मकवानपुरमा कांग्रेसभित्रकै द्वन्द्वले गुमायो सिट

मंसिर ४ गते सम्पन्न संघ तथा प्रदेश निर्वाचन नेपाली कांग्रेस मकवानपुरको राजनीतिमा आमनिर्वाचनले उथलपुथल ल्याइदिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै जनप्रतिनिधि जितेर पहिलो स्थानमा पुगेको कांग्रेस ६ महिनाको अन्तरालमा चौथो स्थानमा पुगेको छ । मकवानपुरमा रहेको १० स्थानीय तहमध्ये ५ वटा तहमा अध्यक्ष, जितेर जिल्लामा प्रथम भएको कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा एक सिट जित्न सकेन । कांग्रेसभित्रकै द्वन्द्वले सिट गुमाएको चर्चा भइरहेको छ ।  

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मनहरी, मकवानपुरगढी, बकैया, राक्सिराङ र कैलाश गाउँपालिका गरी ५ स्थानीय तहमा अध्यक्ष जितेको नेपाली कांग्रेसले मंसिर ४ को निर्वाचनमा सोचे जसरी मत ल्याउन सकेन । ५ दलीय लोकतान्त्रिक वाम गठबन्धन मिलेका दलहरुले दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरबाट एउटा पनि आफ्नो वरियता जोगाउन सकेन । जसका कारण प्रदेशसभाको ४ सिट मध्ये १ मा मात्रै चित्त बुझाउन पर्यो । स्थानीय तहमा त्यही पाँचदलीय गठबन्धनले अत्यधिक बहुमत ल्याए पनि संघ र प्रदेशको निर्वाचनमा किन नसोचेको परिणाम आयो, अहिले सबैको चासो विषय बनिरहेको छ । 

आम निर्वाचनमा नेकपा एमाले एक प्रतिनिधिसभा तथा एक प्रदेशसभासहित प्रथम स्थानमा रहँदा नेकपा माओवादी केन्द्र दुईवटा प्रदेशसभासहित दोस्रो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक प्रतिनिधिसभासहित तेस्रो हुँदा नेपाली कांग्रेस एउटा प्रदेशसभामा मात्र खुम्चियो । यता, कांग्रेसभित्रै अन्तर्घातको कारण कांग्रेसलाई घाटा लागिरहेको अड्कलबाजी सुरु भएको छ । उसको बलियो उदाहरण हो, जित्ने र हार्नेहरुको छुट्टा छुट्दै प्रत्रकार सम्मेलन । 

मतपरिणामको भोलिपल्टै बानियाँले पत्रकार सम्मेलन गर्दै जसले पार्टीको भरोसा जोगाउन सक्यो, उसैले मत पायो भन्ने अभिव्यक्ति दिए । उनले आफ्ना पार्टीबाट उम्मेदवारी भएर हारेकालाई जनमतले नजितेकोले हारेको अभिव्यक्ति दिए । 

गठबन्धनबाट नेपाली कांग्रेसले एक प्रतिनिधिसभासहित दुईवटा प्रदेशसभामा उम्मेदवारी दिएको थियो । तर, कांग्रेसबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ की उम्मेदवार महालक्ष्मी उपाध्यय डिना तथा १ को ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मदवार बनेका आनन्दराम पराजुली पराजित बनेका हुन् । पराजित भएका उनीहरुले पनि हेटौंडामा छुट्टै पत्रकार सम्मेलन गर्दै अन्तर्घात भएको प्रमाण भेटे । सोहीअनुसार कानुनी उपचारमा जाने बताउँर्दैै उपाध्यायले पार्टीको हारबारे समीक्षासहित प्रमाण फेला परेको अवस्थामा कारबाही पनि गरिने उनले बताइन् ।

बानियाँ, उपाध्याय र पराजुली नेपाली कांग्रेसको संस्थापन पक्ष हुन् । तर, राजनीतिक खिचातानीका कारण एकले अर्कालाई खुट्टा तान्ने प्रवृत्तिको हावी भएकोले स्थानीय तहमा आएको मत समेत गुम्न पुगेको हुनसक्ने चर्चा चुलिएको छ । 



बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीको दाबेदार हुन् भने प्रदेशसभा १(ख) बाट निर्वाचनमा होमिएका पराजुली पनि मुख्यमन्त्रीका दाबेदार थिए । उपाध्याय संघीय सरकारमा जाने अपेक्षासहित क्षेत्र १ मा प्रत्यक्ष तर्फबाट निर्वाचनमा होमिएकी थिइन् । 

तर, मकवानपुरबाट पार्टीले एकजनालाई मात्रै मन्त्री बन्न पाउने भनिएकोले योजनाबद्ध ढंगले एकले अर्कालाई हराउन लागेका हुन् कि भन्ने विषयले चर्चा पाइरहेको छ । यद्यपि, चुरो कुरा आउन भने अझै केही समय लाग्ने बताइएको छ । 
 



  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार १५:५९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया