फरक विशेष
के नेपालका मिडिया ‘फेक न्युज’ कम्पनी बनेका हुन् ?
१४ मंसिर, २०७५
सम्पादकहरू भन्छन्– सञ्चारमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिए

काठमाडौं– नेपालका सञ्चारमाध्यम ‘फेक समाचार उत्पादन गर्ने कम्पनी’ बन्दै गएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको आरोपलाई विभिन्न मिडियाका सम्पादकले गैरजिम्मेवार अभिव्यक्तिको संज्ञा दिएका छन् ।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सुनाउन आयोजित कार्यक्रममा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता बाँस्कोटाले नेपाली मिडियाले ‘फेक न्युज’ सम्प्रेषण गरेको आरोप मात्र लगाएनन्, मिडियामाथि आक्रोश नै पोखे । ‘कतिपय मिडिया फेक न्युज प्रोड्युसर कम्पनीका रूपमा विकास हुन थालेका हुन् किजस्तो छ,’ बाँस्कोटाले भनेका थिए । यति मात्र होइन, बाँस्कोटाले सरकारको आलोचना गरेको आरोप लगाउँदै नेपाली मिडियामाथि थप प्रहार गरे । 

के नेपाली मिडिया साँच्चै ‘फेक न्युज प्रोडक्सन हाउस’ भएका हुन् त ?

‘होइन, हाम्रा सञ्चारमन्त्री बाँस्कोटालाई पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हावाले छोएको मात्र हो,’ अंग्रेजी दैनिक रिपब्लिकाका सम्पादक सुवास घिमिरेले फरकधारको प्रश्नमा जवाफ दिए, ‘हामीले सरकारका काममाथि प्रश्न उठायौँ, उनीहरू आत्तिए । अनि हामीलाई फेक न्युजको मिथ्या आरोप लगाउन थालेका हुन् ।’

बाँस्कोटाको आरोपको खण्डन गर्दा सुवासले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको सन्दर्भ उप्काए । उनले भने, ‘सरकारी मिडिया हाउसमा निर्मलाबारे कुनै समाचार आएका छैनन्, हामीले लेखेका छौँ । यो समाचार सम्प्रेषण नगर्नु भन्ने सरकारकै उर्दी छ, तर त्यो उर्दी हामीले मान्ने कुरा भएन ।’

उनले थपे, ‘अहिले केपी ओली सरकार महान् छ भनेर कसैले लेख्नै सक्दैन, लेख्नै मिल्दैन । र, उसको आलोचना गर्नु नै फेक न्युज हुनु होइन ।’

नयाँ पत्रिकाका कार्यकारी सम्पादक उमेश चौहान प्रेस पनि प्रश्नको घेरामा चाहिँ आउने, तर ती प्रश्नको चयन कसरी गरिन्छ भन्ने महत्वपूर्ण भएको बताउँछन् । स्वतन्त्र मिडिया कुनै सरकारको हकदार नहुने र उसको आलोचना गर्दैमा मिडियालाई फेक न्युज प्रोडक्सन कम्पनी भन्न नमिल्ने चौहानको तर्क छ । 

‘स्वतन्त्र प्रेसले आलोचना गरेको सरकारले पचाउन सक्दैन भने संसारभर त्यो सरकारले लिड गरिरहेको समाजको भलो हुनै सक्दैन,’ चौहानले भने, ‘सरकारले आलोचना सामना गर्ने संस्कारको विकास गर्नुपर्छ ।’

सञ्चारमन्त्री बाँस्कोटा पनि पूर्वपत्रकार भएको उनले स्मरण गरे । ‘सौभाग्य भनौँ कि दुर्भाग्य, सञ्चारमन्त्री पूर्वपत्रकार हुनुहुन्छ,’ चौहानले थपे, ‘उहाँले मिडियामाथि प्रश्न गर्दा शब्द चयन कसरी गर्ने भन्ने आफ्नै पृष्ठभूमिका कारण पनि ख्याल गर्नुपर्ने थियो ।’

‘तर, मिडियामा आएका सबै समाचार पत्याउनैपर्ने हुन्छन् वा प्रश्न गर्नै नहुने हुन्छन् भन्ने पनि होइन,’ उनले थपे । 

अमेरिकामा राष्ट्रपतीय निर्वाचन अभियानमा डोनाल्ड ट्रम्पले आफूमाथि आलोचना गरेका सिएनएन, वासिङ्टन पोस्टलगायत मिडियालाई ‘फेक न्युज’ उत्पादन गरिरहेको आरोप लगाएका थिए । त्यसपछि फेक न्युजको बहस संसारभर फैलियो । 

त्यही ट्रम्पको प्रसंगले अहिले सञ्चारमन्त्री बाँस्कोटालाई प्रभाव पारेको निष्कर्ष निकालेका छन्, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले पनि । 
‘प्रेसको आफ्नै धर्म र मर्यादा छ,’ लुइँटेलले भने, ‘उहाँ आफैँ पत्रकारितामा हुनुहुन्थ्यो, अहिले सत्तामा पुग्नुभएको छ, आफ्नो आलोचना उहाँलाई फेक न्युजजस्तो लाग्नु स्वाभाविक हो ।’

मिडियाले जनताका कुरा बोल्दा फेक न्युज उत्पादन गरेको आरोप लगाउन नहुने र सरकारका आलोचना व्यक्तिगत रूपमा उहाँमाथिको आलोचनाका रूपमा लिन नहुने लुइँटेलको तर्क छ । 

बाह्रखरी डटकमका सम्पादक प्रतीक प्रधान पनि सञ्चारमन्त्रीको बिहीबारको अभिव्यक्तिलाई ट्रम्पको अभिव्यक्तिसँग तुलना गर्छन् । ‘अमेरिकामा ट्रम्पले आफ्नै सन्दर्भमा भनेका कुरालाई भूमण्डलीकरण गरेर अब हाम्रो देशका नेताले पनि बोल्न थालेका छन्,’ प्रधानले भने, ‘यसले हाम्रो सरकार अटोक्रेटिक हुँदै गएको देखियो, सरकारले यसबारे वेलैमा सोच्नुपर्छ, अटोक्रेटिक टेन्डेन्सीबाट सरकार मुक्त हुनुपर्छ ।’

समाजको पहरेदार मिडियामाथि सरकारका व्यक्तिहरूले नै प्रश्न उठाउँदा नेपाल लोकतान्त्रिक देश हो भन्ने मूल मर्ममा नै प्रश्न गर्न सकिने ठहर उनको छ ।

एकातिर सम्पादकहरू सरकारका प्रवक्ताले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँछन् भने अर्कोतिर सामाजिक सञ्जालमा सरकारको विज्ञापन छापेकैले सरकारको आलोचना सहन मिडिया तथा सम्पादक तयार हुनुपर्ने तर्क पनि गरिएका छन् ।

के सरकारी विज्ञापन छापेकै कारण मिडियाले सरकारको आलोचना गर्न नहुने हो त ?

‘होइन, विज्ञापन आउने कुरामा त सम्पादकको के हात हुन्छ र ?’ घिमिरेले भने, ‘सरकार विज्ञापनदाता हो भनेर सञ्चारमन्त्रीले धम्की दिन खोज्नु पनि त भएन । विज्ञापनले मिडियाको स्वतन्त्रता खोस्न सक्दैन ।’

घिमिरेले मिडिया जसले थर्काए पनि नथर्किने संस्था भएको सबैले र सरकारमा भएकाले विशेष ख्याल गर्नुपर्ने बताए ।

चौहान पनि सूचना विज्ञापनसँग साटफेर गर्न मिल्ने कुरा नभएको बताउँछन् । ‘प्रेसको स्वतन्त्रतालाई विज्ञापनमा किन्ने कुरा आफैँमा दुर्भाग्य हो,’ उनले भने, ‘सूचना र विज्ञापन दुवै प्रेसका फरक र सैद्धान्तिक अधिकार हुन् ।’

मिडियामा ‘ज्याकेट एड’ दिएका छौँ र प्रेस हामीले किनेका छौँ भन्ने भ्रम कसैले पाल्न नहुने चौहानको तर्क छ । उनले यसरी विज्ञापनमा प्रेस किनेको भ्रम पाल्नु प्रेसका प्रश्नको इज्जत नगर्नु भएको बताए । ‘प्रेसले गरेका प्रश्नको इज्जत जब गरिँदैन, त्यो सरकारको भलो हुन असाध्यै गाह्रो छ,’ चौहानले भने । 

अर्का सम्पादक प्रतीक प्रधान पनि विज्ञापन र समाचारको तुलना गर्न नहुने बताउँछन् । ‘दुवै अलग कुरा हुन्,’ उनले भने, ‘विज्ञापन आयो, सकारात्मक लेखौँ र विज्ञापन आएन नकारात्मक समाचार लेखौँ भन्ने हुँदैहुँदैन ।’
 

फरक विशेष
यो पनि नछुटाउनुहोस्