प्रधानमन्त्रीका लागि दौडधूपमा नेताहरू, कसले पाउला जिम्मेवारी ?

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । प्रमुख पार्टीहरूले पाएको मतका आधारमा कुनै एक दलको बहुमतमा सरकार गठन नहुने प्रष्ट छ । गठबन्धन गरेका सत्ता पक्ष तथा विपक्षी गठबन्धन कसैको पनि बहुमत सरकार गठनका लागि नपुग्ने भएको हो । 

नयाँ सरकार बनाउने गरी कुनै पनि दलको एकल बहुमत नपुगेपछि अब बन्ने सरकार कसको नेतृत्वमा हुन्छ भन्ने चासो बढ्दै गएको छ । प्रधानमन्त्रीका लागि प्रमुख पार्टीका शीर्ष नेताहरूले आ-आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सरकारको नेतृत्व गर्ने मनसायमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्री बन्ने दाउमा छन् ।

उनीहरू आफू प्रधानमन्त्री बन्नको निमित्त जस्तोसुकै परिस्थितिको सामना गर्ने पात्र पनि हुन् । नेकपा गठनदेखि विघटन, पछिल्लो समयको आरोप प्रत्यारोप र हालको टेलिफोन संवादले पनि आफ्नो स्वार्थ अनुकूलका लागि ओली-प्रचण्डले जस्तोसुकै निर्णय पनि लिन सक्छन् । 

सत्ता गठबन्धन साझेदार दल माओवादी केन्द्रले आफ्ना अधिकांश उम्मेदवारलाई जिताउन नसकेपछि र ओलीले पनि आफूले सोचेअनुरूप निर्वाचनको नतिजा नआएपछि यी दुई शीर्ष नेता सत्तामा पुग्न विभिन्न उपाय अपनाइरहेका छन् ।

नेकपा विभाजनपछि लामो समय एकअर्काको आलोचना गर्नै आएका ओली र प्रचण्डबीच बिहीबार दिउँसो टेलिफोन संवाद भएको छ । फोन संवादमा मिलेर जाने विषयमा छलफल भएको बताइन्छ । 



देउवा, ओली र प्रचण्ड मात्रै नभएर अन्य नेताहरू पनि प्रधानमन्त्रीको दाबेदार छन् । कतिपयले दौडधूप समेत थालिसकेका छन् । कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्रीका लागि आफू अगाडि बढ्ने यसअघि नै बताइसकेका छन् ।

कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर कांग्रेसबाट आफू प्रधानमन्त्री बन्नका लागि अगाडि बढेको भन्दै सहयोग मागेका छन् । सोमबार बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमै पुगेर पौडेलले त्यस्तो आग्रह गरेका हुन् ।



पाँच दलीय गठबन्धनबाट सरकारको नेतृत्वका लागि आफूलाई सहयोग गर्न पौडेलले आग्रह गर्दा कांग्रेस पार्टी मिलाएर आएमा आफूले समर्थन गर्ने नेपालले जवाफ दिएको बताइन्छ । तर कांग्रेसमा भने प्रधानमन्त्री बन्ने आकांक्षीको संख्या भने कम छैन ।

आफू प्रधानमन्त्री बन्न योग्य र सक्षम रहेको बताउँदै आएका कांग्रेस नेता प्रकाशमान सिंहले पनि दौडधूप थालेका छन् । उनी एमालेका अध्यक्ष ओलीसँग भेट गर्न उनको निवास बालकोट पुगेका छन् । आइतबार साँझ बालकोट पुगेका सिंहको यो भेटलाई पनि प्रधानमन्त्री बन्ने दौडधूप हुनसक्ने धेरैको बुझाई छ ।

चुनावी व्यस्ततामा रहेका प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता भएको छ । शनिबार बिहान भएको भेटका क्रममा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको बताइन्छ । 

निर्वाचनको परिणाम आउने क्रम जारी रहेकै बेला देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । सत्तारुढ गठबन्धनमा रहेका दलहरूबीचको सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको हो । तर, चुनावी परिणामअनुसार यो गठबन्धन कायम रहन्छ या टुट्छ भन्नेमा भने यकिन छैन ।

गठबन्धनबाट चुनावी मैदानमा रहेका अधिकांश माओवादी तथा समाजवादीका उम्मेदवार पराजित भएका छन् । उक्त नतिजापछि गठबन्धनभित्र असन्तुष्टि बढ्दै गएको छ । प्रत्यक्ष तथा समानुपातिकतर्फको नतिजा आउने क्रम जारी छ । 

  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार १३:४९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया