१०१ वर्षीय रुद्रबहादुर, मतपरिणाम सुन्न जसले मध्यरातसम्म सडक छाडेनन्

मंसिर महिनाको चिसो सिरेटो । साँझ पर्नेबित्तिकै झपक्क शीतले घरबाहिर बस्न पनि मुस्किल पर्ने चिसो मौसम । तर, यो चिसो मौसममा पनि चुनावी माहोलले मतदाताको तनमन तातेको छ । यसका एक उदाहरण हुन्, मकवानपुरको मनहरी गाउँपालिका रजैयाका १०१ वर्षीय रुद्रबहादुर वाइबा । 

शरीर बुढो भए पनि राजनीतिको रसले नछोडेका वाइबा मतगणनाको जानकारी आउनेबित्तिकै कान उतै फर्काइरहेका हुन्छन्, जहाँ मतणनाको बिफ्रिङ गर्ने स्पिकर फर्केको थियो । कान कम सुन्ने समस्या भए पनि उनी मतको सही नतिजा सुन्नका लागि आतुर देखिन्थे । 

मंगलबार बेलुका १० बजे हेटौंडा २ मा रहेको मतगणना स्थलको गेटमा निर्वाचनको मतपरिणाम सुन्न बसिरहेका थिए, वाइबा । रजैयाबाट आज बिहानै हेटौंडा आएकाउनलाई घर फर्कन र खानाखान समेत मन नलागेको सुनाए । कारण उनले मतदान गरेका उम्मेदवार राम्रो मतान्तरको साथ अग्रतामा छन् । 

मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर २(ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँको मत राम्रो आएपछि १०१ वर्षीय वाइबा दंग परेर रातमा पनि गेटमा कुरिरहेका थिए । खाना खानुभयो ? कहाँ बस्नुहुन्छ ? जाडो भएको छैन ? भन्ने हाम्रो प्रश्नमा उनले उत्साहका साथ भने, ‘मेरो मन नै खुसी छ । भोक, जाडो केही भएको छैन । मेरो इन्द्रले जिते पेट यसै अघाउँछ । रातभर यहीँ बस्न पनि सक्छु । घर गएर के गर्नु । कति मत आयो भन्ने थाहाहुन्न । घर गए पनि भोलि फेरि आउँछु ।’





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार २३:४९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया