राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी भारी मतान्तरका साथ प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।
विजयी भएपछि उने अहिलेलाई परीक्षा दिन मात्रै सक्षम भएको र त्यसको नतिजा पाँच वर्ष पछि मात्रै आउने उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ।’
लामिछानेले आजैदेखि काम गर्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘म जनता लाई जिताउने जाँच दिन जाँदैछु त्यसैले म अहिले नै बिजय र्याली गर्न चाहन्न।म बिजय र्यालीको साटो आज ३ बजे, भरतपुर १०- गेस्ट हाउस चौरमा, भोलि ११ बजे इच्छा कामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिन टारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा ‘धन्यवाद सभा’ गर्दै छु । एउटा अनुरोध, कृपया त्यहाँ आउँदा मेरा लागि फुल माला अबिर खादा केही पनि नल्याउनु होला। म आज बाटै काम थाल्दै छु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन्। एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ। त्यसमा तपाईँका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा ‘उजुरी, समस्या, सुझाव पेटिका’ लेखिएको हुनेछ। त्यसमा, भ्रष्टाचारीका सूचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर, खादामा हामीले गरेको खर्च प्राय: सबै विदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ। म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउँछु ’
८४३१७ जनाले मतदान गरेको यो क्षेत्रबाट लामिछानेले ४९ हजार २६१ भोट प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत मात्रै ल्याए । त्यस्तै, तेस्रो भएका नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याए । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४ हजार १६२ भोट बढी पाएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।