निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर-१ मा रोकिएको मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ । सोमबार उदयपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेख्दै आयोगले मतगणना अघि बढाउन निर्देशन दिएकाे हाे ।
आयोगले निर्वाचनपूर्व भएको सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो । आयोगका उपसचिव ऋषिराम अर्यालले पत्रमा लेखेका छन्, ‘…सो सम्बन्धनमा मतगणनापूर्व जे जस्तो सहमती भएको हो सो सहमतीका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने।’
साथै एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएकोमा मंसिर ४ गते आयोगको पत्रबमोजिम मतगणनालाई निरन्तरता दिनसमेत निर्णय गरेको आयोगले जनाएको छ ।
प्रतिनिधिसभाको मतगणनाको क्रममा एक सयभन्दा बढी मतपत्र प्रदेशसभाको फेला परेपछि नेकपा एमालेलगायतले पुनः मतदानको माग गरेका थिए भने नेपाली कांग्रेसले तत्काल मतगणनाको माग राखेकाे थियाे । विवादका कारण आइतबारदेखि गणना रोकिएको थियो ।
उदयपुर क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेकपा एमालेबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा छन् । खड्का दुइ हजार मतले अगाडि छन् ।
निर्वाचन आयोगको पत्र
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।