मिडियासँग ‘लभ एन्ड हेट’ रिलेसनमा मन्त्री बाँस्कोटा

काठमाडौं– सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा पत्रकारमाझ सार्वधिक चर्चाका पात्र हुन् । पत्रकारसँग प्रत्यक्ष जोडिइरहने मन्त्री बाँस्कोटा मिडियाका लागि समाचार स्रोत मात्रै होइनन्, गसिपका विषय पनि हुन् ।

पत्रकारलाई खोजी पत्रकारिता सिकाउने मास्टर हुन् उनी, र खोजी पत्रकारिताको चुनौती दिने सम्पादक पनि । ‘फेक न्युज’ र ‘रियल न्युज’ छुट्याउने मापक उनै हुन्, अनि मिडियाको अस्तित्वबारे भविष्यवाणी गर्ने ‘भविष्य द्रष्टा’ पनि ।

मिडिया र पत्रकारमाथि बाँस्कोटाका आरोप र चुनौती

मिडियालाई ‘फेक न्युज प्रोडक्सन कम्पनी’सम्म भन्न भ्याउने बाँस्कोटा पत्रकारलाई खोजी पत्रकारिताको चुनौती दिनसमेत पछि पर्दैनन् । १३ मंसिरमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले टिप्पणी गरे, ‘कतिपय मिडियाचाहिँ खै किन हो, मास कम्यिुनिकेसनको फेक न्युज प्रोड्युसर कम्पनीको रुपमा विकास हुन थालेका हुन् कि जस्तो लाग्छ ।’ अभिव्यक्तिसँगै उनको मुखमण्डलमा मिडियाप्रतिको रोष प्रस्टै देखिन्थ्यो । 

निर्मला पन्त प्रकरण र एसिया प्यासिफिक सम्मेलनका कारण आलोचनाको केन्द्रमा थियो सरकार । त्यसैबखत, बाँस्कोटाले मिडियामाथि आक्रोश पोखेर आलोचनाको आगोमा घिउ थपिदिए ।

‘होसियार’ राजनीतिज्ञ बाँस्कोटाले १८ असोजमा पत्रकारलाई ‘दसैँ खर्च लिन आऊ’सम्म भन्न भ्याए । संसद्को विकास तथा प्रविधि समितिको ११औँ बैठकमा पत्रकारलाई लक्ष गर्दै उनले भने, ‘दसैँ आएको छ, पैसा लिन आए हुन्छ ।’ 



बाँस्कोटाको यो बोलीले उनी स्वयंले गरेर आएको ‘पत्रकारिता’को हुर्मत लियो । बाँस्कोटा दृष्टि साप्ताहिकमा सह–सम्पादक र कार्यकारी सम्पादक भएर काम गरिसकेका व्यक्ति हुन् । यसबाहेक उनले प्रतिपक्ष, सम्बोधनलगायत पत्रिकामा पनि काम गरेका थिए । सोही बैठकमा समाचारमाथि नै प्रश्न गर्दै उनले भनेका थिए, ‘म पनि हिजो त्यहीँबाट आएको हुँ । कमसेकम पत्रकारितामा ब्याचलर गरेको छु । के हो न्युज, थाहा छ ।’

संसदीय समितिको बैठकमा न्युज के हो, आफूले पनि थाहा पाएको भन्दै कड्किएका बाँस्कोटाको मिडिया र पत्रकरामाथिको आक्रोश निरन्तर देखिइरह्यो । १३ र २० मंसिरका पत्रकार सम्मेलनमा उनले मिडियालाई ‘फेक न्युज प्रोडक्सन कम्पनी’ भन्दै ‘मिडियाको अस्तित्व नै खतरामा रहेको’ जिकिर गरे ।



मिडियामाथि बाँस्कोटाको आक्रोश २९ कात्तिकमा चुनौती बनेर पोखियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले पत्रकारलाई खोज पत्रकारिता गर्न च्यालेन्ज गरे । 

साताभरका मन्त्रिपरिषद् निर्णय बिहीबार सार्वजनिक गर्ने शृंखलाको पहिलो पत्रकार सम्मेलनमा उनले भने, ‘खोजी पत्रकारिता गरेर लेख्नुस्, तपाईंलाई कसैले छेक्दैन, आजै पनि मन्त्रिपरिषद्को बैठक बसेको छ, आजैका निर्णय पनि सार्वजनिक गर्नुहोस् ।’

पत्रकार सम्मेलनमा मात्रै होइन, मिडियामाथि उनको आक्रोश अन्य कार्यक्रममा पनि देखियो । २४ मंसिरको एउटा कार्यक्रममा बाँस्कोटाले सरकारका कमजोरीलाई बढाइचढाई प्रस्तुत गर्ने, तर राम्रा कामलाई नक्कली भन्दै प्रचार गरेको भन्दै मिडियाको आलोचना गरे ।

सफ्ट हुँदाहुँदै चुनौती

२७ मंसिरको पत्रकार सम्मेलनमा भने अलि बेग्लै अन्दाजमा देखिए, बाँस्कोटा । मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्ने क्रममा उनले मिडियाप्रति आक्रोश पोखेनन्, बरु मिडियासँग रचनात्मक सम्बन्ध रहेको सुनाए । 

निरन्तर मिडियाप्रति रोषपूर्ण अभिव्यक्तिपछि बाँस्कोटा र सरकार दुवैको आलोचना चुलिएको थियो । आलोचनाले सचेत बनाएजस्तो भावमा प्रस्तुत भएका बाँस्कोटाले सरकार मिडियासँग सौहार्दपूर्ण सम्बन्ध राख्ने मार्गमा रहेको बताए । ‘हाम्रो कुनै मिडियाप्रति आग्रह वा पूर्वाग्रहको सम्बन्ध छैन,’ शालीन शैलीमा उनले भने, ‘हाम्रो त रचनात्मक सम्बन्ध हो ।’ 

सो दिन कार्यक्रम सकेर बाहिर निस्कने क्रममा पत्रकारबीच ‘आज गाली होइन, खाजा खानुहोस्’ भन्दै ख्यालठट्टा चल्यो । तर, मिडिया र पत्रकारप्रति सफ्ट हुन खोज्दाखोज्दै बाँस्कोटाले पत्रकार सम्मेलनको अन्त्यतिर पुग्दासम्म मिडियालाई अप्रत्यक्ष रुपमै भए पनि चुनौती दिन भ्याए ।

सञ्चारमाध्यमले एसिया प्यासिफिक सम्मेलनमा सरकारको संलग्नताको विरोध गरिरहेका थिए । सरकारलाई विरोध मन परेको थिएन । त्यसैतिर संकेत गर्दैै बाँस्कोटाले भने, ‘हामी पनि आफूलाई लागेका कुरा भन्छौँ र गर्छौं, तपाईंहरु पनि सत्यतथ्य लेख्नुहोस् ।’

खोजी पत्रकारिताका विषय बाँड्दै मन्त्री

२९ कात्तिकमा पत्रकारलाई खोजी पत्रकारिता गर्न चुनौती दिएका बाँस्कोटाले माघ २४ गते खोजी पत्रकारिताका विषय सुझाए । मन्त्रिपरिषद्का निर्णय बिहीबारको नियमित पत्रकार सम्मेलनअघि नै सार्वजनिक भएको विषयमा पत्रकारले बाँस्कोटालाई प्रश्न सोधेका थिए । जवाफमा बाँस्कोटाले ‘खोजी पत्रकारिता भनेको मन्त्रिपरिषद्को कार्यालयअघि क्यामेरा तेर्साउने, रेकर्डर तेर्साउने, त्यो मात्रै हो र ?’ भन्दै कटाक्ष गरे ।

खोजी पत्रकारिताको विषयमा पत्रकारको मात्रै होइन, विश्वविद्यालयको क्षमतामाथि नै प्रश्न गर्न भ्याए, बाँस्कोटाले । ‘मन्त्रिपरिषद् मात्रै सीमा हो र खोजी पत्रकारिताको ?,’ बाँस्कोटाले प्रश्न गरे, ‘हाम्रो युनिभर्सिटीले त्यति पढाएकी कसो हो ?’

आफूले ४ महिनाअघि खोजी पत्रकारिता गर्न दिएको चुनौती सम्झाउँदै उनले भने, ‘सिंहदरबार मन्त्रिपरिषद् कार्यालयअगाडि क्यामेर तेर्साउने मात्रै खोजी पत्रकारिता होलाजस्तो मलाई लाग्दैन है । यति सीमित घेराभित्र मैले खोजी पत्रकारिताको विषय अगाडि सार्नुस् भनेको पनि होइन ।’ 

पत्रकारले मन्त्रिपरिषद्का विषयलाई मात्रै खोजी पत्रकारिताको विषय बनाएको उनलाई मनपरेको थिएन सायद । उनले आफैँ खोजी पत्रकारिता गर्न सकिने विषय सुझाए, ‘यत्रो ३ करोड जनता बस्छन् । सयौँ संघसंस्था छन्, आर्थिक गतिविधि पनि भइरहेका छन् । विकास निर्माणका काम भइरहेका छन् । कतै विनाशका काम पनि भइरहेका होलान् । कतै एकदम राम्रो उत्साहजनक कुरा भइरहेको होला, कतै एकदम बेथिति र गलत कुरा भइरहेको होला । ती सबै क्षेत्रमा तथ्यपरक ढंगले आउने कुरा नै खोजी पत्रकारिता हो ।’

सरकारका प्रवक्ता त्यसै पनि मिडियामा छाइरहन्छन् । सरकारी सूचना र निर्णय सार्वजनिक गर्नेबाहेक बाँस्कोटाको अर्को काम पनि छ, मिडियालाई सचेत गराउने र पत्रकारलाई खोजी पत्रकारिताका विषय सिकाउने । त्यसैले, उनी वेलाबखत मास्टरी गर्छन्– कहिले आलोचक बन्छन्, कहिले निर्देशक, त कहिले सचेतक । 
 

  • प्रकाशित मिति : माघ २६, २०७५ शनिबार २०:२६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया