कैलाली–३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् । उनी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी (कुन्दन)लाई पाँच हजार ३७१ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।
उनले २३ हजार १२० मत प्राप्त गरेका छन् भने कृष्णकुमार १७ हजार ७४९ मतमा सीमित भए । एक लाख ७ हजार ६५ जना मतदाता रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा ६३ हजार ४४० मत खसेको थियो ।
जसमध्ये ५९ हजार ७१९ मत सदर भएको छ भने, चार हजार २१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
को हुन् गंगाराम ?
कैलालीको भजनी नगरपालिका २ मोहनपुरमा बुवा फुलराम डंगौरा थारु र आमा राजदेवी डंगौरा थरुनीको कोखबाट जन्मिएका ४४ वर्षीय गंगाराम चौधरी राजनीतिमा ०७४ को निर्वाचनदेखि अग्रपंक्तिमा देखिन थालेका हुन् ।
०७४ को निर्वाचनभन्दा पहिले नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आबद्ध थिए । ०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउनमा अहम भूमिका खेले । ०७४ को निर्वाचनभन्दा पहिले नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आबद्ध थिए ।
०७४ को निर्वाचनताका राजपामा आबद्ध भए । राजपामा रेशम चौधरीलाई जिताउनमा अहम भूमिका खेलेका थिए । अहिले गंगाराम नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य छन् ।
०७४ को निर्वाचन अभियान सम्झिदै गंगाराम चौधरी भने, २०७२ देखि थरुहट आन्दोलनमा सक्रिय भूमिका थियो । ०७४ को निर्वाचनमा रेशम जिताउ अभियान चलायौं । प्रवासमा रहेका रेशम दाइकोे भिडियो बनाई निर्वाचन क्षेत्रमा प्रोजेक्टरमार्फत प्रचार प्रसार गरेँ । यहाँसम्म कि मधेसवादी दलले हाम्रो मुद्दालाई सत्ताको भर्याङ बनाएपछि पार्टी खोल्नुपर्छ भन्ने भूमिका खेल्ने र रेशम दाइलाई सुझाब दिनेमा म नै हो ।’
निम्न परिवारमा जन्मिएका उनी पाठ्यक्रम विषयमा स्नाकोत्तरसम्मको शैक्षिक उपाधि हासिल गरेका छन् । उनको गैरसरकारी संस्थामा २२ वर्ष कार्यअनुभव छ । कृषि क्षेत्रमा आइपिएम (एकीकृत शत्रुजित व्यवस्थापन) को प्रशिक्षक, जलीय जलचर तथा जैविक विविधताको क्षेत्र काम गरेको अनुभव छ ।
निर्वाचित भएपछि उनले थारु समुदायमाथि राज्यबाट भएको अन्याय र निर्वाचित भएको क्षेत्रको समग्र विकासको लागि लड्ने प्रतिबद्धता जनाएका छन् । थरुहट आन्दोलन तथा टीकापुर घटनाको पृष्ठभूमिबाट नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउँदै उनले भने, ‘हामी न्यायको लागि चुनावमा होमिएका थियौ । टीकापुर राजबन्दी रिहाइको लागि हो । दोस्रो विकास र समृद्धि हो । हामीलाई राज्यले न्याय नगरेपनि आमजनताले न्याय गरेका छन् । आमजनताप्रति हामी आभारी छौँ। अब सिंगो हाम्रो पार्टी र मेरो प्रमुख अभिभारा टीकापुर घटनासँग सम्बन्धित लाल आयोगसहितको सबै प्रतिवेदन खोजेर सार्वजनिक गराउने हो । टीकापुर राजबन्दी रिहाइको लागि सरकारलाई दबाब दिनु प्रमुख एजेण्डा हो । यति मात्रै होइन, राजनीतिक अधिकार प्राप्तिको लागि पनि हामी चुक्ने छैनौँ ।’
उनले आफ्नो निर्वाचन क्षेत्र बाढी प्रभावित क्षेत्र रहेको बताउँदै अब लगत्तै आफूले यहाँका समस्या र सम्भावनाबारे आमनागरिकसँग सुझाब संकलन गर्ने र त्यसको आधारमा पाँच वर्षे गुरुयोजना बनाई काम गर्ने प्रतिबद्धता गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।