कतारमा जारी फिफा विश्वकप फुटबलमा आज उपाधि दाबेदार अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘सी’ अन्तर्गत अर्जेन्टिना र साउदीबीचको खेल लुसेल स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
दुवै टोली पहिलो खेलमा जित निकाल्न चाहन्छन् ।
यस खेलको ‘प्लेयर्स टु वाच’
लियोनल मेस्सी
फरवार्ड लियोनल मेस्सी अर्जेन्टिनाका कप्तान पनि हुन् । विश्वका उत्कृष्ट खेलाडी मेस्सी आफ्नो कप्तानीमा टोलीलाई विश्वकपको उपाधि दिलाउने लक्ष्यमा छन् ।
पछिल्लोपटक अर्जेन्टिनाले १९८६ मा विश्वकपको उपाधि जितेको थियो । त्यसयता अर्जेन्टिनाले विश्वकप जित्न सकेको छैन । ३५ वर्षीय मेस्सीलाई यो विश्वकप अन्तिम अवसरका रूपमा रहनेछ छ ।
साउदीविरुद्ध अर्जेन्टिनाका मुख्य खेलाडी मेस्सी नै हुनेछन् । गोल गर्न र गोलको अवसर उपलब्ध गराउन माहिर मेस्सी विपक्षी डिफेन्डरका लागि टाउको दुखाई बन्ने गर्छन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि व्यावसायिक फुटबल खेल्ने मेस्सीले अर्जेन्टिनाका लागि १ सय ६५ खेलमा ९१ गोल गरिसकेका छन् ।
सलेह अल शेहरी
सलेह अर्जेन्टिनाविरुद्ध मैदान उत्रँदा साउदीका लागि मुख्य हतियारका रूपमा हुनेछन् । उनकै प्रदर्शनमा साउदीको टोली निर्भर रहनेछ ।
२९ वर्षीय स्ट्राइकरबाट टोलीले उत्कृष्ट फिनिसिङको आशा राखेको छ । विशेषगरी काउन्टरमा । सलेह अर्जेन्टिनाको बलियो डिफेन्स लाइनका लागि समस्या बन्न सक्छन् ।
साउदीकै अल हिलाल क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका उनले देशका लागि २० खेलमा १० गोल गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।