Fri, 23 Aug, 2019


धम्पुस र बेलायतकाे ब्रेकन शहरबीच भगिनी सम्बन्ध
फरकधार / माघ २८, २०७५

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस र बेलायतको ब्रेकन शहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । दुई शहरका बीचमा संस्कृति आदानप्रदान तथा सामाजिक र आर्थिक विकासमा भगिनी सम्बन्धले सहयोग पुग्ने विश्वास गरिएको छ । 

पर्यटकीय गाउँ धम्पुस र ब्रेकन शहरबीच भगिनी सम्बन्ध पत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको छ ।



माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, वडाध्यक्ष समबहादुर गुरुङ तथा ब्रेकनका प्रमुख काउन्सिलर म्यान्नी ट्रेलर र उपप्रमुख टाउन क्लार्क फियोना विलियम्सले भगिनी सम्बन्ध पत्रमा हस्ताक्षर गरेका थिए ।  

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले माछापुच्छ्रेका अध्यक्ष, वडाध्यक्ष तथा ब्रेकन सिटीका प्रमुख, उपप्रमुखलाई शपथ गराउँदै धम्पुस, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन प्रवद्र्धनमा भगिनी सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

ब्रेकनका प्रमुख ट्रेलरले पहिलो पटक नेपालमा आएर पर्यटकीय गाउँसँग सम्बन्ध गाँस्न पाउँदा खुशी लागेको बताउँदै नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्ध थप प्रगाढ हुने भनाइ राखे ।

गाउँपालिका अध्यक्ष गुरुङले यस सम्बन्धबाट पारस्परिक हित र गाउँपालिकाको सामाजिक विकासमा मद्दत पुग्ने बताए । मितेरी सम्बन्ध स्थापनाका लागि संयोजन गरेका गोर्खा मेजर खुशीमान गुरुङले करिब डेढ वर्षको मिहिनेत र प्रयासपछि दुई शहरबीच मितेरी सम्बन्ध गाँसिएको बताए। 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्