देउवाका दुई चुनौती, दुई युवाः निर्वाचन क्षेत्रमा सागर, संसदीय दलकाे नेतामा गगन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एक पटक प्रधानमन्त्री बन्न चाहन्छन् । यही कारण उनले यसपटक गठबन्धनलाई निर्वाचनसम्म कायम राखेका हुन् भन्ने कांग्रेसवृत्तमा समेत चर्चा हुने गरेको छ । 

तर, प्रधानमन्त्री बन्ने आकांक्षामा यसपटक ब्रेक लाग्न सक्ने आधारहरु बढ्दै गएका छन् ।

त्यसो त प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको २०४८ सालदेखिको निरन्तर संसद यात्रालाई नै ब्रेक लगाउन खोजेका थिए, स्वतन्त्र उम्मेदवार सागर ढकालले । 

ढकालले देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा गएर उम्मेदवारी दिए, लामो समय त्यहाँ बसेर निर्वाचनको माहोल आफ्नो पक्षमा ल्याउने काम गरे । 

अहिले डडेल्धुराको मतगणनाको प्रारम्भिक चरण चलिरहेको छ । 

त्यहाँ २० हजारभन्दा बढी मत गन्दा देउवा चार हजारभन्दा बढी मतले अहिले अग्रस्थानमा छन् । उनले मत पाउने यही श्रृङ्खला कायम रहने हो, त्यहाँबाट उनी निर्वाचित हुने छन् । 



दशकौं लामो राजनीतिक यात्रा तय गरिसकेका देउवालाई डडेल्धुरामा यसपटक चुनौति बने सागर ढकाल । ढकालले डडेल्धुरामा एक हजार मत पनि कटाउन सक्दैनन् भन्ने उनले उम्मेदवारी दिँदा सुनिँदै आइएको थियो । बरु नेपाली कांग्रेसमा देउवाकै कारण विद्रोह गर्न पुगेका नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ललाई देउवाका चुनौति मानिएको थियो ।

तर, देउवाले ९९८७ मत ल्याउँदा मल्ल तेस्रो नम्बरमा रहेका छन् । सागरले ५ हजार १ सय ९३ मत ल्याएका छन् । यो अवस्थामा मल्लको मत संख्या रहेको छ, २ हजार ७१९ ।



निर्वाचन क्षेत्रमा यसपटक एक युवाको चुनौति भोगेका देउवालाई प्रधानमन्त्री बन्ने यात्रामा ब्रेक लगाउन अर्का युवा तम्तयार भएका छन् । 

काठमाडौं ४ बाट फराकिलो मतान्तरले निर्वाचित नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब आफू संसदीय दलको नेता बन्नका लागि तयारी सुरु गर्ने बताइसकेका छन् । उनले निर्वाचनअघि पनि यही बताउँदै आएका थिए ।

निर्वाचित भएकै दिन पनि उनले यही अभिव्यक्ति दोहोर्याएका छन् । यसमा गगनलाई यसपटक सहज के पनि छ भने उनले अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि साथ पाएका छन् । निर्वाचनको माहोलमा शर्माले बारम्बार आफूले संसदीय दलको नेता चुन्नका लागि थापालाई सहयोग गर्ने बताएका थिए ।

त्यसो त, काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रकाशमान सिंहले पनि प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् । उनले आज निर्वाचित भए पनि पनि आफूले साथीहरुसँग सल्लाह गरेर प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेको बताएका थिए । 

जे होस्, देउवालाई यसपटक निर्वाचित हुन चुनौति देखि अब प्रधानमन्त्री बन्नसम्म चुनौतिका चाङ छन् ।

  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १८:१५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया