा कुनै सामाजिक सञ्जालमा मिटु अभियान नचलाए पनि पुरुष सहकर्मीले मनोवैज्ञानिक दबाब र चरित्रहत्या गर्ने गरेको महिला नेताहरू स्वीकार गर्छन् । फरकधारसँग कुराकानीमा सामेल महिला नेताहरूले आफैँ यौनदुव्र्यवहारमा नपरेकाले मिटु अभियान चलाउन आवश्यक नठानेको बताए ।

नेतृत्वमा आउन नदिन विभिन्न मिथ्या कहानी बनाएर महिला नेताको चरित्रमा दोष देखाउने र हतोत्साही गर्ने गरिएको अनुभव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेता रेणु चन्द सुनाउँछिन् । ‘कुनै पनि पुरुषले वैचारिक रूपमा सहकर्मी महिलालाई पछि पार्न सकेन भने उसको अर्को हतियार महिलाको चरित्र हो,’ चन्द भन्छिन्, ‘आफू अगाडि आउनका लागि पुरुषहरू आफ्नै हिसाबले महिलाको चरित्र व्याख्या गर्न थाल्छन् ।’ 

आफूले कुनै यौनहिंसा प्रत्यक्ष नबेहोरेको बताउँदै चन्द थप्छिन्, ‘मैले अरूको घटना बाहिर ल्याइदिन मिल्दैन । घटना बाहिर नआएपछि विरोध र न्यायका कुरा पनि आउँदैनन् ।’ कांग्रेस नेता पुष्पा भुसाल पनि महिलाले पार्टीभित्र विभिन्न मनोवैज्ञानिक समस्या बेहोर्नुपरेको स्विकार्छिन् । उनको स्पष्टोक्ति छ, ‘नेतृत्वको दाबेदार महिला भएको अवस्थामा पछि हट्न अनुरोध आउँछ । अनुरोधले भएन भने पुरुषहरूबाट धम्कीसमेत आउँछ । जसकारण महिलाहरू के गर्ने के नगर्ने द्विविधामा पर्छन् ।’

संघीय समाजवादी फोरमकी नेता तथा पोखरिया नगरपालिका, पर्साकी उपमेयर सल्मा खातुनको पनि आफैँ यौनदुव्र्यवहारमा नपरेको दाबी छ । तर, पुरुष नेताहरूले व्यक्तिगत सम्बन्ध बनाउन दबाब सिर्जना गर्ने गरेको भने उनको स्वीकारोक्ति छ । भन्छिन्, ‘व्यक्तिगत कुराकानी नगरेकै बहानामा पुरुष सहकर्मीहरू बोलचाल बन्द गरेर बसेको महसुस मैले पनि गरेको छु । यहाँसम्म कि फलानो यस्तो–उस्तो पनि भन्न भ्याउँछन् ।’

नेकपाकै नेता बिन्दा पाण्डे भने पार्टीभित्र यौनदुव्र्यवहारका घटना अहिले कम भइसकेको दाबी गर्छिन् । ‘पहिले–पहिले त संगठनभित्र दुव्र्यवहारका छिटपुट घटना हुन्थे,’ पाण्डेले भनिन्, ‘अहिले राजनीतिमा आउने धेरैजसो महिला विद्रोही स्वभावका छन्, घटना स्वतः कम हुन्छ ।’

राजनीतिक पार्टीका माथिल्लो तहमा पुगेका नेताहरू संगठनको नेतृत्व तहमा आउन पुरुष सहकर्मी नै बाधक भएको बताउँछन् । 

कांग्रेस नेता पुष्पा भुसालका अनुसार बौद्धिक क्षमताले महिलालाई जित्न नसकेपछि पुरुषहरू चरित्रलाई हतियार बनाउँछन् । भुसाल थप्छिन्, ‘परिवारमा होस् वा पार्टीमा प्रायः पुरुषहरू महिलाको नेतृत्व स्विकार्न सक्दैनन् । त्यसैले उच्च तहमा पुग्न पनि दिँदैनन् ।

प्रत्यक्ष हिंसा अस्वीकार गरे पनि आफूहरूप्रति अप्रत्यक्ष मनोवैज्ञानिक हिंसा हुने गरेको तथ्यलाई भने महिला नेताहरूले अगाडि ल्याएका छन् । ‘महिलाले नेतृत्व गरेको क्षेत्रलाई पुरुष सहकर्मीले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा बहिष्कार गर्ने गरेका छन्,’ उपमेयर खातुन दाबी गर्छिन्, ‘स्थानीय तहकै सन्दर्भमा पुरुष वडाअध्यक्ष वा सदस्यहरू पुरुषसँग नै सहकार्य गर्न रुचाउँछन् । यसको सोझो अर्थ महिलाको नेतृत्व स्विकार्न नसक्नु नै हो ।’ 

नेता चन्द भने पुरुष नेताहरूले चारित्रिक दोष निकाल्न खोजेमा आफू सही बाटोमा भएको बुझ्नुपर्ने बताउँछिन् । तर, उनी आफैँले भने यस्ता घटनालाई लैंगिक विभेदका रूपमा प्रतिवाद गर्ने गरेको देखिएन । पटकपटक आफ्नो चरित्र हत्या गर्न खोजिएको स्वीकार गर्ने उपमेयर खातुन पनि यस्ता मनोवैज्ञानिक हिंसाविरुद्ध पार्टीभित्र वा कानुनी प्रतिवादमा उत्रिएकी छैनन् ।

नेपाल महिला संघकी उपाध्यक्ष लक्ष्मी खतिवडा पार्टीभित्र दुव्र्यवहार हुने गरेको दाबी गर्छिन् । ‘महिलाहरू कुनै न कुनै प्रकारको दुव्र्यवहार सहेर बसिरहेका छन्,’ उनी भन्छिन्, ‘समाजमा बेहोर्नुपर्ने अनेक प्रश्नका कारण पनि उनीहरू चुप बस्न बाध्य छन् ।’ त्यस्ता हिंसाजन्य क्रियाकलापको विरोध गर्दा पार्टीभित्रै असुरक्षित हुनुपर्ने उनको अनुभव छ ।

राजनीतिमा रहेका महिलाहरूले पनि कुनै न कुनै यौन दुव्यर्वहार भोग्ने गरेको तथ्य सबै महिला नेताले स्वीकार गरेका छन् । तर, राजनीतिक क्षेत्रमा मिटु वा यस्तै कुनै यौन दुव्यर्वहार विरोधी अभियान भने हालसम्म चलेको छैन । 

महिलाहरूलाई नेतृत्व तहमा आउन नदिन भने पुरुष सहकर्मीले मनोवैज्ञानिक हिंसाको सहारा लिने गरेको तथ्य भने सबैले स्वीकार गरेका छन् । भविष्यमा कुनै अभियान राजनीतिक दलका महिला नेताहरूले सुरु गर्लान् ? यो प्रश्नको जवाफ भने भविष्यकै गर्भमा छ ।
 

फरक विशेष
यो पनि नछुटाउनुहोस्