गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट निर्वाचित भएका छन् ।
उनले नेकपा माओवादीका महासचिव देव गुरुङलाई पराजित गरेका हुन् ।
पृथ्वीसुब्बा गुरुङले यसअघि २०७४ सालको निर्वाचनमा लमजुङको प्रदेश सभा खबाट निर्वाचित भएर गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री भएका थिए ।
त्यति बेला प्रतिनिधि सभामा लमजुङबाट देव गुरुङ निर्वाचित भएका थिए । यी दुवै मिलेर त्यति बेला चुनाव लडेका थिए ।
यसपटकको निर्वाचनमा देव गुरुङले ३ हजार १८८ मत अन्तरले हारेका छन् ।
पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । एकमात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा ८० हजार १९२ मत खसेको थियो । तीमध्ये २ हजार ३८४ मत बदर भएको छ ।
प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २३१ मत पाएका छन् । मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४५७, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले १४८ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।