सिके राउत : हतकडी छुटेकाे ४ वर्षमा संसद भवनको यात्रामा

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले हराउँदै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राउत ३५ हजार ४२ मत ल्याएर निर्वाचित हुँदा जसपा अध्यक्ष यादव १६ हजार ९७९ मतमा सीमित भए । 

सप्तरी–२ मा ९५ हजार ३९४ मतदाता मध्ये ६४ हजार ५६० अर्थात ६७ दशमलव ९७ प्रतिशतले मत खसाएका थिए । प्रतिनिधिसभामा पार्टी अध्यक्ष सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले हराउँदा प्रदेशसभामा पनि जनमतका उम्मेदवारहरुले मन्त्रीहरुलाई पराजित गरेका छन् ।

सप्तरी क्षेत्र नम्बर–२ को (क)बाट उम्मेदवार रहेका मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई जनमत पार्टीका सतीश सिंहले भारी मतान्तरले पराजित गरेका छन् । सिंह १६ हजार ७३४ मत प्राप्त गरि विजयी हुँदा साहले ८ हजार २९२ मत मात्र पाउन सके । 

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ को (ख) मा पनि जनमतका उम्मेदवार महेशप्रसाद यादव निर्वाचित भएका छन् । महेश १३ हजार ३२५ मत ल्याएर निर्वाचित हुँदा माओवादी केन्द्रका उम्मेदवार पूर्व खानेपानी मन्त्री उमेश कुमार यादव ७ हजार २३ मत ल्याएर उनका निकटतम प्रतिद्वन्द्वी बने ।

उता, सप्तरी–३ को (ख) मा पनि जनमत पार्टीका शम्भुकुमार साह १० हजार ८६२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विदेश्वरप्रसाद यादवले १० हजार ८१४ मत प्राप्त गरे । 

जनमत पार्टीकै तर्फबाट रुपन्देही–५ (ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् । निवर्तमान सांसदसमेत रहेका कांग्रेसका फकरुद्दिन खानलाई हराउँदै उनी विजयी भए । गुप्ताले १२ हजार ९४१ मत ल्याउँदा खानले ११ हजार ६५१ मत ल्याए ।



२०७५ फागुन २४ गते मूलधारको राजनीतिमा समाहित भएका थिए राउत

६ वर्षसम्म तराई मधेसलाई अलग्गै राज्य बनाउनुपर्ने मागसहित पृथकतावादी आन्दोलनको नेतृत्व गर्दै आएका राउत सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएको चौबीस घण्टा नबित्दै २०७५ फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा समाहित भएका थिए । 



राउतले सरकारसँग भएको सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनी खुला राजनीतिमा आए । राउत त्यसयसअघि नेपाललाई ‘फिरङ्गीहरुको देश’ भन्ने गरेका थिए । स्वतन्त्र मधेस आन्दोलनका नेता कार्यकर्ता र समर्थकलाई नेपालभित्र बसोबास गर्न, जीविकोपार्जन गर्न, संघसंगठन र मूलधारको पार्टी खोल्न राज्यबाट कुनै कारबाही नगर्ने सहमति भएपछि उनी मूलधारको राजनीतिमा फर्के । 

त्यसपछि सिरहाको लहानमा राष्ट्रिय परिषद बैठकको आयोजना गरि ४ चैत २०७५ मा राउतको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन गरियो । त्यसै दिन राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरियो । 

राउतले स्वतन्त्र मधेसको नारा र नाममात्रै नभई, त्यसअघि उठाउँदै आएको जनमत संग्रहको माग पनि छाडे । पछिल्लो निर्वाचनको मिति घोषणा हुनुअघि राउतले सप्तरी–२ बाट उम्मेदवारी दिने बताएपछि मधेसको राजनीति तरंगित बन्यो । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका अध्यक्ष राउतले प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने घोषणा गरे । 

त्यसपछि राउतले जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटघाट गरि साथ र सहयोगसमेत खोजे । तर, उनीहरुको साथ नपाएर उनलाई खाली हात फर्किनुपर्यो ।  राउत आफ्नो अडानमा अडिग रहिरहे । फलस्वरुप आज सोही निर्वाचन क्षेत्रबाट लडेका जसपा अध्यक्ष यादव भारी मतान्तरले पराजय भोगेका छन् । राउत भने आफू निर्वाचित भएसँगै अब संसद भवनको यात्रा तय गर्न लागेका छन् । 

को हुन् सिके राउत?

सप्तरीको महदेवा गाउँपालिकामा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत थिए । सन् २०११ को अन्त्यतिर उनी त्यहाँबाट राजीनामा दिएर नेपाल फर्के । पुलचोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर केही समय विभागीय प्रमुखका रुपमा काम गरे । त्यहाँबाट पनि राजिनामा दिएर जापान सरकारले दिने मोनबूशो स्कलरशीपमा जापान गए । 

जापानबाट सन् २००६ को अगस्तमा घर फर्कँदा मधेसका अधिकारका लागि आन्दोलन चलिरहेको थियो । सोही क्रममा राउत लगायतका केही व्यक्तिले मधेस छुट्टै देश हुनुपर्छ भन्दै स्वतन्त्र मधेश गठबन्धनको गठन गरे । 

पहिलो पटक इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा यहाँ ऋतिक रोशन काण्ड भएको थियो भने जापानमा फर्कने क्रममा इराकको आतंकवादी संस्थाले नेपालीहरुको हत्या गरेपछि काठमाडौँमा दंगा भड्किएको थियो । ती दुवै घटनालाई उनले मधेसीमाथि भएको दमनका रुपमा लिए । यहीँबाट उनले आफ्नो मनमा मधेसलाई अलग्गै देश बनाउनु पर्छ भन्दै योजना बुनेका थिए । 

‘जनमत पार्टी’ को उदयले नयाँ आश जगायो

राजनीतिमा दखल राख्ने सोहन साह भन्छन्, ‘मधेशमा नयाँ शक्तिको खोजLको क्रममा जनमत पार्टी’ को उदयले नयाँ आशा जगाएको छ । 

‘मधेस ‘आश्रित’ (मधेसी जनताको सेन्टिमेन्टबाट) आधार भएको पार्टीले पनि विगतको एक दशकमा र मधेस सरकारकै नेतृत्वमा खासै राम्रो काम गर्न सकेन । बरु भ्रस्टाचार र वेथतीमै प्रदेश सरकारको कार्यकाल बित्यो, उनले भने, ‘देशभरिमै पुरानो पिढीको नेताको विकल्प खोज्ने क्रममा यसको प्रभाव मधेसमा पनि देखियो । यद्यपि अहिले पनि पुरानै नेताको बर्चस्व रहेपनि केहि हदसम्म डा. सिके राउतको उदयले आशा जगाएको छ ।’

अन्य थुप्रै ठाउँमा युवा नेतृत्व स्वतन्त्र रुपले आएका छन् । यसले मधेसको मुद्दा (संघियता , समावेशीता, नागरिकता आदि) केन्द्रसम्म पुर्याउन अब विकल्पको रुपमा जनमत पार्टीले पनि नेतृत्व लिनुपर्छ भन्ने सन्देश दिन खोजेको हो ।  

मधेशी जनताले जसपा र लोसपा जस्ता पार्टीमा भइरहेको कथित जातीय उग्रतालाई पनि मन पराउने एउटा ठुलो शिक्षित जमात छ, मधेसमा जसले धेरै नबोली, स्थापित पुरानो मधेस ‘आश्रित’ पार्टीको पुरातनवादी सोचको विकल्पमा जनमत पार्टीलाई ‘समानुपातिकमा’ पनि मत दिएर एउटा सामाजिक सद्भावको सन्देश दिएको छ ।
 
त्यस्तै, मधेस आन्दोलनले मधेसको पक्षमा धेरै सकारात्मक परिवर्तन ल्याएको छ । यसमा कुनै दुईमत छैन् । तर, यतिका वर्ष पछि मधेस आन्दोलनको व्याज मात्र खाने प्रवृतिले यसको कमि कमजोरी तिर जसपा र लोसपा जस्ता पार्टीमा नेता÷बुद्धिजीवीको ध्यान नपुगेको सोहनको भनाइ छ । नेताकार्यकर्ता आफ्नैमा मस्त हुने, सरकारमा कुनै न कुनै किसिमले आफू टाँसी रहने प्रवृति र मधेस प्रदेश सरकारले पनि अपेक्षित काम गर्न नसक्नुले युवा पिढीलाई अत्याधिक निराश बनाएको थियो । 

मधेस आन्दोलनले मधेशीहरुमा चेतनाको उर्जा ल्याएपनि त्यो सकारात्मक उर्जाको सहि सदुपयोग नगरी पुनर्जागरण र सुधारको सम्भावनालाई मधेस आश्रित पुरानो दलहरुले बर्बाद गरेको उनको तर्क छ । त्यसको आक्रोशको रुपमा नयाँ विकल्पको खोजि नै यस निर्वाचनको मुख्य सन्देश रहेको साह बताउँछन् ।

  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १७:५७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया