साउदीसँग अर्जेन्टिनाको हारः के अर्जेन्टिनाले विश्वकपमा लय गुमाएको संकेत हो ?

यसपटकको विश्वकप अर्जेन्टिनाले जितोस्, मेसीले विश्वकपको ट्रफी उचालुन् । यस्तै कामना र चाहना फुटबल प्रेमीहरु धेरैको छ ।

तर, मंगलबार कतारकोे रंगशालामा जे भयो, त्यसले विश्वकपमा अर्जेन्टिनाले ट्रफी चुमेको हेर्न चाहनेको मनमा ‘तीर’ रोपिदिएको छ, च्वास्स बनाएको छ ।

आजको खेलमा अर्जेन्टिनी स्टार लियोनल मेसीले १० औं मिनेटमा गरेको गोल नै निर्णायक होला भन्ने धेरैले अनुमान पनि गरेका थिए होलान्, सायद । तर, सोचेजस्तो भएन । 

अर्जेन्टिनाको पोस्टमा साउदीका खेलाडीले प्रहार गरेको बलले दुई पटक जाली चुम्यो, ५ मिनेटको फरकमा ।

सम्भवतः यो विश्वकप फुटबल स्टार मेसीका लागि अन्तिम विश्वकप होला । किनकि यसअघि हारबाट विक्षिप्त बनेका मेसीले सन्न्यास नै घोषणा गरिसकेका थिए, फुटबल फ्यान र अर्जेन्टिनाले उनलाई फेरि टोलीमा फर्काएको हो ।

यही कारण पनि आजको खेल मेसीका प्रशंसकका लागि, विश्व फुटबलका लागि एउटा कुरिएको खेल थियो, मेसीको खुट्टाको जादु हेर्नका लागि लाखौं मानिस टिभीअगाडि झुम्मिएका थिए ।



हुन पनि मेसीले अर्जेन्टिनाका लागि १० औं मिनेटमा पेनाल्टीमार्फत् बललाई साउदीको पोस्टमा छिराए । अर्जेन्टिनाले लिएको यो अग्रता अन्तिमसम्म जोगिन सकेन । अर्जेन्टिनाले सन् १९३० को फाइनलमा उरुग्वेसँगको खेलपछाडि हाफटाइमसम्म अग्रता लिएर पनि हारेको यो पहिलो खेल हो ।

जे होस्, विश्वकपमा अर्जेन्टिनाको विजयी यात्रा चाहनेका लागि यो ठूलो धक्का भएको छ । र, त्यो धक्का दिएका हुन्, साउदीका सलेह अल शेहरी र कप्तान सलिम अल दवसारीले । यी दुईले नै आज साउदी अरबका लागि दुई गोल प्रहार गरेका थिए, पहिलो ४८ औं मिनेटमा र दोस्रो ५३ औं मिनेटमा ।



विश्वकपमा यसअघि अर्जेन्टिनाले एशियाली देशसँग हारेको रेकर्ड छैन, यसअघिका चार वटा खेलमा उसले जित निकालेको थियो । आजको खेलमा हार्नु चाहिँ अर्जेन्टिनाका लागि पछिल्ला ३६ खेलपछिको अपराजित यात्रामा पूर्णविराम लाग्नु पनि हो ।

आजको खेलको चर्चा गरौँ । कतारको रंगशालामा अधिकांश समयमा अर्जेन्टिनाले नै बल आफ्नो पकडमा राखेको थियो । कतिसम्म भने उसले अरु तीन पटक बललाई साउदी अरबको गोल पोस्टमा छिराएको पनि थियो । तर, यी सबै फल सावित भए । खेलको २२ औं मिनेटमा मेसीले वान भर्सेस वानको अवस्थामा गोल गरेका थिए, अफसाइड भयो ।

२९ औं मिनेटमा लाउटरो मार्टिनेजले अर्को पटक बललाई साउदीको पोस्टमा छिराए । तर, भिएआरले फेरि ‘धोका’ दियो, उनी अफसाइड देखिए । अनि ३४ औं मिनेटमा पनि अफसाइडकै कारण मार्टिनेजको गोल पनि मान्य भएन ।

हो, खेलमा राम्रो पकड हुँदाहुँदै आजको खेलमा अर्जेन्टिनाले पाएका सबै मौका सदुपयोग गर्न चाहिँ सकेन ।

विश्वविजेता बन्ला कि भन्ने अनुमान गरिएको अर्जेन्टिनालाई पराजित गर्दै साउदी अरबले भने आज ऐतिहासिक जित दर्ज गरेको छ । यो विश्वकप इतिहासमा पक्कै स्मरण हुने खेलमध्येको एक हुनेछ ।

त्यसमाथि यसले नयाँ सन्देश पनि त दिएको छ । त्यो हो– कुनै पनि टोलीलाई कसैले पनि कमजोर नसोच्नु । दुई पटक विश्वकपको ट्रफी उचालिसकेको अर्जेन्टिनालाई साउदीले हराउला भन्ने कल्पना सायदैले गरेका थिए । त्यसमाथि अहिलेसम्म अर्जेन्टिनालाई कुनै पनि एशियाली देशले हराएका थिएनन् ।

त्यसैले पनि आज साउदीको जितलार्ई पूरै एशियाले आफ्नो जित ठानेको हुनुपर्छ, फेरि त्यो पनि एशियाली देशमा नै भएको टुर्नामेन्टमा ।

त्यसो त साउदीले १९९४ मा विश्वकपमा नै बेल्जियमलार्ई हराउँदा पनि सनसनी मच्चिएको थियो । त्यस्तै, २००२ मा सेनेगलले फ्रान्सलाई १–० तथा २०१८ मा दक्षिण कोरियाले जर्मनीलाई २–० ले पराजित गर्दा पनि विश्व फुटबल आश्चर्यचकित बनेको थियो ।

आजको खेलमा अर्जेन्टिना हार्नुलाई मेसीको सपनासँग पनि जोड्न सकिन्छ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका लागि यो अन्तिम विश्वकप हुने लगभग निश्चित छ त्यसैले उनी उपाधिका साथ विदाई चाहन्छन् ।  

पहिलोपटक विश्वकप उपाधि उचाल्ने मेसीको सपनामा साउदीसँगको हारले केही धक्का भने लागेको छ । अब अर्जेन्टिनालाई अघिल्लो चरण प्रवेशका लागि पोल्याण्ड र मेक्सिकोलाई हराउनै पर्ने दबाब हुनेछ । 

तर, सँगसँगै प्रश्न पनि उब्जिएको छ, के साउदीसँग अर्जेन्टिनाले हार्नु यो विश्वकपमा उसले लय गुमाएको संकेत हो ?


  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १९:५२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया