‘हरियाली प्रवर्द्धन गर्न’ करोडौँ बाँड्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले जिल्लाका १० नगरपालिकासँग नगर साझेदारी कार्यक्रम सुरु गरेको छ । काठमाडौंमा हरियाली प्रर्वद्धन गर्ने उद्देश्यसहित महानगरपालिकाले कार्यक्रम सुरु गरेको हो ।

हरियाली प्रर्वद्धन कार्यक्रमको पहिलो चरणमा महानगरले जिल्लाका १० नगरपालिकालाई १/१ करोड रुपैयाँ बाँडेको छ । राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा महानगरले नगरपालिकालाई हरियाली प्रवद्र्धनका लागि रकम वितरण गरेको हो । महानगरले टोखा नगरपालिकालाई यसअघि नै रकम दिइसकेको छ ।

के कामका लागि करोड ?

कीर्तिपुर नगरपालिका

नगर साझेदारी कार्यक्रमअन्तर्गत कीर्तिपुर नगरपालिकाले वडा नं. १, २ र १० मा युद्ध स्मारक पार्क निर्माण गर्नेछ । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिने यो पार्क निर्माणको सबै लागत काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ । 

शंखरापुर नगरपालिका



शंखरापुर नगरापालिकाले हरियाल प्रवद्र्धन कार्यक्रमअन्र्तगत वडा नं. ९ बज्रयोगीनी मन्दिर क्षेत्रमा हरित उद्यान निर्माण गर्नेछ । नगरपालिकाले करिब १०० रोपनी क्षेत्रफलमा पार्क निर्माण गर्नेछ । यसको पनि सम्पूर्ण लागत काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ । 

कागेश्वरी मनोहरा नगरपालिका



कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं. १ मा रहेको कागेश्वरी मन्दिर र त्यसवरिपरिको क्षेत्रलाई समेटी पवित्र कागेश्वरी धाम निर्माण गर्नेछ । नगरपालिको ५५ रोपनी क्षेत्रमा धाम निर्माण हुनेछ । धाम निर्माणको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ ।

गोकर्णेश्वर नगरपालिका

गोकर्णेश्वर नगरपालिकाले वडा नं. ९ जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्रभित्र गोकर्णेश्वर पार्क निर्माण गर्नेछ । ज्येष्ठ नागरिक आराम कक्ष, रेलिङसहितको अपांगतामैत्री पदमार्ग, बालबालिका मनोरञ्जन क्षेत्र, एम्पिथेटर, चिन्तन मनन बगैँचा, फूल बगैँचा, जगिङ ट्रायल, अन्तर्क्रिया कक्षलगायत सुविधासहित निर्माण हुने यो पार्कको सम्पूर्ण निर्माण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ । 

बुढानीलकण्ठ नगरपालिका

बुढानीलकण्ठ नगरपालिकाले वडा नं. ८ हात्तीगौँडामा बुढानीलकण्ठ पार्क निर्माण गर्नेछ । नगरपालिकाले करिब १४ रोपनी जग्गामा पार्क निर्माण गर्ने बताएको छ । पार्कमा सबै प्रदेशको सम्पूर्ण जानकारीसहित डिजिटल बोर्ड राखिनेछ । पार्क निर्माणको सबै खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ ।

तारकेश्वर नगरपालिका

तारकेश्वर नगरपालिकाले वडा नं. ३ मा तारकेश्वर धाम निर्माण गर्नेछ । करिब १० रोपनी क्षेत्रफलमा नगरपालिकाले धार्मिक प्रकृतिको धाम निर्माण गर्ने बताएको छ । धाम निर्माणको सम्पूर्ण लागत काठमाडौं महानगरले व्यहोर्नेछ ।

नागार्जुन नगरपालिका

नागार्जुन नगरपालिकाले वडा नं. ६ डाँडापौवामा गणेशमान स्मृति पार्क निर्माण गर्नेछ । करिब १७ रोपनी क्षेत्रफलमा निर्माण गरिने पार्कमा नगरपालिकाभित्र रहेका ऐतिहासिक, पुरातात्विक र धार्मिक विशेषता झल्किनेछन् । स्मृति पार्क निर्माणको सम्पूर्ण लागत काठमाडौ महानगरले व्यहोर्नेछ । 

चन्द्रागिरि नगरपालिका

चन्द्रागिरि नगरपालिकाले वडा नं. १३, कंकाली मन्दिर परिभ्रमण क्षेत्र तथा पर्या–पर्यटन क्षेत्र निर्माण गर्नेछ । करिब २६ रोपनीमा निर्माण हुने पर्या–पर्यटन क्षेत्र निर्माणको सम्पूर्ण लागत काठमाडौं महानगरले व्यहोर्नेछ । 

दक्षिणकाली नगरपालिका

दक्षिणकाली नगरपालिकाले वडा नं. ५ स्थित गोरखनाथ मन्दिरबाट करिब ३०० मिटर माथिसम्म परम्परागत सिँढी, गोलो आकारको अवलोकन स्तम्भ, बहुउद्देश्यीय उद्यान, झरना, बाल उद्यान, प्राचीन दक्षिणकाली मन्दिरसम्म परम्परागत सिँढी र सम्पूर्ण क्षेत्रमा पर्खालसमेत निर्माण तथा विकास गर्नेछ । बहुउद्देश्यीय उद्यान नाम दिइएको यो परियोजनाको सम्पूर्ण लागत काठमाडौं महानगरले व्यहोर्नेछ ।

  • प्रकाशित मिति : माघ २७, २०७५ आइतबार १७:१३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया