स्यांजा– भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणको जिम्मा सरकारले लिने बताएकी छिन् ।
साना किसान कृषि सहकारी संस्था लिमिटेडले गरेको साना किसान कृषि सहकारी संस्थाहरुको व्यवस्थापन हस्तान्तरण कार्यक्रममा उनले देशमा बढ्दो बेरोजगारी समस्या र गरिबी न्यूनीकरणका लागि सबै जनतालाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिइन् ।
स्रोत र साधनको सही सदुपयोग गर्न नसके आत्मनिर्भर बन्न नसकिने बताउँदै मन्त्री अर्यालले यसका लागि गाउँगाउँबाट अभियान थाल्नुपर्ने उल्लेख गरिन् । साना किसान सहकारीलाई ठूला उद्योग र हाइड्रोपावरमा लगानी गर्न उनले आग्रह गरिन् ।
सरकार भूउपयोग नीति ल्याउने तयारीमा रहेको भन्दै उनले भूउपयोगसम्बन्धी स्पष्ट नीति नहुँदा खेतीयोग्य जमिन मासिँदै गएको र गाउँघरमा जमिन बाँझो हुने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गरिन् ।
मन्त्री अर्यालले जनताको स्वामित्वमा रहेको जमिन सके सरकार आफैँले भाडामा लिएर काम गर्ने र अरु कसैले चाहे भाडामा दिएर भए पनि खेतीयोग्य जमिनको सदुपयोग गर्ने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।