मकवानपुरबाट प्रतिनिधिसभामा नयाँ अनुहारको इन्ट्री

दुई प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरबाट यसपटक प्रतिनिधि सभामा सांसदका देखिँदैछन्, नयाँ अनुहार ।

सत्ता गठबन्धनले निर्वाचनअघि वाम गठबन्धनबाट मकवानपुरमा आफ्नो जित हासिल गर्नका लागि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई यहाँ दुई सिटको टिकट दिएको थियो ।

तर, सत्ता गठबन्धनले सोचेजस्तो भएन । दुवै सिट उसले गुमायो ।

नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना र नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा दुवै जनाले कांग्रेसी मतदाताको बलमा आफूहरु संसदमा जाने दाबी गर्दै आएका थिए । कतिसम्म भने खतिवडाले त आफ्नो पार्टीको संगठन कमजोर भए पनि कांग्रेसले गर्ने सहयोगका कारण आफूले जित निकाल्ने सार्वजनिक कार्यक्रममा समेत भनेका थिए ।

तर, यी दुवै नेता पराजित भएका छन् । 

मकवानपुरको क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ मा एमालेका महेशकुमार बर्तौलाले जित निकालेका छन् ।



क्षेत्र नम्बर १ मा नेकपा एमालेले आफ्नो उम्मेदवार बनाएको थियो, राप्रपा नेपालका अध्यक्ष कमल थापालाई । तर, उनले पनि हार व्यहोरेका छन् । कांग्रेसकी डिना, राप्रपा नेपालका कमल थापा उम्मेदवार भएको यो ठाउँमा राप्रपाका दीपककुमार सिंह यसपटक हावी भए । त्यसो त त्यहाँ सुरु भएको मतगणनाको प्रारम्भिक रुझानमा डिनाले अग्रता पनि लिएकी थिइन् । 

तर, अन्तिमसम्म उनले अग्रता कायम राख्न सकिनन् । डिनाले राम्रै मतान्तर कायम गरे पनि दीपकले त्यसलाई अन्ततः जितेर आफूलाई पाँचौ पटकको प्रयासमा सफल सावित गरे । डिनालाई २ हजार ३ सय ९३ मतले हराउँदै सिंह विजयी भए । सिंहले २७ हजार ८ सय १६ मत ल्याउँदा डिनाले २५ हजार ४ सय २३ मात्र मत ल्याइन् । सूर्य चुनाव चिन्हबाट उम्मेदवारी दिएका कमल थापाले २५ हजार ४ सय २० मत मात्र ल्याए ।



सिंह यसपटक प्रतिनिधि सभाको यात्रामा पहिलो पटक छन् ।

मकवानपुरकै अर्को क्षेत्रमा पनि यसपटक प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन निकै रोचक देखियो । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई हराए उनकै चेलाले ।

निर्वाचनअघि सार्वजनिक कार्यक्रममा तथा चुनावी अभियानमा खतिवडामा एउटा विश्वास देखिएको थियो, कांग्रेसी मतदाताको आडमा जित्ने । तर, उनले सोचेजस्तो भएन । 

यो क्षेत्रमा ८६ हजार ६ सय ५२ मतमा बर्तौलाले ३४ हजार ९ सय १६ मत प्राप्त गरेका छन् । खतिवडाले ३० हजार ३ सय ९६ मत प्राप्त गरे । बर्तौलाले खतिवडालाई ४ हजार ५ सय २१ मतान्तरको फरकले पछि पार्दै विजयी भए । पहिलो पटक निर्वाचनमा होमिएका बर्तौलालाई पहिलो पटक नै सफलता हात परेपछि अब युवा पुस्तालाई देश चलाउन जिम्मा दिएर आराम गर्न खतिवडालाई आग्रह समेत गरेका छन् ।

  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १९:२२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया