ओली तानाशाही पथमाः भारतीय मिडिया

काठमाडौं– भारतका विभिन्न सन्चारमाध्यम तथा विश्लेषक तथा लेखकहरुले नेपालमा आधारित लेखहरु भारतले नेपाल नीतिमा गरेका गम्भीर गल्तीहरु औंल्याउन थाल्ने क्रम राेकिएकाे छैन । 

नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको सम्बन्ध विस्तारमा थप जोड दिएको भन्दै भारतमा चिन्ता व्यक्त गर्न थालिएको छ । द हिन्दुस्तान टाइम्समा भारतीय विश्लेषक बह्मा चेलानीले लेखेका छन्, ‘नेपालले दुई छिमेकी चीन र भारतसँग सम्बन्ध सन्तुलित बनाउने प्रयास त गरेको छ, तर अहिले नेपालमा चिनियाँ प्रभाव निकै बढिसकेको छ ।’

केही अघि चीनसँग भएका पारवहान सम्झौता तथा अन्य व्यापारिक तथा पूर्वाधार निर्माणसम्बन्धी सम्झौताबारे पनि चेलानीले लेखमा उल्लेख गरेका छन् ।

उनले नेपालमाथि भारतले सन् २०१५ मा नाकाबन्दी लगाउनु सबैभन्दा ठूलो भूल भएको ठहर गरेका छन् । त्यही नाकाबन्दीपछि नेपालले भारतको विकल्प खोज्न सुरु गरेको र सन् २०१६ यता चीनसँग पारवाहन सम्झौता गरेको, पेट्रोलियम पदार्थमा भारतको एकाधिकार अन्त्य गरेको चेलानीले लेखमा निष्कर्ष निकालेका छन् ।

यतिमात्र होइन, भारतीय विश्लेषकहरुले अब नेपालको भूमी प्रयोग गरेर पूर्वी तथा मध्यएशियासँग चीनले व्यापार बढाउन सक्ने सम्भावना बढेको पनि उल्लेख गर्न थालेका छन् । 

एमाले र माओवादीको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी धेरै शक्तिशाली भएको, संसद्मा उसको दुईतिहाई भएकाले सरकार पनि भारतसँग सम्झौता गर्ने पक्षमा नभएको भारतीय विश्लेषकले तर्क गर्न थालेका छन् ।



नेपालमा कम्युनिस्ट नेतृत्वले ‘कब्जा’ जमाएकाले भारतलाई अहिले तत्काल आफ्नो प्रभाव बढाउन समय लाग्न सक्ने उनीहरुको विश्लेषण छ । गणतन्त्र स्थापना पछि नेपालले पहिलो पटक दुईतिहाईको सरकार बनाएको र आफ्नो अडानमा अडिग रहेको भन्दै सेभेन रेसकोर्समा चर्चा चल्न थालेको भारतीय विश्लेषक तथा नेपालनिकट पत्रकारहरुले चिन्तासमेत व्यक्त गर्न थालेका छन् ।

‘नेपालको चीनसँग बढिरहेको सम्बन्धले नेपालको भारतमाथिको निर्भरता कम हुँदै गइरहेको छ,’ चेलानीले लेखमा लेखेका छन्, ‘भारतले गल्ती गरेकाले नै नेपाल चीनतर्फ ढल्किएको हो ।’



भारतीय मिडिया स्क्रलको सत्याग्रह संस्करणका लागि अभय शर्माले पनि नेपालमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली बलियो बनेको र भारतले यसअघि गरेका गल्तीका कारण नेपालको राजनीतिमा भारतीय प्रभाव कम हुन थालेको रिपोर्ट प्रकाशन गरेका छन् ।

तर, योसँगै ओलीको सत्ता सन्चालन सैन्य शासनजस्तो बन्दै आएको पनि भारतीय मिडियामा उल्लेख हुन थालेको छ । कतिपय भारतीय मिडियाले त ओली पूर्वराजा ज्ञानेन्द्र शाहकै बाटोमा हिँड्न खोजिरहेको तर्क गरेका छन् । 

योसँगै उनीहरुले चिन्ता पनि व्यक्त गरेका छन्– तानाशाही शैली अपनाइरहेका ओलीका कारण नेपाली लोकतन्त्रको भविष्य अन्योलमा परेको छ । उनीहरुले यो शैली र प्रभाव भारतीय सत्तामा पनि देखिन सकिने आशङ्कासमेत गरेका छन् ।

हिन्दुस्तान टाइम्समा छापिएको अर्को एक रिपोर्टमा राजतन्त्र हटेपछि नेपाली जनतामा देखिएको उत्साह र सपनाविरुद्ध केपी ओलीले अहिले सरकार चलाएको उल्लेख गरिएको छ । दुईतिहाईको सरकार बनिसकेपछि ओलीले ६ महिनामा गरेका निर्णयले उनलाई तानाशाहीको पथमा लम्किएको संज्ञा दिन सक्ने उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।

ओली सरकार र उनका निर्णयबारे भारतका अधिकांश लेखक तथा पत्रकारहरुको एउटै स्वर छ– निजी क्षेत्रमाथिको नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने ओलीको प्रयासले उनलाई अनुदार शासकको रुपम चित्रित गरेको छ, ओली सरकारले न्यायलयमाथि गरेको हस्तक्षेपले उनी तानाशाही बन्ने बाटोमा हिँड्न खोजेको देखिएको छ ।

अर्कोतिर नेपालमा लागु भएको मुलुकी देवानी संहिताबारे अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा हुन थालेको छ । पत्रकारको संरक्षणका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्टका एशिया प्रमुख स्टिभन बटलरले यो संहिताले सामान्य तरिकाले समाचार तथा सुचना सम्प्रेषण गर्नुलाई समेत अपराधिक कार्यको रुपमा परिभाषित गरेकाले यसको आलोचना गरेका छन् ।

नेपालको कम्युनिष्ट सरकारले भारतसँंगको सम्बन्धलाई खुल्ला सिमाना र राजनीतिक सम्बन्धभन्दा माथि राखेर नहेरेको भारतीयको ठहर छ । नेपाल भारतको सम्बन्ध राजनीतिक मात्रै नभई भाषा, संस्कृति, धर्म, रीतिस्थिति, श्रमबजार, व्यापार आदिसँग पनि जोड्नु पर्ने भारतीय पत्रकारले लेख्न थालेका छन् ।

भारतले नेपालबारे नीति बनाउँदा सधैं आफ्नो स्वार्थ मात्र हेर्ने छलङ्र्ग छ । यसबारे पनि भारतीय विश्लेषकहरुले आलोचना गर्न थालेका छन् । उनीहरुले अब विस्तारै नेपाल भारतको प्रभाव क्षेत्रबाट बाहिँरिँदै गएको गएको बताउँदै आएका छन् ।

चेलानीले हिन्दुस्तान टाइम्सको लेखमा नेपालबाट राजतन्त्र हटाउनु भारतको सबैभन्दा ठूलो भूल भएको उल्लेख गरेका छन् । राजतन्त्र हटाएपछि नै नेपाली राजनीतिमा कम्युनिस्टको प्रभाव बढेको उनको निष्कर्ष छ । सन् २००८ मा भएको संविधानसभाको पहिलो निर्वाचन पछि नेपालमा कम्युनिस्ट प्रभाव झन् बढेको र यसले नेपालमा भारतलाई असफल बनाउन सुरु गरेको उनले निस्कर्ष निकालेका छन् । नेपाली शासन सत्ताको बागडोर कम्युनिस्टको नियन्त्रणमा रहनु नेपाल चीनतर्फ ढल्कँदै जानु भएको उनले उल्लेख गरेका छन् ।

नेपाल चीनसँगको सम्बन्ध सुरक्षित रुपमा अगाडी बढाउँदै भारतसँगको खुल्ला सिमाना र सम्बन्ध थप व्यवस्थित बनाउन प्रयास गरिरहेको अन्य विश्लेषकहरुको पनि बुझाइ छ । नेपालले चीन र भारत दुवैसँग समान सम्बन्ध राखेर अगाडि बढ्दा भारतलाई नै फाइदा पुग्ने देखिए पनि, भारत नेपालको चीनसँगको सम्बन्धलाई सहजै स्वीकार्न तयार नभएको उनीहरुको बुझाइ छ ।

भारतले नेपालको दक्षिणी क्षेत्रमा अतिवादि गतिविधि बढ्न सक्ने र आतङ्ककारीहरुको सुरक्षित आश्रयस्थल बन्न सक्नेतर्फ सचेत गराउन खोजिरहेको र नेपाली भूमी भारतविरुद्ध प्रयोग हुन्छ कि भनेर भारत सधैँ त्रसित हुने पनि उल्लेख गरेको छ ।

भारतीय कुटनीतिज्ञ श्याम शरणले त ६० को दशकयता भारतले नेपालमा गरेका तीन गल्तीले निकै गम्भीर भएको उल्लेख गरेका छन् । उनको पुस्तक ‘हाउ इन्डिया सिज द वल्र्ड’मा उनले यो विषयमा चर्चा गरेका छन् । भारतले नेपालको राजनीतिबारे बनाएको नीतिलाई श्याम शरणले तीन शब्दमा परिभाषित गरेका छन्– धारावाहिक, संकटग्रस्त र कमजोर ।

श्याम शरणले आफ्नो पुस्तकमा भारतले नेपालको राजतन्त्र समाप्त पारेर गणतन्त्र स्थापना गर्नु, भूमिगत र सशस्त्र युद्ध गरिरहेको माओवादीलाई राज्यसत्ताको केन्द्रमा ल्याउनु, मधेसी जनतालाई नेपालको संविधानविरुद्ध आन्दोलन गर्न लगाउनु, संघीय र प्रादेशिक निर्वाचनमा मधेसी दलहरुलाई सहभागि हुन लगाउनु भारतका गम्भीर गल्ती भएको उल्लेख गरेका छन् ।

चीनको महत्वाकांक्षी योजना वान बेल्ट वान रोडमा नेपाल पनि सहभागि हुने भएपछि भारतीय नेतृत्व नेपालले मारेको फड्कोबाट त्रसित भएको भारतीय विश्लेषकहरुको बुझाइ छ । पछिल्लो समय नेपालमा पूर्वाधार विकासमा रेल, सडकलगायतका क्षेत्रमा चीनले नेपाललाई सघाउँदै आएकाले पनि भारत सशंकित बन्नु परेको तर्क उनीहरुले गरेका छन् ।

  • प्रकाशित मिति : माघ २६, २०७५ शनिबार २३:५५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया