चीनलाई टर्कीको अनुरोध– ‘अल्पसंख्यक मुस्लिम राखेको हिरासत क्याम्प बन्द गर्नु’

एजेन्सी– चीनमा अल्पसंख्यक मुस्लिम वीगर समुदायका एक प्रमुख संगीतकारको मृत्यु भएकोे जानकारी आएपछि टर्कीले चीनसँग वीगर मुसलमानका लागि बनाएको हिरासत क्याम्प बन्द गर्न माग गरेको छ । 

रिपोर्टका अनुसार संगीतकार अब्दुर्रहीम हेयित चीनको चीनको स्वायत्त क्षेत्र सिनजियांग इलाकामा ८ वर्षको सजाय काटिरहेका थिए । यहाँ करिब १० लाख वीगर मुसलमानलाई हिरासतमा राखिएको छ । 

टर्कीको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीअनुसार अल्पसंख्यक मुश्लिमलाई चीनले उक्त क्याम्पमा राखेर यातना दिइरहेको छ । 

शनिबार जारी गरेको विज्ञप्तीमा टर्कीले लेखेको छ ‘यो कुनै शासन होइन्, हिरासतमा राखिएका १० लाख भन्दा बढी विगर मुसलमानलाई यातना दिइएको छ र उनीहरुको राजनीतिक ब्रेनवास गरिएको छ । हिरासतभन्दा बाहिर रहेका मुसलमानलाई पनि निकै दबाव दिइरहेको छ ।’ 

विदेशमन्त्रालयका प्रवक्ता हामी अकसायले एक्काइसौं शताब्दीमा पनि कन्सन्ट्रेसन क्याम्प बनाउनु र वीगर्र  मुसलमानविरुद्ध चिनियाँ प्रशासनको नीति मानवताका लागि लाजलाग्दो विषय भएको बताउँछन् ।

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्ससँग चीनमा मानवीय त्रासादीको अन्त्य गर्न प्रभावकारी कदम उठाउन अपिल गरेका छन् । तर चीनले यहाँ राखिएको मुसलमानलाई कुनै यातना नदिएको प्रतिक्रिया दिँदै आएको छ । चीनले यो क्याम्प वास्तवमै पुर्नशिक्षा केन्द्र भएको र यहाँ अल्पसंख्यकलाई शिक्षित गरिदैँ आइएको बताएको छ । 



वीगर चीनको सिनजियांग प्रान्तको पश्चिमी इलाकामा रहने अल्पसंख्यक मुसलमान हुन्, यिनीहरु टर्कीको भाषा बोल्ने गर्छन् । चीन सरकार यो समुदायलाई कडा निगरानीमा राखेको छ । यो समुदायमा धर्मसम्बन्धी विभिन्न प्रतिबन्ध लगाइएको छ । 

चीनले सिनजियांग प्रान्तमा बनाएको हिरासत क्याम्प व्यावसायिक शिक्षा केन्द्र भएको बताउँदै आएको छ । यो चरमपन्थबाट मुक्त हुने उद्देश्यले निर्माण गरिएको हो । 



गएको अक्टोबरमा चीनले दिएको एक बयानअनुसार सिनजियांगमा शीर्ष चिनियाँ अधिकारी शोहरात जाकिरले भनेका थिए, ‘क्याम्पमा राखेका मानिसले आफ्नो गल्ति सुधार्न यो एउटा अवसर हो ।’ 

मानवअधिकारवादीहरु भन्छन्, ‘विना आरोप ब्यक्तिलाई अनिश्चितकालका लागि हिरासतमा राख्न पाइँदैन् । कतिपयलाई डिएनए परीक्षण गर्न नदिएको, अल्पसंख्यकको भाषा बोलेको र अधिकारीहरुसँग बहस गरेको आरोपमा हिरासतमा राखिएको छ ।’ 

हेयित एक विशेष वाद्ययन्त्र दुतारका चर्चित वादक थिए । उनी चीनमा निकै लोकप्रिय थिए । उनले बेइजिङबाट संगीतको शिक्षा लिएका थिए र राष्ट्रिय संगीत समूहका सदस्य रहेका थिए । 

आफ्नो पुर्खाको सम्झनामा गीत प्रस्तुत गरेको आरोपमा उनलाई हिरासतमा लिइएको थियो । यो गीतमा वीगर समुदायका युवाले आफ्ना पुर्खाको त्यागलाई सम्झिएर सम्मान गर्न आह्वान गरेका थिए । यो गीत ‘युद्धका शहीद’ भन्ने शब्द प्रयोग गरिएको थियो, जसलाई चीन प्रशासनले चरमपन्थीको धम्की भन्दै उनलाई हिरासतमा लिएको थियो । 

वीगर मुसलमान चीनको सिनजियांग प्रान्तमा बस्ने समुदाय हो । यहाँ करिब ४५ प्रतिशत आवादी यो समुदायको रहेको छ । यो समुदायमा टर्की र आसपपासका देशको सांस्कृतिक प्रचलन रहेको छ ।  
 

  • प्रकाशित मिति : माघ २७, २०७५ आइतबार ९:४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया