उपत्यकामा माओवादी र समाजवादी नील, कांग्रेसको भोट गयो स्वतन्त्र पार्टीलाई
​कांग्रेसले पाएका आठमध्ये सातमा विजयी, माओवादी - समाजवादी पत्तासाप

सत्ता गठबन्धनका दलहरू प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गरेर चुनावी मैदानमा उत्रिए । प्रतिनिधिसभाको लागि जम्मा १५ सिट रहेको उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसले ८ सिट पायो भने नेकपा माओवादी केन्द्रले ५ र नेकपा एकीकृत समाजवादीले २ सिट पायो । 

तर मत परिणामको नतिजा भने उपत्यकामा सत्ता गठबन्धनका दलहरूले सोचेको जस्तो आएन । यहाँ माओवादी केन्द्र र एकीकृत समाजवादी निल हुन पुग्यो । कांग्रेसको भोट राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका पार्टीलाई गएको देखिन्छ ।

उपत्यकामा कांग्रेसले आफूले पाएका ८ सिट मध्य ७ सिट सुरक्षित गर्न सफल भयो भने साझेदार अन्यदलहरु एकीकृत समाजवादी र माओवादी केन्द्रले पाएको सबै सिट सत्ता गठबन्धनले गुमाएको छ । कांग्रेसले सिट पाएको ठाउँका उम्मेदवार विजयी हुनु र गठबन्धनका अन्य दलहरूले पाएको ठाउँमा निकै न्यून मत प्राप्त गर्नुले कांग्रेसका मतदाताले गठबन्धनलाई भोट नदिएको प्रस्ट हुन्छ । 

कांग्रेसका ७ सहित उपत्यकामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ५ सिट, एमालेले २ सिट र नेपाल मजदुर किसान पार्टी १ सिटमा विजयी हुन सफल भएका छन् । 

ओनसरी घर्ती (माओवादी केन्द्र)
काठमाडौं निर्वाचन क्षेत्र २ मा गठबन्धनको साझा उम्मेदवारको रूपमा नेकपा माओवादीकी ओनसरी घर्तीले टिकट पाइन् । पूर्व सभामुखसमेत रहेकी घर्तीले जम्मा ९ हजार ४४९  मत पाइन् । यो क्षेत्रमा उनीभन्दा बढी राप्रापा उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत पाइन् । ११ हजार ५५५ मतसहित पोखरले भन्दा पनि अगाडि रहेका एमालेका मणिराम फुयाललाई समेत पराजित गर्दै यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम १५ हजार २२९ मतका साथ निर्वाचित भइन् ।

भीमसेन दास प्रधान (नेपाली कांग्रेस)
काठमाडौं निर्वाचन क्षेत्र ६ मा नेपाली कांग्रेसका भीमसेनदास प्रधान पराजित भए । उपत्यकामा कांग्रेसबाट टिकट पाएका अन्य सबै ठाउँमा उम्मेदवारहरू निर्वाचित हुँदा भीमसेन भने ८ हजार ८०५ मतमा रोकिए । यो क्षेत्रबाट पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित भए । १४ हजार २०४ मतसहित शिशिर निर्वाचित हुँदा उनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सर्वेन्द्र खनालले भने ८ हजार ९११ मत पाए । भीमसेन भने तेस्रो भए । 



मानुषी यमि भट्टराई (माओवादी केन्द्र)
काठमाडौं निर्वाचन क्षेत्र ७ मा माओवादी केन्द्रको चुनाव चिन्हमा उम्मेदवार बनेकी मानुषी यमि भट्टराई पनि पराजय भइन् । उनले जम्मा ६ हजार ६३ मत प्राप्त गरिन् । यो क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली विजयी भएका छन् । उनले ८ हजार ७४३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का श्‍यामकुमार घिमिरेले ६ हजार ८०० मत पाए । यहाँ गठबन्धनकी साझा उम्मेदवार मानुषी भने तेस्रो स्थानमा खुम्चिन पुगिन् ।

जीवनराम श्रेष्ठ (एकीकृत समाजवादी)
काठमाडौं निर्वाचन क्षेत्र ८ मा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ पनि पराजित भए । उनले ४ हजार ८७७ मत प्राप्त गरेका छन् । यहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ  निर्वाचित भए । उनले १० हजार १०५ मत पाए भने उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५ हजार ८८९ मत पाए । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका श्रेष्ठ भने यहाँ दोस्रोसम्म हुन सकेनन् ।



कल्पना धमला (माओवादी केन्द्र)
माओवादीका कल्पना धमलाले जम्मा ६ हजार ४०२ मत ल्याए पनि जितका लागि निर्णायक हुन सकेन ।  पूर्व मन्त्री तथा एमाले नेता कृष्णगोपाल श्रेष्ठ काठमाडौं - निर्वाचन क्षेत्र ९ बाट विजयी भए । उनले ११ हजार ९५६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेल १० हजार ९६१ मतसहित पराजित भए । धमला भने तेस्रो भइन् । 

कृष्णलाल महर्जन (एकीकृत समाजवादी)
ललितपुर - निर्वाचन क्षेत्र २ मा गठबन्धनका साझा उम्मेदवारको रूपमा एकीकृत समाजवादीका कृष्णलाल महर्जन चुनावी मैदानमा थिए । उनले पनि जित हासिल गर्न सकेनन् । ८ हजार २६४ मत उनले प्राप्त गरे । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ८ हजार ६६६ मत प्राप्त गरे । यो क्षेत्रमा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भए । उनले १५ हजार २५ मत पाए । उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत पाए ।  कृष्णलाल भने यहाँ चौथो नम्बरमा खुम्चिए । 

पम्फा भुसाल (माओवादी केन्द्र)
ललितपुर - निर्वाचन क्षेत्र ३ मा गठबन्धनको साथमा माओवादीकी पम्फा भुसाल नेपाल चुनावी मैदानमा थिइन् । यसअघि २०७४ को निर्वाचनमा एमालेको साथमा यही क्षेत्रबाट चुनाव जितेकी भुसालले यस पटक भने निकै कम मत पाइन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की ३१ हजार १३६ मत पाएर निर्वाचित भइन् । तर गठबन्धनका दलको साथ पाएकी ऊर्जा मन्त्रीसमेत रहेकी भुसालले भने जम्मा ८ हजार ७६९ मत मात्रै पाइन् । उनीभन्दा बढी एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाएका छन् ।

सुनिल गोठे (माओवादी केन्द्र)
भक्तपुर - निर्वाचन क्षेत्र १ मा सुनिल गोठेले गठबन्धनको साथमा माओवादी केन्द्रबाट टिकट पाए । तर उनको चुनावी परिणाम पनि निरासाजनक छ । उनले जम्मा ५ हजार १६५ मत पाएर चौथो स्थानमा रहेका छन् । त्यहाँ उनीभन्दा अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का छन् । उनले ९ हजार २२२ मत पाए । यो क्षेत्रमा प्रेम सुवाल पुनः विजयी भएका छन् । नेपाल मजदुर किसान पार्टीका सुवाल ४२ हजार ७६१ पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका नवराज गेलाल ११ हजार ९६८ मतमा सीमित हुन पुगे ।  

  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार २०:३३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया