कर्णालीमा मतदाता थपिए, थपिएन मत

कर्णाली प्रदेशमा मात्र होइन देशैभर प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा मतदाताको न्यून सहभागिता देखियो । यस अघि ०७४ को निर्वाचनमा उत्साहजनक सहभागिता देखिए पनि यसपालिको निर्वाचन भने त्यस्तो रहेन ।

विगत पाँच वर्षको तुलनामा कर्णालीमा एक लाख ६१ हजार चार सय ६२ जना मतदाता थपिए । तर मतदानमा भने मतदाताको सहभागिता पहिलेको भन्दा तुलनात्मक रूपमा घटेको देखिन्छ । 
०७४ को निर्वाचन ताका कर्णालीमा कुल आठ लाख ४६ हजार नौ सय ४१ जना मतदाता मध्यबाट पाँच लाख ८१ हजार नौ सय ४८ मत खसेको थियो । यस पालि ०७९ को निर्वाचनमा १० लाख आठ हजार चार सय तीन मतदाता मध्यबाट ६ लाख २१ हजार एक सय आठ मत खस्यो । 

खसेको मत प्रतिशतका आधारमा सबैभन्दा धेरै मत डोल्पामा खसेको देखिन्छ । यहाँ ७८ दशमलव ४६ प्रतिशत मत खसेको छ । यसै गरी सल्यानमा सबैभन्दा कम मत खसेको छ । सल्यानमा ५३ दशमलव २८ प्रतिशत मत खसेको छ ।

कालिकोटमा ८० हजार बढी मतदाता मध्य कुल ४६ हजार ६ सय ६९ मत मात्र खस्यो । यो कुल मतदाताको ५७ दशमलव ८१ प्रतिशत हो । जाजरकोटमा एक लाख बढी मतदाता मध्यबाट ६५ हजार नौ सय ६१ मत खस्यो । यो कुल मतदाताको ६३ दशमलव ८१ प्रतिशत हो । जुम्लामा ६८ हजार बढी मतदाता मध्यबाट ४५ हजार ५९ मत, ६५ दशमलव ६५ प्रतिशत मत खसेको छ ।

डोल्पामा २२ हजार बढी मतदाता मध्यबाट १७ हजार आठ सय ६९ मत खसेको छ । यो सङ्ख्या कुल मतदाताको ७८ दशमलव ४६ प्रतिशत हो । दैलेखमा एक लाख बढी मतदाता मध्यबाट ९५ हजार दुई सय ९१ मत खसेको छ । यो सङ्ख्या दैलेखका कुल मतदाताको ५९.९५ प्रतिशत हो । मुगुमा ३५ हजार बढी मतदाता मध्यबाट ७४ दशमलव ४९ प्रतिशत अर्थात् २६ हजार चार सय ३२ मत खसेको छ । 



रुकुम पश्चिममा एक लाख बढी मतदाता मध्यबाट ६० हजार पाँच सय २७ मत अर्थात् ५८ दशमलव शून्य चार प्रतिशत मत खसेको देखिन्छ । सल्यानमा एक लाख बढी मतदाता मध्यबाट ८४ हजार २२ मत अर्थात् ५३ दशमलव २८ प्रतिशत मत खसेको छ । सुर्खेतमा दुई लाख बढी मतदाता मध्यबाट एक लाख ५४ हजार दुई सय चार मत अर्थात् ६३ दशमलव ३० प्रतिशत मत खसेको छ । यसै गरी हुम्लामा ३२ हजार बढी मतदाता मध्यबाट २५ हजार ७४ मत अर्थात् ७६ दशमलव ३१ प्रतिशत मत खसेको निर्वाचन आयोगको कार्यालयको प्रारम्भिक तथ्याङ्क छ । 

यो तथ्याङ्कमा सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदान स्थलमा मंगलबार पुनः भएको मतदान समावेश भएको छैन । यसका डोल्पामा मतपेटिका हेलिकप्टर मार्फत ढुवानी भइरहेको साथै प्रत्यक्ष तर्फको विवरण आई नसकेको हुँदा समानुपातिक तर्फको विवरलाई समावेश गरिएको छ ।



हालको निर्वाचनमा खसेको मत प्रतिशत हेर्ने हो भने कर्णालीका सबै जिल्लाले ०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन भन्दा कम मत खसेको देखिन्छ । ०७४ को निर्वाचनमा दैलेखमा ६५ दशमलव ८२ प्रतिशतले मतदान गरेका थिए भने हाल ५९.९५ प्रतिशतले मात्र मतदान गरेका छन् । पाँच दशमलव ८७ प्रतिशतले दैलेखमा मतदाता सहभागिता खटेको देखिन्छ ।

कालिकोटमा यसअघि ६५ दशमलव ६७ प्रतिशतले मतदान गरेकोमा हाल ५७ दशमलव ८१ प्रतिशत मतदाता निर्वाचनमा सहभागी भएका छन् । जाजरकोटमा ७२ दशमलव ३१ प्रतिशतबाट घटेर ६३.८१ प्रतिशत, जुम्लामा ७० दशमलव २० प्रतिशतबाट घटेर ६५ दशमलव ६५ प्रतिशत, डोल्पामा ८४ दशमलव २६ प्रतिशतबाट घटेर ७८ दशमलव ४६ प्रतिशत, मुगुमा ७८ दशमलव ८१ प्रतिशतबाट घटेर ७४ दशमलव ४९ प्रतिशत मतदाता निर्वाचनमा सहभागी भएका छन् । 

यसै गरी रुकुम पश्चिममा ६५ दशमलव ९८ प्रतिशत बाट घटेर ५८ दशमलव शून्य चार प्रतिशत, सल्यानमा ६२ दशमलव ४१ प्रतिशतबाट घटेर ५३.२८ प्रतिशत, सुर्खेतमा ७० दशमलव ५७ प्रतिशतबाट घटेर ६३ दशमलव ३० प्रतिशत र हुम्लामा ८० दशमलव शून्य आठ प्रतिशतबाट घटेर ७६ दशमलव ३१ प्रतिशत मतदाता निर्वाचनमा सहभागी भएका छन् ।

कहाँ गए मतदाता ?
कर्णालीका लागि अहिलेको समय भनेको चाडपर्व तथा कृषि उपज सम्बन्धी क्रियाकलाप थन्काएर यहाँका नागरिक श्रम बजारमा पुग्ने समय पनि हो । मध्यपश्चिम विश्वविद्यालयका सह–प्राध्यापक अर्जुन ऐरी भन्छन्, ‘अहिले चाडपर्वहरूको समय पनि सकिएको छ । खेतीपातीको काम टुङ्गाएर यहाँका नागरिक श्रम हजारमा पुग्ने समय पनि हो ।’

मतदानमा न्यून सहभागिता रहनुमा गाउँमा मतदाताको उपस्थिति नै नहुनु प्रमुख कारण नभए पनि सह–प्राध्यापक ऐरी यसलाई समेत जिम्मेवार पक्षका रूपमा हेर्छन् । यसका साथै स्थानीय निर्वाचनका उम्मेदवारको तुलनामा उम्मेदवार प्रति आकर्षण कम हुनु, दलिए सक्रियतामा कमी आउनु, ‘फेवर भोट’ बढ्नुलगायतका पक्षले हालको निर्वाचनमा मतदाताको न्यून सहभागिता रहेको सह–प्राध्यापक ऐरीको धारणा छ ।

उनले भने, ‘स्थानीय निर्वाचनमा नजिकको उम्मेदवार धेरै हुन्छन्, यसमा मतदाता पनि मतदानका बाध्य नै हुन्छन् । यसका साथै मतदाताले उम्मेदवारसँग व्यक्तिगत एप्रोच पनि खोजेका हुन्छन् । आफू तथा आफ्नो समुदायसँग महत्त्व नदेखेपछि मतदातामा मतदानका लागि उत्साह हुँदैन ।’

मुख्य रूपमा हालको निर्वाचनमा दल तथा उम्मेदवारले मतदाता सामु एजेण्डा प्रस्तुत गर्न नसकेको उनको भनाई छ । यसका साथै मतदाताले समेत एजेण्डा हेर्न छाडेको पनि उनी बताउँछन् । निर्वाचन आयोगले समेत मतदान क्षेत्र बाहिर रहेका नागरिकलाई मतदानको व्यवस्था नगरेकाले शतप्रतिशत कम भएको हुनसक्ने उनको ठम्याई छ । यस्ता विविध कारणले मत प्रतिशतमा कमी भए पनि अहिले अवस्थालाई उनले स्वाभाविक रूपमा लिन्छन् । उनले भने, ‘६०–६२ प्रतिशत मत ठिकै हो । १५ प्रतिशत मत देश बाहिर नै छ । यस्तो अवस्थामा आगामी निर्वाचनमा भने मत प्रतिशत बढाउन प्रयास गर्नु नै पर्छ ।’

अर्को पक्ष भनेको राजनैतिक दल तथा उम्मेदवारले मुद्दामा आधारित एजेण्डा मतदाता सामु प्रस्तुत पनि गर्न सकेनन् । ‘मतदाताले उम्मेद्वारबाट आफुसँग मत मागोस् भन्ने चाहेका हुन्छन् । यसका साथै उनीहरूको व्यक्तिगत तथा सामुदायिक महत्त्व पनि हुन्छ । यस अवस्थामा उम्मेदारहरुलाई मतदातासामु पुग्न समय पनि अभाव भएको हुनसक्छ’ उनले भने, ‘मतदातामा वितृष्णाको भाव पनि छ । जसलाई जिताए पनि केही हुँदैन भन्ने मतदाताको भावले पनि उनीहरूलाई मतदानबाट अलग बनाएको छ ।’

  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ८:२५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया