आवरण मोडलको पेशा ठगी !

नुवाकोेटका २० वर्षका मनिश थापा कन्स्ट्रक्सन व्यवसायी हुन् । २० वर्षको उमेरमा नै उनले ठूला ठूला कन्स्ट्रक्सन कम्पनीमा काम गरे, कामदार तथा कन्स्ट्रक्सनका लागि चाहिने बालुवा, ढुंगा गिटी सप्लाई गर्ने । 

त्यस्तै, उनले काम गरेको एउटा ठाउँ हो, नक्सालमा निर्माणाधीन हिलटन होटल । शंकर ग्रुपको स्वामित्व रहेको यो होटल अहिले पनि निर्माणको चरणमा छ ।

त्यहाँ उनले एक भारतीय ठेकेदारसँग सबकन्ट्र्क्याट पाए, कामदार पठाउने । उनले काम पनि गरे । तर, उनलाई काम दिएका ती भारतीय ठेकेदारले उनलाई समयमा भुक्तानी गरेनन् । आफूले समयमा भुक्तानी नपाएपछि मनिशले काममा लगाएका कामदारहरु आफ्नो कामको पैसा माग्न पुगे, मालिगाउँ प्रहरी प्रभाग ।

मनिशले मालिगाउँमा गएर कागज गरे, केही दिनमा ती कामदारलाई पैसा दिने । उनले नुवकोटको एक सहकारीबाट ऋण लिएर ती कामदारलाई पैसा पनि तिरे । तर, यता हिल्टन होटलका ठेकेदारले मनिशलाई २ वर्षसम्म भुक्तानी गरेनन् ।

दिपेश बस्नेत जसले सपना लामिछानेसँग याे घटनामा मिलेमताेमा छन् ।

यता ठेकेदारले भुक्तानी नगर्दा मनिशलाई सहकारीबाट अत्यन्त प्रेसर आउन थाल्यो, पैसा भुक्तानीको । मनिशसँग अरु उपाय थिएन । सानै उमेरमा काम गर्न थालेका मनिशलाई यसले निकै ठूलो पीडा दियो । 



त्यही समयमा उनले भेटे, त्यही हिलटनमा काम गरिरहेका अर्का एक सबकन्ट्र्याक्टर । उनलाई मनिशले आफ्नो गुनासो सुनाए । ती अर्का युवाले मनिशलाई आइडिया दिए– दिपेश बस्नेत भन्ने एउटा मान्छे छ, त्यसले यस्तो फँसेको पैसा एक दिनमै उठाइदिन्छ ।

मनिश ‘हत्तु’ भइसकेका थिए, भारतीय ती ठेकेदारले अनेक बाहना बनाएर आफूले पाउनु पर्ने पैसा नदिएकोमा । उनले ती अर्का व्यक्तिमाथि भरोसा गरे, त्यसको भोलिपल्टै भेटे दिपेश बस्नेतलाई । सोलुखुम्बुका दिपेश बस्नेत आफूलाई ‘भिआइपी’ बताउँदै बानेश्वर बस्ने बताउँछन् । उनी नख्खुको काठमाडौं अपार्टमेन्टमा बस्छन् ।



दिपेश बस्नेतसँग अघिल्लो साँझ ह्वाट्सयापमा भएको कुराकानीअनुसार मनिश थापाले उनलाई भेटे, कोटेश्वरमा ।

कोटेश्वरमा मनिशको पैसा उठाउन दिपेश बस्नेतलाई इन्ट्री गराए– सपना लामिछानेलाई । दिपेशले मनिशलाई सपना आफ्नो श्रीमती भएको र यो पैसा उठाउने काममा उनको दिदीको भूमिकामा देखिने पनि बताए । 

‘मैले तिम्रो कुरा डिएसपीसँग भनिसकेको छु, त्यहाँ डिएसपीसाप आउँदै हुनुहुन्छ,’ मनिशलाई दिपेशले भने, ‘तिमीले सपनाको नाममा चार वटा चेक काटिदेउ, ३२÷३४ लाखको ।’ दिपेशले यो पैसा मनिशसँग लिनु पर्ने भन्ने प्रमाण देखाउँदै उनको पैसा उठाउने भनेकाले दिपेशकै गाडीमा मनिशले चेक काटे ।

‘मनिशले त्यति बेला ब्याकडेटेड चेक काटेका थिए, त्यही चेकको आधारमा अहिले सपना लामिछानेले मलाई मनिशले ठगी गर्यो भनेर प्रहरीमा उजुरी दिएकी छिन्, अदालतमा यो मुद्दा चलिरहेको छ,’ मनिशका एक आफन्तले भने ।

आफूले काम गरेको पैसा लिनका लागि मनिशले लिएको सहयोगकै कारण अहिले उनी प्रहरी हिरासतमा छन् । सपना लामिछानेले ब्ल्याकमेल गरेर त्यही चेकको आधारमा मनिशले आफूलाई ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् ।

आफूलाई मोडलिङ क्षेत्रमा सक्रिय भएको बताउने सपना लामिछानेले पछिल्लो समय नेपाल प्रहरीका उच्च अधिकारीहरुसँग साँठगाँठ गरेर यस्ता ठगीका काम गर्दै आइरहेको प्रहरीकै अधिकारीहरु पनि बताउँछन् ।

‘उनीविरुद्ध बारम्बार उजुरी आइरहेको हुन्छ,’ टेकु प्रहरीका एक अधिकारीले फरकधारलाई बताए, ‘यहाँ उनीहरु मिलेर जान्छन्, कहिलेकाहीँ माथिबाट पनि फोन आउँछ ।’

मनिशले त्यति बेला चेक काटेको केही दिनमै मालिगाउँ प्रहरी वृत्तमा पुुगेर आफूमाथि सपनाले ब्ल्याकमेल गर्न खोजेको आरोप लगाउँदै उजुरी दिएका थिए । मालिगाउँका तत्कालीन डिएसपी मानबहादुर कुँवरले पनि मनिशले सपनाले आफूलाई अपहरण गरि चेक कटाएको भन्दै उजुरी दिएको बताएका छन् ।

हाल महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा रहेका मनिशले प्रहरीमा दिएको बयानमा पनि यही बताएका छन् ।

‘सपनाले मेरो दिदी हुँ भनेर मैले काम गरेको ठाउँमा गएर पनि केही चेकहरु लिएकी रहिछिन्,’ मनिशले बयानमा भनेका छन्, ‘मैले यो थाहा पाएलगत्तै ती चेकहरुलाई डिसएबल गर्न अनुरोध गरेको थिएँ, ती चेकहरु साटिएका छैनन् । सपना लामिछाने र दिपेशले मलाई आफूहरु श्रीमान श्रीमती भनेर चिनाएका थिए, उनीहरुले मलाई फोनमा निकै धम्क्याएका छन्, बारम्बार मानसिक यातना दिएका छन् । मलाई उनीहरुले ठगी गरे ।’

आफूले लिनु नपर्ने भए पनि यसअघि काटिएका चेकको पैसा भुक्तानी नगरे सपनाले मनिशमाथि यौन दुव्र्यवहारको आरोप लगाइदिने समेत धम्की दिएकी थिइन् । उनले मनिशलाई फोनमा दिएका यस्ता धम्कीको रेकर्ड फरकधारसँग सुरक्षित छन् ।

सपना लामिछाने र दिपेश बस्नेतले मनिशलाई भारतीय ठेकेदारको यो घटनामा अरु पनि यातना दिएका छन्, ठगी गरेका छन् । यसबारे फरकधारले अर्को स्टाेरी शनिबार साँझ प्रकाशन गर्नेछ ।

  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १९:०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया