मकवानपुर-१ मा डीनाको अग्रता कायमै, थापा र सिंहको मत कति ?

मतगणनाको तेस्रो दिनसम्म आइपुग्दा मकवानपुरको मत परिणाममा रौनकता छाएको छ । जिल्लाको हेभीवेट नेताहरूको चुनावी टक्करले मत परिणाममा रोचकता थपिरहेको छ । २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा रहेको मकवानपुरमा प्रतिनिधि सभा क्षेत्रको १ मा लोकतान्त्रिक बाम गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना) को सुरुवाती अवस्थादेखि नै अग्रता कायम राखेकी छन् । 

क्षेत्र १ मा डीना सहित राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा जो नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनावी मैदानमा छन् भने राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह लगायत १६ जनाको उम्मेदवारी दर्ता भएको थियो । जसमध्ये चर्चामा रहेका डीना, थापा र सिंहको त्रिपक्षीय भिडन्त हुने आकलन चुलिए पनि प्रारम्भिक मतगणना देखि नै गठबन्धनकी डीनाले अग्रता कायम गरिरहेकी छिन् । 

एमालेको सूर्य चिन्हले आफूलाई प्रतिनिधि सांसद बनाउँछ भनेर ढुक्क रहेका कमल थापाले मतगणनाको केही घण्टादेखि नै भारी मतान्तरले दोस्रो भइरहेका छन्, भने राप्रपाका सिंह मतगणनाको दोस्रो दिन अर्थात् मंगलबारसम्म ४ हजार मत पनि कटाउन सकेका थिएनन् । 

तर, बुधबार बिहान देखि हेटौंडा २ को मतगणना भइरहँदा सिंहले मतान्तरको ग्याप पुर्न सुरु गरेका छन् । पछिल्लो मत परिणाम अनुसार उनको ८ हजार ४ सय तीन मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । छोटो समयमा नै यतिका मतान्तर पुर्न सक्नु उनका निकटतम प्रतिद्वन्द्वी थापा र उपाध्यायलाई चुनौती थपिनु हो । गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा भारी मत पाएका सिंहले सोही मतको सदुपयोग पछिल्लो समय हुने देखिएको छ । हेटौंडा उपमहानगरपालिकाको मतगणना हुँदा मतान्तरको ग्याप पुरिरहेको सिंहको सम्भावना बढ्न थालेको छ । 

यता, सुरुवाती अवस्थादेखि नै अग्रतामा रहेकी गठबन्धनकी उपाध्यायको पछिल्लो समय १३ हजार ६ सय ३० मत प्राप्त गरेकी छन् । त्यस्तै कमल थापाले १० हजार ६ सय ८१ मत प्राप्त गरेका छन् । पहिलो स्थानमा रहेकी उपाध्याय भन्दा दोस्रोमा रहेका थापा २ हजार ९ सय ४९ मतान्तरमा छन् भने दोस्रोमा रहेका थापा भन्दा सिंह २ हजार २ सय ७८ मतान्तरमा छन् । 

हालसम्मको मतगणनालाई आधार मान्ने हो भने मकवानपुर १ मा गठबन्धनको अग्रता कायम रहेको छ । यहाँ खसेको ९१ हजार ४ सय ८६ मतमा हालसम्म ३७ हजार ८४ मतगणना भएको छ । यद्यपि मतगणना भने जारी छ । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १०:४२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया