बागमती प्रदेशमा सत्ता गठबन्धनको बहुमत, खुम्चियो एमाले
फाइल तस्बिर

२०७४ सालको निर्वाचनमा बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमाले बनेको थियो । प्रदेशका केही जिल्लाहरूमा नेकपा माओवादीसँग गठबन्धन गरेर ठूलो दल बन्दै सरकारमा रहेको एमालेले प्रदेश सरकारको भूमिका निर्वाह गर्न वञ्चित हुने निश्चित छ । 

प्रदेशको १३ जिल्लाहरू मध्ये १२ जिल्लामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भइसकेको छ । दोलखा जिल्लामा भने राजनीतिक दलहरूको विवादका कारण मतगणना सञ्चालन हुन सकेको छैन । गठबन्धन दलले बुथ कब्जा गरेको आरोप लगाउँदै नेकपा एमालेका प्रतिनिधिहरूले मतगणना गर्न रोक लगाइरहेका छन् । 

यद्यपि, १३ जिल्ला मध्ये १२ जिल्लाको आइतबार बिहानसम्म प्रत्यक्षतर्फका ६६ मध्ये ६४ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बागमती प्रदेशमा अघिल्लो निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको एमालेले हालै सम्पन्न निर्वाचनमा आफ्नो विरासत कायम राख्न सकेन । कारण हो, ५ दलीय बाम गठबन्धन । गठबन्धनमा रहेका दलहरूले धेरै सिट जितेपछि अब एमालेलाई आफ्नो सरकार बनाउन कठिन घडी सृजना भएको छ । 

 हालसम्म ४१ स्थानमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । २३ स्थानमा जित्दै प्रत्यक्ष तर्फ प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ । माओवादीले १४ तथा एकीकृत समाजवादीले ५ स्थानमा जित निकालेका छन् । यस्तै, १३ स्थानमा एमालेले जित निकालेको छ भने ७ स्थानमा राप्रपा, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टी १/१ स्थानमा विजयी भएका छन् । यसै प्रत्यक्ष तर्फको मत परिणामलाई हेर्ने हो भने पनि बागमती प्रदेशमा पहिलो दल कांग्रेस, दोस्रो नेकपा माओवादी केन्द्र र तेस्रोमा नेकपा एमाले रहेको छ । 

कुन जिल्लामा कसको जित ?
रामेछापमा दुई प्रदेश क्षेत्र रहेकोमा २ सिटमा गठबन्धनका साझा उम्मेदवार (माओवादी केन्द्रका) का उम्मेदवार विजयी भएका छन् । यस्तै, सिन्धुलीका ४ वटै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सिन्धुपाल्चोकमा पनि गठबन्धनले विजय हासिल गरेको छ । 

काभ्रेका ४ वटै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ललितपुरका ६ मध्ये ४ क्षेत्रमा एमाले तथा २ मा कांग्रेस उम्मेदवार विजयी भएका छन्, भने भक्तपुरका ४ क्षेत्रमध्ये २ मा गठबन्धनका उम्मेदवार, १ मा एमाले र १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी भएका छन् ।
यसै गरी, काठमाडौंमा प्रदेशका २० सिटमध्ये आठ सिटमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।



 पाँच स्थानमा राप्रपा, चार सिटमा एमाले तथा दुई स्थानमा एकीकृत समाजवादी र एक स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार विजयी भएका हुन् । मकवानपुरको ४ प्रदेश क्षेत्रमध्ये ३ मा गठबन्धनको र १ मा एमाले उम्मेदवार निर्वाचित भएका छन् । नुवाकोटका ४ सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । रसुवाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारले जित निकालेका छन् । 

धादिङको ४ मध्ये ३ सिटमा गठबन्धन विजयी भएको छ । चितवनका ६ मध्ये ३ सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रत्यक्ष तर्फको निर्वाचनमा ६६ जना र समानुपातिक बाट ४४ गरी १ सय १० सांसदमा प्रदेश सभा सञ्चालन हुने गरेको छ । 



गठबन्धनको सरकार
बागमतीमा एमालेको सरकार बन्ने सम्भावना विहीन देखिन थालेको छ भने गठबन्धनको सरकार बन्ने लगभग निश्चित भएको छ । अघिल्लो प्रदेश सभा निर्वाचनमा दलगत तर्फ तत्कालीन नेकपा एमाले बाट ५८ जना,  तत्कालीन नेकपा माओवादी केन्द्रबाट २३ जना, कांग्रेसबाट २१ जना,  विवेकशील साझा पार्टीबाट ३ जना,  नेपाल मजदुर किसान पार्टीबाट २ जना , राप्रपा प्रजातान्त्रिक बाट २ जना,  स्वतन्त्र (नयाँ शक्ति पार्टी) बाट १ जना गरी ११० प्रदेशसभा सदस्यहरूको प्रतिनिधित्व रहेको थियो ।

माओवादी सँग तालमेल गरेका कारण केही मन्त्रालय नेकपा माओवादी केन्द्रलाई दिएर बाँकी मन्त्रालय एमालेले नै कब्जा गरेको थियो । त्यसो त अहिले एमालेबाट अलग्गिएर बनेको एकीकृत समाजवादी पार्टी पनि एउटै एमालेमा थिए । जस कारण एमालेको सान प्रदेशमा पनि छुट्टै थियो । ठूलो शक्तिको रूपमा आफूलाई स्थापित गर्न सकेका थिए । 

तर, अबको सरकार भने गठबन्धनमा रहेका दलहरूको भागमा पर्ने भएको छ । ४१ सिटमा प्रत्यक्ष तर्फबाट नै विजय हासिल गरिसकेको गठबन्धनलाई सरकार बनाउन सहजता थपिएको छ । यद्यपि, समानुपातिक तर्फ भने नेकपा एमाले पहिलो स्थानमा रहेको छ । 

  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार १५:१४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया