पाँच कारण जसले प्रचण्डलाई एग्रेसिभ बनाउँदै छ

काठमाडौं– तीन दिने माघे झरीपछि काठमाडौंको मात्र होइन, नेपालका विभिन्न ठाउँमा अहिले तापक्रम बढ्दो छ । यता, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा दुई अध्यक्षबीच देखिएको मतभेद तथा जुहारीले राजनीतिक वातावरण झन् झन् तात्दै गइरहेको छ । 

नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा लामो समय पछि भेटघाट भयो । त्यहाँ उनीहरुबीच दुई दलको एकता अझ तीव्र गतिमा लैजाने र त्यही अनुरुप सन्देश दिने मौखिक सहमति भयो । 

मौखिक सहमति गरेर निस्किए पनि प्रचण्ड र ओलीबीच एकअर्काप्रति विश्वासको वातावरण बनिनसकेको र नेकपा एकता प्रक्रिया अझ लामो समय लम्बिन सक्ने नेकपाका एक नेताले बताए । 

‘नाम चाहिँ नराखौँ, भोलिदेखि फेरि यो यो कित्ताको भनेर हल्ला गर्न थाल्छन्,’ उनले भने, ‘तर, कार्यदलले काम गर्न नसक्नु र एकता प्रक्रिया एउटा टुङ्गोमा पुग्न नसक्नुको कारण पनि दुई अध्यक्षबीच समझदारी नहुनु नै हो ।’

यसबीच विभिन्न कार्यक्रममा प्रचण्डले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा पूर्व एमाले नेताहरुबीच कटाक्ष गर्न छाडेका छैनन् । अर्कोतिर, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रचण्ड एग्रेसिभ हुँदै गएपछि पार्टीका विषयमा आफ्नो अडान कायम गर्न थालेका छन् । 

आखिर किन प्रचण्ड यसरी एग्रेसिभ बनिरहेका छन् त ? पाँच कारणः



कारण एकः आधाआधा समय प्रधानमन्त्री हुने ओलीसँगको सहमति पालना नहोला भन्ने डर

प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित भएलगत्तै बालुवाटारमा गरिएको एक बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डबीच आधा आधा समय प्रधानमन्त्री भएर नेतृत्व गर्ने सहमति भएको नेकपाका एक नेता दाबी गर्छन् । उनका अनुसार यो सहमति त्यति बेला पार्टी एकतामा असर गर्न सक्ने ध्येय र यो सरकार पनि लामो समय नचल्ने कुरा कर्मचारी र बाहिर पनि सुनिने भएकाले भनिएको थिएन । निर्वाचनमा पाँच वर्षे सरकारका लागि भोट दिनुस् भन्ने चुनावी नारा लिएर अगाडि बढेकाले पनि प्रचण्ड र ओली दुवै यो कुरा बाहिर आओस् भन्ने चाहन्थेनन् । त्यसैले यो सहमतिलाई बाहिर ल्याइएन । 



ती नेताका अनुसार यो सहमति पनि लिखित नै भएको छ र केही नेतालाई मात्र यसबारे थाहा छ । तर, अब प्रचण्ड यो सहमति पालना हुनेमा विश्वस्त हुन सकेका छैनन् । जसरी प्रधानमन्त्री केपी शर्मा ओली अगाडि बढिरहेका छन्, यसले प्रचण्डमा भय सिर्जनम गरेको उनी निकट नेताहरु बताउँछन् । 

ओलीका समर्थकहरु यो सरकारका काम देखिन अझै दुईचार वर्ष कुर्न पर्ने तर्क गर्न थालेपछि प्रचण्डको मनमा चिसो पस्न थालेको हो । त्यसो त ओली स्वयंले पनि सरकारका काम एक वा दुई वर्षमा नदेखिने र यो सरकार पाँच वर्षका लागि बनेको हो भन्ने धारणा बारम्बार राख्न थालेपछि प्रचण्ड त्यो सहमतिमा फेरि फर्किए । स्रोतका अनुसार यस विषयमा उनले ओलीसँग पनि कुरा गरेका थिए । तर, ओलीले यसलाई बेवास्ता गरे । 

केही अघि सरकारका केही मन्त्री परिवर्तन गर्ने ओलीको निर्णयलाई प्रचण्डले त्यो सहमतिलाई अगाडि बढाएर रोकेको स्रोतहरु बताउँछन् । 

तर, अहिले आएर प्रचण्ड त्यो सहमति पालना नहुने हो कि भन्ने आशंकामा छन् । त्यसैले उनी आफ्ना तर्क राखेर आफ्नो पक्षमा माहोल सिर्जना गर्न चाहन्छन् ।

 

कारण दुईः संघीयतामा आफूलाई एक्लाइएको प्रचण्ड निष्कर्ष

केही समयअघि एउटा अनौपचारिक भेटघाटमा प्रचण्डले एक वाक्य भनेका थिए– यहाँ संघीयता खारेज भयो भने, राजतन्त्र फर्कियो भने प्रचण्डलाई मात्र घाटा हुन्छ भन्नेहरु जन्मिएका छन्, हाम्रै पार्टीका शीर्ष नेताहरु पनि यस्तो विषयमा छलफल गर्न पो थालेका रहेछन् ।

प्रचण्ड अहिले संशकित छन्, कतै नेपालमा संघीयता खारेज हुने त होइन ? झन् पछिल्लो समय संसदमा प्रस्तुत गरिएका विधेयकमा जिल्ला र प्रमुख जिल्ला अधिकारीलाई विशेष अधिकार दिइएको वास्तविकता बुझेपछि प्रचण्ड यसबारे मौन बस्न सकेका छैनन् । उनलाई तत्कालीन माओवादी नेताहरुले यसबारे बारम्बार कुरा गर्न थालेको स्रोत बताउँछ । 

प्रचण्डनिकट एक नेताले आफ्ना अजेन्डालाई बेवास्ता गर्दै ओली समूह वा पूर्व एमाले समूहले आफ्ना विषय मात्र रटान लगाउन थालेको र पूर्व माओवादी नेताका विषयलाई आलटाल गरेर टार्न खोजेको आरोप लगाउँछन् । ‘उहाँहरुले अहिले नै दुई पार्टी समान हैसियतमा एकता भएको हो भन्ने बिर्सन थाल्नुभएको छ,’ उनले भने । 

अर्कोतिर प्रचण्ड पनि संघीयताको खारेज गर्न नेकपाकै केही नेताहरु तयार भइसकेको यथार्थसँग नजिक भइसकेका छन् । यसले प्रचण्डमा चिन्ता जन्मिनु स्वभाविक हो र उनी त्यही चिन्ताका कारण पछिल्लो समय अग्रेसिभ हुन थलेको उनीनिकट नेताहरु बताउँछन् । 

 

कारण तीनः नेकपा सचिवालय सदस्यका अधिकांशले आफूलाई समर्थन गर्ने प्रचण्डको विश्वास

पार्टी र सरकारका कामलाई पारदर्शी रुपमा सन्चालन नगरेको आरोप प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बारम्बार लाग्दै आएको छ । केही समयअघि नेकपा नेता योगेश भट्टराईले त सामाजिक सन्जालमा नै केपी ओलीले नेकपाको सचिवालय तथा केन्द्रीय बैठकहरु स्थगन गरेर पार्टीमा ‘साइलेन्ट’ अवस्था सिर्जना गरेको आरोप नै लगाएका थिए । 

अर्कोतिर, नेकपाको ९ सदस्यीय सचिवालयका ५ सदस्य प्रधानमन्त्री ओलीको पक्षमा नभइ प्रचण्डको पक्षमा छन् । बहुमत सचिवालय सदस्यले आफूलाई साथ दिएको, नेताहरु नारायणकाजी श्रेष्ठ, माधवकुमार नेपाल आफ्नो पक्षमा भएको विश्वासले प्रचण्डलाई एग्रेसिभ हुन अझ सहयोग गरेको छ । त्यसमाथि नेकपा महासचिव विष्णु पौडेलले पनि पछिल्लो समय प्रचण्डलाई नै फेभर गर्न थालेको कुरा नेकपा भित्रै चर्चाको विषय बन्न थालेको छ ।

 

कारण चारः राजनीतिक स्पेस गुमाइएला भन्ने चिन्ता

स्रोतका अनुसार पछिल्ला महिना प्रचण्डलाई राजनीतिक सिनारियोबाट अलग्याउँदै ओलीले हिँडेको ब्रिफिङ प्रचण्डनिकट नेताहरुले उनलाई गर्न थालेका छन् । यसले आफू समकालीन राजनीतिमा छायामा पर्न सक्ने अनुमान प्रचण्डले गरेको हुनसक्ने नेकपामा उनीनिकट नेताहरु अनुमान गर्छन् । 

पछिल्ला वर्षमा पारिवारिक बज्रपात र उनले चाहेजस्तो हुन नसक्नुले पनि प्रचण्डलाई चिन्तित बनाएको विश्लेषण गर्न थालिएको छ । यतिमात्र होइन, यसअघि माओवादीबाट टुक्रिएर गएका विभिन्न नेताले गरिरहेको प्रचण्ड आलोचनाले पनि उनलाई चिन्तित बनाएको र पहिलेको आफ्नो स्पेसमा कमब्याक गर्न प्रचण्ड खोजिरहेको नेकपा भित्रै चर्चा चल्न थालेको छ । 

 

कारण पाँचः ओलीको कार्यशैलीप्रति असन्तुष्टि

सरकारले सोचेजस्तो काम गर्न नसकेको र प्रतिपक्षीबाट मात्र नभएर जनस्तरबाट पनि सरकारको आलोचना चुलिँदै गएको निष्कर्ष नेकपाकै कतिपय नेताले निकालेका छन् । यसको प्रभाव प्रचण्डमा सरकारप्रति असन्तुष्टि जन्मिएको छ ।

झन्, भेनेजुएला प्रकरणमा सरकारले आफ्नो धारणालाई आधिकारिक नमानेकाले प्रचण्ड संशकित छन् । सरकारको फरक धारणा आउनुमा उनले ओलीलाई कारण मानेका छन् । यसले ओलीको कार्यशैली र उनले पार्टीकै अधिकांश नेतालाई देखाएको व्यवहार प्रचण्डलाई सम्झाइदिएको छ । र, प्रचण्डले आफूलाई चुपचाप राख्न नहुने निष्कर्षमा पुगेकाले पछिल्लो समय उनी एग्रेसिभ बनेको उनीनिकट नेताहरुको दाबी छ । 

 

के सरकार आफैं संघीयताकाे विराेधमा लागेकाे हाे ?

हाम्राे सिरिज धरापमा संघीयता:

 

‘संघीयता डिरेल गर्ने सरकारको प्रपञ्च’

मुख्यमन्त्रीको ताजमाथि सिडिओको तरबार

  • प्रकाशित मिति : माघ २७, २०७५ आइतबार १६:१७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया