काठमाडौँ– नेपाली पुस्तक बजारमा आख्यानपछि रुचाइने विषय बनेको छ, आत्मकथा र जीवनी । निजी प्रकाशनगृहको लहर बढेसँगै सार्वजनिक छवि बनाएका उच्चपदस्थ व्यक्तिको जीवनी र आत्मकथा प्रकाशन गर्ने होड चलेको छ ।
विभिन्न क्षेत्रमा ख्याति कमाएकालाई प्रकाशन गृहले आत्मकथा लेखनतर्फ अग्रसर बनाएका छन् । सार्वजनिक छवि बनाएका मानिसको किताब सहजै विक्रि गर्न सकिने भएकाले प्रकाशक आत्मकथातर्फ केन्द्रित भएको बताइन्छ ।
त्यसो त प्रकाशकहरूले सिधै स्विकार नगरेपनि आत्मकथालाई पाठकको रूचि भन्न थालेका छन् । बुकहिल प्रकाशनगृहका सञ्चालक भूपेन्द्र खड्का भन्छन,‘पाठकको रूचि बुझेर त्यसैअनुसारका पुस्तक बजारमा ल्याउनुपर्छ,नत्र घाटा हुन्छ।’
नाफाघाटाको हिसाब गरेर पुस्तक प्रकाशन गर्ने प्रकाशकले आत्मकथा र जीवनीबाट नाफा हुने देखेका छन् फाइन प्रिन्टका सञ्चालक अजित बराल । उनी आत्मकथा र जीवनीमा आधारित पुस्तकको माग बढेको तथ्य स्वीकार्छन् । बजारमा माग बढेपछि स्वभाविक रूपमा नाफा पनि हुन्छ बराल भन्छन, ‘आत्मकथा र जीवनीपरक पुस्तकको बिक्री राम्रै रहेको छ।’
बढी नाफा कमाउनका लागि समाजमा ख्याति कमाएका व्यक्तिको आत्मकथा र जीवनीका पुस्तक प्रकाशन गर्नतिर प्रकाशनगृह अग्रसर भएको स्विकार गर्छिन् अक्षर क्रियसन्सकी सञ्चालिका अर्चना थापा । थापा भन्छिन्, ‘ठुला तथा प्रतिष्ठित व्यक्तिहरूको आफ्नै 'फ्यान फलोअर्स'हरू बढी हुन्छन् । त्यसलाई प्रकाशनगृहले ‘ट्रयास’ गर्न जानेका छन् ।’
बुकहिलले केही महिना अगाडी मात्रै पूर्व–प्रधान्यायधीस सुशीला कार्कीको संस्मरणमा आधारित पुस्तक ‘न्याय’ प्रकाशन गर्यो । खरो स्वभावका कारण चर्चित कार्की नेपाली न्यायिक इतिहासमै पहिलो पटक महाअभियोग सामना गरेकी प्रधानन्यायाधीश हुन् ।
संसारभर चर्चित व्यक्तित्वको आत्मकथा वा जीवनी प्रकाशन हुने बताउँदै प्रकाशक खड्का यस्ता पुस्तक निरन्तर प्रकाशन हुनपर्छ भन्ने मत राख्छन् । उनी भन्छन, ‘यस्ता पुस्तकहरू बर्षमा एकदुई ओटा प्रकाशनमा ल्याउने गरेका छौँ ।’ यो बर्षको अन्तिमसम्म यस्ता दुईओटा कृति आउने तयारी भइरहेको खड्काले जानकारी दिए ।
प्रकाशकहरू आत्मकथा, संस्मरण र जीवनीतर्फ केन्द्रित हुँदा साहित्यक कृति ओझेलमा परेको ठान्नेहरू पनि छन् । उदाहरणकै लागि विजय कुमारको ‘खुसी’, नयनराज पाण्डेको ‘यार’, ‘महको म’, हरिवशं आचार्यको ‘चिना हराएको मान्छे’, रुक्मांगत कटुवालको आत्मकथा, रामेश्वर थापाको ‘बारूदमाथि उड्दा’, अच्यतकृष्ण खरेलको आत्मकथा, झमक घिमिरेको ‘जीवनकाँडा कि फूल’, सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालो', जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’, विनोद चौधरीको आत्मकथा, बाबुराम भट्टराईको जीवनीकथा ‘अविराम बाबुराम’, कर्ण शाक्यको ‘सोच’ आदि जस्ता कृति बजारमा आउँदा पाठक यतैतिर मोडिएको देखिन्छ ।
फाइनप्रिन्टले अघिल्लो बर्ष चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ र नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ बजारमा ल्यायो । उक्त कृति बजारमा राम्रै गएको देखिन्छ । यसै कुरालाई जोड दिँदै सञ्चालक बराल भन्छन्, ‘कृतिले बजार पाउनका लागि व्यक्ति चर्चित भएर मात्र हुँदैन यसको गुणवक्ताका कारण बढी बजार लिन्छ ।’
यी कृतिहरू पनि राम्रै बजार लिएको छ,उनले भने । अब यो वर्षको अन्तिमसम्ममा लेखक कमल लामिछाने र वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाको आत्मकथाका कृति प्रकाशनमा ल्याउने तयारी भइरहेको बरालले बताए ।
प्रकाशनगृहले मुनाफा कमाउनुको साथसाथै समाजमा उच्च पदमा रहेका, समाजमा प्रतिष्ठित तथा चर्चित सेलिब्रेटीहरूको आत्मकथा वा जीवनी भन्दा गुमनाम रहेका अर्थात् जनसाधारण जो देश निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् तर बाहिर नदेखिएकाहरूको अनुभूति र संघर्षको’ कथालाई प्रकाशनमा ल्याउनुपर्छ भन्ने कुरामा जोड दिनुपर्छ भन्छिन् थापा ।
पठन संस्कृति दिनप्रतिदिन बढाउनमा आत्मकथा र जीवनी जस्ता कृतिहरूको ठुलो भूमिका छ । उनी भन्छिन्, ‘तर यसको अर्थ यो होइन कि ठुला पदमा रहेका समाजमा प्रतिष्ठितहरूका कथा मात्र चर्चित हुन्छन् । बाहिर नआइसकेका तर समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकाहरूको कथा पनि रोचक र प्रेरणादायी हुन्छन् ।’ उनले अगाडि थपिन् ‘प्रकाशन गृहहरूले यतातिर पनि ध्यान दिनुपर्छ । जनसाधारणका कथा पनि प्रकाशन गर्न जरूरी छ । पाठकहरू पनि सजक हुनुपर्छ ।’
उनले डा. शंकर उप्रेतीको आत्मकथा ‘जीवन एक सपना’, सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालो’ त्यसैगरी सन् २०१२ मा ‘सहअस्तित्वको खोज’ जस्ता कृति प्रकाशन गरेको बताइन् ।
नेपाली पुस्तक बजारमा अहिले जे जस्ता पुस्तकको चर्चा वा माग बढे पनि नेपाली पठनसंस्कृतिको विकासमा बृद्धि हुनु नै ठुलो कुरा हो । अहिले प्रकाशनगृह मुनाफा कमाउने उद्देश्यले बजारमा खुलेका भए पनि यसले पठनसंस्कृतिको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । नेपालमा आत्मकथा, जीवनी र संस्मरण जस्ता कृतिको प्रकाशन गर्ने परम्परामा गति बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।