शब्दावली परिवर्तन गरेर ‘जनयुद्ध दिवस’ मनाउँदै नेकपा

काठमाडौ‌ं– प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनयुद्ध र जनआन्दोलनका सहिदहरूको सम्मानमा फागुन १ गते कार्यक्रम गर्न लागेको छ । जनयुद्ध दिवसकाे अवसरमा कार्यक्रम गर्न लागे पनि पार्टीभित्र ‘जनयुद्ध’ शब्दमा चर्को विवाद देखिएकाले सो पार्टीले ‘जनयुद्ध’ नभनी ‘सहिदको सम्मान’ भनेर कार्यक्रम गर्न लागेको हो । 

‘जनयुद्ध’ शब्दमा विवाद रहेकाले फागुन १ गतेलाई जनयुद्ध दिवस नभनी सहिदको सम्मानमा सबै जिल्लामा कार्यक्रम गर्ने तयारी रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले फरकधारलाई जानकारी दिए । उनले भने, ‘जनयुद्ध दिवस’ नै भनेर मनाउने होइन । ‘जनयुद्ध’ शब्दमा पार्टीभित्र विवाद छ । जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा हामीले कार्यक्रम गर्न लागेका हौँ ।’ 

२०५२ साल फागुन १ गतेबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले सरकारविरुद्ध जनयुद्धको थालनी गरेको थियो । मुलुकको परिवर्तनमा जनयुद्धको निर्णायक भूमिका रहेको बताउने तत्कालीन माओवादीले प्रत्येक वर्ष फागुन १ लाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको थियो । 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भए पनि पार्टीको तल्लो तहको एकीकरण भने भएको छैन । पार्टीले नौ सदस्यीय एकता कार्यदल बनाएर एकताको बाँकी कामको टुंगो लगाएको थियो । पुस मसान्तभित्र सचिवालयलाई प्रतिवेदन बुझाउन निर्देशन दिए पनि कार्यदलले माघ महिना सकिन लाग्दासमेत प्रतिवेदन बुझाएको छैन । 

‘नेपाल कम्युनिस्ट पार्टी’ बनेपछि ‘जनयुद्ध दिवस’ नभनी ‘जनयुद्ध र जनआन्दोलनका सहिदहरूको सम्मानमा’ शब्दावली प्रयोग गरेर जनयुद्ध दिवस मनाउन लागेको हो । पार्टी एकीकरण भएपछि पहिलोपटक यसरी कार्यक्रमको आयोजना गर्न लागेको हो । यसअघि तत्कालीन माओवादीले भने ‘जनयुद्ध दिवस’ नै भनेर प्रत्येक वर्ष भव्य कार्यक्रमको आयोजना गर्ने गथ्र्यो । 

‘मुलुकको परिवर्तनमा जनयुद्धको निर्णायक भूमिका छ । प्रवक्ता श्रेष्ठले भने, जनयुद्धलगायत सबै सहिदका सम्मानमा पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रम हुन्छ ।’ कार्यक्रम पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र जिल्ला–जिल्लामा गरिनेछ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम हुने पनि श्रेष्ठले बताए । 



माओवादीबाट विभाजित पार्टीहरूले पनि १ फागुनमा जनयुद्ध दिवस मनाउने भएका छन् । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र गोपाल किराँतीको पुनर्गठित माओवादी केन्द्रले पनि जनयुद्ध दिवस मनाउने स्रोतले बताएको छ । 

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले भने जनयुद्ध दिवस नमनाउने भएको छ । भट्टराईले तत्कालीन एकीकृत माओवादी छाडेर नयाँ शक्ति गठन गरेका थिए । 
 



  • प्रकाशित मिति : माघ २८, २०७५ साेमबार १५:२३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया