फरक विशेष
सत्ता र समाजलाई यक्षप्रश्नः अनशन बसेका पूर्वलडाकु दलित मात्र किन ?
५ पुस, २०७५

काठमाडौं– मंसिर २७ गतेदेखि पूर्वमाओवादी लडाकुहरू काठमाडौंमा आन्दोलनरत छन् । विभिन्न पाँचबुँदे मागसहित पूर्वलडाकु आमरण अनशनसमेत बसे । मंसिर २७ गतेदेखि माइतीघर मण्डलामा अनशन बसेका ६ जना पूर्वलडाकुलाई प्रहरीले पुस २ गते राति वीर अस्पताल पुर्यायो । 

अनशनरत लडाकुको चिसोका कारण स्वास्थ्य अवस्था कमजोर भएको भन्दै प्रहरीले उनीहरूलाई उपचारका लागि वीर अस्पताल लगेको बताएको छ । २७ गते नै प्रहरीले जनयुद्ध तथा जनआन्दोलनका घाइते अपांग व्यवस्थापन समितिका संयोजक युवराज विकलाई सामाजिक हितविरुद्धको आरोपमा पक्राउ गर्याे । 

वीर अस्पतालको आकस्मिक कक्षमै अनशनरत छन्– पूर्वलडाकुहरू मंगलसिह प्रजा, मन दर्जी, नरवीर दमार्इं, संग्रामे सार्की, लीलाचन्द्र कामी र वीरबहादुर परियार । त्यसैगरी, महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा छन्, युवराज विक ।

वीर अस्पतालको आकस्मिक कक्षमा अनशनरत पूर्वलडाकु र प्रहरी हिरासतमा रहेका लडाकुबीच अर्को पनि समानता छ– उनीहरू सातैजना दलित हुन् । यति मात्र होइन, अहिले काठमाडौंमा रहेका धेरैजसो पूर्वलडाकु दलित नै छन् ।

पुस ३ गते सुदूरपश्चिम र कर्णाली प्रदेशबाट आन्दोलनका लागि भन्दै आइपुगेका पूर्वलडाकुमध्ये धेरैजसो दलित नै छन् । पुस ३ गते काठमाडौं आइपुगेका पूर्वलडाकुको नेतृत्व पदमराज परियार ‘महान्’ले गरेका थिए ।

१० वर्षसम्म चलेको माओवादी जनयुद्धमा दलितबाहेक अन्य जातिका मानिस पनि सहभागी भएका थिए । अन्य जातिका मानिस पनि घाइते तथा अपांग भएका थिए । वर्गीय मुक्तिको मूल नारासहित सुरु भएको जनयुद्ध सकिएको १२ वर्ष बितिसक्दा मुक्तिका लागि आन्दोलनमा होमिएका दलित पूर्वलडाकु अहिले उपचार पाउनुपर्ने भन्दै आन्दोलनमा छन् ।

शोषक तथा सामन्तविरुद्धको माओवादी नीतिले वर्षौंदेखि सामाजिक वृत्तमा पछाडि पारिएका आफूजस्तै हजारौं दलितलाई मुक्ति दिलाउने अपेक्षासहित माओवादी जनयुद्धमा लागेका नरवीर दमाई अहिले उपचार पाउनुपर्याे भन्दै अनशनमा छन् । वर्गीय मुक्तिको कुरा त परै जाओस्, लडाईंमा घाइते भएकाहरू उपचारमा पनि सरकारले वस्ता गरेको छैन ।

अनशनरत ६ जनासँग फरकधारले ‘तपाईंहरू किन माओवादी जनयुद्धमा सामेल हुनुभयो ?’ भनेर प्रश्न गर्दा सबैको लगभग एउटै जवाफ थियो, ‘अशिक्षा र गरिबीका कारण शोषित हुनुपरेका आफूजस्तै दलित र शोषित वर्गको मुक्तिका लागि ।’ 

वर्गीय मुक्तिका लागि जनयुद्धमा लागेको बताउने यी पूर्वलडाकु अहिले सरकारको कठोर रवैया देखेर निराश मात्रै होइन, हतास पनि भएका छन् । 

कालिकोटका मन दर्जी साक्षर मात्र छन् । आफूले पढ्न नपाउनुको कारण सुनाउँदै उनी भन्छन्, ‘कुनै समय हामीलाई ठूलाबडा र उच्च जातकाले मेरा छोराछोरीको किताब–कापी नछोऊ भन्थे । दलितले किताब–कापी छोयो भने पनि विद्या आउँदैन भन्थे ।’

यस्तो संस्कारको विरोध गर्न भन्दै दर्जी आफ्नो पढाइ छाडेर, श्रीमतीसहित जनयुद्धमा लागेका थिए । जनयुद्धमै लागेका कारण अहिले उनको परिवार आर्थिक संकटको सामना गरिरहेको छ ।

जनयुद्धको विकासक्रमसँगै त्यसपछिका आन्दोलनले दलितले पनि पढ्न पाउनुपर्छ भन्ने मान्यता विकसित भयो । २०६२/०६३ पछि त सरकारी क्षेत्रमा दलितका लागि भन्दै आरक्षण पनि गरियो । 

दलितलाई आरक्षण दिएर सरकारले राम्रो कामको सुरुवात गरे पनि अझै धेरै दलितको आर्थिक अवस्था बलियो नभएका कारण सबैले पढ्न नपाएको सुनाउँछन् नरवीर । उनी भन्छन्, ‘दलित पनि स्कुल पढ्न पाउनुपर्छ भनेपछि आर्थिक अवस्थाले दिएन ।’ उनी प्रश्न गर्छन्, ‘अहिलेसम्म कतिजना दलित राष्ट्रपति भए ? कतिजना दलित प्रधानमन्त्री भए ? कतिजना दलित प्रधानन्यायाधीश भए ?’

आर्थिक अवस्था बलियो भएका कारण शिक्षा लिन नपाएको र शिक्षा लिन नपाएपछि रोजगारी पनि नपाएको बताउँछन् मन । उनी भन्छन्, ‘शिक्षा छैन, रोजगारी छैन, अनि कहाँबाट उपचार गर्ने पैसा पाउने ।’ 

१० वर्षे जनयुद्धमा दलितबाहेक अन्य जातिका मानिस पनि घाइते भएका छन् । तर उनीहरू भने अहिले सामान्य जीवनमा फर्किएको बताउँदै वीरबहादुर भन्छन्, ‘उनीहरू थोरै भए पनि शिक्षित थिए । कतिपयसँग त पुर्ख्याैली सम्पत्ति थियो । खान पुग्ने जमिन थियो । त्यसैले पनि उनीहरूलाई अप्ठ्यारो परेन ।’

हिजो जनयुद्धमा सामेल हुँदा तत्कालीन माओवादीले बुर्जुवा शिक्षाको विरोध गर्दै जनवादी शिक्षा दिने वाचा गरेको स्मरण गर्दै मन भन्छन्, ‘पहिले दलितलाई किताब-कापी नछोऊ भने, त्यसपछि बुर्जुवा शिक्षा नपढ भने । अनि अहिले आएर जागिर माग्यो भने बुर्जुवा सर्टिफिकेट खोज्छन्, कहाँबाट ल्याउने हामीले सर्टिफिकेट ?’ 

गैरसरकारी संस्था इन्सेकले गरेको एक अध्ययनअनुसार दशवर्षे जनयुद्धमा एक सय १५ जना दलित घाइते भएका छन् । जनयुद्ध र त्यसपछिका राजनीतिक घटनाक्रमले देशमा परिवर्तन ल्याएको बताइरहँदा अनशनरत पूर्वलडाकु भने दलितका समस्या यथावत् रहेको बताउँछन् । उनीहरू भन्छन्, ‘१० वर्षअघि हामी जहाँ थियौं, आज पनि त्यही छौं ।’

दलितको आर्थिक अवस्था पहिल्यै पनि कमजोर थियो । त्यसमाथि घरका पुरुष सदस्य युद्धमा लाग्नु र घाइते भएर फर्किंदा घरको आर्थिक अवस्था दयनीय बन्दा आफूहरू आज यसरी सडकमा अनशन बस्न आउनुपरेको बताउँछन् वीरबहादुर । उनी भन्छन्, ‘हामीसँग न शिक्षा भयो न पैसा । अनि हामी सडकमा नआएर को आउने त ?’ वीरबहादुरको कुरामा थप्दै मन उखान सुनाउँछन्, ‘जसको शेष पानी पस्छ उही ठाडो उठी बस्छ ।’

अन्य जाति र समुदायका मानिस सामाजिक संरचनाको सुविधाअनुसार व्यवस्थित भएको तर दलितहरू जहीँको त्यहीँ रहेको बताउँछन नरवीर । कुनै समय माओवादीले आफ्नो आवाज उठाएर हर्षित हुँदै घर–परिवार त्यागेर जनयुद्धमा लागेका संग्रामे सार्कीलाई आफ्नो आवाज आफैंले उठाउनुपर्ने रहेछ भन्ने लागेर उनी अहिले अनशन बस्न आएका हुन् । संग्रामे भन्छन्, ‘कसले गर्ने हो त ? हामीले नगरेर कसले गर्ने ? हाम्रो विषयमा ठकुरी, बामन (ब्राह्मण) बोल्दैनन् ।’ 

पहिलेदेखि नै दलितसँग सम्पत्ति नहुने हाम्रो सामाजिक संरचनाले आफूहरूलाई थप मार परेको उनीहरूको बुझाइ छ । त्यसमाथि जनयुद्धमा लागेकै कारण आफूहरूको सामाजिक र आर्थिक अवस्था थप कमजोर बनेको अनशनरत पूर्वलडाकुको बुझाइ छ । जनयुद्धमा खर्च भएको समय र घाइते हुनुपरेका कारण आफूहरू सडकमा आउनुपरेको बताउँदै मन भन्छन्, ‘सडकमा ल्याएर हामीलाई छाडेको छ । त्यही भएर हामीले नै आन्दोलन गर्नुपर्याे ।’

यता, प्रहरी हिरासतमा रहेका युवराज विक पनि आन्दोलनको अग्रपंक्तिमा दलित मात्रै देखिनुलाई संयोग मात्रै मान्न नहुने बताउँछन् । हिरासतबाटै फरकधारसँग कुरा गर्दै उनले भने, ‘दलित मात्रै देखिनु संयोग मात्र होइन, अरू जात र समुदायका साथी पनि अप्ठ्यारोमा परेका छन्, तर अरू जात र समुदायकालाई अलिक सजिलो छ, त्यति सजिलो दलितलाई छैन ।’

हाम्रो सामाजिक संरचनाकै कारण दुःख पाउनुपर्दा पनि दलितले अरू धेरै पाउने र सुखै पाए पनि अरूको भन्दा थोरै पाउने बताउँदै युवराज भन्छन्, ‘जो सबैभन्दा धेरै पीडामा हुन्छ, रुने पनि उही नै हो, छिटो खुसी हुने उही हो ।’

लामो समयदेखि जनयुद्धका घाइते तथा अपांगलाई व्यवस्थापन गर्ने विषयमा कुरा उठेपनि सरकासँग प्रत्यक्ष माग राख्न अरू कोही नआउँदा धेरै मर्कामा परेका दलित समुदाय अगाडि सरेको युवराजले बताए ।
 

फरक विशेष
यो पनि नछुटाउनुहोस्