प्रदेश ३ मा भ्रष्टलाई निषेधः मुख्यमन्त्री पौडेल

हेटौँडा– मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैँबाट सुरु गर्न अनुरोध गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ वार्षिकोत्सवमा उनले रकमको लेनदेन मात्र भ्रष्टाचार नभई तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन नगर्नु पनि भ्रष्टाचार भएको बताए । 
 
मुख्यमन्त्री पौडेलले प्रदेश सरकार भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलतासहित प्रस्तुत हुने दाबी गरे । भने,  ‘‘हामी भ्रष्टप्रति अत्यन्तै निर्मम हुन्छौँ, प्रदेश नं ३ मा भ्रष्टाचारीको कुनै गुञ्जायस छैन ।’ 

सो अवसरमा प्रदेश नं ३ का प्रमुख सचिव आनन्दराज ढकालले सबैलाई ऐन–नियमको परिधिभित्र रहेर काम गर्न अनुरोध गरे । ‘हामी सबैजना नीति नियमभित्र बाँधिएका छौँ, ऐनविपरीत कार्य गरे छानबिन र कारबाही हुन सक्दछ भन्नेतर्फ सचेत हुनुपर्छ,’ उनले भने । पौडेलले हाल भ्रष्टाचारीले प्रविधिको दुरुपयोग गरेर वा देशको सीमा पारी गएर आर्थिक लेनदेन गरेको पाइएकाले त्यसलाई तत्काल नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख होमकला पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न प्रमुख आयुक्तको नेतृत्वमा अनुसन्धान टोली गठन भएको जानकारी दिँदै भ्रष्टाचार नियन्त्रणमा नागरिकको परिचालनमा जोड दिइएको बताए । 
कार्यक्रममा कवि नीमेष निखिल, भ्रष्टाचार नियन्त्रण अभियन्ता भीम श्रेष्ठ र पत्रकार महासंघ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्टले तल्लो तहदेखि नै सफाइ अभियान चलाउनुपर्ने खाँचो औँल्याए । 

बारा, पर्सा, चितवन र मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, भ्रष्टाचार नियन्त्रण अभियानमा लागेका अभियन्ता तथा पत्रकार महासंघका जिल्ला अध्यक्षहरुको कार्यक्रममा सहभागिता रहेको थियो । 





  • प्रकाशित मिति : माघ २८, २०७५ साेमबार १४:५९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया