मकवानपुर १ का एमाले मतदाताले कमल थापालाई नपत्याएका हुन् ?

राप्रपा नेपालका अध्यक्ष कमल थापा सूर्य चिन्हबाट प्रतिनिधि सांसदमा विजयी हुने आशामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको लबिङमा टिकट हात पारे । नेकपा एमाले मकवानपुरभित्र थापालाई टिकट दिएकै कारण विवाद उब्जियो । मनोनयन दर्ताको दिन एमाले कार्यकर्ताले नै थापाविरुद्ध नाराबाजी गरेर पार्टी कार्यालयमा ताला नै लगाएका थिए । यस्तो माहोलको बीचमा पनि पार्टी नेतृत्व तहको बलमा थापाले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का लागि उम्मेदवारी दर्ता गराएका थिए । 

राप्रपा नेपालको झण्डा र चुनाव चिन्ह नै भुलेर थापा नेकपा एमालेको सूर्य चिन्हमा मख्ख पर्दै चुनावी प्रचारप्रसारमा लागिरहे । मंसिर ४ गते आम्निर्वाचन सम्पन्न पनि भयो । आइतबार रातिसम्म जिल्लाका सबै मतपेटीका हेटौंडा आइपुगेपछि सोमबार बिहानदेखि मतगणना सुरु गरियो । प्रारम्भिक मतगणना देखि नै थापाको मुख्य प्रतिद्धन्द्वीको रुपमा रहेका लोकतान्त्रिक बाम गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता जमाइरहिन् । सुरुवातदेखि नै थापा कहिल्यै अगाडि जान सकेका छैनन् । 

एमालेका मतदाताले नपत्याएका हुन् ?

थापा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिन लागेको थाहा पाउन बित्तिकै आक्रोशित बनेका कार्यकर्ता तथा मतदाताहरूले साथ नदिएका हुन् कि भन्ने प्रश्नको चर्चा सुरु भएको छ । मनोनयन दर्ता देखि नै थापालाई मतदाताले नपत्याउने हुन् कि ? यसले चुनावी माहोलमा कस्तो असर पर्ला लगायतका प्रश्नहरू उब्जाएको थियो । 
मकवानपुर प्रदेशसभा १(ख) का उम्मेदवार नेकपा एमालेकै एकलाल श्रेष्ठ मतगणनाको सुरुवात देखि नै अग्रता कायम राख्दै १४ हजार मतले विजयी भइसकेका छन् । १(क) मा पनि एमाले उम्मेदवार कमल विष्टको मतपरिणाम पनि निकै राम्रो छ । तर, सोही क्षेत्रबाट प्रतिनिधि सांसदका उम्मेवार कमल थापालाई अत्याधिक मत नआउनु एमाले मतदाताले उनलाई प्राथमिकतामा राखेर मत नदिएको प्रक्षेपण सुरु भएको छ । 

समर्थनको आशा बोकेका थापा विरुद्ध कार्यकर्ताले गरेको आक्रोशित व्यवहारको कारण पनि थापालाई निर्धक्क भएर एमालेका मतदाताहरूले मत नदिएकै कारण पछि परिरहेका हुन् कि भन्ने आशंका चुलिएको छ । 

३ हजारको मतान्तर 



गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) भन्दा थापा झण्डै ३ हजार मतान्तरले पछ्याइरहेका छन् । हालसम्म ४६ हजार ६ सय ५५ मतगणना हुँदा थापाले १३ हजार ६ सय १८ मत प्राप्त गरेका छन् । अग्रस्थानमा रहेकी डिनाले १६ हजार ३ सय ८६ मत ल्याएकी छन् । त्यस्तै, राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले १० हजार ९ सय ३२ मत प्राप्त गर्दै तेस्रो स्थामा रहेका छन् । 



  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ०:०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया